सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इन्टरनेट—खतराहरूबाट कसरी जोगिने

इन्टरनेट—खतराहरूबाट कसरी जोगिने

बाइबलको दृष्टिकोण

इन्टरनेट—खतराहरूबाट कसरी जोगिने

आ फ्नो अन्‍न बेच्ने सबैभन्दा उपयुक्‍त समय कुन हो भनी थाह पाउन भारतको एउटा दुर्गम गाउँका एक जना किसान संयुक्‍त राज्य अमेरिकाको सिकागोमा भटमासको भाउ बुझ्छन्‌। त्यस्तै एक जना अवकाश-प्राप्त महिला आफ्नो नातिको इमेल पढ्‌दै मुसुक्क मुस्कुराउँछिन्‌, एक जना यात्री आफ्नो गन्तव्यस्थलको मौसमबारे जानकारी लिन्छन्‌ अनि एउटी आमाले आफ्नो बच्चाको होमवर्कको लागि उपयोगी जानकारीहरू फेला पार्छिन्‌—सबै इन्टरनेटमार्फत। विश्‍वका ६० करोड मानिसहरू इन्टरनेट सञ्जालमा आबद्ध छन्‌ भन्‍ने अनुमान गरिन्छ र इन्टरनेट क्रान्तिले संसारको सञ्चार र व्यापार गर्ने तरिकामै आमूल परिवर्तन ल्याइदिएको छ।

कहिलेकाहीं साइबर पुस्ता पनि भनिने विशेष गरेर युवा पुस्ताले इन्टरनेटलाई अँगालेका छन्‌। विद्यार्थीहरूले समाचार र अनुसन्धानको मुख्य स्रोतको रूपमा पुस्तकालयको ठाउँमा इन्टरनेटलाई स्थापित गराउन बढ्‌दो रूपमा इन्टरनेटको प्रयोग गर्छन्‌। संयुक्‍त राज्य अमेरिकाको कलेजका विद्यार्थीहरूको अध्ययन-अनुसन्धानका निर्देशक डिएना एल. टिलिचले यसो भनिन्‌, “समष्टिमा भन्‍नुपर्दा यी विद्यार्थीहरूले अध्ययन-अनुसन्धानको लागि मुख्यतः इन्टरनेट नै चलाउँछन्‌।” हो, आजको आधुनिक समाजमा इन्टरनेट एउटा महत्त्वपूर्ण औजार हो।

साधारणतया, औजार जति शक्‍तिशाली हुन्छ त्यति नै खतरनाक पनि हुन सक्छ। मेसिनबाट चल्ने करौंतीले हाते करौंतीले भन्दा कता हो कता धेरै काम भ्याउन सक्छ तर मेसिनबाट चल्ने करौंतीलाई चलाउँदा होस भने पुऱ्‍याउनै पर्छ। त्यसरी नै इन्टरनेट पनि औधी प्रभावकारी र उपयोगी छ तर यसलाई प्रयोग गर्दा होस गर्नै पर्छ किनकि यसले पनि गम्भीर खतराहरू निम्त्याउँछ। यिनै खतराहरूको चिन्ताले गर्दा समाजलाई साइबर अपराधबाट सुरक्षा दिने उद्देश्‍यले युरोपेली परिषद्‌का ४० भन्दा धेरै राष्ट्रहरू एउटा अन्तरराष्ट्रिय सम्झौताको मस्यौदा तयार पार्न बाध्य भए।

किन यतिबिघ्न चिन्ता? मसीहीहरूको लागि विशेष चिन्ताको विषय बनेका केही खतराहरू के-के हुन्‌? के यस्ता खतराहरूले गर्दा तपाईंले इन्टरनेट चलाउनै बन्द गर्नुपर्छ त? बाइबलले के कस्ता निर्देशनहरू दिन्छ?

