असल साथीहरू—खराब साथीहरू
असल साथीहरू—खराब साथीहरू
एउटी तरुनी केटी जसलाई हामी सेरा भन्नेछौं, तिनले बिलौना गर्दै आफ्नो पीर-व्यथाको पोको फुकाइन्। तिनले आफ्नो साथी भन्ठानेको एक जना पुरुष वास्तवमा हत्यारा रहेछ। तिनले प्रश्न तेर्स्याइन्, ‘मैले भरोसा गरेको व्यक्तिले नै यस्तो गर्न सक्छ भने म कसरी अरूलाई भरोसा गरूँ?’ सेराको कुरा सुनिरहेका व्यक्तिले तिनलाई त्यस व्यक्तिको मूल्यमान्यता कस्तो थियो भनेर सोधे। तिनले जवाफ दिइन्, “तपाईंले के भन्न खोज्नुभएको?” “मूल्यमान्यता” भनेको के हो, त्योसमेत सेरालाई थाह थिएन। तपाईंलाई नि? के तपाईंलाई आफ्नो साथीको मूल्यमान्यता थाह छ?
सेराको अनुभवले प्रस्ट पारेझैं यस प्रश्नको जवाफमा जीवन वा मृत्युको सवाल छ। बाइबलको एउटा हितोपदेशले यसलाई यसरी व्याख्या गर्छ: “बुद्धिमानीहरूको सङ्गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) तथापि, सेराले जस्तै कैयौं मानिसहरूले केवल “मन मिल्छ” कि मिल्दैन अर्थात् साथीहरूसित सरसंगत गर्दा कस्तो लाग्छ त्यसैको आधारमा साथीहरू रोज्ने गर्छन्। हामीलाई खुसी बनाउने व्यक्तिहरूसित सरसंगत गर्न मन लाग्नु स्वाभाविकै हो। तर यसैको आधारमा मात्र अथवा मानिसको वास्तविक भित्री गुणहरूलाई ध्यानै नदिई साथीहरू रोज्यौं भने चाहिं पछि हामीले नराम्ररी धोका खान सक्छौं। कुनै व्यक्तिको असल मूल्यमान्यता छ कि छैन तपाईं कसरी थाह पाउन सक्नुहुन्छ?
उच्च मूल्यमान्यता हुनुको महत्त्व
सबैभन्दा पहिला त हाम्रो आफ्नै असल मूल्यमान्यता हुनै पर्छ। हामीले सही र गलत, असल र खराब के हो सो थाह पाउनु र उच्च नैतिक सिद्धान्तहरूलाई सधैं बलियो गरी पक्रिराख्नु आवश्यक छ। बाइबलको अर्को हितोपदेश यसो भन्छ: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७) दुवै साथीको फलामरूपी बलियो मूल्यमान्यता छ भने उनीहरूले एक-अर्कालाई अझ परिपक्व हुन मदत गर्न सक्छन् र उनीहरूबीचको मित्रताको गाँठो मज्जाले कसिनेछ।
फ्रान्सकी पाकोम यसो भन्छिन्, “मेरो लागि साँचो साथी त्यो व्यक्ति हो जसले मेरो कुरा सुनिदिने र मसित दयालु भई कुरा गर्ने मात्र गर्दैन तर मैले मूर्ख काम गर्दा मलाई सच्याउँछ पनि।” हो, हाम्रा मन मिल्ने साथीहरू चाहे जवान होऊन् वा वृद्ध, उनीहरू त त्यस्ता व्यक्तिहरू हुन् जसले हामीलाई सही काम गरिरहन मदत गर्नुका साथै निर्बुद्धि कुराहरू गर्न लाग्दा हामीलाई सच्याउँछन्। बाइबल यसो भन्छ: “साथीले दिएको चोट सुधारको निम्ति हुन्छ।” (हितोपदेश २७:६) आफूलाई नैतिक तथा आध्यात्मिक तवरमा बलियो बनाउन हामीले परमेश्वर अनि उहाँका सिद्धान्तहरूलाई प्रेम गर्ने व्यक्तिहरूसित सरसंगत गर्नुपर्छ। फ्रान्सकी सलेन आफ्नो विगत यसरी सम्झिन्छिन्, “स्कूलमा मेरोजस्तै मसीही मूल्यमान्यता र विश्वास भएको कोही पनि नहुँदा मैले मसीही मण्डलीमा साँचो साथीहरू बनाउनुको महत्त्व थाह पाएँ। सन्तुलित भई कामकुरा गर्न उनीहरूले मलाई धेरै नै मदत गरेका छन्।”
