सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आतङ्‌कवादी आक्रमणको भावनात्मक असर सामना गर्ने

आतङ्‌कवादी आक्रमणको भावनात्मक असर सामना गर्ने

आतङ्‌कवादी आक्रमणको भावनात्मक असर सामना गर्ने

स्पेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

मार्च ११, २००४ मा स्पेनको सहर म्याड्रिड तीनवटा बेग्ला-बेग्लै रेल स्टेसनमा भएका दसवटा बम विस्फोटनको आवाजले थर्किएको थियो। छोटो दुरीका चारवटा यात्रुवाहक रेलमा एकैचोटि भएका विस्फोटनको कारण लगभग १९० जना मानिस मरे र १,८०० जना जति घाइते भए।

बिहानको व्यस्त समयमा बम विस्फोट भएकोले गर्दा सबै रेलहरूमा खचाखच यात्रुहरू थिए र यसले पुऱ्‍याएको क्षति भयावह थियो। “यति शक्‍तिशाली विस्फोटन भएको थियो कि मैले रेलको सिङ्‌गै डिब्बा [एक मिटर] माथि उछिट्टिएको देखें” भनी आरोआ नाउँ गरेकी एक जना प्रत्यक्षदर्शी बताउँछिन्‌। “म आफ्नो रेलको डिब्बाबाट बाहिर निस्कँदा वरपरको पूरै क्षेत्र युद्ध मैदानजस्तै देखिन्थ्यो। वास्तविक जीवनमा यस्तो बबन्डर मच्चाइएको देख्दा यो एकदमै भयावह हुँदो रहेछ।” चारवटा बेग्ला-बेग्लै रेलका दसवटा डिब्बामा यस्ता बीभत्स घटनाहरू भए। आतङ्‌ककारीहरूले विस्फोटक पदार्थले भरिएका झोलाहरू रेलमा छोडेर मोबाइल फोनद्वारा यो विस्फोट गराएका थिए।

केही यात्रुहरूले आफू मुस्किलले बचेको भयानक घटना सम्झिरहेनन्‌ र यसरी त्यो घटना नसम्झिरहेको कारण तिनीहरूलाई सजिलो भयो। तर आरोआजस्तै, अरू सयौंले लामो समयसम्म शारीरिक तथा भावनात्मक चोटहरूको सामना गर्नुपऱ्‍यो। “विस्फोटनले मेरो श्रवणशक्‍ति नराम्रोसित बिगाऱ्‍यो तर मेरो मनलाई घरीघरी झस्काइरहने बीभत्स दृश्‍यले मलाई अझ बढी असर गरेको छ” भनी आरोआ बताउँछिन्‌।

“खुसीको कुरा, एक जना यहोवाको साक्षीको हैसियतमा मैले प्रशस्त भावनात्मक सहयोग पाएँ” भनी आरोआले बताइन्‌। “संसारभरिबाट आएका फोन र सन्देशहरूले हामी साँच्चै नै एउटा विश्‍वव्यापी भ्रातृत्वको भाग हौं भन्‍ने कुरा सम्झायो। साथै, यस्ता क्रूरताहरू किन हुन्छन्‌ भनी बुझ्न बाइबलले हामीलाई मदत दिन्छ। ‘आखिरी दिनमा’ मानिसहरू हिंस्रक हुनेछन्‌ र तिनीहरूमा स्वाभाविक प्रेम हुनेछैन भनी धर्मशास्त्रले पहिल्यै अगमवाणी गरेको थियो भनेर मैले आफ्ना केही सहकर्मीहरूलाई बताएँ। पीडा कम गर्नमा मेरो पूर्ण-समय सेवा पनि असाध्यै मूल्यवान्‌ साबित भएको मैले पाएकी छु।”—२ तिमोथी ३:१-३.

गम्भीर चोटपटक लाग्ने थुप्रै यात्रुहरूमध्ये पेड्रो पनि एक जना थिए। तिनी चढेको रेलमा बम विस्फोट हुँदा तिनी त्यस बमभन्दा लगभग चार मिटर मात्र पर उभिरहेका थिए। विस्फोटनको कारण तिनी भुइँमा पछारिए र तिनको टाउकोमा चोट लाग्नुका साथै श्‍वास-प्रश्‍वाससम्बन्धी गम्भीर समस्या देखापऱ्‍यो। पाँच दिनसम्मको सघन उपचारपछि तिनको स्वास्थ्यमा सुधार आउन थाल्यो। तिनलाई भेट्‌न आएका थुप्रै साक्षीहरूले तिनको मनोबल बढाए अनि यो देखेर नर्सहरू पनि छक्कै परे। “मैले काम गरेको २६ वर्षमा अहिलेसम्म कुनै पनि बिरामीलाई यत्तिका मानिसहरू भेट्‌न आएका र यति धेरै उपहारहरू पाएको मैले देखेकी छैन!” भनी एक जना नर्सले छक्क पर्दै बताइन्‌। अर्कोतर्फ, पेड्रोले भने उत्साहित हुँदै अस्पतालका कर्मचारीहरूबारे बताए। तिनले यसो भने: “तिनीहरू राम्रा थिए। चाँडै निको हुन तिनीहरूले मलाई धेरै मदत गरे।”

