सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असफलताको सामना म कसरी गर्न सक्छु?

असफलताको सामना म कसरी गर्न सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

असफलताको सामना म कसरी गर्न सक्छु?

“मैले भर्खरै मात्र रिपोर्ट कार्ड पाएँ र म फेरि पनि पहिलेकै चारवटा विषयमा गुल्टेछु। मैले कोसिस त गरेकै हो तर फेरि पनि फेल भएँ।”—१५ वर्षीया लोरेन।

“असफल भएपछि आउने भावनाहरूको सामना गर्नु निकै सङ्‌घर्षपूर्ण हुन्छ। सजिलै नकारात्मक सोचाइहरू आउन सक्छन्‌।”—१९ वर्षीया जेसिका।

असफलता। तपाईंलाई यस शब्दबारे सोच्न समेत मन नपर्ला। तर बेलाबेलामा हामी सबै असफल हुन्छौं। चाहे स्कूलको जाँचमा फेल हुँदा होस्‌, अरूको अगाडि लज्जित हुनुपर्दा होस्‌, आफूले माया गर्ने व्यक्‍तिलाई निराश तुल्याउँदा होस्‌ वा हाम्रो नैतिकता मुछिएको गम्भीर गल्ती गर्दा होस्‌, असफलता भनेको ज्यादै नरमाइलो हुन्छ।

निस्सन्देह, सबै मानिसहरूले गल्ती गर्छन्‌। “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌” भनी बाइबल बताउँछ। (रोमी ३:२३) तैपनि हामीमध्ये कोही-कोही एक चोटि असफल भएपछि ज्यादै हरेस खान्छौं। जेसन नाउँ गरेका युवक यसो भन्छन्‌: “म आफूप्रति असाध्यै आलोचनात्मक छु। मैले केही गल्ती गरें भने मानिसहरू हाँस्न त हाँस्लान्‌—तर अक्सर तिनीहरूले यो चाँडै नै बिर्सिहाल्छन्‌। म भने बिर्सनै सक्दिनँ र आफ्नो गल्तीबारे सोचिरहन्छु।”

आफ्नो गल्तीबारे विचार गर्नु र यसमा पनि विशेष गरी यसले तपाईंलाई आफ्नो गल्ती सुधार्न मदत दिन्छ भने यसो गर्नु नै खराब कुरा त होइन। तथापि, लामो समयसम्म र लगातार आफ्नो आलोचना गरिरहनु हानिकारक हुनुका साथै यसले नकारात्मक परिणाम ल्याउँछ। हितोपदेश १२:२५ यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ।”

बाइबलमा बताइएको इपाफ्रोडाइटस नाउँ गरेका व्यक्‍तिलाई विचार गर्नुहोस्‌। प्रेरित पावलको निजी सहायकको रूपमा सेवा गर्न तिनलाई रोम पठाइएको थियो। तथापि, इपाफ्रोडाइटस बिरामी परे र तिनले आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्‌। वास्तवमा, पावलले पो उल्टै तिनको हेरविचार गर्नुपऱ्‍यो! यी विश्‍वासी व्यक्‍ति निराश भएका थिए भन्‍ने कुराको जानकारी स्थानीय मण्डलीलाई दिंदै इपाफ्रोडाइटसलाई घर पठाउने प्रबन्ध पावलले मिलाए। यसो गर्नुको कारण के थियो? “तिनी बिरामी भएको खबर तिमीहरूले सुनेकोले” भनी पावल बताउँछन्‌। (फिलिप्पी २:२५, २६) तिनी बिरामी भएर आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्‌ भन्‍ने कुरा अरूले थाह पाए भनी बुझ्दा इपाफ्रोडाइटसले आफू असफल भएको महसुस गरेको हुनुपर्छ। त्यसैले तिनी निराश हुनु कुनै छक्कलाग्दो कुरा थिएन!

असफलताको कारण महसुस हुने पीडादायी भावनाबाट बच्ने के कुनै तरिका छ?

आफ्ना सीमितताहरू बुझ्नुहोस्‌

असफलताको सम्भावना कम गर्ने एउटा तरिका व्यावहारिक हुनु र सानो लक्ष्य राख्नु हो। “नम्रताले बुद्धि ल्याउँछ” भनी बाइबल बताउँछ। (हितोपदेश ११:२, NRV; १६:१८) नम्र व्यक्‍ति आफ्ना सीमितताहरूबारे सजग हुन्छ। हुन त हो, आफ्नो सीप तथा क्षमताहरू वृद्धि गर्न कहिलेकाहीं आफैलाई चुनौती दिनु राम्रो हो। तर व्यावहारिक हुनुहोस्‌। तपाईं हिसाबमा खप्पिस नहुनुहोला वा तपाईंमा उत्कृष्ट खेलाडीको जस्तो आकर्षक हावभाव र सुन्दरता नहोला। माइकल नाउँ गरेका युवक यसरी स्वीकार्छन्‌: “म खेलकुदमा राम्रो छैनँ भन्‍ने कुरा मलाई थाह छ। त्यसकारण म खेल्न त खेल्छु तर असफलताको भाव उत्पन्‍न हुने गरी कहिल्यै पनि खेल्दिनँ।” तिनी यसो भन्छन्‌: “तपाईंले लक्ष्यहरू राख्दा आफूले पूरा गर्न सक्ने मात्र राख्नुपर्छ।”