सम्भावित साथीहरू विचार गर्ने
आफूले भेटेको कोही व्यक्तिलाई साथी बनाउन चाहनुहुन्छ भने तपाईं आफैलाई यस्तो प्रश्न सोध्न सक्नुहुन्छ, ‘तिनका साथीहरू को-को हुन्?’ कुनै पनि व्यक्तिले सरसंगत गर्न कस्ता साथीसँगी छानेका छन्, त्यसले उनको बारेमा धेरै कुरा बताउँछ। साथै, छरछिमेकका परिपक्व र गन्नेमान्ने व्यक्तिहरूको नजरमा तिनी कस्तो किसिमका व्यक्ति हुन्? यसबाहेक, सम्भावित साथीहरूले हामीसित मात्र होइन तर केही सम्बन्धै नभएका अरू व्यक्तिहरूसित पनि कस्तो व्यवहार गर्छन्, त्यसबारे विचार गर्नु पनि बुद्धिमानी हुन्छ। कुनै व्यक्तिले इमानदारिता, निष्ठा, धैर्यता र विचारशीलताजस्ता असल गुणहरू सधैंभरि र सबै मानिसहरूप्रति नदेखाएसम्म उसले तपाईंसित राम्रो व्यवहार गर्नेछ भन्ने के ग्यारेन्टी?
कसैको असली आचरण थाह पाउन धैर्य र कौशलता चाहिनुका साथै वास्तविक जीवनमा तिनी कस्ता छन्, सो याद गर्न समय लाग्छ। बाइबल यसो भन्छ: “अर्काको मनको विचार गहीरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।” (हितोपदेश २०:५) सम्भावित साथीहरूसित हामीले उनीहरूको असली व्यक्तित्व, मनसाय र मूल्यमान्यता झल्काउने गम्भीर विषयहरूमा कुरा गर्नु आवश्यक छ। उनीहरू कस्ता किसिमका मानिसहरू हुन्? उनीहरू दयालु छन् वा कठोर? आशावादी र फरासिलो किसिमका छन् कि निराशावादी र अरूको निन्दोचर्चो गर्ने प्रवृत्तिका छन्? निःस्वार्थ कि स्वार्थी? भरोसायोग्य वा अवफादार? कुनै व्यक्तिले तपाईंसित अरूको बारेमा आलोचनात्मक कुरा गर्छ भने तपाईंको पिठ्युँपछाडि तपाईंकै बारेमा नकारात्मक कुरा गर्नदेखि उसलाई केले पो रोक्छ र? येशूले यसो भन्नुभयो, “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” (मत्ती १२:३४) मानिसहरूले बोलेको कुरा ध्यान दिएर सुन्नुपर्छ किनभने बोलीले नै ती व्यक्तिहरू कस्ता किसिमका मानिसहरू हुन्न भन्ने कुरा बताउँछ।
सबैमा हुनुपर्ने सर्वमहत्त्वपूर्ण कुरा
साथीहरूको पनि आफ्नो जस्तै अभिरुचिहरू हुनै पर्छ भन्ने कसै-कसैको सोचाइ छ। एउटा सानो केटोले यस्तो जिद्दी गऱ्यो, “चिजकेक मन नपराउनेसित म कहिल्यै साथी बन्न सक्दिनँ।” हो, एक-अर्कालाई बुझ्न साथीहरूबीच थुप्रै समान कुराहरू हुनु आवश्यक छ र उनीहरूको एउटै आधारभूत नैतिक तथा आध्यात्मिक मूल्यमान्यता हुनु त झनै महत्त्वपूर्ण छ। तर यसो भन्दैमा उनीहरूको व्यक्तित्व र पृष्ठभूमि पनि एउटै हुनुपर्छ भन्ने छैन। वास्तवमा भन्ने हो भने, जीवनमा अनुभव गरिने भिन्नताहरूले मित्रतालाई अझ प्रगाढ बनाउँछ र पारस्परिक लाभ पुऱ्याउँछ।