सावधानीको आवश्‍यकता

शताब्दीयौं पहिले बाइबलले “उपद्रवतिर लाग्ने” र “षड्यन्त्र” गर्ने भनी वर्णन गरिएका दुष्ट मानिसहरूले उत्पन्‍न गर्ने खतराबारे सजग गरायो। (हितोपदेश २४:८) अगमवक्‍ता यर्मियाले तिनीहरूलाई “दुष्ट मानिसहरू” जसका “घरहरू छलले भरिएका छन्‌” भनी वर्णन गरे। सिकारीजस्तै तिनीहरूले मानिसहरूलाई पक्रन र “धनी” हुन “पासो थाप्छन्‌।” (यर्मिया ५:२६, २७) प्रविधिले गर्दा आजका “दुष्ट मानिसहरू[लाई]” नयाँ-नयाँ तरिकाका छलपूर्ण पासोहरू उपलब्ध गराइदिएको छ। मसीहीहरूको लागि ठूलो खतरा हुन सक्ने केही यस्ता तरिकाहरूमा ध्यान दिऔं।

इन्टरनेटमा पाइने अश्‍लील कुराहरू वार्षिक लगभग १.२ खरब व्यापार गर्ने एउटा उद्योग हो। विगत पाँच वर्षमा अश्‍लील वेबसाइटको संख्या झण्डै १,८०० प्रतिशतको दरले विस्फोटक गतिमा बढेको छ। अनुमानअनुसार हाल यस्ता वेब-पेजहरूको संख्या २६ करोडभन्दा धेरै छ अनि यो संख्या अभूतपूर्व गतिमा निरन्तर बढिरहेको छ। सेन्टर फर अन-लाइन अडिक्सनका कार्यकारी निर्देशक डा. किम्बरली एस. योङ्‌ग-ले यसो भनिन्‌: “इन्टरनेटमा अश्‍लीलता यति व्यापक भएको छ कि हेर्ने इच्छा नहुँदा नहुँदै पनि त्यसबाट अलग रहन गाह्रो भइसकेको छ, फलतः साइबर सेक्समा लग्गू हुनेहरूको संख्या पनि बढ्‌दो छ।”

बाइबल हामीलाई यसो भन्छ, “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ।” (याकूब १:१४) कम्प्युटर हुने प्रत्येक व्यक्‍तिलाई सम्भाव्य सिकार ठान्दै अश्‍लीलताका व्यापारीहरूले हरेक व्यक्‍तिको “तृष्णा” अर्थात्‌ “शरीरको अभिलाषा, आँखाको अभिलाषा[लाई]” लोभ्याउन विभिन्‍न चालहरू चाल्ने गर्छन्‌। (१ यूहन्‍ना २:१६) तिनीहरूको नियत लोभ्याउनु हो र लोभ्याउनुलाई भाइन एक्सपोजिटरी डिक्सनरी अफ बिब्लिकल वड्‌र्स-ले यस्तो व्याख्या गर्छ, “चारो हालेर प्रलोभित पार्नु”—सचेत नभएका इन्टरनेट प्रयोगकर्ताहरूलाई तिनीहरू ‘फकाउन’ खोज्छन्‌।—हितोपदेश १:१०.

बाइबल समयका दुष्ट मानिसहरूले जस्तै अश्‍लीलताको व्यापार गर्नेहरू घरीघरी चाल चलिरहन्छन्‌। नयाँ ग्राहकहरूलाई प्रलोभित पार्ने आक्रामक प्रयासमा हरेक दिन करिब दुई अरब अश्‍लील इमेलहरू पठाइने गरिन्छ। बेनामी इमेलका विषयहरू हेर्दा प्रायजसो अहानिकारक जस्तो देखिन सक्छ। तर खोल्दा अनैतिक दृश्‍यहरूको ओइरो नै लाग्न सक्छ जसलाई रोक्नै गाह्रो हुन्छ। मेलिङ्‌ग लिस्टबाट आफ्नो इमेल ठेगाना हटाउन अनुरोध गर्दा उल्टै थप अश्‍लील सन्देशहरूको बाढी नै लाग्न सक्छ।

