सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसैले आफ्नो समस्या बताउँदा म के गरूँ?

कसैले आफ्नो समस्या बताउँदा म के गरूँ?

युवा जनहरू सोध्छन्‌ . . .

कसैले आफ्नो समस्या बताउँदा म के गरूँ?

“मेरो स्कूलमा एउटी केटी छे। उसका आमाबाबुको सम्बन्ध विच्छेदको प्रकिया चलिरहेको थियो, र उसको पढाइ बिग्रन थाल्यो। ऊ मलाई आफ्नो परिवारका समस्याहरू बताउने गर्छे।”—१४ वर्षीया जान।

“मेरो स्कूलको एउटी केटीले एउटा केटासित यौनसम्बन्ध राखेको कुरा मलाई बताई। ऊ गर्भवती भइछे र आफ्ना आमाबाबुलाई सुइँको समेत नदिई उसले गर्भपतन गरिछे।”—१५ वर्षीया मीरा।

तपाईं आफ्नो साथी वा सहपाठीसित कुरा गर्दै हुनुहुन्छ। एक्कासी उसले तपाईंलाई आफ्ना व्यथाहरू “पोखाउन” थाल्छ। a सायद उसलाई लुगाफाटा, पैसा, रूपरङ, साथीभाइ, परीक्षाफलजस्ता साधारणतया किशोर-किशोरीहरूले भोग्ने समस्याले मात्र पिरोलिरहेको हुन सक्छ। अर्कोतिर, सायद उसका समस्याहरू एकदमै गम्भीर र चुनौतीपूर्ण पनि हुन सक्छन्‌।

जवानहरूको समस्या कत्तिको गम्भीर हुन सक्छ भनेर संयुक्‍त राज्य अमेरिकाको अवस्थाले देखाउँछ। न्युजविक पत्रिका भन्छ, “नेसनल इन्स्टिच्यूट अफ मेन्टल हेल्थको (NIMH) अनुमानअनुसार ८ प्रतिशत किशोर र २ प्रतिशत बच्चाहरूमा (कोही-कोही त ४ वर्ष मात्र पुगेकाहरू पनि छन्‌) डिप्रेशन अर्थात्‌ नैराश्‍यका लक्षणहरू देखापरेको छ।” अर्को एउटा सर्वेक्षणअनुसार “हरेक वर्ष १५ देखि १९ वर्षका १,००० जना किशोरीहरूमा ९७ जना अर्थात्‌ दस लाख अमेरिकी किशोरीहरू गर्भवती हुन्छन्‌।” यिनमा अधिकांश अर्थात्‌ ७८ प्रतिशतको अनिच्छुक गर्भधारण हुन्छ।” अनि लाखौं जवानहरू [अस्थिर घरेलु वातावरणमा] बाँच्छन्‌। हजारौं शारीरिक वा यौन दुर्व्यवहारको सिकार हुन्छन्‌। संयुक्‍त राज्य अमेरिकाको हाई-स्कूलका अन्तिम वर्षमा पढ्‌नेहरूमध्ये आधाभन्दा धेरैले रक्सीको दुरुपयोग गरिसकेका छन्‌। खानपानसम्बन्धी असन्तुलनको समस्या भोगिरहेका जवानहरूको संख्या पनि चर्को नै छ।

थुप्रै युवाहरूले व्यथाहरू पोख्न हत्त न पत्त कसैलाई खोज्नु कुनै अचम्मलाग्दो कुरो होइन! अनि अक्सर तिनीहरूले सबैभन्दा पहिला आफ्ना साथीभाइलाई नै आफ्ना समस्याहरू पोख्छन्‌। कुनै साथीले तपाईंलाई आफ्ना समस्या पोखाउँदा, तपाईंले गर्नुपर्ने के हो? यदि तपाईं एक जना मसीही हुनुहुन्छ भने तिनीहरूले आफ्नो समस्या पोखाउँदा तपाईंलाई त्यति अचम्म लाग्दैन। बाइबलले मसीहीहरूलाई आचरणमा ‘उदाहरणीय’ हुनुका साथै व्यावहारिक हुने आज्ञा दिन्छ। (१ तिमोथी ४:१२; फिलिप्पी ४:५) त्यसैले अन्य जवानहरूका साथै बेग्लै विश्‍वास हुनेहरूले समेत तपाईंलाई खुलेर आफ्ना व्यथाहरू पोखाउन चाहलान्‌। त्यसोभए, तपाईं यस्ता परिस्थितिहरू कसरी सँभाल्न सक्नुहुन्छ? अनि आफूले सँभाल्न सक्छु जस्तो नलाग्ने समस्या सुन्‍नुभयो भने के गर्ने?