बम विस्फोटको सिकार भएकाहरूमध्ये थुप्रै भर्खरै अन्य देशबाट स्पेनमा बसाइँ सरेकाहरू थिए। आतोचा स्टेसनमा भएको पहिलो विस्फोटनमा क्युबाका मानुएल घाइते भएका थिए र दोस्रो विस्फोटन हुँदा तिनी बेहोस भए। “म स्टेसनको प्लेटफर्ममा लम्पसार परिरहेको बेला मानिसहरू अत्तालिएर भागदौड गर्दा मलाई कुल्चिए” भनी तिनी बताउँछन्‌। “जब मेरो होस फर्कियो मेरो दुइटा करङ भाँचिनुका साथै खुट्टामा चोट लागेको थियो अनि एउटा कान पटक्कै नसुन्‍ने भएको थियो।

“आकस्मिक कार्यकर्ताहरू—प्रहरी, एम्बुलेन्स सेवा र वारुणकर्मीहरू—केही मिनेटभित्रैमा घटनास्थल आइपुगे र तिनीहरूले हामीलाई सक्दो मदत गरे” भनी मानुएल बताउँछन्‌। “यस्तो अवस्थामा के गर्नुपर्छ भनेर तिनीहरूलाई राम्ररी थाह थियो र तिनीहरूको कार्यकुशलता र व्यावसायिक अनुभवले त्रासको वातावरण कम गर्न मदत गऱ्‍यो। तिनीहरूले मलाई आवश्‍यक उपचार गर्नुको अलावा मसित दयालु र अनुकम्पापूर्ण व्यवहार पनि गरे।”

डरलाग्दो घटनापछिको आघात

आरोआले जस्तै मानुएलले पनि ठूलो भावनात्मक चोट खप्नुपऱ्‍यो। तिनी यसो भन्छन्‌: “हालैको कुरा हो, रेल चढ्‌दा म एकदमै आत्तिएँ। म तुरुन्तै रेलबाट झर्नुपऱ्‍यो। सार्वजनिक सवारी साधनमा चढ्‌दा झोला वा त्यस्तै अरू कुरा बोकेको मानिस देखें भने मलाई अझ पनि डर लागेर आउँछ। तर मेरा परिवारका सदस्यहरू कोही पनि स्पेनमा नबस्ने भए तापनि अरूले भन्दा मैले धेरै मदत पाएको छु। मलाई साँच्चै नै सयौं साक्षीहरूले फोन गरे अनि मैले एक्लो महसुस नगरोस्‌ भनेर एउटा साक्षी परिवारले त मलाई केही दिनसम्म तिनीहरूकै घरमा बस्ने निम्तोसमेत दिए। हाम्रो विश्‍वव्यापी भ्रातृत्वबाट पाएको यस्तो अमूल्य सहयोगले मलाई शान्त रहन मदत गऱ्‍यो।”

कुनै पनि शारीरिक चोटपटक नलागेको सर्क्योलाई तिनी वरपरको दृश्‍यले अझै पनि हरेक दिन झस्काउँछ। तिनी बसिरहेको डिब्बाभन्दा अघिल्लो डिब्बामा एउटा र तिनको डिब्बाभन्दा ठ्याक्कै पछाडिको डिब्बामा अर्को एउटा बम विस्फोट भयो। आफ्नो परिवारको र सँगी साक्षीहरूको मायालु सहयोगको लागि मानुएलजस्तै तिनी पनि कृतज्ञ छन्‌। तिनले यसो भने: “तिनीहरूले मलाई माया पाएको महसुस मात्र गराएनन्‌ तर म एक-अर्काको ख्याल गर्ने एउटा एकताबद्ध भ्रातृत्वको सदस्य हुँ भन्‍ने कुरा पनि सम्झाए। यस्तो सहयोग मैले हरेक दिन पाएँ र थुप्रै टेलिफोन कलहरू आउँदा मैले आफ्ना भावनाहरू पोख्न सकें, जुन कुरा मलाई अक्सर गाह्रो लाग्छ।”

