सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एड्‌सको अन्त कहिले हुनेछ?

एड्‌सको अन्त कहिले हुनेछ?

एड्‌सको अन्त कहिले हुनेछ?

कलिलो उमेरदेखि नै युवाहरूले छाडा बानीबेहोरातर्फ उन्मुख गर्ने यौनसम्बन्धी कुराहरूको बाढी सामना गर्छन्‌। एच आई भी सर्ने अर्को तरिका अर्थात्‌ सुईबाट लागूऔषध प्रयोग गर्ने चलन पनि सर्वत्र छ। आज व्याप्त गैरजिम्मेवारीपूर्ण आचरणलाई विचार गर्दा एड्‌सको अन्त हुने कुरामा तपाईंलाई शङ्‌का लाग्न सक्छ।

त्यसैकारण पनि स्वास्थ्य पेसेवरहरू बानीबेहोरामा आउने परिवर्तनहरूलाई एड्‌स विरुद्ध लड्‌ने एउटा अत्यावश्‍यक रणनीतिको रूपमा लिन्छन्‌। सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनद्वारा प्रकाशित एउटा रिपोर्टमा यसो भनिएको छ, “युवा जनहरूको हरेक पुस्तालाई निरन्तर स्वास्थ्यसम्बन्धी विस्तृत जानकारी दिनु र एच आई भी सङ्‌क्रमणतिर डोऱ्‍याउन सक्ने आनीबानीदेखि टाढै रहन जीवनभर काम लाग्ने सीपहरू विकास गर्न उनीहरूलाई मदत गर्ने ठोस पहल गरिदिनु खाँचो छ। यस्ता विस्तृत कार्यक्रमहरूमा आमाबाबुलगायत शिक्षाविद्‌हरूको सहभागिता हुनु जरुरी छ।”

कुरा स्पष्ट छ, साथीसँगी अथवा अरूबाट छोराछोरीले गलत जानकारी पाउनुअघि नै आमाबाबुले उनीहरूलाई यी खतराहरूबारे शिक्षा दिइहाल्नु आवश्‍यक छ। यसो गर्नु सधैं सजिलो हुँदैन। तर यसले तपाईंको बच्चाको जीवन बचाउन सक्छ। छोराछोरीलाई यौन र लागूऔषधबारे सम्झाइबुझाइ गर्दैमा उनीहरूको सीधापन हरण हुँदैन। वास्तवमा यसले उनीहरूलाई आफ्नो नैतिक शुद्धता कायम राख्न मदत गर्न सक्छ।

आमाबाबुले प्रशिक्षण दिनु अत्यावश्‍यक छ

पुरातन समयमा परमेश्‍वरका जनहरूमाझ आमाबाबुले आफ्ना छोराछोरीलाई यौन तथा स्वास्थ्यसम्बन्धी शिक्षा दिनुपर्थ्यो। चाखलाग्दो कुरा के छ भने, पुरातन इस्राएलीहरूलाई दिइएको व्यवस्थामा नैतिकतासम्बन्धी स्पष्ट निर्देशन तथा सङ्‌क्रमणबाट बचाउने आनीबानीहरूबारे बताइएको थियो। (लेवी १८:२२, २३; १९:२९; व्यवस्था २३:१२, १३) मानिसहरूलाई यी व्यवस्थाहरू कसरी सिकाउनुपर्थ्यो? यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “मैंले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख।” सर्वप्रथम त आमाबाबुले नै यी व्यवस्थाअनुसार चल्नुका लाभहरू र नचल्दा हुने परिणामहरूबारे बुझ्नुपर्थ्यो। त्यसपछि उनीहरूलाई यस्तो निर्देशन दिइयो: “ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।”—व्यवस्था ६:६, ७.

एउटा शब्दकोशले “होशीयारीसाथ सिकाओ[लाई]” “बारम्बार दोहऱ्‍याएर वा सल्लाह दिएर सिकाउनु वा मनमा बसाल्नु” भनेर परिभाषित गर्छ। यसको लागि समय अवश्‍यै लाग्छ। आफ्ना छोराछोरीलाई लागूऔषधको दुर्व्यसन र अवैध यौनसम्बन्धका खतराहरूबारे सिकाउन समय निकाल्ने आमाबाबुका छोराछोरीहरू एच आई भी तथा अन्य रोगहरूतर्फ उन्मुख गराउने आनीबानीहरूदेखि अलग बस्ने सम्भावना धेरै हुन्छ। a

एच आई भी/एड्‌स पीडितहरूका लागि सान्त्वना

रोकथामका लागि गरिने प्रयासहरूबाट एच आई भी/एड्‌स लागेका करोडौं मानिसहरूले खासै सान्त्वना नपाउन सक्छन्‌। यस रोगले शारीरिक रूपमा असर गर्ने कुरा त छँदै छ, त्यसमाथि यस्ता व्यक्‍तिहरूले आफ्नो अवस्थाको कारण अक्सर निन्दा तथा तिरस्कार खप्नुपर्ने हुन्छ। किन त्यस्तो भएको? एड्‌स रोगीको नजिक जाँदा र उसलाई छुँदा एच आई भी सर्न सक्छ भन्‍ने साधारण तर भ्रमपूर्ण विश्‍वासको कारण। एच आई भी/एड्‌स-बाट सङ्‌क्रमित भइएला भनेर डराउनु स्वाभाविकै हो किनभने यो रोग सरुवा र घातक दुवै छ। कसै-कसैले यस रोगप्रतिको आफ्नो डरलाई एड्‌स रोगीहरूप्रतिको एउटा निराधार डर बन्‍न दिएका छन्‌। पीडित व्यक्‍तिहरूलाई औषधोपचारबाट वञ्चित गरिएको छ, चर्चबाट निकालिएको छ र हिंसात्मक आक्रमणसमेत गरिएको छ।