बाइबलमा उल्लिखित जोनाथन र दाऊद अनि रूथ र नाओमीको मित्रताको दुईवटा चीरकालीन उदाहरण परमेश्वर तथा उहाँका सिद्धान्तहरूप्रतिको पारस्परिक भक्तिमा आधारित थियो। a उल्लेखनीय कुरा के छ भने, दुवै उदाहरणमा उमेर अनि पृष्ठभूमि निकै फरक भए तापनि त्यसले उनीहरूलाई मित्रता गाँस्नदेखि रोकेन। यस प्रकार उनीहरू हामीलाई मित्रताबारे केही कुरा सिकाउँछन्: साथीहरूको हैसियतमा जवान तथा वृद्ध सबैले एक-अर्कालाई धेरै सहयोग गर्न सक्छन्।
उमेरको भिन्नताबाट लाभ उठाउने
आफूभन्दा ठूलो वा सानो उमेरका साथीहरू बनाउनु पनि दुवैको लागि निकै प्रोत्साहनदायी हुन सक्छ। आफ्ना व्यक्तिगत अनुभवहरूको आधारमा युवाजनहरूले भनेका यी कुरा विचार गर्नुहोस्।
मानुएल (इटाली): “केही समयअघि मैले वयस्क विवाहित जोडीलाई साथी बनाएकी थिएँ। मैले उनीहरूलाई आफ्नो मनका कुराहरू भनें र उनीहरूले पनि मलाई आफ्नो मनका कुराहरू भन्दा मलाई साह्रै खुसी लाग्यो। म सानै भएकोले उनीहरूले मलाई हल्कासित लिएनन्। यस कुराले मलाई उनीहरूसित घनिष्ठ हुन अभिप्रेरित गऱ्यो। समस्याहरूमा पर्दा उनीहरूको मित्रताले मलाई धेरै नै मदत गर्छ। एउटै उमेरका व्यक्तिहरूलाई आफ्ना समस्याहरू बताउँदा कहिलेकाहीं मेरा केटी साथीहरूले मलाई राम्ररी विचार नगरी बेकारको सल्लाह दिन्छन्। तर मभन्दा पाको उमेरका साथीहरूसित हामी जवान व्यक्तिहरूसित नभएको अनुभव, समझशक्ति र
एक किसिमको सन्तुलन हुन्छ। उनीहरूको मदत लिएर म असल निर्णयहरू गर्ने गर्छु।”जुलिका (इटाली): “जमघटहरूमा हामी युवाजनहरूलाई मात्र हैन तर हामीभन्दा पाका केही व्यक्तिहरूलाई पनि समावेश गर्ने गर्छौं। व्यक्तिगत रूपमा भन्नुपर्दा मैले के कुरा याद गरेको छु भने, पाका तथा युवाजनहरू एकसाथ भेला भएर रमाइलो गर्दा साँझ छुट्ने बेला हामी सबैलाई साँच्चै प्रोत्साहित भएको महसुस हुन्छ। यतिखेर सबैको अलि फरक दृष्टिकोण हुने भएकोले धेरै रमाइलो हुन्छ।”
वृद्धहरू हो, युवाजनहरूसित नजिकिन तपाईं पनि अग्रसर हुन सक्नुहुन्छ। माथि उल्लिखित टिप्पणीहरूले देखाएझैं थुप्रै युवाजनहरूले तपाईंसित भएका प्रचुर अनुभवको खूबै मूल्याङ्कन गर्नुका साथै तपाईंको सरसंगतिबाट आनन्द उठाउँछन्। अस्सी वर्ष नाघिसकेकी एउटी विधवा, अमेली यसो भन्छिन्: “युवाजनहरूसित कुराकानी गर्न म आफै अग्रसर हुन्छु। उनीहरूको जोस-जाँगर देख्दा मेरो आफ्नो मनोबल उच्च हुन्छ!” यस्तो पारस्परिक प्रोत्साहनबाट प्राप्त हुने असल परिणामहरू चीरकालीन हुन सक्छन्। थुप्रै आनन्दित वयस्कहरूले आफ्नो सफलताको अधिकांश श्रेय आफूभन्दा अलि पाको र असल उदाहरण बसाल्ने तथा आफूलाई असल सल्लाह-सुझाव दिने आफ्नो युवावस्थाका साथीहरूलाई दिन्छन्।
