सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मोटोपन—कारण के हो?

मोटोपन—कारण के हो?

मोटोपन—कारण के हो?

“हाम्रा छोराछोरीहरूको स्वास्थ्यमा भयावह असर गर्न सक्ने एउटा महामारीले हामीलाई गाँजिसकेको छ। यसलाई रोकथाम गर्न समाज अहिले नै जुरमुराएन भने मोटोपनको समस्या अझै बढ्‌नेछ।”—विलियम जे. क्लिस्‌, बाल-चिकित्सक

तौलसम्बन्धी समस्या नहुने केही व्यक्‍तिहरूले ओभरवेट र मोटाहरूलाई हेय दृष्टिले हेर्छन्‌ र त्यस्ताहरूलाई कमजोर आत्मबल भएका अनि केही गर्छु भन्‍ने ठोस उत्प्रेरणा नभएका व्यक्‍ति ठान्‍ने गर्छन्‌। तर के कुरा यत्तिकैमा टुङ्‌गिन्छ? के मोटाहरू पटक्कै शारीरिक व्यायाम नगर्ने अल्छे नै हुनुपर्छ? अथवा नियन्त्रण गर्नै गाह्रो पर्ने जटिल कारणहरू पनि छन्‌ कि?

वंशानुगत कि वातावरण? अथवा दुवै?

फुड फाइट शीर्षकको पुस्तक यसो भन्छ: “मोटोपनको मुख्य कारण आनुवंशिक हो या वातावरण भन्‍ने विवाद लामो समयदेखि रहँदै आएको छ।” यहाँ आनुवंशिक कारण भनेको के हो? मानव शरीरले भविष्यको लागि भनेर स्वाभाविकतः चाहिने भन्दा बढी क्यालोरी सञ्चय गर्ने गर्छ भन्‍ने विचारको पक्षमा कोही-कोही छन्‌। सोही स्रोत अझै यसो भन्छ: “दशकौंदेखि मोटोपनको आनुवंशिकताबारे अध्ययन हुँदै आएको छ। . . . हाल आएर मानव जीन तथा मोटोपनबारे धेरै अनुसन्धानहरू भएका छन्‌। तौल बढ्‌ने र मधुमेह जस्ता रोगहरूतर्फ उन्मुख गर्ने जीनहरू पहिचान गर्न धेरै अत्याधुनिक प्रविधिहरू प्रयोग हुँदैछन्‌। विज्ञानको भाषाअनुसार सामान्यतया कुनै व्यक्‍तिको तौल बढ्‌नुमा २५ देखि ४० प्रतिशत त उसको जीनकै भूमिका हुन्छ।” उक्‍त पुस्तक अझै यसो भन्छ: “कुनै व्यक्‍ति मोटो हुनुको सारा दोष उसकै टाउकोमा थुपार्ने प्रवृत्तिलाई विचार गर्ने हो भने मोटो हुनुमा ममव्यक्‍तिको शरीरको संरचनाले खेल्ने भूमिकालाई कदापि नकार्न सकिंदैन तैपनि मोटोपनको ६० प्रतिशतभन्दा बढी कारण त वातावरण नै हो।” यसको अर्थ, कुनै व्यक्‍ति मोटाउनुको प्रमुख कारण अझै पनि उसको जीवन शैली हो। के कुनै व्यक्‍तिले दिनभरि आफूले खर्च गर्नेभन्दा बढी क्यारोली लिने गर्छ? कतै उसले नियमित रूपमा गलत प्रकारको भोजन पो लिइरहेको छ कि? के उसले दिनभरिमा हल्का-फुल्का व्यायामको लागि समय छुट्याउँछ?

