सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

रिसले गर्दा मुटुसम्बन्धी समस्या

“रिसको झोंकमा जथाभावी गर्ने वा ठुस्स परेर दुस्मनी राख्ने पुरुषहरूलाई अक्सर मुटुको धड्‌कन अनियमित हुने आट्रियल फाइब्रिलेसन भनिने समस्याले पिरोल्छ” भनी न्यु योर्कको डेली न्युज रिपोर्ट गर्छ। अनुसन्धाताहरूले पत्ता लगाएअनुसार तुरुन्तै रिसाउने वा उत्तेजित हुने वा कामकुरा भनेजस्तो नहुँदा अरूसित झडङ्‌गै रिसाउने वा अरूले आलोचना गर्दा आक्रोशित हुने पुरुषहरूको मुटुको धड्‌कन अनियमित हुने सम्भावना ३० प्रतिशत बढी हुन्छ। उक्‍त अध्ययनका निर्देशक इलेन एकर यसो भन्छिन्‌: “रिसलाई मनभित्र गुम्साएर राख्नुभन्दा रिस पोख्दा स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कम गर्न सकिन्छ भन्‍ने धारणा पाइन्छ। . . . तर यस अध्ययनमा भाग लिएका पुरुषहरूको सन्दर्भमा भने यस्तो पटक्कै होइन—तिनीहरूलाई आट्रियल फाइब्रिलेसन हुन सक्ने खतरा बढी हुनुका साथै अन्य कारणले पनि मृत्यु हुन सक्ने खतरा देखियो।” (g04 12/8)

घातक इन्धन

“घरभित्र खाना पकाउँदा निस्कने धुँवाबाट विकासोन्मुख मुलुकहरूमा प्रति २० सेकेन्डमा एक जनाको मृत्यु हुन्छ” भनी भारत, नयाँ दिल्लीको डाउन टु अर्थ पत्रिका रिपोर्ट गर्छ। “यो औलोबाट मृत्यु हुनेहरूको संख्याभन्दा बढी छ अनि फोहोर पानी तथा सरसफाइको कमीले गर्दा मृत्यु हुनेहरूको संख्या जत्तिकै छ।” कोइला र वनस्पति तथा जीवहरूको फोहोरबाट निस्कने इन्धनको प्रयोग अनि हावा राम्ररी आवतजावत नहुने कोठाहरूले गर्दा घरमा प्रदूषकको सह्‍य मात्राभन्दा १०० गुणा बढी हुन जान्छ। यी प्रदूषकहरूले गर्दा फोक्सोको क्यान्सर, दम, क्षयरोग र क्रोनिक ब्रोङ्‌काइटिस भएको पनि पाइएको छ। प्रविधि विकास समूह नामक अनुसन्धान संगठनका विशेषज्ञहरू के भन्छन्‌ भने, स्वच्छ इन्धन प्रयोग गर्न नसक्ने गरिबहरूले समेत राम्ररी डिजाइन गरिएका चिम्नी वा धुँवा निष्कासनको लागि छत बनाएको खण्डमा खतरनाक धुँवाको खतरा ८० प्रतिशतले कम गर्न सक्ने थिए। घरभित्र हुने वायु प्रदूषणले मर्ने १६ लाख मानिसहरूमध्ये झण्डै १० लाख त केटाकेटी हुन्‌। (g04 12/8)

सबैभन्दा धेरै अनुवादित किताब

संसारमा सबैभन्दा अनुवादित किताब अझै पनि बाइबल हो। हाल अस्तित्वमा भएका लगभग ६,५०० भाषाहरूमध्ये सम्पूर्ण वा केही अंशको बाइबल २,३५५ भाषामा उपलब्ध छ। बाइबल अहिले अफ्रिकाको ६६५ भाषामा, त्यसपछि एसियाको ५८५, ओसियानियाको ४१४, ल्याटिन अमेरिका र क्यारिबियनको ४०४, युरोपको २०९ र उत्तर अमेरिकाको ७५ वटा भाषामा उपलब्ध छन्‌। युनाइटेड बाइबल सोसाइटीले हाल लगभग ६०० वटा भाषामा बाइबल अनुवाद कार्यलाई सहयोग गरिरहेको छ। (g04 12/8)

