सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मित्रताको भोक मेट्‌ने

मित्रताको भोक मेट्‌ने

मित्रताको भोक मेट्‌ने

“एकाकीपन रोग होइन। एकाकीपन त एउटा स्वास्थ्यकर भोक हो . . . , संगतिको अभावको एउटा स्वाभाविक सङ्‌केत हो” भनी इन्‌ सर्च अफ इन्टिमेसी पुस्तक बताउँछ। जसरी भोकले हामीलाई पोसिलो खाना खान उत्प्रेरित गर्छ त्यसरी नै एकाकीपनको भावले हामीलाई असल साथीहरू खोज्न जुरमुऱ्‍याउनुपर्छ।

यद्यपि, एलजस्तै फ्रान्सकी एउटी युवती यसो भन्छिन्‌, “कोही-कोही मानिसहरू अरूको छेउमै पर्न चाहँदैनन्‌।” कारण जेसुकै होस्‌, अरूदेखि अलग्गै बस्नु समस्याको समाधान होइन बरु यसले गर्दा हामी पहिलेभन्दा झनै एक्लिन पुग्छौं। बाइबलको एउटा हितोपदेश यसो भन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।” (हितोपदेश १८:१) त्यसकारण, सर्वप्रथम हामीले मित्रताको आवश्‍यकतालाई ठम्याउनुपर्छ अनि यसबारे केही गर्ने अठोट गर्नु खाँचो छ।

मित्रता गाँस्न व्यावहारिक कदमहरू चाल्नुहोस्‌

आफूले आफूलाई दया देखाउनु अथवा मिलनसार मित्रहरू भएका व्यक्‍तिहरूप्रति इर्ष्याले जल्नुको सट्टा इटालीकी मानुएलाको जस्तै सकारात्मक मनोवृत्ति किन नराख्ने? तिनी यसो भन्छिन्‌: “विशेष गरी किशोरावस्थामा छँदा सबैले मलाई बेवास्ता गरेझैं लाग्थ्यो। यस्तो सोचाइ हटाउन मैले असल साथी भएका व्यक्‍तिहरूलाई खूबै नियालेर हेरें। त्यसपछि मैले आफूलाई अझ मजाको व्यक्‍ति बनाउन उनीहरूका राम्रा गुणहरू विकास गर्ने कोसिस गरें।”

एउटा व्यावहारिक कदम त आफ्नो मन अनि शरीरको ख्याल गर्नु हो। स्वास्थ्यकर भोजन, पर्याप्त आराम र व्यायामले तपाईंलाई राम्रो देखिन र महसुस गर्न मदत गर्छ। सफा-सुग्घर बस्दा र चिटिक्क मिलेको लुगा लगाउँदा तपाईं अरूसामु प्रिय मात्र बन्‍नुहुन्‍न तर केही हदसम्म तपाईंको आत्म-सम्मान पनि बढ्‌छ। तथापि, बाहिरी रूपबारे अचाक्ली चिन्तित हुने पासोमा पर्नदेखि भने जोगिनुहोस्‌। फ्रान्सकी गेली यसो भन्छिन्‌, “साँचो साथी खोज्ने सन्दर्भमा फेसनदार लुगाले केही फरक पार्दैन। सज्जन व्यक्‍तिहरूले वास्तवमा व्यक्‍तिको भित्री व्यक्‍तित्वलाई ध्यान दिइरहेका हुन्छन्‌।”

साँच्चै भन्‍ने हो भने, हाम्रो भित्री सोचाइ तथा भावनाले हामी के विषयमा कुरा गर्छौं र हामी कस्तो देखिन्छौं त्यसलाई असर गर्छ। के तपाईंसित जीवनमा आइपर्ने समस्याको सामना गर्ने आत्मविश्‍वास छ? यस कुराले तपाईंको मुहारलाई उज्यालो राख्न मदत गर्नेछ। शरीरको हावभावसम्बन्धी विशेषज्ञ रजर इ. एक्सटेल यसो भन्छन्‌, निश्‍छल मुस्कानले जो कसैलाई पनि मोहित नपारी छोड्‌दैन र “सबै ठाउँमा यसको मोल गरिन्छ” अनि “यसलाई गलत अर्थ लगाउनेहरू कमै हुन्छन्‌।” a यसबाहेक, हँस्सीमिजासको हुनुभयो भने मानिसहरू त्यतिकै पनि तपाईंतिर आकर्षित हुनेछन्‌।