मित्रतालाई राम्रो बनाउँदै लैजाने
असल साथीहरू पाउन तपाईंले नयाँ-नयाँ साथीहरू नै बनाउनुपर्छ भन्ने छैन। यदि तपाईंका राम्रा साथीहरू छँदैछन् भने उनीहरूसितको मित्रतालाई नै बलियो बनाउन के गर्न सकिन्छ भनेर किन विचार नगर्ने? विशेष गरी पुराना साथीहरू एकदमै बहुमूल्य सम्पत्तिजस्तै हुन् र उनीहरूलाई हामीले यस्तै गरी व्यवहार पनि गर्नुपर्छ। उनीहरूको वफादारितालाई मूल्यहीन नठान्नुहोस्।
सबैभन्दा महत्त्वपूर्ण कुरा त, साँचो आनन्द र साँचो मित्रता अरूलाई मदत गर्दा, आफ्नो समय तथा स्रोतसाधन दिंदा प्राप्त हुन्छ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्। यसो गर्दा पाइने इनामहरूको तुलनामा यसको लागि गर्नुपर्ने प्रयत्न तथा त्यागहरू त केही पनि होइनन्। तथापि, साथीहरू रोज्दा आफ्नो बारेमा मात्रै सोच्नुभयो भने चाहिं तपाईंले कहिल्यै पनि असल साथी भेट्टाउन सक्नुहुनेछैन। त्यसकारण सम्भावित साथीहरूबारे विचार गर्नुहुँदा आफूलाई मनपरेको वा फाइदा हुन सक्ने व्यक्तिहरूमै मात्र सीमित नहुनुहोस्। अरूले त्यति वास्ता नगर्ने अथवा अरूको साथी बन्न गाह्रो भइरहेका व्यक्तिहरूसित कुरा गर्न अघि सर्नुहोस्। फ्रान्सकी गली यसो भन्छिन्: “केही गर्न एकसाथ भेला हुने योजना बनाउँदा कोही एक्लो छन् भने हामी उनीहरूलाई पनि बोलाउँछौं। हामी भन्ने गर्छौं: ‘घरमा एक्लै बस्न चाहँदैनौं भने तिमी हामीसित आउन सक्छौं। आऊ, हामी एक-अर्कालाई चिनौं।’ ”—लूका १४:१२-१४.
अर्कोतर्फ, असल मानिसहरूले मित्रताको हात बढाउँदा त्यसलाई तुरुन्त अस्वीकार नगरिहाल्नुहोस्। इटालीकी एलिजा यसो भन्छिन्: “विगतमा कसैले पनि आफूलाई वास्ता नगरेको कुरा सोच्दा तपाईंलाई कता-कता रिस उठ्न सक्छ। तपाईं यस्तो सोच्न थाल्नुहुन्छ, ‘आखिर, मेरो लागि मित्रता त्यति महत्त्वपूर्ण कुरा होइन क्यारे।’ यसरी तपाईं धुमधुमती बस्नुहुन्छ, आफैलाई अरूबाट अलग्याउनुहुन्छ र आफ्नो विषयमा मात्र सोच्नुहुन्छ। साथीहरू खोज्नुको सट्टा तपाईं अवरोध खडा गर्नुहुन्छ।” बेकारको डर वा स्वार्थी इच्छाले आफूलाई नयाँ साथीहरू बनाउनदेखि रोक्न दिनुको सट्टा अरूसित मन खोलेर कुरा गर्नुहोस्। हाम्रो साथी बन्न मानिसहरूले हाम्रो धेरै ख्याल गर्दा हामी कृतज्ञाताले ओतप्रोत हुनुपर्छ।
तपाईं साँचो साथीहरू पाउन सक्नुहुन्छ
