सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चेकियाका घट्टहरूमा जीवन कस्तो थियो

चेकियाका घट्टहरूमा जीवन कस्तो थियो

चेकियाका घट्टहरूमा जीवन कस्तो थियो

चेक गणतन्त्रका ब्यूँझनुहोस्‌! लेखकद्वारा

सय वर्षअघिसम्म चेकियाभरि नै घट्टको मदानी एक प्रकारको लयमा चलिरहेको सुनिन्थ्यो। त्यस आवाजले चेकको शान्तमय वातावरणलाई खलबल्यानुको सट्टा त्यहाँका गाउँहरूको सौन्दर्यलाई अझ बढाएजस्तो देखिन्थ्यो। समुदायका मानिसहरूको जीवनमा घट्टले एउटा महत्त्वपूर्ण ठाउँ ओगटेको थियो।

ती दिनहरूमा घटेराकी जहानले घट्टबाट भर्खरै ल्याएको ताजा पीठोबाट हर्र बास्ना आउने गरी रोटी बनाउने चलनै थियो। घटेर्नीले भर्खरै बनाएको रोटी बडेमाको टेबलमा राखेको कुरा हामी कल्पना गर्न सक्छौं। कस्तो मीठो बास्ना! अनि आउँछन्‌, घटेरा। तिनको हट्टाकट्टा जीउ पीठोले सेताम्मे भएको छ! सँगै बसेर केही हल्काफुल्का खानको लागि तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाउँछन्‌।

घट्टको इतिहास

घट्टको काम खेतीपाती जत्तिकै पुरानो छ। पुरातन इस्राएलमा अन्‍न पिंध्नु एउटा सामान्य घरायसी काम नै थियो। धेरैजसो स्त्रीहरूले जाँतोले अन्‍न पिंध्थे र यो काम अक्सर दुई-दुई जना मिलेर गर्थे। पशुहरूले चलाउने ठूलो जाँतो वा कोलबारे पनि बाइबलमा उल्लेख गरिएको छ।—मर्कूस ९:४२.

“मिल” अर्थात्‌ घट्ट भन्‍ने शब्द सुन्‍नेबित्तिकै हावाले चल्ने मिल तपाईंको दिमागमा आउन सक्छ। तथापि, चेकको गाउँघरमा पानीघट्टहरू बढी लोकप्रिय थिए। किन? घट्ट चलाउनको लागि बगिरहेको पानी प्रयोग गर्नु नै चेकहरूलाई सबैभन्दा किफायती र भरपर्दो लागेको हुनुपर्छ।

मध्य युरोपको अन्य भागमा जस्तै चेकियामा पनि घट्टको लागि आवश्‍यक पानीको बहाव मिलाउन पोखरी, कुलो र बाँधहरूको निर्माण गरिएको थियो। पोखरीमा पानी जम्मा गरिन्थ्यो, कुलो बनाएर पानी ल्याइन्थ्यो र बाँधले पानीको बहावलाई नियन्त्रणमा राख्थ्यो। कुनै-कुनै कुलोहरू २० मिटरभन्दा पनि छोटा हुन्थे भने अरू कुनै-कुनै चाहिं एक किलोमिटरभन्दा बढी लामा हुन्थे र एउटै कुलोद्वारा थुप्रै घट्टहरू चलाइन्थ्यो।

घटेरा र तिनका सहयोगीहरू

सय वर्षअघि चेकियामा घटेरा र तिनको सम्पूर्ण परिवार घट्टमै बस्थे। घटेरा बस्ने ठाउँ र घट्टको छत एउटै हुन्थ्यो र भित्ता चाहिं बलियो ढुङ्‌गाले बनाइएको हुन्थ्यो। गाउँलेहरूले तिनलाई “मास्टर बाबु” भनेर बोलाउने चलन थियो। तिनको आफ्नै खास तरिकामा माथिसम्म दोबारिएको सेतो पाइन्ट, भेडाको छालाले मोहोरिएको अनुहारसम्मै आउने टोपी र चप्पलले गर्दा तिनलाई सजिलै चिनिन्थ्यो।

यस कामको लागि घटेरा शारीरिक रूपमा बलियो हुनै पर्थ्यो, तिनले आफ्नो जीवनकालमा कतिवटा पीठोका बोरा बोक्नुपर्छ होला, कल्पना गर्नुहोस्‌ त! घट्टको काम एउटा आदरणीय पेसा थियो जुन अक्सर बुबापछि छोराले सम्हाल्थे। छोराले यो काम अक्सर घरैमा बुबाबाट सिक्थे तर तिनले आफ्नो ज्ञान बढाउन केही समयको लागि अन्य पोख्त घटेराहरूकहाँ पनि काम गर्न सक्थे।