एक जना सिकारीले बाटोमा होसियारसाथ अन्‍न राख्छ। सोझो चरा झ्याप्प पासोमा नपरेसम्म एकपछि अर्को गर्दै स्वादिलो अन्‍न टिप्न थाल्छ! अन्ततः चरा पूर्णरूपले पासोमा पर्छ। त्यसरी नै कौतुहलताले यौन उत्तेजना जगाउने दृश्‍यहरू झुलुक्क मात्र भए पनि हेर्न उक्साउन सक्छ। अनि यस्ता दृश्‍यहरू हेर्ने व्यक्‍तिले आफूलाई कसैले नदेखोस्‌ भन्‍ने आशा गर्छ। रोमाञ्चित हुँदै कोही-कोही यस्ता उत्तेजित र गहिरो असर पार्ने दृश्‍यहरू पुनः हेर्छन्‌ र हेर्ने क्रम बढ्‌दै जान्छ। लाज र दोषी भावनाले तिनीहरूलाई खर्लप्पै निल्छ। पछि गएर कुनै समय स्तब्ध लाग्ने दृश्‍यहरू साधारण बन्‍न जान्छ। अश्‍लील दृश्‍यहरू हेर्ने चाहना हुनेहरूको लागि इन्टरनेटले आगोमा घ्यू थप्ने काम गर्छ जसले पापपूर्ण काम गर्नको लागि तृष्णालाई तीव्र गतिमा बढाइदिन्छ। (याकूब १:१५) यसको पासोमा परेका सयौं रोगीहरूको उपचार गरेका एक मनोचिकित्सक डा. भिक्टर क्लाइन्‌ यस्तो रिपोर्ट दिन्छन्‌, “अन्ततः यस्ता व्यक्‍तिहरूले भित्रभित्रै खतरनाक बानी विकास गर्न सक्छन्‌ जसको मुख्य ध्येय मूल्यहीन बेलगामी यौन इच्छा तृप्त पार्नु हो।”

च्याट-रूमहरूका खतराहरू

इन्टरनेट च्याट-रूमहरूले समय बरबाद गर्न सक्छ अनि सम्बन्धहरू तोड्‌ने कुरामा यो धेरै अघि छ। अनलाइनमा आफ्नी पत्नीले धेरै समय बिताएकोमा आफ्नो दिक्दारी पोख्दै एक जना पुरुषले यस्तो लेखे: “कामबाट फर्कने बित्तिकै उनी कम्प्युटर अगाडि बस्छिन्‌ अनि पाँचघण्टा वा त्योभन्दा बढी समयपछि बल्ल कम्प्युटर बन्द गर्छिन्‌। फलतः हाम्रो विवाह सङ्‌कटमा परिरहेको छ।” हो, इन्टरनेटमा समय बिताउनु भनेको आफ्नो पति वा पत्नी र परिवारबाट अलग्गिएर समय बिताउनु हो।

विवाहसम्बन्धी परामर्श सेवा रिलेट-का प्रमुख कार्यकारणी एन्जेला सिबसन भन्छिन्‌, इन्टरनेट “थप सम्बन्धहरू स्थापित गर्ने एउटा प्रवेशद्वार हो। अनलाइनबाट गाँसिएका सम्बन्धहरू साह्रै गहिरा हुन्छन्‌ र यसले स्थापित सम्बन्धहरूलाई पनि तोड्‌छ।” मित्रवत्‌ रूपमा च्याट-रूममा सुरु भइरहेको अनलाइन कुराकानीले तुरुन्तै गम्भीर रूप लिन सक्छ। अनैतिक सम्बन्धहरू राख्ने नियतले गर्दा “फँसाउने” व्यक्‍तिले सम्भाव्य सिकारलाई मनपर्ने कुराहरू गरेर आफ्नो “लोभ्याउने जिब्रो” चलाउँछ। (हितोपदेश ६:२४; ७:१०) यस्तै सिकार भएकी २६ वर्षीया बेलाइतकी निकोल यसो भन्छिन्‌: “ऊ मलाई माया नै माया बर्साउँथ्यो। उसको लागि म अति विशेष भएको कुरा ऊ गरिरहन्थ्यो, यिनै कुराहरूमाथिको विश्‍वासले मैले धोका खाएँ।” यौन र इन्टरनेट: मनोविज्ञहरूको लागि एउटा निर्देशन पुस्तिका-का सम्पादक डा. अल कुपर भन्छन्‌, हामीले “मानिसहरूलाई यस्ता चिप्ला भीरहरूबारे सजग गराउनै पर्छ, जुन अनलाइन प्रेमलीलाबाट सुरु हुन्छ र सम्बन्ध विच्छेदमा गएर टुङ्‌गिन्छ।”

