सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एड्‌स विरुद्धको लडन्तमा भएका प्रगतिहरू

एड्‌स विरुद्धको लडन्तमा भएका प्रगतिहरू

एड्‌स विरुद्धको लडन्तमा भएका प्रगतिहरू

आफ्नो पुस्तक एड्‌स अप्डेट २००३ मा डा. जेराल्ड जे. स्टिन यस्तो लेख्छन्‌, “एच आई भी/एड्‌स-बारे जे-जति अनुसन्धान भएको छ त्यो एउटा उल्लेखनीय वैज्ञानिक उपलब्धि हो। छोटो अवधिमै यो अत्यन्त जटिल रोगबारे मनग्गे जानकारी हात लागेको छ।” के-कस्ता उपलब्धिहरू भएका छन्‌ त?

चिकित्सासम्बन्धी आधुनिक ज्ञान र सीपको कारण अनुसन्धाताहरूले एच आई भी सङ्‌क्रमित मानिसहरूलाई नयाँ आशा प्रदान गर्ने विभिन्‍न किसिमका औषधीहरूको मिश्रण विकास गर्न सकेका छन्‌। यसबाहेक, एड्‌ससम्बन्धी शैक्षिक कार्यक्रमहरूले गर्दा थुप्रै देशहरूमा निकै राम्रा परिणामहरू प्राप्त भएका छन्‌। तर के यस्ता प्रयासहरूको सफलताले यस घातक महामारीको अन्तलाई सङ्‌केत गर्छ? के वर्तमान वैज्ञानिक तथा शैक्षिक प्रयासहरूले एड्‌सलाई फैलिनदेखि रोक्न सक्छ? निम्न कुराहरू विचार गर्नुहोस्‌।

औषधोपचार

सन्‌ १९८६, सेप्टेम्बर २९ अंकको टाइम पत्रिकाको शीर्षसमाचार यस्तो थियो, “एड्‌स विरुद्धको लडन्तमा आशाको किरण।” एच आई भी उपचार गर्ने एन्टिरिट्रोभाइरल औषधी अजीडोथाइमीडीन (ए जी टी) प्रयोग गरेर चिकित्सकीय परीक्षण गर्दा यो “आशाको किरण” देखिएको थियो। उल्लेखनीय कुरा के छ भने, ए जी टी सेवन गर्ने एच आई भी-का रोगीहरू लामो समयसम्म बाँचेको पाइयो। त्यस समयदेखि उसो एन्टिरिट्रोभाइरल औषधीहरूले (ए आर भी) लाखौं मानिसहरूको आयु लम्ब्याइदिएका छन्‌। (पृष्ठ ७ मा भएको “के हो ए आर भी?” भन्‍ने पेटी हेर्नुहोस्‌।) एच आई भी सङ्‌क्रमणको उपचार गर्ने सन्दर्भमा ती औषधीहरू कत्तिको प्रभावकारी साबित भएका छन्‌?

ए जी टी औषधी निस्कँदा सुरुमा जुन उत्साह थियो त्यसको बावजुद टाइम पत्रिकाले के रिपोर्ट गऱ्‍यो भने एड्‌सबारे अनुसन्धान गर्ने व्यक्‍तिहरू “ए जी टी नै एड्‌स विरुद्धको अन्तिम अस्त्र [होइन] भन्‍ने कुरामा विश्‍वस्त थिए।” उनीहरूले ठीकै भने। कोही-कोही रोगीहरूमा ए जी टी-ले प्रतिकूल असर पाऱ्‍यो र त्यसैको परिणामस्वरूप अन्य ए आर भी-को विकास गरियो। पछि संयुक्‍त राज्य अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले एच आई भी-का दीर्घ रोगीहरूका लागि ए आर भी-को मिश्रणलाई प्रयोग गर्ने अनुमति दियो। तीन वा त्योभन्दा बढी एन्टिरिट्रोभाइरल औषधीहरू सेवन गरेर उपचार गर्ने पद्धतिलाई एड्‌ससम्बन्धी स्वास्थ्यकर्मीहरूले उत्साहका साथ स्वागत गरे। सन्‌ १९९६ मा एड्‌ससम्बन्धी एउटा अन्तरराष्ट्रिय सम्मेलनमा एक जना चिकित्सकले त यस औषधीले एड्‌स पीडित व्यक्‍तिको शरीरबाट एच आई भी पूर्ण रूपमा हटाइदिन सक्छ भनेर घोषणा समेत गरे!

