सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नैरोबी—“चिसो पानीको ठाउँ”

नैरोबी—“चिसो पानीको ठाउँ”

नैरोबी—“चिसो पानीको ठाउँ”

केन्याका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“हेर्दै उराठलाग्दो दलदल, बतासले हानिएको, कुनै किसिमको मानव आबादी नभएको, किसिम-किसिमका हजारौं जङ्‌गली जनावरहरूको आवास। मानव अस्तित्वको एक मात्र सङ्‌केत चिपचिपे भुइँमा खत्र्याकखत्र्याक गुडिरहेको गाडी थियो।”—केन्या उपनिवेशको उत्पत्ति।

यी शब्दहरूले एक शताब्दीभन्दा अघिको नैरोबीको वर्णन गर्छ जहाँ सिंह, गैंडा, चितुवा, जिराफ, विषालु सर्प अनि विभिन्‍न किसिमका जङ्‌गली जनावरहरू हुन्थे। साहसी मसाई जातिले आफ्ना अतिप्रिय गाईवस्तुलाई त्यहींको खोल्सामा स्वच्छ पानी पिउनको लागि ल्याउँथे र यी फिरन्ते समुदायले अत्यन्तै मन पराएको ठाउँ थियो। वास्तवमा मसाई जातिले त्यस नदीलाई उआसो नैरोबी भन्थे जसको अर्थ हो, “चिसो पानी” अनि त्यस ठाउँलाई एन्कारे नैरोबी भन्थे जसको अर्थ हो “चिसो पानीको ठाउँ” र यसरी बन्‍न गएको नाउँले केन्याको इतिहासमै एउटा नयाँ मोड ल्याउने थियो।

नैरोबीको विकासमा भएको एउटा महत्त्वपूर्ण घटना केन्याको रेलमार्गको निर्माण थियो जुन कुनै समय लुनाटिक रेलमार्ग भनेर चिनिन्थ्यो। a सन्‌ १८९९ को बीचसम्ममा समुद्रीतटमा अवस्थित मोम्बासादेखि नैरोबीसम्म ५३० किलोमिटर लामो रेलमार्ग बिछ्याइसकेको थियो। यतिबेलासम्म “साभोका नरभक्षीहरू” भनी नाउँ कमाएका दुइटा सिंहले थुप्रै निर्माण कामदारहरूको ज्यान लिइसकेका थिए अनि त्यसमाथि ग्रेट रिफ्ट भ्यालीको भूभाग अत्यन्तै कठिन थियो। यो रेलमार्ग अझ भित्री भागसम्म पुग्नुपर्ने हुँदा प्रमुख डिपोको रूपमा प्रयोग गरिंदै आएको मोम्बासा त्यति व्यावहारिक नहुने देखियो। बरु, त्यति आकर्षक नदेखिने नैरोबी नै कामदारहरूको लागि विश्रामस्थल र निर्माण सामग्रीहरूको लागि भित्री भागमा अवस्थित डिपो बनाउन उपयुक्‍त ठहरियो। यसो हुँदा यसलाई पछि केन्याको राजधानी बनाउन सजिलो भयो।

बीसौं शताब्दीको सुरुतिर नैरोबीलाई नव निर्मित इस्ट अफ्रिका प्रोटेक्टोरेटको प्रशासकीय केन्द्र बनाइयो र त्यतिबेला केन्या त्यही नाउँले चिनिन्थ्यो। अग्रिम योजना बनाइएको भए यो विस्तार भइरहेको सहरलाई मदत पुग्ने थियो। त्यसो नभई रेल स्टेसनको छेउछाउमा जथाभावी भवनहरू बन्‍न थाले। काठ, जस्तापाता र अन्य स्थानीय सामग्रीबाट बनाइएका यी भवनहरूले गर्दा नैरोबी भावी अन्तरराष्ट्रिय केन्द्र जस्तो नभई अस्तव्यस्त बस्तीजस्तो देखियो। अनि २० औं शताब्दीको सुरुतिरका केही भवनहरू त्यस्तो सम्भावनालाई विचार गरेर बनाइएकै थिएनन्‌। साथै, त्यहाँ वरपर डुलिरहने जङ्‌गली जनावरहरूको खतरा पनि यथावतै थियो।