मायो क्लिनिकले मोटोपनको कारणलाई सरल भाषामा यसरी व्याख्या गर्छ: “ओभरवेट अनि मोटोपनको एउटा कारक तत्त्व जीन हुन सक्ला तर तपाईंको शरीरको तौल अन्ततः तपाईंको खानपान अनि शारीरिक क्रियाकलापमै निर्भर हुन्छ। लामो समयसम्म अचाक्ली क्यालोरी लिने, निष्क्रिय जीवन बिताउने अथवा यी दुवै कुराहरूको संयोगले मोटोपन गराउन सक्छ।” (छड्‌के अक्षर हाम्रो।) सोही स्रोत अझै यसो भन्छ: “तपाईंको वंशाणुले गर्दा तपाईं मोटो हुनुहुन्छ नै भन्‍ने छैन। . . . तपाईंको जीनको संरचना जस्तोसुकै होस्‌, तपाईंको तौल निर्धारण गर्ने मुख्य तत्त्व भोजनसम्बन्धी तपाईंको छनौट अनि क्रियाकलाप नै हो।”

धेरै मानिसहरू मोटाउनअघिको आफ्नो पुरानै बनौटमा फर्कन लालायित हुँदा तौल घटाउने कम्पनीहरू मालामाल भएका छन्‌। तर यस्ता कम्पनीहरूले ल्याउने कार्यक्रमहरूबारे विशेषज्ञहरू के भन्छन्‌? फुड फाइट नामक पुस्तक यसो भन्छ: “मोटोपन घटाउन धेरै गाह्रो छ, तौल घटाइसकेका अधिकांश व्यक्‍तिहरूले समेत घटिसकेको आफ्नो तौललाई कायम राख्न सक्दैनन्‌। सकारात्मक परिणाम खोज्ने हो भने पनि अत्यन्तै कठिन प्रयत्नपश्‍चात्‌ केवल २५ प्रतिशत जतिले [चार जनामा एक जनाले] मात्र आफ्नो तौल घटाउँछन्‌ र त्यसलाई कायम राख्छन्‌ भन्‍ने अनुमान छ।”

मोटोपनका खतराहरू

मोटोपनले धेरै भयावह स्वास्थ्य समस्याहरूतिर उन्मुख गराउन सक्छ। युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्निया मेडिकल सेन्टरका स्नायुविद्‌ डा. सक्ट लोरेन-सेल्कोले मोटा जवानहरूलाई समेत टाइप २ मधुमेह हुन सक्ने खतराबारे सचेत गराउँछन्‌। (जुन ८, २००३ को ब्यूँझनुहोस्‌! हेर्नुहोस्‌) उनी भन्छन्‌: “यी खतराहरू हरबखत हामी आफ्नै आँखाले देखिरहेका छौं र साँच्चै धेरै डरलाग्दा छन्‌। म [मोटोपनका बिमारीहरूलाई] मधुमेहको वार्डमा लगेर तिनीहरूको सम्भाव्य भविष्य देखाउन सक्छु भनेर भन्छु: टाइप २ [मधुमेहले] गर्दा भएको अन्धोपन, अङ्‌गभङ्‌ग अनि पूर्णतया अशक्‍त असंख्य व्यक्‍तिहरू—जो सबै मोटा छन्‌। समस्या चर्काउने एउटा कारण के हो? लोरेन सेल्को भन्छन्‌, “तिनीहरूसित अत्यन्तै ठूलो ह्‍यामवर्गर अनि फ्रेन्च-फ्राइज किन्‍ने औकात छ र तिनीहरू त्यो खान्छन्‌। अनि यसो गर्नु गलत हो भनेर तिनीहरूलाई कसैले भन्दैनन्‌, फास्ट फुड कम्पनीहरूले भन्‍ने त कुरै भएन, नलुकाई भन्‍ने हो भने चिकित्सकहरू समेत केही भन्दैनन्‌ किनकि तिनीहरू समेत पोषणबारे प्रशिक्षित छैनन्‌।”