दुःखको कुरा, तीनवटा विभिन्‍न किसिमको औषधीको मिश्रणलाई नियमित रूपमा सेवन गर्दा समेत एच आई भी निर्मूल हुन सक्दैन भन्‍ने कुरा वर्ष दिनभित्रमै छर्लङ्‌ग भयो। यद्यपि, यु एन एड्‌स-बाट प्राप्त रिपोर्ट यसो भन्छ, “विभिन्‍न किसिमका ए आर भी औषधीहरूको मिश्रणद्वारा गरिने उपचारको कारण एच आई भी पोजिटिभ व्यक्‍तिहरूले लामो, स्वस्थ र फलदायी जीवन बिताउन सकेका छन्‌।” उदाहरणका लागि संयुक्‍त राज्य अमेरिका र युरोपमा ए आर भी-को प्रयोगले एड्‌सको कारण मृत्यु हुनेहरूको संख्यालाई ७० प्रतिशतभन्दा बढी कम गरेको छ। यसबाहेक, थुप्रै अध्ययनहरूले देखाएअनुसार कुनै खास ए आर भी उपचारले सङ्‌क्रमित गर्भवती आमाबाट तिनको बच्चामा एच आई भी सर्ने प्रक्रियालाई नाटकीय ढङ्‌गमा कम गर्न सक्छ।

यद्यपि, लाखौं एच आई भी रोगीहरू ए आर भी औषधीहरूबाट वञ्चित छन्‌। किन?

“गरिबहरूको रोग”

धेरै आयआर्जन हुने देशहरूमा ए आर भी औषधोपचार पर्याप्त मात्रामा उपलब्ध छ। तथापि विश्‍व-स्वास्थ्यसंघको (डब्लु एच ओ) अनुमानअनुसार कुनै-कुनै विकासोन्मुख मुलुकमा ए आर भी उपचारको आवश्‍यकता भएकामध्ये जम्मा ५ प्रतिशतले मात्रै यी औषधीहरू पाउन सक्छन्‌। संयुक्‍त राष्ट्रसंघका प्रतिनिधिहरू यस असन्तुलनलाई “एउटा घोर अन्याय” र “वर्तमान संसारको घिनलाग्दो विकृति” भन्‍न समेत पछि परेका छैनन्‌।

एउटै देशका बासिन्दाहरूले पनि यस्तो उपचार समान रूपमा नपाउन सक्छन्‌। द ग्लोब एण्ड मेल-को रिपोर्टअनुसार एड्‌सको कारण मृत्यु हुने ३ क्यानेडियाली नागरिकमध्ये १ जनाले कहिल्यै पनि ए आर भी उपचार पाएको हुँदैन। क्यानाडामा यो औषधी निश्‍शुल्क उपलब्ध भए तापनि कुनै-कुनै समूहहरूलाई बेवास्ता गरिएको छ। ग्लोब भन्छ, “उचित उपचार नपाएका व्यक्‍तिहरूलाई नै उपचारको सख्त जरुरत हुन्छ जस्तै—आदिवासी, महिला तथा गरिबहरू।” द गार्जियन-ले एच आई भी पोजिटिभ एक अफ्रिकी आमाले भनेको कुरालाई यस प्रकार उद्धरण गऱ्‍यो: “म त बुझ्नै सक्दिनँ। पुरुषहरूसँगै यौनसम्बन्ध राख्ने यी गोरा पुरुषहरूले चाहिं अझ बढी बाँच्न उपचार पाउने तर मचाहिं किन मर्नुपर्ने?” तिनको प्रश्‍नको जवाफमा औषधी उत्पादन र वितरण गर्दा लाग्ने खर्च समावेश छ।