चाँडै यो नयाँ बस्ती रोगहरूको चपेटामा पऱ्‍यो। त्यहाँ देखापरेको रूढी नयाँ प्रशासनको लागि पहिलो ठूलो परीक्षा थियो। सबैभन्दा छिटो गर्न सकिने उपाय के थियो? रूढी फैलिन नदिन प्रभावित इलाकाहरूमा आगो लगाएर ध्वस्त पारियो! त्यसपछिको आधा शताब्दीमा नैरोबीको अशोभनीय बस्तीहरू बिस्तारै हटाइने थियो अनि यो पूर्वी अफ्रिकाको आर्थिक तथा सामाजिक केन्द्र बन्यो।

आधुनिक सहरको विकास कसरी भयो

लगभग १,६८० मिटरको उचाइमा अवस्थित नैरोबीबाट त्यस वरपरका भूभागको सुन्दर दृश्‍य देख्न सकिन्छ। मौसम सफा भएको दिनमा अफ्रिकाका दुइटा महत्त्वपूर्ण स्थानहरू स्पष्टै देखिन्छ। उत्तरमा माउन्ट केन्या पर्छ जसको उचाइ ५,१९९ मिटर छ र यो केन्याको सबैभन्दा अग्लो पहाड हुनुका साथै अफ्रिकाकै दोस्रो अग्लो हो। अझ दक्षिणमा केन्या-तान्जानियाको सीमातिर जाँदा भने माउन्ट किलिमन्जारो छ र ५,८९५ मिटर उचाइ भएको यो पहाड अफ्रिकाकै सबैभन्दा अग्लो हो। भूमध्यरेखाको नजिकै अवस्थित माउन्ट किलिमन्जारोमा सधैं हिउँ र बरफ देखेर १५० वर्षअघि युरोपेली भूगोलविद्‌ तथा अन्वेषकहरू छक्क परे।

पचास वर्षभन्दा लामो इतिहास बोकेको नैरोबी सहरमा आमूल परिवर्तन भएको छ। यसको सदा परिवर्तन भइरहने स्काइलाइनबाट पनि यसको वृद्धि प्रस्ट देखिन्छ। उष्ण कटिबन्धीय क्षेत्रमा सूर्य अस्ताउन लागेको आकाशमा अहिलेको चमचम चम्कने सिसा र स्टिलको अग्ला तथा ठूल्ठूला भवनहरूको छायाँ देखिंदाको दृश्‍य अत्यन्तै मनमोहक हुन्छ। नैरोबीको केन्द्रिय व्यापार इलाकामा घुम्न आउने व्यक्‍तिलाई एक सय वर्षअघि यहाँ जङ्‌गली जनावरहरू ढुकिरहेका हुन्थे र मानिसहरूको लागि खतरनाक ठाउँ थियो भनेर पत्याउनै गाह्रो लाग्न सक्छ।

समयको दौडान त्यो परिवर्तन भएको छ। यहाँ सुन्दर कागजी फूल, फूल लागिरहेको पारिजात, एकदमै चाँडचाँडो बढ्‌ने मसालाको रूख र अकेसिया जस्ता विशेष वनस्पति लगाइयो। यसरी, पहिलाको धुलाम्मे बाटोहरू पनि बिस्तारै दुवै छेउमा रूखै रूख भएको मार्ग हुन थाले र यसले अहिलेसम्म पनि गर्मी महिनाहरूमा पैदलयात्रीहरूलाई शीतलता दिन्छ। सहरको केन्द्र नजिकैको वनस्पति गृहमा कम्तीमा २७० प्रकारका रूखहरू छन्‌। यसकारण अर्को एक जना लेखकले नैरोबीलाई “जङ्‌गलको बीचमा बसालिएको सहरजस्तो देखिन्छ” भन्‍नुको कारण बुझ्न सक्छौं। यहाँको फस्टाउँदो वनस्पतिले नैरोबीको मजाको तापक्रम कायम राख्न निकै मदत गरेको छ जहाँ दिउँसो न्यानो अनि राती शीतल हुन्छ।

विभिन्‍न संस्कृतिहरूको सङ्‌गमस्थल

एउटा ठूलो चुम्बकले झैं नैरोबीले थरीथरीका मानिसहरूलाई आकर्षित गरेको छ। यो सहरको जनसंख्या अहिले २० लाखभन्दा बढी भएको छ। यहाँको रेलमार्गको निर्माणकार्य पूरा भएपछि यहाँ बसोबास गर्न मानिसहरूलाई सजिलो भएको छ। रेलमार्ग निर्माण गर्न भारत वा इस्ट इन्डिजबाट आएका थुप्रै व्यक्‍तिहरू पनि यहीं बसेर देशभरि फैलिएका ठूल्ठूला व्यापारहरू सँभालिरहेका छन्‌। अन्य उद्यमीहरू भने अस्ट्रेलिया, क्यानाडा र विभिन्‍न अफ्रिकी मुलुकहरूबाट आए।