राम्रो स्रोता बन्‍नुहोस्‌

बाइबल भन्छ, “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ। (उपदेशक ३:७) कसैलाई कुनै समस्या परेको छ र ऊ तपाईंसित कुरा गर्न चाहन्छ भने अक्सर सबैभन्दा राम्रो उपाय भनेको चुपचाप सुन्‍नु हो। आखिर, “असहायको बिन्ती” नसुन्‍नुलाई बाइबल निन्दा गर्छ। (हितोपदेश २१:१३) तपाईंको साथीले समस्या पोखाउन बल्लतल्ल साहस जुटाएको हुन सक्छ। तपाईं सुन्‍न इच्छुक हुँदा उसलाई कुरा गर्न सजिलो हुनेछ। हिराम नाउँका एक जवान मसीही यसो भन्छन्‌, “म अक्सर उक्‍त व्यक्‍तिलाई बोल्न दिन्छु। उसका मनका कुराहरू पोखाउन दिन्छु अनि सहानुभूति दर्साउने कोसिस गर्छु।” भिनसेन्टको पनि यस्तै विचार छ, “कहिलेकाहीं त मानिसहरूले तपाईंसित केवल कुरा गर्न चाहिरहेका हुन्छन्‌।”

तपाईंको साथीले सबै समस्याहरू तपाईंले नै समाधान गरिदेओस्‌ भनेर आशा नराखेको हुन सक्छ। उसलाई केवल राम्रो स्रोता चाहिएको हुन सक्छ। त्यसैले सुन्‍नुहोस्‌! आफू वरपरका कुराहरूबाट ध्यान विकर्षण हुन नदिनुहोस्‌ अथवा अनावश्‍यक रूपमा बीचमै कुरा काट्‌ने नगर्नुहोस्‌। तपाईं त्यहाँ हुँदा अनि तपाईंले कुरा सुनिदिंदा मात्र पनि उसले ठूलो राहत पाउन सक्छ। तपाईं उसको साँच्चै ख्याल राख्नुहुन्छ भन्‍ने कुरा यसले देखाउँछ।

के यसको मलतब तपाईं चुइँक्क बोल्नै हुँदैन भनेको हो? धेरै हदसम्म समस्याको प्रकृतिमा यो कुरा निर्भर हुन्छ। अक्सर विचारणीय अनि दयालु जवाफ उचित हुन्छ। (हितोपदेश २५:११) उदाहरणको लागि, तपाईंको जान-पहिचानको व्यक्‍तिले कुनै दुःखद विपत्ति भोगेको छ भने सहानुभूति दर्साउनु नै सबैभन्दा बेस हुन सक्छ। (रोमी १२:१५) हितोपदेश १२:२५ यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” सम्भवतः आवश्‍यक पर्ने कुरा भनेको प्रोत्साहनका दुई शब्द मात्र हुन सक्छ। ऊ स्वयम्‌ले समस्याको सफलतासाथ समना गर्न सक्नेछ भनी बताउँदै उसप्रति आफ्नो विश्‍वस्तता दर्साउनुहोस्‌। “तिमीले यस्तो महसुस गर्नुको कारण म बुझ्छु।” अथवा “तिमीले यत्तिका कठिन समस्याहरू भोग्नुपरेको रहेछ, कस्तो दुःख लाग्यो,” जस्ता अभिव्यक्‍तिहरूले तपाईं निष्कपट हुनुहुन्छ अनि तपाईं उसलाई मदत गर्न चाहनुहुन्छ भनेर तपाईंको साथीले बुझ्न सक्छ।

तथापि, हितोपदेश १२:१८, NRV ले यसरी सजग गराउँछ: “असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ।” “त्यति ठूलो समस्या त होइन है!” “सब बिर्सिदेऊ न यार!” वा “तिमीले त्यसरी सोच्नै नहुने” जस्ता टिप्पणीहरू नगर्नु महत्त्वपूर्ण छ। समस्यालाई ठट्टामा उडाएर हल्का बनाउनदेखि पनि सचेत हुनुहोस्‌। यसो गर्नुभएमा तपाईंको साथी सजिलै तपाईंले उसको भावनाको कुनै कदर गर्नुहुन्‍न भन्‍ने निष्कर्षमा पुग्नेछ।—हितोपदेश २५:२०.