नबिर्सनुहोस्‌, यस्ता राम्रा गुणहरू भित्रबाट निस्कन्छन्‌। त्यसैकारण आफ्नो मन र हृदयलाई स्वास्थ्यकर, सकारात्मक सोच तथा भावनाहरूले भरिरहनुहोस्‌। ताजा घटना, विविध संस्कृति तथा प्रकृतिका रोचक अनि अर्थपूर्ण विषयवस्तुबारे पढ्‌नुहोस्‌। उत्थानदायी संगीत सुन्‍नुहोस्‌। तर आफ्नो मन र भावना काल्पनिक कुराहरूले टन्‍न भर्ने गरी अचाक्ली टिभी तथा चलचित्र हेर्ने र उपन्यासहरू पढ्‌ने चाहिं नगर्नुहोस्‌। साधारणतया पर्दामा देखाइने सम्बन्धहरू वास्तविक जीवन, साँचो मित्रता होइनन्‌ तर कसैको कल्पनाशक्‍तिका उपज हुन्‌।

मन खोलेर कुरा गर्नुहोस्‌!

इटालीमा बसोबास गर्ने जुलाका आफ्नो अतीत यसरी सम्झिन्छिन्‌: “सानोमा म लजालु स्वभावकी थिएँ र मलाई साथी बनाउन साह्रै गाह्रो लाग्थ्यो। तर साथीहरू बनाउन चाहन्छौं भने हामी आफै अग्रसर हुनुपर्छ, आफ्नो बारेमा कुरा गर्नुपर्छ र अरूसित चिनापर्ची गर्नुपर्छ भन्‍ने मलाई थाह थियो।” हो, साँचो साथीहरू बनाउन हामीले अरूसित मन खोलेर कुरा गर्नै पर्छ अर्थात्‌ वास्तवमा हामी को हौं त्यसबारे उनीहरूले थाह पाउनै पर्छ। साँचो मित्रताको लागि यस्तो कुराकानी र मनका भावना साटासाट गर्नु आकर्षक जीउडाल र प्रभावशाली व्यक्‍तित्वभन्दा धेरै नै महत्त्वपूर्ण कुरा हुन्‌। सल्लाहकार डा. डी. एलान लोइ म्याकजिन्स यस्तो टिप्पणी गर्छन्‌, “गहिरो एवम्‌ चीरकालीन मित्रता भएका मानिसहरू लजालु, लाज नमान्‍ने, जवान, वृद्ध, लद्दू, बुद्धिमान्‌, सादा, आकर्षक जो कोही पनि हुन सक्छन्‌; तर उनीहरू सबैमा भएको एउटा सामान्य गुण भनेको आफूलाई लागेको कुरा खुलस्त गरी बताउने इच्छुकता हो। उनीहरू आफ्नो मनको कुरा मानिसहरूलाई थाह दिन्छन्‌।”

यसको मतलब जो पायो त्यसैलाई अथवा आफूलाई त्यति सजिलो नलाग्ने व्यक्‍तिहरूलाई आफ्नो मनका सबै गोप्य कुराहरू बताउनु भनेको होइन। तर छानेर अनि क्रमिक रूपमा आफ्नो मनको कुरा तथा भावनाहरू अरूलाई बताउँदै चाहिं जानुपर्छ। इटालीकी मीकाला यसो भन्छिन्‌: “सुरु-सुरुमा म आफ्नो मनका भावनाहरू व्यक्‍त गर्नै सक्दिनथें। आफ्ना भावनाहरू अझ बढी व्यक्‍त गर्न र साथीहरूले मेरो भावना बुझ्न र मसित घनिष्ठ महसुस गर्न मैले परिवर्तनहरू गर्नुपरेको थियो।”