घट्टको कामले गर्दा सम्पूर्ण परिवार नै व्यस्त हुन्थ्यो। अक्सर आफ्नो घरपरिवारको सहयोगले मात्र पुग्दैनथ्यो। त्यसैले या त स्थायी कामदारहरू राखेर वा घट्टको काम जान्‍ने मानिसहरूलाई ज्यालादारीमा राखेर घटेराले आफ्नो परिवारको संख्या बढाउँथे। यी ज्यालादारीमा काम गर्नेहरू पनि घट्टको काममा पोख्त हुन्थे र वर्षको एकदमै व्यस्त हुने समयमा विभिन्‍न घट्टहरूमा गाँस र बासको सट्टामा काम गरिदिन्थे।

एकदमै सम्मानित र दक्ष घटेराले नै प्रायजसो घट्टको रेखदेख गर्थे। तिनलाई सघाउन घट्टको काम जान्‍ने एक जना जवान मानिस हुन्थ्यो र तिनलाई घट्टका मेसिनहरू चलाउने जिम्मा दिइन्थ्यो। यस काममा तिनको ज्ञान र योग्यता कत्तिको छ भन्‍ने कुरा चाहिं उत्पादन गरिएको पीठोको गुणस्तरको आधारमा नापिन्थ्यो। यसबाहेक, एकदमै टाठो सिकारु पनि हुन्थ्यो जसले एकचोटि पनि आँखा झिमिक्क नगरी अनुभवी घटेराले के-के गर्छन्‌ भनी सबै हेरिरहन्थ्यो। कुनै पनि कुराले सिकारुको ध्यान भङ्‌ग हुन दिंदैनथ्यो।

जाँतो

बाइबलको पुस्तक अय्यूबमा “जाँतोको तल्लो पाटा” भनी उल्लेख गरिएको छ। (अय्यूब ४१:२४) यो पुरातन पुस्तकले जाँतो कसरी चलाइन्थ्यो भनी सङ्‌केत गर्छ। यसको लागि दुइटा चक्का हुनुपर्थ्यो, एउटा माथिपट्टिको ढुङ्‌गा अर्थात्‌ भालेघट्ट र अर्को तलपट्टिको ढुङ्‌गा अर्थात्‌ पोथीघट्ट। पोथीघट्ट नचल्ने हुन्थ्यो भने भालेघट्टको बीचमा भएको प्वालमा अन्‍नको घान हालेर घुमाइन्थ्यो।

सुरु-सुरुमा जाँतो चट्टाने ढुङ्‌गाको बनाइन्थ्यो। पछि कुटिएको चट्टानलाई म्यागनेजियम क्लोराइडसित मिसाएर कृत्रिम जाँतो बनाउन थालियो। मदानी बनाउन अनुभवी व्यक्‍ति चाहिन्थ्यो र यो एकदमै कडा काठको हुन्थ्यो। विभिन्‍न जटिल आकारहरूले गर्दा मात्र नभई यसमा भएका दाँती अर्थात्‌ फिर्काहरूको संयोजन मिलाउनुपर्ने भएकोले पनि मदानी बनाउन गाह्रो हुन्थ्यो। फिर्काहरूको संयोजनले गर्दा घट्टका अन्य भागहरूको घुम्ने गति बढ्‌थ्यो। मदानी घुम्दा आउने घ्वाइँघ्वाइँ आवाजको एउटा छुट्टै विशेष पहिचान थियो।

चेकको लोककथामा घटेराहरू

कोही घटेराहरू इमानदार र नैतिकवान्‌ थिए भने अरू कोही लोभी, हेपाहा वा आफ्ना ग्राहकहरूलाई ठग्ने किसिमका थिए। त्यसैले कुनै-कुनै लोकगीतमा घटेराहरू र तिनको परिवारलाई गिज्याइएको हुन्थ्यो भने अरू कुनै-कुनैमा तिनीहरूको प्रशंसा गरिएको हुन्थ्यो र तिनीहरूको सहयोगीलाई चाहिं पतिको रूपमा योग्य व्यक्‍ति भनी बखान गरिएको हुन्थ्यो! अन्य कतिपय गीतमा चाहिं घटेरा र घट्टको लागि आगोबाहेक अर्को मुख्य खतरा, भल-बाढीको सम्झना गरिएको हुन्थ्यो।