नैरोबी विभिन्‍न संस्कृतिहरूको सङ्‌गमस्थल हो। बाटोमा हिंड्‌दा यस्ता दृश्‍यहरू सामान्य हुन्‌, सारी लगाएर किनमेल गर्नको लागि गइरहेकी भारतीय महिला, हतार हतार निर्माण थलोतर्फ गइरहेका पाकिस्तानी इन्जिनियर, सफा चिटिक्क लुगा लगाएका नेदरल्याण्ड्‌सका विमान परिचारक जो सहरको एउटा होटेलमा बस्न जाँदैछन्‌ वा सायद नैरोबीको फस्टाउँदो शेयर बजारमा एउटा अत्यन्तै महत्त्वपूर्ण व्यापार सभाको लागि हतार हतार गइरहेका जापानी व्यापारी। यसबाहेक, स्थानीय बासिन्दाहरू बस स्टपमा पर्खिरहेका, पसलमा व्यापार गरिरहेका, हाटबजारहरू, पसलमा अनि नैरोबीका कार्यालय तथा थुप्रै उद्योगहरूमा काम गरिरहेका पाइन्छ।

तर वास्तविकता हेर्ने हो भने यो सहरमा बसोबास गर्ने थोरै केन्यालीहरूलाई मात्र साँच्चै “नैरोबीका रैथानेहरू” भन्‍न मिल्छ। प्रायजसो मानिसहरू उत्तम जीवनको खोजीमा देशका अरू विभिन्‍न ठाउँहरूबाट आएका छन्‌। समष्टिगत रूपमा हेर्ने हो भने, नैरोबीका बासिन्दाहरू मित्रैलो र अतिथिसत्कार गर्ने स्वभावका छन्‌। सायद अतिथिसत्कार गर्ने यस्तो बानीले गर्दा संसारका प्रमुख तथा क्षेत्रीय कार्यालयहरू यहाँ अवस्थित छन्‌। संयुक्‍त राष्ट्रसंघीय वातावरण कार्यक्रमको मुख्यालय नैरोबीमा छ।

पयर्टकहरू कुन कुराले गर्दा आकर्षित हुन्छन्‌?

केन्या विभिन्‍न किसिमका वन्यजन्तु भएको देश हो। यसका थुप्रै राष्ट्रिय निकुञ्ज तथा सिकार आरक्षहरूले वर्षेनी हजारौं आगन्तुकहरूलाई आकर्षित गर्छ। प्रायजसो यात्राहरू नैरोबीबाटै सुरु गरिन्छ। यद्यपि, नैरोबी सहर आफै पनि एउटा पर्यटन केन्द्र हो। संसारमा यस्ता सहरहरू कमै मात्र होलान्‌ जहाँ जनावरहरू ढोका छेउमै डुलिरहेका हुन्छन्‌। सहरको मध्यभागबाट दस किलोमिटरभन्दा कमको दूरीमा अवस्थित नैरोबी राष्ट्रिय निकुञ्ज आगन्तुकहरूको लागि स्वर्ग नै हो। b यहाँ नैरोबीका रैथानेहरू प्रत्यक्ष देख्न सकिन्छ। दुई चारवटा तारले मात्र जनावर तथा मानिसहरूलाई छुट्याएको छ। अनि हालै सेप्टेम्बर २००२ को कुरा हो, एउटा पूरै हुर्किसकेको चितुवा नजिकैको जङ्‌गलबाट बाटो बिराएर नैरोबीको एउटा घरको बैठकमा भेटिएको थियो!

सहरको मध्यभागबाट दुई चार मिनेट हिंडेपछि नैरोबी सङ्‌ग्रहालय पुगिन्छ। केन्याको रोचक इतिहासबारे थाह पाउन यहाँ दिनहुँ सयौं पर्यटकहरू आउँछन्‌। सङ्‌ग्रहालयकै परिसरमा अवस्थित सर्प पार्कमा विभिन्‍न जातका घस्रने जीवहरू छन्‌। आगन्तुकले एकटक लाएर हेर्दा पनि गोहीलाई केही फरक नपरेजस्तो देखिन्छ। नजिकै बसिरहेको कछुवाको लोसे गतिको बावजुद यसलाई पनि आफू वरपरको व्यस्त संसारले कुनै फरक नपारेजस्तो देखिन्छ। निस्सन्देह, यहाँका प्रमुख जीवहरू भने जमिनमा घस्रने कोब्रा, पाइथन र भाइपरहरू हुन्‌। यस्ता प्राणीहरू भएको हुँदा यो सूचनाबारे भने होसियार हुनुहोस्‌: “विषालु सर्पहरूदेखि होसियार!”