सार्कबाट बच्ने उपकरण

सार्कसित मुखामुख पर्न सक्ने सम्भावनालाई विचार गर्दा समुद्रमा डुबुल्की मार्न चाहने थुप्रै मानिसहरू पनि पन्छिन्छन्‌। तथापि, दक्षिण अफ्रिकाको नेटल सार्क बोर्डले सार्कबाट बच्ने उपकरण पत्ता लगाएको छ। उक्‍त बोर्डले “एउटा खास इलेक्ट्रिक तरङ्‌गले सार्कको थुतुनोमा हुने संवेदनशील अङ्‌गलाई असर गर्ने कुरा पत्ता लगाएको छ” भनी क्वाजुलु-नेटल विकेन्ड विट्‌नेस रिपोर्ट गर्छ। नेटल सार्क बोर्डले त्यस उपकरणको नजिकै आउँदा सार्कले असाध्यै असजिलो महसुस गर्ने प्रोटेक्टिभ ओसियानिक डिभाइस भनिने ट्रान्समिटर डिजाइन गऱ्‍यो र यसले गर्दा सार्क उक्‍त उपकरणको नजिकै पुग्दा अत्यन्तै अप्ठ्यारो महसुस गर्न थाल्छ। असाध्यै असह्‍य हुने गरी असजिलो महसुस भएपछि “सार्कले आफ्नो मार्ग परिवर्तन गरेर तुरुन्त अर्कै ठाउँमा जान्छ।” एउटा अस्ट्रेलियन उत्पादकले पौडीबाज तथा सर्फिङ्‌ गर्नेहरूको लागि त्यस्तो ट्रान्समिटर बनाउँछ। पौडीबाजको खुट्टाको तलतिर बाँधिने यो उपकरणले यस व्यक्‍तिको चारैतिर “सार्क प्रवेश निषेध निजी इलाका” बनाउँछ। तैपनि उत्पादक यस्तो चेतावनी दिन्छन्‌: “जस्तोसुकै अवस्था आइपरे तापनि सबै सार्कहरू भाग्नेछन्‌ भन्‍ने ग्यारेन्टी दिन भने असम्भव छ।” (g04 12/22)

बामे सर्नेहरूको लागि टेलिभिजन हानिकारक हो?

“एकदमै सानो उमेरदेखि टेलिभिजन हेर्ने केटाकेटीहरू पछि स्कूल जाने उमेर पुगुन्जेल तिनीहरूलाई लामो समय ध्यान दिन नसक्ने समस्याले पिरोल्ने खतरा बढी हुन्छ” भनी मेक्सिको सहरको द हेरल्ड-ले रिपोर्ट गऱ्‍यो। त्यस रिपोर्टले पेडियाट्रिक्स्‌ नामक चिकित्सा पत्रिकामा प्रकाशित एउटा अध्ययनबारे उल्लेख गर्छ र त्यसमा जम्मा १,३४५ जना केटाकेटीको दुइटा समूह बनाइयो—एउटा समूह एक वर्ष पुगेकाहरूको थियो भने अर्को चाहिं तीन वर्ष पुगेकाहरूको। उक्‍त अध्ययनअनुसार केटाकेटीले प्रत्येक दिन एक घण्टा टेलिभिजन कार्यक्रम हेर्दा सात वर्ष पुगुन्जेलसम्म तिनीहरूलाई ध्यान दिन नसक्ने समस्याले पिरोल्ने सम्भावना १० प्रतिशतले बढ्यो। अनुसन्धाताहरूको विचारमा बामे सर्ने बालबालिकाहरूको “सामान्य मस्तिष्क विकासलाई प्रायजसो टिभी प्रोग्रामहरूमा देखाइने अत्यन्तै अव्यावहारिक अनि छिट्‌छिटो परिवर्तन हुने दृश्‍य चित्रहरूले” असर गर्न सक्छ। “यथार्थ के हो भने, केटाकेटीहरूले टिभी हेर्न अनुपयुक्‍त हुने थुप्रै कारणहरू छन्‌,” भनी उक्‍त अध्ययनका स्रष्टा डिमिट्री क्रिस्टाकिसले भने। “अन्य अध्ययनहरूले [टिभी हेर्नु] र अचाक्ली मोटोपन तथा जोधाहापनबीच सम्बन्ध भएको कुरा देखाएको छ।” (g04 12/22)