अमेरिका र युरोपमा तीनवटा विभिन्‍न किसिमका ए आर भी औषधीको मिश्रणको सरदर मूल्य वर्षको रू. ४,८०,००० देखि रू. ७,२०,००० सम्म पर्छ। औषधीमा भएका तत्त्वहरू एउटै तर कुनै ट्रेडमार्कको लेबल नटाँसिएका यी औषधीहरू हाल वर्षको रू. १४,४०० वा त्योभन्दा कम दरमा केही विकासोन्मुख देशहरूमा वितरण भइरहेको भए तापनि एच आई भी लागेका र ए आर भी-को सख्त जरुरत भएका ठाउँका थुप्रै मानिसहरूसित यति मूल्यमा यी औषधीहरू किन्‍ने हैसियत छैन। डा. स्टिन यस अवस्थाको निचोड यसरी बताउँछन्‌: “एड्‌स गरिबहरूको रोग हो।”

औषधी बनाउने व्यापार

औषधीमा भएका तत्त्वहरू एउटै तर कुनै ट्रेडमार्कको लेबल नभएका औषधीहरू विकास गरेर सुपथ मूल्यमा बेच्नु सजिलो भएको छैन। थुप्रै देशमा स्वामित्वाधिकारसम्बन्धी कडा कानुनले ट्रेडमार्क भएका कम्पनीबाट उत्पादित औषधीहरू अनुमतिविना पुनः उत्पादन गर्न रोक लगाउँछ। एउटा ठूलो औषधी कम्पनीका प्रमुख यसो भन्छन्‌, “यो एउटा आर्थिक युद्ध हो।” औषधीमा भएका तत्त्वहरू एउटै तर कुनै ट्रेडमार्कको लेबल नभएका औषधीहरू उत्पादन गरेर नाफाको लागि विकासोन्मुख देशहरूलाई बेच्नु “ती औषधीहरू पत्ता लगाउने व्यक्‍तिहरूको लागि न्यायसंगत कुरा होइन” भनी तिनी बताउँछन्‌। नाफा कमाउन सकिएन भने चिकित्सा अनुसन्धान तथा विकास कार्यक्रमको लागि कोष घट्‌छ भनेर पनि ट्रेडमार्क भएका कम्पनीहरू तर्क गर्छन्‌। अरूहरू चाहिं विकासोन्मुख देशहरूका लागि तयार पारिएको सुपथ मूल्यका ए आर भी-हरू विकसित मुलुकका कालो बजारमा पुग्न सक्छन्‌ भनी चिन्ता व्यक्‍त गर्छन्‌।

सुपथ मूल्यका ए आर भी औषधीका पक्षधरहरूको भनाइअनुसार औषधी कम्पनीले तोक्ने कुल लागतको ५ देखि १० प्रतिशतमा नयाँ औषधीहरू उत्पादन गर्न सकिन्छ। तिनीहरू अझ के पनि भन्छन्‌ भने, गरिब देशका मानिसहरूलाई पिरोल्ने रोगहरूको उपचार गर्न औषधी अनुसन्धान तथा विकास गर्ने सन्दर्भमा निजी औषधी कम्पनीहरूले खासै चासो देखाउँदैनन्‌। त्यसैकारण एक्सेस टु इसेन्सियल मेडिसिन्स्‌ परियोजनाका संयोजक डेनियल बरमन यसो भन्छन्‌: “विकासोन्मुख देशका मानिसहरूको हैसियतले भ्याउने हदसम्म नयाँ औषधीहरूको मूल्य घटाउन अन्तरराष्ट्रिय तवरबाटै समर्थित मान्यताप्राप्त प्रणालीको खाँचो छ।”

ए आर भी उपचारको विश्‍वव्यापी आवश्‍यकतालाई दृष्टि गत गर्दै डब्लु एच ओ-ले सन्‌ २००५ को अन्तसम्ममा एच आई भी/एड्‌स लागेका तीस लाख मानिसहरूलाई ए आर भी उपलब्ध गराउन तीन-बाई-पाँच नामक योजना अघि सारेको छ। मेडिसिन्स्‌ सान्स्‌ फ्रन्टियर्स्‌का नेथन फोर्डले यस्तो चेतावनी दिए: “तीन-बाई-पाँच योजनाको लक्ष्य अर्को असफल यु एन लक्ष्य हुनु हुँदैन। तीस लाख त आज उपचारको खाँचो परेका एच आई भी/एड्‌स रोगीहरूको संख्याको आधा मात्रै हो र यो संख्या [सन्‌ २००५ सम्ममा] अझै बढ्‌नेछ।”