“कम्प्युटरमार्फत यौन अपराध गर्नेहरू[बाट]” दुर्व्यवहार र हानिका सिकारहरूतर्फ छिट्टै उन्मुख हुनेहरूमा धेरै मात्रामा बच्चाहरू समेत पर्छन्‌। “दुर्वाच्य” र “ओठबाट छल-कपटको कुरो” गरेर बाल-यौन दुराचारीहरूले अनुभवहीन बच्चाहरूलाई ताक्ने गर्छन्‌। (हितोपदेश ४:२४; ७:७) अङ्‌ग्रेजीमा ग्रुमिङ्‌ग भनिने अर्थात्‌ फकाउने क्रममा बच्चाहरूको मन जित्न तिनीहरूले प्रशस्त ध्यान दिने, माया र दया देखाउने गर्छन्‌। मानौं, तिनीहरूलाई बच्चालाई मनपर्ने सङ्‌गीत र सोखदेखि लिएर बच्चाका सबै कुरा थाह हुन्छ। बच्चा र उसको परिवारबीच फाटो ल्याउन घरका सानातिना समस्याहरूलाई पहाड बनाउँछन्‌। आफ्नो नीच अभिप्राय पूरा गर्न तिनीहरूले बच्चाहरूलाई एकान्त ठाउँहरूको भ्रमण गर्ने टिकटसमेत पठाउन सक्छन्‌। यसका परिणामहरू भयावह हुन्छन्‌।

बाइबलको सिद्धान्तले तपाईंलाई सुरक्षा दिन सक्छ

खतराहरू ठम्याइसकेपछि कोही-कोही इन्टरनेट ठ्याम्मै नचलाउनु राम्रो हो भन्‍ने निष्कर्षमा पुगेका छन्‌। तर इन्टरनेटका केही प्रतिशत वेबसाइटहरूमा मात्र खतरा छ र अधिकांश प्रयोगकर्ताहरूले गम्भीर खतराको अनुभव गरेका छैनन्‌ भन्‍ने कुरालाई पनि बुझ्नु आवश्‍यक छ।

खुसीको कुरा, धर्मशास्त्रले हामीलाई खतराबाट “बच्न” निर्देशनहरू दिन्छ। हामीलाई ज्ञान, बुद्धि र सोच्ने क्षमता हासिल गर्न प्रोत्साहित गर्छ। यस्ता गुणहरूले हामीलाई “खराब चालबाट . . . जोगाउनेछ।” (हितोपदेश २:१०-१२) परमेश्‍वरका पुरातन सेवक अय्यूबले यस्तो प्रश्‍न सोधे, “तब बुद्धि कहाँबाट आउँछ?” यसको उत्तर? “परमेश्‍वरको डरनै बुद्धि हो”—अय्यूब २८:२०, २८.

“परमप्रभुको भय मान्‍नु[को]” अर्थ “दुष्टतालाई घृणा गर्नु” हो र यो नै परमेश्‍वरलाई मनपर्ने गुणहरू विकास गर्ने मुख्य आधार हो। (हितोपदेश १:७; ८:१३; ९:१०) परमेश्‍वरप्रतिको प्रेम र श्रद्धा अनि उहाँको शक्‍ति र अख्तियारप्रतिको उचित आदरले उहाँले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्न र त्यस्ता कामहरूलाई त्याग्न उत्प्रेरित गर्छ। स्पष्ट सोच्ने क्षमता र ईश्‍वरीय ज्ञानले हामीलाई आफ्नो मन, हृदय र आध्यात्मिकतालाई नष्ट गर्ने खतराहरू ठम्याउन मदत गर्छ। हामी आफ्नो परिवारलाई तहसनहस पार्ने अनि यहोवासितको हाम्रो सम्बन्धलाई खत्तम गर्न सक्ने स्वार्थी र लोभी मनोवृत्तिहरूलाई घृणा गर्न थाल्छौं।

यदि तपाईं इन्टरनेट चलाउनुहुन्छ भने खतरादेखि सावधान रहनुहोस्‌। परमेश्‍वरका आज्ञाहरू मान्‍न कटिबद्ध हुनुहोस्‌ र आफूलाई समस्यामा पार्ने बेमतलबको जिस्क्याइबाट समेत अलग रहनुहोस्‌। (१ इतिहास २८:७) यसो गर्नुभएमा इन्टरनेटमा खतराको सम्मुख पर्ने बित्तिकै बुद्धिमान हुँदै तपाईं त्यसबाट उम्किहाल्नुहुन्छ।—१ कोरिन्थी ६:१८. (g04 12/8)

[पृष्ठ १९-मा भएको पेटी]

अश्‍लीलताबाट पूर्णरूपले अलग बस्नुहोस्‌!