पोषणसम्बन्धी एक प्रसिद्ध लेखक डा. एडवार्ड टाउव यसो भन्छन्‌: “अहिले ओभरवेट हुनु सामान्य र आधुनिक जीवनको एउटा स्वीकार्य पक्ष हो भनेर विश्‍वास गर्नु अझ लोकप्रिय र आपत्ति जनाउनु नपर्ने कुरा भइसकेको छ। केवल आर्थिक लाभको कारण चालिएको यो एउटा घोर व्यापारिक चाल हो जुन हामीलाई मोटो बनाउँदा अझै मौलाउँछ।”

विशेषज्ञहरूको भनाइअनुसार “स्याउ जस्तो आकार” अर्थात्‌ पेट वरिपरि बोसो हुनेहरूभन्दा (विशेष गरेर ३५ देखि ४० इन्चसम्म कम्मर भएमा) “नास्पातीको जस्तो आकार हुने” अर्थात्‌ नितम्बतिर बढी बोसो हुने व्यक्‍तिहरू तुलनात्मक रूपमा बढी स्वस्थ्य हुन सक्छन्‌। किन? किनभने “पेटमा जमेको बोसोले उच्च रक्‍तचाप, मुटुसम्बन्धी रोग, मधुमेह, हृदयघात अनि केही खास प्रकारका क्यान्सर गराउने खतरा बढी हुन्छ” भनी मायो क्लिनिक अन हेल्थी वेट शीर्षकको पुस्तक बताउँछ। यदि तपाईंको शारीरिक बनौट नास्पाती आकारको छ अर्थात्‌ तपाईंको नितम्ब, तिघ्रा र पुट्ठाको आकार ठूलो छ भने तपाईंमा स्वास्थ्यसम्बन्धी खतरा तुलनात्मक रूपमा त्यति नहुन सक्छ।”

त्यसोभए, ओभरवेट अनि स्वास्थ्यसम्बन्धी गम्भीर खतरा लिएर बाँचिरहेका ती करोडौं वयस्क र बच्चाहरूको लागि समाधान के छ त? के कुनै प्रभावकारी निवारण छ? (g04 11/8)

[पृष्ठ ५-मा भएको पेटी/चित्र]

बि एम आई के हो? यसले तपाईंलाई के भन्छ?

बि एम आई (बडी मास इन्डेक्स) उचाइ र तौलको अनुपात हो जसले कुनै व्यक्‍ति ओभरवेट अर्थात्‌ हुनुपर्ने तौलभन्दा बढी छ या ऊ अचाक्ली मोटाइसकेको छ भनी निर्क्योल गर्न मदत गर्न सक्छ। मायो क्लिनिकअनुसार बि एम आई १८.५ देखि २४.९ को बीचमा छ भने सबैभन्दा स्वास्थ्यजनक मानिन्छ। यदि तपाईंको बि एम आई २५ देखि २९.९ भित्र छ भने तपाईं ओभरवेट हुनुहुन्छ। बि एम आई ३० भन्दा धेरै हुने व्यक्‍तिलाई मोटोपनको वर्गमा राखिन्छ। चार्टअनुसार आफ्नो बि एम आई कसरी जाँच्ने? आफू कुन वर्गमा पर्छु भनी ठम्याउन र सल्लाह लिन तपाईं डाक्टरकहाँ जानु पर्ने हो कि?

आफ्नो बि एम आई थाह पाउन आफ्नो तौललाई किलोग्राममा नाप्नुहोस्‌, उक्‍त तौललाई मिटरमा रहेको आफ्नो उचाइले भाग गर्नुहोस्‌, त्यसपछि उक्‍त भागफललाई मिटरमा रहेको आफनो उचाइले फेरि भाग गर्नुहोस्‌। उदाहरणको लागि यदि तपाईंको तौल ९० किलोग्राम र उचाइ १.८ मिटर छ भने बि एम आई २८ हुन्छ (९०÷ १.८ ÷ १.८ = २८)।

[तालिका]