अन्य अवरोधहरू

विकासोन्मुख मुलुकहरूलाई पर्याप्त मात्रामा ए आर भी उपलब्ध गराए पनि अन्य अवरोधहरू पार गर्नुपर्ने हुन्छ। कुनै-कुनै औषधी खाना र सफा पानीसित सेवन गर्नुपर्छ तर यस्ता केही मुलुकहरू छन्‌ जहाँका लाखौं मानिसहरू एक-एक दिन बिराएर मात्रै खाना खान सक्छन्‌। ए आर भी (दिनहुँ अक्सर २० वा त्योभन्दा बढी चक्की) हरेक दिन कुनै एउटा निश्‍चित समयमा सेवन गर्नुपर्छ तर थुप्रै बिरामीहरूसित घडी नै हुँदैन। विभिन्‍न किसिमका औषधीहरूको मिश्रणलाई बिरामीको अवस्थाअनुसार मिलाएर खानुपर्छ। तर थुप्रै मुलुकमा चिकित्सकहरूको एकदमै कमी छ। यसबाट कुरा स्पष्ट हुन्छ कि विकासोन्मुख देशहरूमा ए आर भी उपचार उपलब्ध गराउनु एउटा उछिन्‍न कठिन अवरोध हुनेछ।

विकसित मुलुकका बिरामीहरूले समेत विभिन्‍न किसिमका औषधीहरूको मिश्रणद्वारा गरिने उपचार पद्धति अपनाउँदा झेल्नुपर्ने समस्याहरू सामना गर्छन्‌। अनुसन्धानले देखाएअनुसार सिफारिस गरिएका सम्पूर्ण औषधीहरू तोकिएको समयमा सेवन गर्न नसक्नु एकदमै सामान्य भइरहेको छ। यसो गर्दा औषधीले कामै नगर्न सक्छ। यसो हुँदा एच आई भी-मा औषधीसित लड्‌ने क्षमता बढ्‌न जान्छ, जुन क्षमता अरूमा पनि सर्न सक्छ।

डा. स्टिन एच आई भी-का रोगीहरूले सामना गर्नुपरेको अर्को चुनौती पनि औंल्याउँछन्‌। तिनी यसो भन्छन्‌, “एच आई भी उपचारको विरोधाभासपूर्ण कुरा के हो भने, विशेष गरेर रोगका लक्षणहरू देखापर्नुअघि नै उपचार सुरु गर्दा कहिलेकाहीं रोगले भन्दा उपचारले बढी पीडा हुन्छ।” ए आर भी सेवन गर्ने एच आई भी-का रोगीहरूलाई साधारणतया मधुमेह, जीउमा बोसो फैलिने, कोलेस्ट्रोलको मात्रा बढ्‌ने र हड्डीको घनत्व घट्‌ने लगायतका प्रतिकूल असरहरूले सताउँछ। कुनै-कुनै प्रतिकूल असरहरूले गर्दा ज्यानसमेत जान सक्छ।

रोकथामका प्रयासहरू

जुन रफ्तारमा एड्‌स फैलिरहेको छ त्यसलाई कम गर्ने र जोखिमपूर्ण आनीबानीहरूमा परिवर्तन ल्याउने सन्दर्भमा गरिएका रोकथामका प्रयासहरू कत्तिको सफल भएका छन्‌ त? सन्‌ १९९० दशकको दौडान युगान्डामा गरिएको एड्‌ससम्बन्धी व्यापक शैक्षिक अभियानहरूले सन्‌ २००० मा त्यस देशमा एच आई भी फैलिने रफ्तार अन्दाजी १४ प्रतिशतदेखि घटेर लगभग ८ प्रतिशत पुग्यो। एवम्‌ रीतिले एच आई भी सङ्‌क्रमणको जोखिमबारे आफ्ना नागरिकहरूलाई सजग गराउने सेनेगलको प्रयासले त्यस देशको वयस्क जनसंख्यामाझ एच आई भी-को फैलावटलाई १ प्रतिशतभन्दा न्यून राख्न मदत गरेको छ। यस्ता परिणामहरू प्रोत्साहनदायी छन्‌।