स्पाइना बिफिडा र सेरिब्रल पाल्सीद्वारा पीडित १४ वर्षीया इभोनको मनोवृत्तिलाई विचार गर्नुहोस्‌। “अरूजस्तो म हिंड्‌न, नाच्न वा दौडन सक्दिनँ” भनी इभोन बताउँछिन्‌। “अरूले गर्न सक्ने काम मैले गर्न नसक्दा म निराश महसुस गर्छु। अधिकांश व्यक्‍तिहरूले मेरो निराशा बुझ्दैनन्‌। तर म यस्ता भावनाहरूको सामना गर्न सक्छु।” तिनको सल्लाह? “प्रयास गर्न नछोड्‌नुहोस्‌। कोसिस गरिरहनुहोस्‌। तपाईं असफल हुनुभयो वा सन्तोषजनक नतिजा प्राप्त भएन भने हरेस नखानुहोस्‌। यथाशक्य गरिरहनुहोस्‌।”

यसको साथै अरूसित अमिल्दो तुलना गरेर आफूलाई कष्ट नदिनुहोस्‌। पन्ध्र वर्षीय एन्ड्रु यसो भन्छन्‌: “म आफूलाई अरूसित तुलना नगर्ने कोसिस गर्छु किनभने सबैको बल र क्षमता भिन्‍ना-भिन्‍नै हुन्छ।” एन्ड्रुको भनाइले गलाती ६:४ (NRV) मा पाइने बाइबलका निम्न शब्दहरूको भाव झल्काउँछ: “प्रत्येकले आफ्नै कामको जाँच गरोस्‌, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।”

अरूले तपाईंबाट बढ्‌ता आशा गर्दा

यद्यपि, कहिंलेकाहीं आमाबाबुले, शिक्षकहरूले वा अरूले तपाईंबाट बढ्‌ता आशा गर्छन्‌। अनि जतिसुकै प्रयास गरे तापनि उनीहरूलाई खुसी बनाउन सकिंदैन भनेर तपाईंले बुझ्नुहुनेछ। योभन्दा पनि अझ नराम्रो कुरा त उनीहरूले आफ्नो अप्रसन्‍नता शब्दमै व्यक्‍त गर्न सक्छन्‌ जसले तपाईंलाई रिस उठाउन वा एकदमै निराश तुल्याउन समेत सक्छ। (अय्यूब १९:२) तपाईंका आमाबाबु वा अरूले जानाजानी तपाईंलाई चोट पुऱ्‍याउन खोजेका होइनन्‌ भन्‍ने कुरा तपाईं बुझ्नुहुन्छ होला। जेसिकाले बताएझैं “उनीहरूले तपाईंलाई कसरी असर पारिरहेका छन्‌ भन्‍ने कुरा उनीहरूले प्रायजसो यादै गरेका हुँदैनन्‌। कहिलेकाहीं त गलतफहमी मात्र भएको पनि हुन सक्छ।”

अर्कोतर्फ, तपाईंले याद नगर्नुभएको कुनै कुरा उनीहरूले देखेका हुन सक्छन्‌ कि? उदाहरणका लागि वास्तवमा तपाईंले आफ्ना क्षमताहरूलाई दबाएर राखिरहनुभएको र आफूलाई होच्याइरहनुभएको हुन सक्छ। उनीहरूको सुझावलाई बेवास्ता गर्नुको सट्टा ‘अर्ती सुन्‍नु’ राम्रो हुन्छ। (हितोपदेश ८:३२) माइकल यसो भन्छन्‌: “यसले तपाईंलाई नै फाइदा गर्छ। तपाईंले राम्रो गरेको र प्रगति गरेको उनीहरू चाहन्छन्‌। यसलाई एउटा चुनौतीको रूपमा लिनुहोस्‌।”