हाँसो एउटा राम्रो ओखती हो

“स्टानफोर्ड विश्‍वविद्यालयका स्नायुविद्‌हरूले हाँस्नु हाम्रो लागि किन फाइदाजनक हो भन्‍ने एउटा अर्को कारण पत्ता लगाएका छन्‌,” भनी यु सी बर्क्ली वेलनेस लेटर रिपोर्ट गर्छ। “हाँसउठ्‌दो कार्टुन पढ्‌ने मानिसहरूको मस्तिष्कको गतिविधिलाई नियाल्दा तिनीहरूले के पाए भने, हँसीमजाक र हाँसोले मस्तिष्कको ‘इनाम केन्द्रलाई’ उत्तेजित पार्छ” र उत्तेजक औषधीहरूले असर गर्ने पनि यिनै ठाउँहरू हुन्‌। “हाँसोले तनाव कम गर्छ, मन शान्त पार्छ अनि मुड राम्रो बनाउँछ” भनी वेलनेस लेटर बताउँछ। हाँसोले हर्मोन उत्पादन र मुटुको धड्‌कन हुने गति पनि बढाउँछ अनि यसले गर्दा रक्‍तसञ्चार राम्रो हुनुका साथै मांसपेशीलाई चुस्त बनाउँछ। “निस्सन्देह, दिल खोलेर हाँस्नु एउटा राम्रो व्यायाम हो” भनी वेलनेस लेटर बताउँछ। “यसले अत्यधिक क्यालोरी खपत हुने त होइन—तथापि, तपाईं निश्‍चिन्त भई हाँस्न सक्नुहुन्छ तर यसो गर्दैमा दुब्लाउने भने चाहिं होइन।” (g04 12/22)

साना चराहरूको दिशा पत्ता लगाउने क्षमता

एक प्रकारका साना चराहरू “अप्रिल महिनाको अन्ततिर अफ्रिकादेखि इङ्‌ग्ल्याण्डसम्म ६,००० किलोमिटरभन्दा लामो दूरी उडेर बसाइँ सर्छन्‌” भनी लन्डनको द सन्डे टेलिग्राफ बताउँछ। तिनीहरूसित “विश्‍वमा आफ्नो दिशा पत्ता लगाउने कुनै भूउपग्रह, हवाई ट्राफिक कन्ट्रोल र पाइलट नभए तापनि” तिनीहरू राती सधैंजसो १०,००० फिटको उचाइमा उड्‌छन्‌ र तिनीहरूले प्रयोग गर्ने यात्रा क्षमता कुनै पनि आधुनिक हवाईयन्त्रभन्दा उच्च प्रविधियुक्‍त हुन्छ। अर्कै दिशातिर नजाओस्‌ भनेर चराहरूले आफ्नो उडानलाई नियन्त्रणमा राख्छन्‌ र पुरानो सोचाइअनुसार तिनीहरूले पृथ्वीका लान्डमार्क अथवा उल्लेख्य स्थानसित नभई हावासित तुलना गरेर त्यसो गर्ने गर्छन्‌। जम्मा २२५ वटा चराको उडानसम्बन्धी अध्ययन गर्न राडरको प्रयोग गरेका स्वीडेनको लुन्ड विश्‍वविद्यालयका डा. युहान बेकमनले बताएअनुसार “उडानसम्बन्धी एकदमै राम्रा साधन भएका अत्याधुनिक हवाईजहाजहरू समेत हावाको यस्तो बहावअनुसार चल्न सक्ने थिएनन्‌।” उल्लेखनीय कुरा के हो भने, कुनै-कुनै अध्ययनले देखाएअनुसार रातीको उडानमा चराहरूले आफ्नो आधीजसो मस्तिष्कलाई ठप्प बन्द गर्छन्‌। चराहरूको संरक्षणका लागि रोयल सोसाइटीका ग्राहाम माज भन्छन्‌, तैपनि थुप्रै प्रश्‍नहरू अझै अनुत्तरित नै छन्‌। जस्तै, “त्यति लामो उडान गर्दा खानेकुरा चाहिं के खान्छन्‌ तिनीहरू?” (g04 12/22)

वयस्कहरूलाई विष लाग्न सक्ने सम्भावना बढी

“दुर्घटनावश विष सेवन गरेकाहरूलाई मृत्यु हुनबाट रोक्ने कुरा विचार गर्दा मानिसहरू अक्सर साना बच्चाहरूबारे सोच्ने गर्छन्‌” भनी ब्रिटिश कोलम्बिया औषधी तथा विष जानकारी केन्द्रकी डेब्रा केन्ट भन्छिन्‌। यद्यपि केन्ट यसो पनि भन्छिन्‌, “विषले मृत्यु हुनेहरूमा अक्सर किशोरकिशोरी तथा वयस्कहरू पर्छन्‌।” द भ्यानकुभर सन-अनुसार वयस्कहरूमाझ दुर्घटनावश विष सेवन गर्नेहरूले अधिकांश अवस्थामा “बाहिर केही नलेखेको भाँडोमा, जस्तै—पानी राख्ने प्लास्टिकको बोतलमा विषालु कुरा राख्दा विष सेवन गर्न पुगेका थिए।” मानिसहरूले बत्ती बालेर लेबल पढेका भए पनि कतिपय दुर्घटनाहरूबाट बच्न सकिन्थ्यो। सन-अनुसार “कुनै चोट लागेर वयस्कहरूको मृत्यु हुने प्रमुख १० कारणमध्ये विषबाट हुने मृत्यु चौथोमा पर्छ।” (g04 12/22)