अर्कोतर्फ, एड्‌ससम्बन्धी शिक्षा अन्य देशहरूमा त्यति प्रभावकारी साबित हुन सकेको छैन। सन्‌ २००२ मा ११,००० जवान क्यानेडियालीहरूसित गरिएको एउटा सर्वेक्षणमा कक्षा ९ का ५० प्रतिशत विद्यार्थीहरूले एड्‌स पूर्णतया निको हुन्छ भन्ठानेको पाइयो। त्यसै वर्ष सञ्चालित एउटा ब्रिटिस अध्ययनअनुसार १० देखि ११ वर्षबीचका ४२ प्रतिशत साना केटाहरूले त एच आई भी अथवा एड्‌सबारे कहिल्यै सुनेकै रहेनछन्‌। एच आई भी तथा एड्‌सबारे र यो रोग पूर्णतया निको हुन सक्दैन भन्‍ने कुरा थाह भएका युवाहरूले पनि यसलाई हल्कासित लिन थालेका छन्‌। एक जना चिकित्सक यसो भन्छन्‌, “थुप्रै जवान व्यक्‍तिहरूको लागि एच आई भी मीठो खाना पाइने हो कि होइन, कोसित बस्ने, स्कूल जाने कि नजानेजस्ता जीवनका थुप्रै समस्याहरूमध्ये एउटा भएको छ।”

त्यसैकारण डब्लु एच ओ-ले यसो भन्‍नु कुनै अनौठो कुरा होइन, “युवावर्गलाई विशेष ध्यान दिनु भनेको यो रोग व्यापक रूपमा फैलिएका देशहरूमा यस महामारी विरुद्ध लड्‌ने सम्भवतः सबैभन्दा प्रभावकारी तरिका हो।” एड्‌ससम्बन्धी पाएका चेतावनीहरू अनुरूप चल्न युवाहरूलाई कसरी मदत गर्न सकिन्छ? अनि यो रोग पूर्णतया निको हुन सक्छ भनेर आशा गर्नु के व्यावहारिक कुरा हो? (g04 11/22)

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

गत वर्ष अफ्रिकामा ए आर भी-को आवश्‍यकता भएका व्यक्‍तिहरूमध्ये २ प्रतिशतले मात्रै ती प्राप्त गर्न सके जबकि अमेरिकाका ८४ प्रतिशत रोगीहरूले ती प्राप्त गरे

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

के हो ए आर भी? a

स्वस्थ व्यक्‍तिमा सहायक टी कोषहरूले सङ्‌क्रमणलाई रोक्न रोग प्रतिरोधात्मक क्षमतालाई तीव्र वा सक्रिय बनाउँछन्‌। एच आई भी-ले चाहिं विशेष गरी यही सहायक टी कोषहरूलाई आफ्नो निसाना बनाउँछ। आफ्नै दुरुस्त नक्कल प्रति बनाउन यसले कोषहरूलाई चलाउँछ र रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर नहोउन्जेलसम्म यसले सहायक टी कोषहरूलाई कमजोर तथा खत्तम पार्दै लान्छ। एन्टिरिट्रोभाइरल औषधीहरूले (एर आर भीएस) नक्कल प्रति बन्‍ने प्रक्रियालाई खलबल्याइदिन्छ।

हाल चार किसिमका ए आर भी उपलब्ध छन्‌। न्युक्लोसाइड एनालोग्युसनन-न्युक्लोसाइड एनालोग्युस-ले एच आई भी-लाई मानिसको डी एन ए-मा आफ्नो नक्कल प्रति बनाउनदेखि रोक्छ। प्रोटिस इनहिबिटर्स-ले सङ्‌क्रमित कोषहरूमा हुने एक किसिमको प्रोटिस इन्जाइमलाई भाइरस पुनर्निर्माण गर्न र अझ बढी एच आई भी उत्पादन गर्न दिंदैन। फ्युजन इनहिबिटर्स-ले चाहिं एच आई भी-लाई कोषहरूमा प्रवेश गर्नदेखि रोक्छ। एच आई भी-लाई नक्कल प्रति बन्‍न नदिएर ए आर भी-ले एच आई भी सङ्‌क्रमण बढ्‌दै-बढ्‌दै गएर एड्‌स हुने रफ्तारलाई कम गर्न सक्छ र यही एड्‌सलाई औषधोपचारले नछुने सबैभन्दा गम्भीर प्रकृतिको एच आई भी रोग भन्‍ने गरिएको छ।