तर आमाबाबु र अरूले तपाईंबाट माग गरिरहेको कुरा तपाईंलाई अव्यावहारिक जस्तो लागेमा र उनीहरूले तपाईंलाई असफलतातर्फ धकेलिरहेका छन्‌ जस्तो लागेमा के गर्ने नि? यस्तो अवस्थामा उनीहरूसित आदरपूर्वक तर प्रस्टसँग कुरा गर्नु र तपाईंले कस्तो महसुस गरिरहनुभएको छ भन्‍ने कुरा उनीहरूलाई थाह दिनु राम्रो हुनेछ। तपाईंहरू सँगै बसेर अझ व्यावहारिक लक्ष्यहरू निर्धारण गर्न सक्नुहुन्छ।

तपाईंको आध्यात्मिक जीवनका “असफलताहरू”

यहोवाका साक्षीहरू माझका युवाहरूसामु परमेश्‍वरका सेवकहरूको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्ने चुनौती छ। (२ तिमोथी ४:५) तपाईं एक जना मसीही युवा हुनुहुन्छ भने कहिलेकाहीं आफूलाई अयोग्य ठान्‍नुहुन्छ होला। हुन सक्छ, तपाईंलाई सभाहरूमा राम्रो टिप्पणी दिन सक्दिनँ जस्तो लाग्ला। वा बाइबलको सन्देश अरूलाई राम्ररी बुझाउन तपाईंलाई गाह्रो लाग्ला। उदाहरणका लागि, जेसिकाले अर्की एउटी किशोरीसित बाइबल अध्ययन गरिन्‌। केही समयसम्म तिनको बाइबल विद्यार्थीले राम्रो प्रगति गरिन्‌। तथापि, ती केटीले एक्कासि परमेश्‍वरको सेवा नगर्ने निर्णय गरिन्‌। जेसिका यसो भन्छिन्‌: “मैले आफू असफल भएजस्तो महसुस गरें।”

जेसिकाले यस्ता भावनाहरूको सामना कसरी गरिन्‌? पहिलो त तिनकी बाइबल विद्यार्थीले तिनलाई नभई परमेश्‍वरलाई तिरस्कार गरेकी हुन्‌ भन्‍ने कुरा तिनले बुझ्नुपऱ्‍यो। बाइबलमा बताइएको पत्रुसको उदाहरणबारे मनन गरेर पनि तिनले मदत पाइन्‌, जो एक जना ईश्‍वरभीरु व्यक्‍ति भए तापनि तिनका थुप्रै कमीकमजोरीहरू थिए। तिनी यसो भन्छिन्‌: “पत्रुस आफ्ना कमजोरीहरूमाथि विजयी भए र राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउनको लागि यहोवाले तिनलाई विभिन्‍न तरिकामा चलाउनुभयो भनी बाइबलले देखाउँछ।” (लूका २२:३१-३४, ६०-६२) निस्सन्देह, शिक्षकको रूपमा आफ्नो कलामा उन्‍नति गर्नुपर्ने छ भने यस सन्दर्भमा अझ बढी मेहनत गरे कसो होला? (१ तिमोथी ४:१३) तपाईंलाई सिकाउन तथा प्रशिक्षण दिन सक्ने मण्डलीका परिपक्व व्यक्‍तिहरूबाट मदत लिनुहोस्‌।

ढोका-ढोकाको सेवकाई तपाईंलाई विशेष गरी चुनौतीपूर्ण लाग्छ होला। जेसन यसरी स्वीकार्छन्‌: “हरेक पल्ट ढ्याम्म ढोका बन्द हुँदा यस असफलतामा मेरो पनि केही न केही दोष छ होला जस्तो लाग्छ।” यसको सामना तिनी कसरी गर्छन्‌? “वास्तवमा म असफल भएको छैनँ भन्‍ने कुरा मैले सम्झनुपर्ने हुन्छ।” हो, परमेश्‍वरले तिनलाई अह्राउनुभएको काम अर्थात्‌ प्रचार गर्नमा तिनी सफल भएका छन्‌! अनि अरूले तिरस्कार गर्दा गाह्रो त हुन्छ तर सबै व्यक्‍तिहरूले बाइबलको सन्देश तिरस्कार गर्ने छैनन्‌। “कुरा सुन्‍ने एक जना मात्र पाउँदा पनि म आफ्नो मेहनत सार्थक भएको महसुस गर्छु” भनी जेसन बताउँछन्‌।