तपाईं स्वभावैले अरूसित घुलमिल हुन सक्ने खालको हुनुभए तापनि साथीहरूबीच पारस्परिक भरोसा विकास हुन समय र एकै खालका अनुभवहरू चाहिन्छ। साथै, अरूले तपाईंको बारेमा के सोच्लान्‌ भनेर ज्यादै चिन्तित पनि नहुनुहोस्‌। इटालीकी एलीजा आफ्नो विगत यसरी कोट्याउँछिन्‌: “मेरो समस्या भनेको केही भन्‍न खोजेपिच्छे आफूले भन्‍न चाहेको कुरा ठीकसँग भन्‍न सक्छु कि सक्दिनँ होला भन्‍ने डरले मलाई खान्थ्यो। पछि मैले सोचें, ‘यदि मानिसहरू साँच्चै मेरा साथीहरू हुन्‌ भने उनीहरूले मैले भन्‍न खोजेको कुरा बुझ्नेछन्‌।’ त्यसैले केही गलत कुरा भनिहालेको खण्डमा म त्यसलाई हाँसेर उडाइदिन्थें र अरू पनि म सँगसँगै हाँस्थे।”

त्यसैले पीर नगर्नुहोस्‌! तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोस्‌। स्वाङ पार्दैमा काम बन्दैन। पारिवारिक सल्लाहकार एफ. अलेकज्याण्डर मागनले यस्तो लेखे, “इमानदार अनि स्वाभाविक हुँदा मानिस झनै आकर्षक बन्छ।” साँच्चै आनन्दित मानिसहरूले स्वाङ पारिरहनु वा अरूलाई प्रभावित गर्ने कोसिस गरिरहनै पर्दैन। निष्कपट भएर मात्रै हामी निष्कपट मित्रताको आनन्द उठाउन सक्छौं। त्यस्तै गरी हामीले अरूलाई पनि उनीहरू जस्ता छन्‌ त्यस्तै होऊन्‌ भन्‍ने चाहनुपर्छ। आनन्दित मानिसहरूले अरूलाई उनीहरू जस्ता छन्‌ त्यस्तै स्वीकार्छन्‌, उनीहरूको सानातिना कमीकमजोरीमा असन्तुष्ट भएर बसिरहँदैनन्‌। आफूले पहिला जस्तो सोचेको छ त्यस्तै हुन उनीहरूले आफ्ना साथीहरू परिवर्तन हुनुपर्ने खाँचो देख्दैनन्‌। यस्तो आनन्दित र अरूको आलोचना नगर्ने व्यक्‍ति बन्‍ने प्रयास गर्नुहोस्‌।

साथी बनाउन साथी बन्‍नुहोस्‌

योभन्दा अझ महत्त्वपूर्ण पक्ष छ र यो सबैभन्दा आधारभूत पक्ष पनि हो। लगभग २,००० वर्षअघि येशूले सबै मानिसहरूसित राम्रो सम्बन्ध कायम राख्न चाहिने अत्यावश्‍यक कुरा निःस्वार्थ प्रेम हो भनी बताउनुभयो। उहाँले यस्तो शिक्षा दिनुभयो: “जसो मानिसहरूले तिमीहरूसित गरून्‌ भन्‍ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसित त्यसै गर।” (लूका ६:३१) यो शिक्षा सुनौलो नियम भनेर चिनिन्छ। हो, साँचो साथी बनाउने एउटै मात्र उपाय निःस्वार्थ हुनु र अरूको साथी बन्‍नु हो। अर्को शब्दमा भन्‍ने हो भने, साथी बनाउन साथी बन्‍नुहोस्‌। मित्रतालाई टिकाउन लिनुमा भन्दा दिनुमा विशेष ध्यान दिनु आवश्‍यक छ। आफ्नो रुचि र सुविधालाई भन्दा साथीहरूको आवश्‍यकतालाई प्राथमिकता दिन हामी तयार हुनै पर्छ।