[फुटनोट]

a एन्टिरिट्रोभाइरल उपचार एच आई भी लागेका सबै व्यक्‍तिहरूको लागि सिफारिस गरिंदैन। आफूलाई एच आई भी लागेको वा भएको शङ्‌का लागेमा त्यस्ता व्यक्‍तिहरूले कुनै पनि किसिमको चिकित्सा उपचार सुरु गर्नुअघि डाक्टरलाई जचाउनुपर्छ। ब्यूँझनुहोस्‌!-ले कुनै एउटा खास उपचारविधि अपनाउन सिफारिस गर्दैन।

[चित्र]

केन्या डाक्टरले एड्‌स रोगीलाई ए आर भी उपचारबारे निर्देशन दिन्छन्‌

[स्रोत]

© Sven Torfinn/Panos Pictures

[चित्र]

केन्या एक जना एड्‌स रोगी अस्पतालमा आफ्नो लागि ए आर भी औषधी लिंदैछन्‌

[स्रोत]

© Sven Torfinn/Panos Pictures

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

महिला र एड्‌स

आज एच आई भी/एड्‌स लागेका वयस्कहरूमध्ये ५० प्रतिशत महिलाहरू छन्‌

सन्‌ १९८२ मा महिलाहरूलाई एड्‌स लागेको कुरा निदान हुँदा सुईबाट लागूऔषध सेवन गरेकोले उनीहरू सङ्‌क्रमित भए होलान्‌ भन्ठानिएको थियो। तर सामान्य यौनसम्पर्कबाट पनि महिलाहरू सङ्‌क्रमित हुन सक्छन्‌ र उनीहरूलाई एच आई भी/एड्‌स लाग्ने ठूलो खतरा हुन्छ भन्‍ने कुरा चाँडै पत्ता लाग्यो। आज विश्‍वभर एच आई भी/एड्‌स लागेका वयस्कहरूमध्ये ५० प्रतिशत महिलाहरू छन्‌। यु एन एड्‌स यस्तो रिपोर्ट गर्छ, “यस महामारीले महिला तथा किशोरावस्थामा पुगेका स्त्रीहरूलाई भयङ्‌कर असर गर्छ जो सामाजिक, सांस्कृतिक, वंशानुगत र आर्थिक रूपमा बढी असहाय छन्‌ र जसले रोगी तथा मर्न लागेका व्यक्‍तिहरूको हेरविचार गर्नुपर्ने बोझ वहन गर्छन्‌।”

महिलाहरूमाझ यो रोग बढ्‌नु एड्‌स कार्यकर्ताहरूको लागि किन विशेष चिन्ताको विषय बनेको छ? विशेष गरी केही विकासोन्मुख मुलुकहरूमा एच आई भी-द्वारा सङ्‌क्रमित महिलाहरूलाई पुरुषहरूको दाँजोमा निकै भेदभाव गरिन्छ। कुनै एउटी महिला गर्भवती छिन्‌ भने तिनको बच्चाको स्वास्थ्य पनि खतरामा पर्छ; यदि तिनले बच्चा पाइसकेकी छिन्‌ र त्यसमा पनि अझ तिनी एक्ली आमा हुन्‌ भने त ती छोराछोरीको हेरविचार गर्नु एउटा चुनौती नै बन्छ। त्यसमाथि एच आई भी सङ्‌क्रमित महिलाहरूमा देखिने अनौठा स्वभावहरू र उनीहरूको उपचारबारे तुलनात्मक हिसाबमा थोरै मात्र जानकारी थाह लगाउन सकिएको छ।

कुनै-कुनै सांस्कृतिक पक्षहरूले गर्दा महिलाहरूको लागि अवस्था झनै खतरनाक बन्छ। थुप्रै देशमा महिलाहरूलाई यौनबारे कुरा गर्ने छुट छैन र यौनसम्बन्ध राख्न नमानेको खण्डमा उनीहरूमाथि दुर्व्यवहार हुने खतरा हुन्छ। साधारणतया पुरुषहरूले थुप्रै स्त्रीहरूसित यौनसम्बन्ध राख्छन्‌ र अनजानमै उनीहरूलाई एच आई भी सारिदिन्छन्‌। कोही-कोही अफ्रिकी पुरुषहरूले एच आई भी-बाट बच्न वा कन्ये केटीसित यौनसम्बन्ध राख्दा एड्‌स पूर्णतया निको हुन सक्छ भन्‍ने झूटो विश्‍वासमा तरुनी केटीहरूसित यौनसम्पर्क राख्ने गर्छन्‌। त्यसैकारण डब्लु एच ओ-ले यसो भन्‍नुको कारण हामी बुझ्न सक्छौं: “महिलाहरूलाई सुरक्षा प्रदान गर्ने हो भने पुरुषहरूतर्फ (तथा महिलाहरूतर्फ पनि) लक्षित हस्तक्षेप हुनै पर्छ।”