गम्भीर गल्तीहरू

तपाईंले गम्भीर गल्ती गर्नुभयो वा गम्भीर पाप समेत गर्नुभयो भने नि? उन्‍नाइस वर्षीया आनले त्यस्तै गल्ती गरिन्‌। a तिनी यसरी स्वीकार्छिन्‌: “मैले मण्डली, आफ्नो परिवार र विशेष गरी यहोवा परमेश्‍वरलाई निराश तुल्याएँ।” यसका भावनात्मक असरहरूबाट मुक्‍त हुन तपाईंले पश्‍चात्ताप गर्नुपर्छ र मण्डलीमा भएका आध्यात्मिक तवरमा पाका पुरुषहरूको मदत खोज्नुपर्छ। (याकूब ५:१४-१६) एक जना प्राचीनका मदतकारी शब्दहरू आन यसरी सम्झन्छिन्‌: “राजा दाऊदले गरेका सबै गल्तीहरूका बावजुद यहोवा तिनलाई क्षमा दिन इच्छुक हुनुहुन्थ्यो र दाऊद फेरि पहिलेकै अवस्थामा फर्किए भनी उहाँले मलाई बताउनुभयो। यसले मलाई मदत गऱ्‍यो।” (२ शमूएल १२:९, १३; भजन ३२:५) आफूलाई आध्यात्मिक तवरमा बलियो बनाउन तपाईंले यथाशक्य गर्न पनि आवश्‍यक छ। “मैले भजनको पुस्तक दोहोऱ्‍याइ तेहऱ्‍याइ पढें अनि मैले आफ्नो दैनिकी लेख्ने गरेकी छु र त्यसमा म प्रोत्साहनदायी शास्त्रपदहरू लेख्छु” भनी आन बताउँछिन्‌। कुनै व्यक्‍तिले गम्भीर पाप गरेको भए तापनि समय बित्दै जाँदा ऊ फेरि पहिलेकै अवस्थामा फर्कन सक्छ। हितोपदेश २४:१६ यसो भन्छ: “धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्‌छ।”

असफलतापछि पहिलेकै अवस्थामा फर्कने

निस्सन्देह, तुलनात्मक हिसाबले साना असफलताहरूले समेत तपाईंलाई अहिलेसम्म चोट पुऱ्‍याइरहेको हुन सक्छ। असफलतापछि फेरि पहिलेकै अवस्थामा फर्कन तपाईंलाई कुन कुराले मदत गर्न सक्छ? सर्वप्रथम, व्यावहारिक भई आफ्ना गल्तीहरूको सामना गर्नुहोस्‌। माइकल यस्तो सल्लाह दिन्छन्‌: “म असफल भएँ भनेर मात्र सोच्नुको सट्टा तपाईं कुन कुरामा असफल हुनुभयो र किन असफल हुनुभयो भन्‍ने कुरा पत्ता लगाउनुहोस्‌। यसो गर्नुभयो भने तपाईंले अर्को पल्ट राम्रो गर्न सक्नुहुनेछ।”

साथै, असाध्यै चिन्तित हुनदेखि जोगिनुहोस्‌। “हाँस्ने एउटा समय” छ—र यसमा आफैलाई देखेर हाँस्नु पनि समावेश हुन सक्छ। (उपदेशक ३:४) तपाईंले निराश महसुस गर्नुभयो भने आफ्नो ध्यान कुनै सोखको विषय वा खेलकुदजस्ता तपाईंले राम्रो गर्न सक्नुहुने कामतर्फ खिच्नुहोस्‌। आफ्नो विश्‍वासबारे अरूलाई बताउने जस्तो “असल काममा . . . धनवान” हुँदा यसले तपाईंलाई आफूबारे अझ सकारात्मक भएर सोच्न मदत गर्न सक्छ।—१ तिमोथी ६:१८.

अन्तमा, “परमप्रभु दयासागर र अनुग्रही . . . हुनुहुन्छ। उहाँले सधैं हप्काइरहनुहुन्‍न” भन्‍ने कुरा नबिर्सनुहोस्‌। (भजन १०३:८, ९) जेसिका यसो भन्छिन्‌: “यहोवा परमेश्‍वरसित म जति धेरै नजिक हुन्छु, मैले भोग्ने सबै परिस्थितिहरूमा उहाँले सहयोग र मदत दिनुहुन्छ भन्‍ने कुराबारे त्यति नै धेरै विश्‍वस्त भएको मैले महसुस गरेकी छु।” हो, तपाईं असफल हुनुभए तापनि स्वर्गमा बस्नुहुने तपाईंको पिताले तपाईंको मोल गर्नुहुन्छ भन्‍ने कुरा थाह पाउनु सान्त्वनादायी छ। (g04 11/22)

[फुटनोट]

a तिनको नाउँ परिवर्तन गरिएको छ।

[पृष्ठ २८-मा भएको चित्र]

तपाईंबाट माग गरिएका कुराहरूको कारण तपाईं अतालिनुभयो भने खुलेर कुराकानी गर्ने आदरपूर्ण तरिका खोज्नुहोस्‌

[पृष्ठ २९-मा भएको चित्र]

तपाईंले राम्ररी गर्न सक्नुहुने काम गर्दा यसले असफलताको भावना हटाउन मदत गर्न सक्छ