रेलका केही यात्रुहरूले भने भिन्‍नै प्रकारको चिन्ता महसुस गरे। डियगो, विस्फोट हुन नसकेका चारवटा बममध्ये एउटा बमको नजिकै बसिरहेका थिए, जुन कुराको तिनलाई पत्तै थिएन। विना कुनै चोटपटक तिनी रेलबाट बाहिर निस्कन सके। तिनले यसरी स्वीकारे: “तर घाइते भएकाहरूलाई मदत गर्न अघि नसरेकोमा म अहिले दोषी महसुस गर्छु। अतालिएर जतिसक्दो चाँडो स्टेसनबाट बाहिर निस्कन हतार गरिरहेका सयौं व्यक्‍तिहरूको भीड सँगसँगै म पनि बाहिर निस्कें।”

ब्राजिलबाट आएका युवक रामोन चढेका रेलमा भएको विस्फोटनको कारण तिनले यस्तो आघात महसुस गरे कि तिनलाई चलहल गर्न समेत गाह्रो भयो। तैपनि, यो आक्रमणको दुई दिनपछि, परमेश्‍वरको राज्यको सन्देश अरूलाई प्रचार गर्ने काममा भाग लिने निर्णय तिनले गरे। तिनको भेट पोर्चुगलको एक जना मानिससित भयो र आफूले साँचो धर्म खोजिरहेको कुरा ती व्यक्‍तिले रामोनलाई बताए। रामोनले ती व्यक्‍तिसित बाइबल अध्ययन सुरु गर्ने सके र तिनी तुरुन्तै मसीही सभाहरूमा उपस्थित हुन थाले। “अरूलाई आध्यात्मिक तवरमा मदत गर्न सक्दा तपाईं सञ्चो महसुस गर्नुहुन्छ” भनी रामोनले बताए।

निस्सन्देह, यस घटनाका सिकार भएकाहरू सबैलाई तिनीहरूले भोगेका शारीरिक तथा भावनात्मक चोटबाट मुक्‍त हुन केही समय लाग्नेछ। दुःखको कुरा, हामी यस्तो समयमा बाँचिरहेका छौं, जतिबेला जुनसुकै ठाउँमा पनि व्यर्थको हिंसा भड्‌किन सक्छ। अनि यस्ता घटनाहरूको कारण हुने भावनात्मक असरको सामना गर्न आध्यात्मिक कुराहरूले मदत दिन सक्ने भए तापनि यस्ता दुखद्‌ घटनाहरूलाई अन्ततः परमेश्‍वरको राज्यले मात्र पूर्णतया हटाउनेछ।—प्रकाश २१:३, ४. (g04 11/8)

[पृष्ठ १५-मा भएको पेटी/चित्र]

भावनात्मक असरको सामना गर्न आध्यात्मिक बल

मानुएल स्वारस

“मैले आघात महसुस गरेको र अस्पताल जान कुरिरहेको भए तापनि हितोपदेश १८:१० का यी शब्दहरू सम्झिरहें: ‘परमप्रभुको नाउँ एक बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्‌।’ ती शब्दहरूले मलाई बल दिए।”

आरोआ सान ह्वान

“तपाईंले यस्ता कुराहरू अनुभव गर्दा अहिलेको समय आखिरी दिन हो र हामीले आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गर्नुपर्छ भनेर अझ बढी महसुस गर्नुहुन्छ। मेरो पूर्ण-समय सेवाको कारण भावनात्मक असरबाट बिस्तार-बिस्तारै मुक्‍त हुँदैछु।”

फरमिन कासूस मोजास

“मेरो टाउकोमा चोट लागेको भए तापनि मैले मसँगैका केही घाइते यात्रीहरूलाई मदत गर्न र आश्‍वासन दिन सकें। मेरो विचारमा परमेश्‍वरले हामीलाई दिनुभएको पुनरुत्थानको आशाको कारण म शान्त रहन सकें, यो यस्तो आशा हो जसले हामीलाई यस्ता अवस्थाहरूमा बलियो बनाउँछ।”

पेड्रो कारासकिया

“छातीमा असाध्यै पीडा भएको कारण म सघन उपचार कक्षमा हुँदा १ तिमोथी ६:१९ का शब्दहरू मेरो मनमा बारम्बार आइरह्‍यो। यसले हामीलाई साँच्चैको जीवन दह्रो गरी पक्रिराख्न भविष्यको लागि आफ्नो निम्ति असल जग बनाउन प्रोत्साहन दिन्छ। यो पदले मलाई प्रमोदवनको हाम्रो आशाबारे सम्झाउँछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ। हामी यही लक्ष्य प्राप्त गर्ने कोसिस गरिरहेका छौं।”

[पृष्ठ १३-मा भएको चित्र]

माथि: उद्धारकर्मीहरू आतोचा स्टेसन बाहिरको रेलमार्गमा घाइते तथा मर्न लागेका व्यक्‍तिहरूको हेरविचार गर्छन्‌

[स्रोत]

Top: CORDON PRESS

[पृष्ठ १३-मा भएको चित्र]

दायाँ: एउटा अस्थायी स्मारक