साँचो साथीहरू बनाउन चाहन्छौं भने इच्छा गर्नु, पर्खनु अनि मित्रतासम्बन्धी यस्ता लेखहरू पढ्नु मात्र पर्याप्त छैन। साथीहरू बनाउन सिक्नु भनेको साइकल चलाउन सिक्नुजस्तै हो। किताब पढेको भरमा हामी न त साइकल चलाउन सिक्न सक्छौं न साथी बनाउन नै। यसको लागि त हामीले केही पटक लड्नुपरे तापनि अभ्यासै गर्नुपर्छ। मजबुत सम्बन्ध परमेश्वरसितको पारस्परिक मित्रतामा आधारित हुन्छ भनेर बाइबल बताउँछ। तर हामीले प्रयासै गरेनौं भने साथी बनाउने हाम्रो प्रयासमा परमेश्वरले आशिष् दिन सक्नुहुन्न। साँचो साथी बनाउन के तपाईं कटिबद्ध हुनुहुन्छ? हरेस नखानुहोस्! मदतको लागि परमेश्वरलाई प्रार्थना गर्नुहोस्, निःस्वार्थ भई अग्रसर हुनुहोस् र साथी बन्नुहोस्। (g04 12/8)
[फुटनोट]
a तपाईं यी मित्रताहरूबारे बाइबलको रूथ, पहिलो शमूएल र दोस्रो शमूएलको पुस्तकमा पढ्न सक्नुहुन्छ।
[पृष्ठ ११-मा भएको पेटी/चित्र]
आमाबाबुलाई एउटा सुझाव
अन्य असङ्ख्य पाठहरूजस्तै मित्रताको पाठ पनि घरबाटै सुरु हुन्छ। वास्तवमा, पारिवारिक जीवनले नै सानो बच्चाको सरसंगति गर्ने अधिकांश आवश्यकतालाई पूरा गर्छ। यस्तो अनुकूल वातावरण हुँदाहुँदै पनि परिवारबाहिरका मानिसहरूसितको संगतिले बच्चाको सोचाइ, भावना तथा व्यवहारलाई जोडदार प्रभाव पार्छ। उदाहरणका लागि, थुप्रै आप्रवासी साना केटाकेटीहरूले अरू केटाकेटीसित संगत गरेकै भरमा कति छिटै नयाँ भाषा सिक्छन्, विचार गर्नुहोस् त।
आमाबाबुको हैसियतमा आफ्ना छोराछोरीलाई बुद्धिमानीसाथ साथीहरू रोज्न मदत गर्ने तपाईंसित राम्रो मौका छ। आमाबाबुको डोऱ्याइविना यस्तो निर्णय गर्न साना केटाकेटी तथा किशोरकिशोरीहरू सक्षम भइसकेका हुँदैनन्। तथापि, एउटा समस्या छ। थुप्रै युवाजनहरूले आमाबाबु अथवा आफूभन्दा पाका व्यक्तिहरूसित भन्दा सँगी युवाहरूसित घनिष्ठ महसुस गर्छन्।
केही विशेषज्ञहरूको विचारमा थुप्रै आमाबाबुहरू आफ्नै नैतिक अख्तियारप्रति त्यति विश्वस्त नहुँदा डोऱ्याइको लागि किशोरकिशोरीहरू आफ्ना आमाबाबुकहाँ नभई साथीहरूकहाँ जाने गर्छन्। आफ्ना छोराछोरीलाई डोऱ्याइ प्रदान गर्ने ईश्वरप्रदत्त जिम्मेवारी आमाबाबुले वहन गर्नै पर्छ र छोराछोरीप्रति चासो राख्नै पर्छ। (एफिसी ६:१-४) तर कसरी? पारिवारिक चिकित्सक डा. रोन टाफल किशोरकिशोरी छोराछोरीसित कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा अनभिज्ञ थुप्रै आमाबाबुसित भेटेर कुरा गर्छन्। छोराछोरीको वास्तवमा जसरी पालनपोषण गर्नुपर्ने हो त्यसो नगरेर धेरैले “छोराछोरीको पालनपोषण गर्ने सन्दर्भमा सञ्चारमाध्यमले जे-जे भन्छ त्यसै गर्छन्” भनी तिनी लेख्छन्। उनीहरू किन त्यस्तो भनाइअनुसार चल्छन्? किनभने “छोराछोरीसित सीधै कुरा गर्न सक्ने गरी उनीहरूले आफ्ना छोराछोरीलाई राम्रोसँग चिनेकै हुँदैनन्।”