“व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्‌, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ।”—एफिसी ५:३.

“यसकारण पृथ्वीमा भएका तिमीहरूका अङ्‌गहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।”—कलस्सी ३:५.

“परमेश्‍वरको इच्छा, अर्थात्‌ तिमीहरूको पवित्रतानै यही हो, कि व्यभिचारबाट अलग बस। तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान। परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिहरूको जस्तो कुइच्छाको कामनामा होइन।”—१ थिस्सलोनिकी ४:३-५.

[पृष्ठ २०-मा भएको पेटी/चित्र]

इन्टरनेट च्याट-रूमहरूदेखि सावधान!

इन्टरनेट अपराध अनुसन्धान विशेषज्ञको रूपमा कार्यरत एक महिला गुप्तचर प्रहरीले इन्टरनेट च्याट-रूमका खतराहरूलाई आफ्नै आँखाले हेर्न ब्यूँझनुहोस्‌!-का एक जना लेखकलाई निम्त्याइन्‌। उनी च्याट-रूममा १४ वर्षीया केटीको रूपमा प्रस्तुत भइन्‌। छिनभरमै थुप्रै मानिसहरू सम्पर्कमा आए। अपरिचित व्यक्‍तिहरूले यस्ता प्रश्‍नहरू सोधे: “कहाँबाट?” “केटा कि केटी?” “कुरा गर्ने हो?” सम्पर्कमा आएका कतिपय व्यक्‍तिहरू यौन दुर्व्यवहार गर्ने व्यक्‍तिको आशङ्‌कामा प्रहरीको अनुसन्धानको घेराभित्र रहेका थिए। बाल-यौन दुराचारीहरूले च्याट-रूममा कति सजिलै तपाईंको बच्चासित सम्पर्क राख्न सक्छन्‌ भन्‍ने कुरा यसबाट स्पष्ट हुन्छ!

कुराकानी चलिरहेको बेलामा च्याट-रूममा भएका अरूहरूले तिनीहरूबीचको कुराकानी हेर्न सक्ने भएकोले च्याट-रूम चलाउँदा आफ्नो बच्चा सुरक्षित नै रहन्छ भनी कोही-कोही आमाबाबु सोच्ने गर्छन्‌। यद्यपि, एकपटक च्याट-रूममा छिरिसकेपछि एक्ला-एक्लै कुरा गरौं न, भन्‍ने प्रस्ताव आउन सक्छ। यस्ता क्रियाकलापलाई औंल्याउँदै बाल सुरक्षासम्बन्धी बेलाइती इन्टरनेट कार्यदल यसरी सजग गराउँछ: “यसो गर्नु भनेको मानिसहरू भरिभराउ भएको पार्टीबाट सुटुक्क निस्केर कुनै निजी कोठामा गएर अपरिचित व्यक्‍तिसित कुरा गर्नुजस्तै हो।”

अधिकांश बाल-यौन दुराचारीहरूको बच्चाहरूसित कुराकानी मात्र गर्ने नियत हुँदैन भनेर आमाबाबुले बुझ्नु पनि आवश्‍यक छ। इन्टरनेट अपराध मञ्चद्वारा तयार पारिएको एउटा दस्तावेजले यसो भन्छ: “च्याट-रूमबाट थालिएको सम्पर्क इमेल र (मोबाइल) टेलिफोनजस्ता अन्य सञ्चार माध्यमद्वारा अझ झाँगिदै जान सक्छ।” संयुक्‍त राज्य अमेरिका अनुसन्धानसम्बन्धी संघीय विभागको रिपोर्टले यसो भन्छ: “कम्प्युटर यौन अपराधीहरू अनलाइनमा बच्चाहरूसित कुरा गर्न पाउँदा मक्ख पर्छन्‌, तिनीहरूले कुराकानीलाई तन्काउनसम्म तन्काउन सक्छन्‌। प्रायः अपराधीहरू टेलिफोनमै कुराकानी गर्न रुचाउँछन्‌। तिनीहरू अक्सर बच्चाहरूसित ‘टेलिफोन सेक्स’ गर्छन्‌ अनि प्रायः साँच्चैको यौनसम्पर्क राख्न भेट्‌ने दाउ छोपिरहन्छन्‌।”