यद्यपि, तपाईंलाई केही भन्‍नै आएन भने चाहिं के गर्ने? इमानदार हुनुहोस्‌। आफूलाई के भन्‍ने थाहै भएन तरै पनि उसलाई मदत गर्न अझै इच्छुक रहेको कुरा साथीलाई बताउनुहोस्‌। यसरी सोध्नुहोस्‌, “भन, म तिमीलाई कसरी मदत गरूँ?” अवश्‍य, उसको बोझ हल्का बनाउन तपाईंले गर्न सक्ने केही व्यावहारिक तरिकाहरू हुन सक्छन्‌।—गलाती ६:२.

मित्रैलो सल्लाह दिने

आफ्नो साथीलाई सल्लाह चाहिएको छ जस्तो लाग्यो भने के गर्ने? हो, एक जना जवान व्यक्‍ति हुनुभएकोले तुलनात्मक रूपमा तपाईंसित त्यति अनुभव हुँदैन। (हितोपदेश १:४) अतः प्रत्येक समस्याबारे सल्लाह दिन तपाईंमा क्षमता नहोला। तथापि, भजन १९:७ यसो भन्छ: “परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने।” (भजन १९:७) हो, तपाईं “निर्बोध” हुनुभए तापनि खाँचोमा परेको आफ्नो साथीलाई केही हदसम्म मदत गर्ने पर्याप्त बाइबल सिद्धान्तहरूको तपाईंलाई ज्ञान हुन सक्छ। (हितोपदेश २७:९) भाषण छाँटेजस्तो नगरी बाइबलबाटै केही बुँदाहरू बताए कसो होला? कुन बाइबल सिद्धान्त लागू हुने हो, तपाईं पक्का हुनुहुन्‍न भने, केही अनुसन्धान गर्नुहोस्‌। यस पत्रिकाको “युवा जनहरू सोध्छन्‌. . . ” स्तम्भमा विविध विषयहरूमा बाइबल आधारित सल्लाहहरू प्रकाशित भएको वर्षौं भइसक्यो। जानकारीहरूको अर्को बहुमूल्य स्रोत युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ b पुस्तक हो।

आफ्नै अनुभव बताउनु पनि प्रभावकारी हुन सक्छ। सायद तपाईंसित केही व्यावहारिक सल्लाहहरू समेत हुन सक्छन्‌। आफ्नै धारणाहरू नलादेर आफूलाई कुन कुराले मदत गऱ्‍यो, बताउन सक्नुहुन्छ। (हितोपदेश २७:१७) तर हरेक परिस्थिति फरक हुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। तपाईंको लागि जुन कुरा उपयोगी थियो, त्यो सबैको लागि नहुन सक्छ।

होस पुऱ्‍याउनुपर्ने कुरा

यहोवाको डर नभएका अथवा मसीही स्तरहरूको कदरै नगर्ने जवानहरूको समस्या सुनेर व्यर्थमा धेरै समय नउडाउनुहोस्‌। तिनीहरूका अधिकांश समस्याहरू त बाइबल विपरीतको जीवन शैलीले गर्दा उब्जेका हुन सक्छन्‌। बाइबलका सल्लाहहरूलाई तुच्छ ठान्‍नेहरूलाई मदत गर्न खोज्दा तपाईं दुवैलाई नमिठो लाग्न सक्छ। (हितोपदेश ९:७) साथै, सम्भवतः तपाईंले धेरै मूर्ख र फोहोर कुराहरू सुन्‍नुपर्नेछ। (एफिसी ५:३) कुनै छलफलले तपाईंलाई अप्ठ्यारोमा पार्छ जस्तो लाग्छ भने आफू उसलाई मदत गर्ने अवस्थामा नरहेको अथवा त्यो विषयमा कुरा गर्न आफूलाई उचित नलागेको कुरा बताउन हिम्मत गर्नुहोस्‌।

विपरीत लिङ्‌गको व्यक्‍तिले आफ्ना मनका भावनाहरू पोखाउन खोज्दा होसियार हुनुहोस्‌। बाइबलले हृदय छली हुन सक्छ भनी सजग गराउँछ। (यर्मिया १७:९) घनिष्ठ सम्बन्धले रोमान्टिक भावनाहरू उब्जाउन सक्छ अनि यौन अनैतिकतातिर समेत उन्मुख गर्न सक्छ।

साथै, कसैलाई भन्दिनँ भन्‍ने वचन दिनुबाट जोगिनुहोस्‌। तपाईंलाई समस्या पोखाउने व्यक्‍तिलाई तपाईंको मदत मात्र पर्याप्त नहुने कुरालाई नम्रपूर्वक मानिलिनुहोस्‌।—हितोपदेश ११:२.