बेग्लै किसिमको पानी

जुन नदीको नाउँबाट नैरोबी नाउँ रहन गएको हो, त्यो अझै बगिरहेको भए तापनि यसको पानी औद्योगिक तथा घरायसी फोहोरले गर्दा प्रदूषित भएको छ र यो प्रायजसो विकासोन्मुख राष्ट्रहरूको समस्या हो। तथापि, वर्षौंको दौडान नैरोबीका बासिन्दाहरूलाई अझ उच्च स्रोतको “पानी” प्रदान गरिंदैछ। यो यहोवाका साक्षीहरूले सिकाउने बाइबलमा पाइने जीवनको सन्देश हो।—यूहन्‍ना ४:१४.

नैरोबीले अहिलेको जस्तो नाउँ कमाउनु धेरै समयअघि सन्‌ १९३१ मा दक्षिण अफ्रिकाबाट दुई जना दाजुभाइ ग्रे र फ्रांक स्मिथ बाइबल सत्य फैलाउने उद्देश्‍य बोकेर केन्या आए। तिनीहरू मोम्बासादेखि रेलमार्ग हुँदै यात्रा गरे अनि बाटोमा थुप्रै खतराहरूको सामना गर्नुपऱ्‍यो, कहिलेकाहीं त जङ्‌गली जनावर आउन सक्ने ठाउँ वरपर पनि सुत्नुपऱ्‍यो। नैरोबीमा तिनीहरूले अन्य बाइबल साहित्यको अलावा ६०० वटा पुस्तिका वितरण गरे। अहिले नैरोबी महानगरको ६१ वटा मण्डलीमा लगभग ५,००० साक्षीहरू छन्‌। सभा, सम्मेलन, जिल्ला अधिवेशन तथा अन्तरराष्ट्रिय अधिवेशनहरूद्वारा नैरोबीका बासिन्दाहरूलाई अहिले यहोवाका साक्षीहरूको गतिविधिबारे धेरै कुरा थाह भइसकेको छ। थुप्रैले बाइबलमा पाइने आशाको सन्देश खुसीसाथ स्वीकारेका छन्‌।

एउटा उज्ज्वल आशा

“औद्योगिक सहरहरूमा अक्सर पर्याप्त आवासको अभाव हुन्छ . . . कारखानाहरूले हावा र पानीका स्रोतलाई प्रदूषित बनाउँछ” भनी इन्साइक्लोपीडिया ब्रिटानिका बताउँछ। नैरोबीको अवस्था पनि यस्तै छ। ग्रामीण इलाकाबाट मानिसहरू यहाँ बसाइँ सरिरहेको हुँदा यी समस्याहरू अझ बढ्‌न सक्छन्‌। यस्ता समस्याहरूको ओइरो लागिरहँदा नैरोबीको सौन्दर्य चालै नपाई हराउन सक्छ।

तर खुसीको कुरा, परमेश्‍वरको राज्यअन्तर्गत एउटा यस्तो समय आउँदैछ जहाँ सबै मानिसहरूले जीवनको पूर्ण आनन्द उठाउनेछन्‌ र अहिले सहरको जीवनलाई कठिन बनाउने कुनै पनि समस्याहरू त्यहाँ हुनेछैनन्‌।—२ पत्रुस ३:१३.(g04 11/8)

[फुटनोटहरू]

a रेलमार्गको निर्माणसम्बन्धी विस्तृत विवरणको लागि अवेक! सेप्टेम्बर २२, १९९८, पृष्ठ २१-२४ मा प्रकाशित “पूर्वी अफ्रिकाको ‘लुनाटिक एक्सप्रेस’ ” भन्‍ने लेख हेर्नुहोस्‌।

b जून ८, २००३, अवेक! पृष्ठ २४-२७ हेर्नुहोस्‌।

[पृष्ठ १६-मा भएको नक्सा]

नैरोबी

[पृष्ठ १८-मा भएको चित्र]

माउन्ट किलिमन्जारो

[पृष्ठ १८-मा भएको चित्र]

माउन्ट केन्या

[स्रोत]

Duncan Willetts, Camerapix

[पृष्ठ १८-मा भएको चित्र]

हाटबजार

[पृष्ठ १९-मा भएको चित्र]

सन्‌ १९३१ मा फ्रांक र ग्रे स्मिथ

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

© Crispin Hughes/Panos Pictures