यसो गर्न कम्प्युटर यौन अपराधीहरूले सिकारलाई आफ्नो फोन नम्बर दिन्छन्‌। तपाईंको बच्चाले अपराधीलाई टेलिफोन गऱ्‍यो भने उसको कलर आइ डीमा बच्चाको फोन नम्बर देखिन्छ। कतिपय यस्ता सिकारीहरूसित पैसा नपर्ने फोन नम्बर हुन्छ वा बच्चाले फोन गरे तापनि अपराधीकै खातामा पैसा चढ्‌ने कुरा बच्चाहरूलाई बताउँछन्‌। कसै-कसैले बच्चालाई मोबाइल फोनसमेत पठाएका छन्‌। अपराधीहरूले चिठी, फोटो र उपहारहरू पनि पठाउन सक्छन्‌।

च्याट-रूमको खतराको सिकार हुनेहरूमा बच्चाहरू मात्र छैनन्‌। फकाइफुस्ल्याइ गरी केटीहरूको मनले खाएको कुरा गरेर एक जना केटाले बेलाइतका छ जना केटीलाई एकैपटक आफ्नो प्रेमजालमा फसाए। सिकार भएकाहरूमध्ये स्नातकोत्तर तहमा अध्ययनरत २७ वर्षीया एक आर्कषक युवती शेरिलले यसो भनिन्‌: “खै, के भनुँ! ऊसितको मेरो अनलाइन सम्बन्ध यति प्रगाढ थियो कि मेरो सम्पूर्ण जीवनलाई त्यसले प्रभाव पाऱ्‍यो।”

वोमेन इन साइबरस्पेस नामक संस्थाकी संस्थापक जेनी म्याडनले यसो भनिन्‌, “साइबर दुनियाँमा उनीहरूको लेखाजोखा रूपरङको आधारमा नगरिने भएकोले केटीहरूले एक प्रकारको ढुक्क महसुस गर्छन्‌। त्यसैले च्याट-रूम भन्‍ने बित्तिकै आफूलाई खुला किताबको रूपमा प्रस्तुत गर्न तिनीहरू कुनै ढिलासुस्ती गर्दैनन्‌ र जसले गर्दा आफूलाई फसाउन तिनीहरूले सिकारीहरूलाई सजिलो बनाइदिन्छन्‌।”

बिट्रिज अभिला मिलह्‍यामद्वारा सञ्चालित फ्लोरिडा विश्‍वविद्यालयअन्तर्गतको अध्ययन अनुसन्धानले सोधेको एउटा प्रश्‍नमा एक जना केटाले यस्तो जवाफ दिए, “मैले कम्प्युटर खोले मात्र पुग्छ, केटीहरू त छानी-छानी पाइन्छ।” बियाट्रिज अभिला मिलह्‍यामले यसो भनिन्‌: “अहिलेसम्म नबनेको भए अब कम्प्युटर छिट्टै अवफादारिताको सबैभन्दा सहज माध्यम बन्‍नेछ।” यौन र इन्टरनेट: मनोविज्ञहरूको लागि एउटा निर्देशन पुस्तिका-का (अङ्‌ग्रेजी) सम्पादक डा. अल कुपरले यसो भने, “हामीले संसारभरका चिकित्सकहरूबाट एउटै कुरा सुनिरहेका छौं, अब छिट्टै वैवाहिक समस्याको मुख्य कारण अनलाइन यौन गतिविधि हुनेछ।”

यी सबै विचारणीय तथ्यहरूलाई विचार गर्ने हो भने इन्टरनेट चलाउँदा विवेकी हुँदै सावधानी अपनाउनु बुद्धिमानी हुनेछ। आफ्ना बच्चाहरूसित कुरा गर्नुहोस्‌ अनि तिनीहरूले कसरी आफूलाई खतराहरूबाट जोगाउन सक्छन्‌ भनी तिनीहरूलाई सिकाउनुहोस्‌। सही ज्ञानले सुसज्जित हुँदा तपाईं इन्टरनेटका खतराहरूबाट बच्न सक्नुहुन्छ।—उपदेशक ७:१२.