आमाबाबुले आफ्ना वयस्क छोराछोरीसित असल सम्बन्ध राख्न सक्छन्। आफूलाई चाहिएको कुरा घरमा नपाउँदा आफ्नो आवश्यकता पूरा गर्न छोराछोरीले साथीभाइको मुख ताक्छन् भन्ने कुरा आमाबाबुले बुझ्नै पर्छ। उनीहरूलाई के चाहिन्छ त? टाफल यसो भन्छन्, “युवाजनहरूले चाहँदै आएको कुरा नै उनीहरूलाई पनि चाहिन्छ: पालनपोषण, मूल्याङ्कन, सुरक्षा, स्पष्ट नियम तथा उनीहरूबाट आशा गरिने स्पष्ट कुरा अनि उनीहरू परिवारको एउटा हिस्सा हुन् भन्ने अनुभूति। अहिलेको दुःखलाग्दो कुरा के हो भने, अधिकांश किशोरकिशोरीहरू वयस्कहरूले पाएका यी आधारभूत कुराहरूबाट वञ्चित छन् र उनीहरूलाई आफ्नै परिवारसित पनि ‘सजिलो’ महसुस हुँदैन।
असल मित्रता विकास गर्न तपाईं आफ्ना छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ? पहिलो कदम हो, आफ्नै जीवन शैली र मित्रताबारे विचार गर्नु। के तपाईं र तपाईंका साथीहरूले रोजेको लक्ष्य अनि जीवन शैली असल तथा निःस्वार्थ छ? के ती आध्यात्मिक र भौतिकवाददेखि अलग छन्? एक जना मसीही प्राचीन तथा बुबा डग्लस यसो भन्छन्, “कुराभन्दा काम प्रभावकारी हुन्छ र तपाईंका छोराछोरीले तपाईं, तपाईंका साथी र साथीका छोराछोरीको मनोभाव तथा कामकुरा याद गरिरहेका हुन्छन्।”
जनावरहरूले समेत आफ्ना बच्चाहरूलाई खतरनाक प्राणीहरूबाट स्वाभाविक रूपमा र आक्रामक भई जोगाउँछन्। भालुसम्बन्धी एक जना विशेषज्ञ यस्तो रिपोर्ट गर्छन्: “माउ भालुहरू आफ्ना बच्चाहरूलाई सम्भाव्य खतराहरूबाट जोगाउन खप्पिस हुन्छन्।” के मानव आमाबाबुहरूले पनि यसै गर्नु पर्दैन र? इटालीका रुबेन यसो भन्छन, “मेरा आमाबाबुले मसित धर्मशास्त्रबाट तर्क गर्नुहुन्थ्यो। उहाँहरूले मलाई कुनै-कुनै संगतिबाट अलग रहनु नै बेस हुन्छ भनी बुझ्न मदत गर्नुभयो। मेरो सुरुको प्रतिक्रिया त यस्तो थियो: ‘त्यसोभए त मैले साथी बनाउँदै नबनाए पनि भयो नि!’ तर समयको अन्तरालमा उहाँहरू सही साबित हुनुभएको छ र उहाँहरूले मलाई धैर्यपूर्वक सिकाउनुभएकै कारण म जोगिएँ पनि।”
यसबाहेक, आफ्ना छोराछोरीलाई असल उदाहरण बसालेका र उनीहरूलाई राम्रा लक्ष्यहरू राख्न मदत गर्ने व्यक्तिहरूसित घुलमिल गराउनुहोस्। फ्रान्सिस नाउँका एक जना सफल तथा आनन्दित व्यक्ति आफ्नो अतीत यसरी सम्झन्छन्: “हामी छोराहरूले कसैसित पनि सरसंगतै नगरेको देखेपछि मेरी आमाले पूर्ण-समय मसीही सेवकाईमा लागेका एकदमै सक्रिय भाइहरूलाई घरमा बोलाएर हामीलाई मदत गर्नुभयो। त्यसरी हामीले एक-अर्कालाई चिन्यौं र आफ्नै घरमा उनीहरूसित साथी बन्यौं।” आफ्नो तर्फबाट तपाईंले यस्ता प्रयासहरू गर्नुभयो भने तपाईंका छोराछोरीले घरमा बिताउने जीवन असल मित्रता विकास गर्ने एउटा उपयुक्त वातावरण बन्न सक्छ।
[पृष्ठ ९-मा भएको चित्र]
सम्भावित साथीहरूको बानीबेहोरा याद गर्नुहोस्
[पृष्ठ १०-मा भएको चित्र]
उमेर र पृष्ठभूमि फरक-फरक भए तापनि निःस्वार्थ मित्रता फस्टाउँछ