एड्‌स त परमेश्‍वरले दुष्टलाई दिनुभएको एउटा श्राप हो भनेर कसै-कसैले तर्क गरेका छन्‌। हुन त हो यौन नैतिकता, लागूऔषधको प्रयोग र रगतको सन्दर्भमा बाइबलमा दिइएका स्तरहरू पालन गरेका भए थुप्रै पीडितहरूलाई यो रोग लाग्ने नै थिएन। (प्रेरित १५:२८, २९; २ कोरिन्थी ७:१) यद्यपि, धर्मशास्त्रमा बताइएअनुसार रोगबिमार कुनै पापको लागि परमेश्‍वरले दिनुभएको सजायको प्रमाण होइन। त्यसको विपरीत बाइबल यसो भन्छ: “कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुनसक्‍तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।” (याकूब १:१३; यूहन्‍ना ९:१-३) धर्मशास्त्रीय स्तरहरू अनुरूप नचलेको कारण एच आई भी अथवा एड्‌स लागेको तर आफ्नो आनीबानी सुधारेको व्यक्‍ति आफू परमेश्‍वरद्वारा त्यागिएको छैन भन्‍ने कुरामा ढुक्क हुन सक्छ।

दीर्घ रोगीहरूप्रति परमेश्‍वरको समानुभूति र प्रेम उहाँको पुत्र येशू पृथ्वीमा हुनुहुँदा छर्लङ्‌ग भएको थियो। यात्राको दौडान एक जना कोरीसित भेट हुँदा येशूले “टिठाएर आफ्नो हात बढाई त्यसलाई छुनुभयो।” येशूले आफूमा भएको चमत्कारी शक्‍ति चलाएर कोरीलाई निको पार्नुभयो। (मर्कूस १:४०-४२) येशूले बिरामी मानिसहरूलाई हेय दृष्टिले हेर्नुभएन। उहाँले तिनीहरूप्रति देखाउनुभएको प्रेम स्वर्गमा हुनुहुने पिताको प्रेमको एउटा उत्कृष्ट नमुना थियो।—लूका १०:२२.

एड्‌सको निवारण—नजिकै!

येशूले चमत्कारपूर्ण ढङ्‌गमा निको पार्नुभएका घटनाहरूले हामीलाई परमेश्‍वरको प्रेमबारे विश्‍वस्त मात्र गराउँदैन। हाल येशू ख्रीष्टले स्वर्गमा राजाको रूपमा शासन गरिरहनुभएको छ भनी बाइबल हामीलाई बताउँछ। (प्रकाश ११:१५) पृथ्वीमा उहाँको सेवकाईले उहाँसित मानिसजातिलाई पिरोल्ने कुनै पनि किसिमको रोगबिमार निको पार्ने शक्‍ति र इच्छुकता छ भन्‍ने कुरा देखायो। उहाँले गर्नुहुने कुरा त्यही नै हो।

अब चाँडै पृथ्वीका “बासिन्दाहरूले . . . ‘म बिरामी परें’ ” भन्‍ने छैनन्‌ भनी बाइबल भविष्यवाणीले हामीलाई आश्‍वासन दिन्छ। (यशैया ३३:२४) एड्‌स फैलिन नदिन वा सम्पूर्ण एड्‌स पीडितहरूका लागि प्रभावकारी उपचार उपलब्ध गराउन मानिसजाति असफल भए तापनि एड्‌स निर्मूल हुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं। राजा दाऊदले यसो भने, “हे मेरो आत्मा, परमप्रभुलाई धन्य भन्‌, र उहाँका सबै उपकारहरू नबिर्सी। जसले तेरा सबै अधर्महरू क्षमा गर्नुहुन्छ। जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ।”—भजन १०३:२, ३.

यो कहिले हुनेछ? यस्ता आशिष्‌हरू अनुभव गर्न चाहने व्यक्‍तिहरूले परमेश्‍वरले तोक्नुभएको कस्ता आवश्‍यकताहरू पूरा गर्नुपर्छ? बाइबलमा दिइएको अद्‌भुत प्रतिज्ञाबारे अझ बढी सिक्न हामी तपाईंहरूलाई यहोवाका साक्षीहरूसित सम्पर्क राख्न आमन्त्रित गर्छौं। (g04 11/22)

[फुटनोट]

a आफ्ना साना छोराछोरीलाई क्रमिक रूपमा यौन र आधारभूत नैतिक सिद्धान्तहरूबारे सिकाउने सन्दर्भमा थुप्रै आमाबाबुले यहोवाका साक्षीहरूद्वारा प्रकाशित लर्न फ्रम द ग्रेट टिचर पुस्तक मदतकारी पाएका छन्‌।

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

अब चाँडै पृथ्वीका “बासिन्दाहरूले . . . ‘म बिरामी परें’ ” भन्‍ने छैनन्‌ भनी बाइबल भविष्यवाणीले हामीलाई आश्‍वासन दिन्छ

[पृष्ठ १०-मा भएको चित्र]

आफ्ना छोराछोरीलाई यौन र लागूऔषधको दुर्व्यसनबारे शिक्षा दिंदा त्यसले उनीहरूलाई बचाउन सक्छ

[पृष्ठ १०-मा भएको चित्र]

बिरामीलाई निको पार्न सक्ने येशूको क्षमता र इच्छुकताले उहाँले भविष्यमा गर्नुहुने कुरा देखायो