जब अरू कसैको मदत चाहिन्छ

धेरैजसो अवस्थामा आफ्नो साथीलाई मदत गर्न अरू कसैको मदत लिन आफू स्वयम्‌ अग्रसर हुनु बेस हुन्छ। सुरुमा उल्लिखित मीराले यसो भनिन्‌: “मेरो सहपाठीलाई कसरी मदत गर्ने, मलाई साँच्चै थाह थिएन। त्यसैले मैले यसबारे मण्डलीको एक जना प्राचीनसित कुरा गरें, उसलाई मदत गर्ने सन्दर्भमा उहाँले मलाई केही राम्रा सुझावहरू दिनुभयो।” हो, यहोवाको साक्षीहरूको मसीही मण्डलीभित्र तपाईंलाई मदत गर्न सक्ने अनुभवी पुरुषहरू हुन्छन्‌। (एफिसी ४:११, १२) तिनकी सहपाठीलाई आफ्ना आमाबाबुसित कुरा गर्न मीराले प्रोत्साहित गर्नुपर्ने सुझाव प्राचीनले दिए। त्यस केटीले मीराको सल्लाह स्वीकारी। मीरा भन्छिन्‌: “उसको अवस्था सुध्रिएको छ। अहिले ऊ बाइबलबारे अझ धेरै कुरा जान्‍न चाहन्छे।”

कुनै सँगी मसीहीले आफ्नो व्यथा पोखाउँदा चाहिं के गर्ने? आफ्नो क्षमताले भ्याए जति त तपाईंले गरिहाल्नुहुन्छ। (गलाती ६:१०) ऊ यहोवाका नैतिक स्तरहरूबाट तर्किंदै छ भन्‍ने शङ्‌का लागेमा ‘सत्य बोल्न’ नडराउनुहोस्‌। (एफिसी ४:२५) इमानदार हुनुहोस्‌ तर आत्मधर्मी नहुनुहोस्‌। खुलस्त बताउनु साँचो मित्रताको चिह्न हो।—भजन १४१:५; हितोपदेश २७:६.

यस्तो बेला उसका आमाबाबु, कुनै प्राचीन अथवा उसले सम्मान गर्ने केही परिपक्व मसीहीहरूसित मदत खोज्न प्रोत्साहित गर्नु पनि महत्त्वपूर्ण छ। केही समय बित्दा पनि उसले कसैसित कुरा गरेको छैन भने उसको लागि तपाईंले कसैसित कुरा गरिदिनु आवश्‍यक पर्न सक्छ। (याकूब ५:१३-१५) यसो गर्न तपाईंले साहस जुटाउनुपर्ने हुन सक्छ तर यसो गर्दा तपाईं साँच्चै उसको ख्याल राख्नुहुन्छ अनि उसैको सर्वोपरि हित चाहनुहुन्छ भन्‍ने कुरा प्रस्ट हुन्छ।

निस्सन्देह, तपाईंले सबैको समस्या समाधान गर्दै हिंडेको यहोवा आशा गर्नुहुन्‍न। तर कसैले तपाईंलाई आफ्ना व्यथाहरू पोखाउँछ भने तपाईंले आफूलाई असहाय ठान्‍नु आवश्‍यक छैन। आफूले पाएको मसीही प्रशिक्षणको भरपूर उपयोग गर्नुहोस्‌ र आफूलाई “साँचो मित्र” साबित गर्नुहोस्‌।—हितोपदेश १७:१७, NW. (g05 1/22)

[फुटनोटहरू]

a सजिलोको लागि समस्या भोग्ने व्यक्‍तिलाई हामी केटाको रूपमा सङ्‌केत गर्नेछौं। निस्सन्देह, यो जानकारी जवान केटा वा केटी दुवैलाई लागू हुन्छ।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित

[पृष्ठ १५-मा भएको चित्र]

कहिलेकाहीं समस्यामा परेको साथीको मदत गर्न आफैले मदत लिनुपर्ने हुन्छ