स्वस्थ्य ओभरवेट अचाक्ली मोटो

बि एम आई १८.५-२४.९ २५-२९.९ ३० अथवा बढी

उचाइ तौल किलोग्राममा

१.४७मि. ५३ अथवा कम ५४-६४ ६५ अथवा बढी

१.५०मि. ५६ अथवा कम ५७-६७ ६८ अथवा बढी

१.५२मि. ५७ अथवा कम ५८-६९ ७० अथवा बढी

१.५५मि. ५९ अथवा कम ६०-७१ ७२ अथवा बढी

१.५७मि. ६१ अथवा कम ६२-७३ ७४ अथवा बढी

१.६०मि. ६३ अथवा कम ६४-७६ ७७ अथवा बढी

१.६३मि. ६६ अथवा कम ६७-७९ ८० अथवा बढी

१.६५मि. ६७ अथवा कम ६८-८१ ८२ अथवा बढी

१.६८मि. ७० अथवा कम ७१-८४ ८५ अथवा बढी

१.७०मि. ७२ अथवा कम ७३-८६ ८७ अथवा बढी

१.७३मि. ७४ अथवा कम ७५-८९ ९० अथवा बढी

१.७५मि. ७६ अथवा कम ७७-९१ ९२ अथवा बढी

१.७८मि. ७९ अथवा कम ८०-९४ ९५ अथवा बढी

१.८०मि. ८० अथवा कम ८१-९७ ९८ अथवा बढी

१.८३मि. ८३ अथवा कम ८४-१०० १०१ अथवा बढी

१.८५मि. ८५ अथवा कम ८६-१०२ १०३ अथवा बढी

१.८८मि. ८९ अथवा कम ९०-१०६ १०७ अथवा बढी

१.९०मि. ९० अथवा कम ९१-१०८ १०९ अथवा बढी

[स्रोत]

मायो क्लिनिक अन हेल्थी वेल्थ पुस्तकमा आधारित

[पृष्ठ ५-मा भएको पेटी]

क्यारोली के हो?

परहेजमा बस्ने व्यक्‍तिको क्यारोलीलाई कसरी परिभाषित गरिन्छ? यो तापशक्‍ति नाप्ने प्रमाणिक एकाइ हो। त्यसैले तपाईंले पसिना निकाल्नुहुँदा तपाईं क्यालोरी अर्थात्‌ तापशक्‍ति खर्च गर्नुहुन्छ। “एक किलोग्राम पानीलाई ठीक एक सेन्टिग्रेडको तापक्रममा तताउन जति परिमाणमा ताप चाहिन्छ त्यसैलाई एक क्यारोली भनिन्छ।” (ब्यालेन्स्‌ योर बडी, ब्यालेन्स्‌ योर लाइफ) उचाइ, तौल, उमेर अनि उसको क्रियाकलापको आधारमा हरेक व्यक्‍तिको दैनिक क्यालोरी अथवा शक्‍तिको आवश्‍यकता फरक-फरक हुन्छ।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

तपाईं बसी-बसी काम गर्ने खालको हुनुहुन्छ, यदि

◼ तपाईं आफ्नो अधिकांश समय बसेर टेलिभिजन हेरेर अथवा कुर्सी अथवा गाडीमा बसेर बिताउनुहुन्छ— अर्को शब्दमा भन्‍नुपर्दा चलहल नगरी बिताउनुहुन्छ भने

◼ कहिलेकाहीं मात्र एक सय मिटरभन्दा लामो दूरी हिंड्‌नुहुन्छ भने

◼ तपाईंको कामले गर्दा तपाईं धेरै चलहल गर्नु पर्दैन भने

◼ हप्ताको एक पटक पनि २० देखि ३० मिनेट व्यायाम गर्नुहुन्‍न भने

[स्रोत]

मायो क्लिनिक अन हेल्थी वेल्थ पुस्तकमा आधारित