[चित्र]

पेरू एच आई भी पोजिटिभ एउटी आमा आफ्नी एच आई भी नेगेटिभ छोरीसित

[स्रोत]

© Annie Bungeroth/Panos Pictures

[चित्र]

थाइल्याण्ड आफ्नो पढाइको एउटा भागको रूपमा विद्यार्थीहरू एड्‌स रोगीलाई भेट्‌न जान्छन्‌

[स्रोत]

© Ian Teh/Panos Pictures

[चित्र]

केन्या वुमन लिभिङ्‌ विथ एड्‌स संगठनका सदस्यहरूसितको एउटा सभा

[स्रोत]

© Sven Torfinn/Panos Pictures

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

एड्‌सबारे गलत धारणाहरू

एच आई भी सङ्‌क्रमित व्यक्‍तिहरू बिरामी देखिन्छन्‌। डा. जेराल्ड जे. स्टिन यसो भन्छन्‌, “औसतमा भन्‍ने हो भने एच आई भी सङ्‌क्रमित व्यक्‍तिलाई एड्‌स रोग लाग्न करिब १० देखि १२ वर्ष लाग्छ। यस अवधिमा एच आई भी सङ्‌क्रमित व्यक्‍तिमा झट्टै चिन्‍न सकिने लक्षणहरू कमै मात्र देखिन्छ वा देखिंदै-देखिंदैन तर उनीहरूले अरूलाई सङ्‌क्रमित गर्न भने सक्छन्‌।”

एड्‌स समलिङ्‌गीहरूलाई लाग्ने रोग हो। सन्‌ १९८० दशकको सुरुतिर एड्‌सलाई समलिङ्‌गीहरूलाई लाग्ने रोगको रूपमा हेरिएको थियो। तथापि आज प्रायजसो देशहरूमा एच आई भी सर्ने प्रमुख माध्यम विपरीत लिङ्‌गसँगको यौनसम्पर्क हो।

मुख मैथुन “सुरक्षित यौनसम्पर्क” हो। सेन्टर्स फर डिजिस कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार “मुख मैथुनमार्फत एच आई भी तथा अन्य यौनजन्य रोगहरू सर्न सक्छ भन्‍ने कुरा थुप्रै अध्ययनहरूले देखाएको छ।” अन्य यौन क्रियाकलापमार्फत एच आई भी सर्ने जति धेरै खतरा हुन्छ त्यति खतरा मुख मैथुनमार्फत हुँदैन। यद्यपि यो मुख मैथुन गर्ने प्रवृत्ति यत्ति व्याप्त भएको छ कि कोही-कोही डाक्टरहरूले यो प्रवृत्ति एच आई भी सर्ने प्रमुख माध्यम बन्‍न सक्छ भनेर आशङ्‌का व्यक्‍त गरेका छन्‌।

एड्‌स पूर्णतया निको हुन्छ। कोही-कोही बिरामीहरूमा एन्टिरिट्रोभाइरल उपचारले एच आई भी बढ्‌दै गएर एड्‌स लाग्ने रफ्तारलाई कम गर्न सक्ने भए तापनि हाल यसको कुनै भ्याक्सिन वा उपचार छैन।

[चित्र]

चेक गणतन्त्र एड्‌सको लागि रगत परीक्षण, जसको हाल औषधोपचार गर्न सकिन्छ तर यसलाई पूर्णतया निको पार्न सकिंदैन

[स्रोत]

© Liba Taylor/Panos Pictures

[पृष्ठ ६-मा भएको चित्र]

जाम्बिया एच आई भी पोजिटिभ भएका दुई जना केटी आफ्नो औषधी लिन पर्खंदै

[स्रोत]

© Pep Bonet/Panos Pictures