कथाहरू रचना गरिएको ठाउँ र समयअनुसार अलि-अलि फरक हुन्थे। अन्यथा चेकियाभरि नै विषयहरूमा खासै भिन्‍नता हुँदैनथ्यो। ती कथाहरूमा बुट्टा भरेर बढाइचढाइ गर्ने चाहिं विभिन्‍न घट्टहरूमा काम गर्दै हिंड्‌ने फिरन्तेहरू नै थिए। त्यसैकारण चेकमा आजसम्म पनि यसो भन्‍ने गरिन्छ: “कथाहरू भनिरहिन्छ र पानी पनि बगिरहन्छ” र यसले केही कथा वा रिपोर्टहरू बढाइचढाइ गरिएको हुन सक्ने कुरालाई इङ्‌गित गर्छ।

वर्तमानमा घट्टहरू

समयको अन्तरालमा घट्टको काम बिस्तारै लोप हुन थाल्यो। घट्टहरूलाई आधुनिकीकरण गरियो र पानीघट्टको ठाउँ इलेक्ट्रिक मोटरहरूले लिन थाले। केही घटेराहरूले जसरी भए पनि आफ्नो परम्परागत जीवन शैली कायम राख्न हरप्रयास गरे र चेकियामा केही पानीघट्टहरू दोस्रो विश्‍वयुद्धको अन्तपछि पनि सञ्चालनमा थिए। तर सन्‌ १९४८ मा एकदमै लगनशील घटेराहरूले पनि आफ्नो कामलाई निरन्तरता दिन सकेनन्‌। त्यस वर्ष घट्टहरू राष्ट्रिय सम्पत्ति भएपछि अधिकांश घट्टहरू चल्न छोडे र तिनको अवस्था पनि नाजुक हुँदै गयो।

आजका औद्योगिक मिलहरूले विगतका घट्टहरूको अनुभूति दिंदैनन्‌। अहिले पिंध्ने काम आधुनिक मेसिनहरूद्वारा गरिन्छ र यो अक्सर कम्प्युटरद्वारा नियन्त्रित हुन्छ। जाँतोको ठाउँमा स्टील रोलरहरू प्रयोग गरिन्छन्‌। तैपनि गाउँघरमा बाँकी रहेका पुराना घट्टहरूले शान्त, रोमान्टिक वातावरण रुचाउनेहरूका साथै संस्कृति र इतिहासमा चासो राख्ने पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।

यसको एउटा छुट्टै आकर्षण भएको कारण आज कतिपय घट्टहरूलाई मनोरञ्जन केन्द्रमा परिवर्तन गरिएको छ। प्रागमा आउने थुप्रै पर्यटकहरू भल्टाभा नदीको शाखा चेर्टोभक्का वा “दियाबलको तीव्र धार”-मा रहेको मदानी हेर्न जान्छन्‌। त्यहाँको घट्ट सन्‌ १९३८ को आगलागीपछि बन्द भएको थियो। तर झन्डै सात मिटर व्यास भएको यहाँको ६०० वर्षभन्दा पुरानो मदानी सांस्कृतिक स्मारकको रूपमा सन्‌ १९९५ मा पुनर्स्थापित गरिएको थियो। आजसम्म पनि यो मदानी घुमिरहेको छ।

आज, पुनर्स्थापित त्यस घट्टलाई हेर्दा हामी एक शताब्दीअघि घटेराले काम गरिरहेको दृश्‍य कल्पना गर्न सक्छौं। घट्टको मदानी घुम्न थाल्दा हामीले पानी छोत्ल्याक-छोत्ल्याक गरेको सुन्‍न सक्छौं। हामी जसै त्यहाँबाट अन्तै लाग्छौं, घट्ट बिस्तारै टाढिन थाल्छ। तर मदानीको घ्वाइँघ्वाइँ आवाज भने हाम्रो कानमा गुञ्जिरहन्छ र यो सुरम्य आवाज हामी लामो समयसम्म सम्झिरहनेछौं। (g04 12/22)

[पृष्ठ २२-मा भएको चित्र]

जाँतोको पाटा

[पृष्ठ २३-मा भएको चित्र]

१. अन्‍न केलाउने पुरानो हाते मेसिन

२. घट्टहरूमध्ये एउटा

३. मदानीको सहायताले घट्ट घुमाउने मुख्य डन्डा

४. चेर्टोभक्काको सात मिटर व्यास भएको मदानी जसको सहायताले कुनै समय घट्ट घुमाइन्थ्यो

[पृष्ठ २४-मा भएको चित्र]

चेर्टोभक्काको मदानी