माथि उद्धृत मानुएला यसो भन्छिन्‌: “येशूले भन्‍नुभएझैं साँचो आनन्द दिंदा प्राप्त हुन्छ। पाउने व्यक्‍ति त खुसी हुन्छ नै तर दिने व्यक्‍ति झनै खुसी हुन्छ। चोखो मनले साथीहरूको हालखबर सोधेर, उनीहरूको समस्या बुझ्ने कोसिस गरेर अनि उनीहरूले भन्‍नुभन्दा अगाडि नै आफूले सक्दो गरेर हामी दिन सक्छौं।” त्यसैले आफ्ना पुराना साथीहरू लगायत अरूप्रति चासो देखाउन अग्रसर हुनुहोस्‌। तपाईंहरूको सम्बन्धलाई कसिलो बनाउनुहोस्‌। कम सन्तुष्टि दिने अथवा कम महत्त्वको कुरामा भुलेर मित्रतालाई तोडिन नदिनुहोस्‌। साथीहरूलाई समय र ध्यान दिनुपर्छ। इटालीका रुबेन यस्तो टिप्पणी गर्छन्‌: “साथी खोज्न र त्यसलाई कायम राख्न समय निकाल्नु एकदमै महत्त्वपूर्ण छ। सर्वप्रथम, ध्यान दिएर सुन्‍ने व्यक्‍ति बन्‍न समय लाग्छ। बीचैमा च्वाट्ट कुरा नकाटी अरूले भनेको कुरा सुन्‍ने अनि त्यसप्रति चासो देखाउने सन्दर्भमा हामी सबैले उन्‍नति गर्न सक्छौं।”

अरूप्रति आदर देखाउनुहोस्‌

आनन्दित र दिगो मित्रताको लागि नभई नहुने अर्को महत्त्वपूर्ण पक्ष हो, पारस्परिक आदर। यसमा अरूको भावनाप्रति विचारशील हुनु समावेश छ। साथीहरू र तपाईंको रुचि अथवा विचार फरक-फरक हुँदा उनीहरू समझदार र विवेकी भइदिएको तपाईं चाहनुहुन्छ नि होइन र? के तपाईंले पनि उनीहरूसित त्यस्तै व्यवहार गर्नु पर्दैन र?—रोमी १२:१०.

आदर देखाउने अर्को तरिका साथीहरूलाई नदबाएर हो। साँचो मित्रता न त डाही न आफूले मन पराएको व्यक्‍तिप्रति मरिहत्ते गर्ने खालको नै हुन्छ। पहिलो कोरिन्थी १३:४ मा बाइबल यसो भन्छ: “प्रेमले डाह गर्दैन।” त्यसैले आफ्ना साथीहरू अरू कसैको नहोऊन्‌ भन्‍ने झुकाव नराख्नुहोस्‌। उनीहरूले अरू कसैसित आफ्नो मनको कुरा बताउँदा नमज्जा नमान्‍नुहोस्‌ र उनीहरूसित बोल्दै-नबोल्ने नगर्नुहोस्‌। मित्रताको सन्दर्भमा हामी सबै ठूलो मनको हुनुपर्छ भन्‍ने कुरा सिक्नुहोस्‌। साथीहरूलाई अरू साथी बनाउने मौका दिनुहोस्‌।”

तपाईंका साथीहरूको निजी जीवनलाई पनि विचार गर्नुहोस्‌। व्यक्‍तिविशेषलगायत विवाहित जोडीहरू सबैलाई निजी समय चाहिन्छ। अरूसित अप्ठ्यारो नमानीकन कुरा गर्नु आवश्‍यक भए तापनि सन्तुलित र विचारशील पनि हुनुहोस्‌ र साथीलाई दिक्क लाग्ने गरी तिनीकहाँ धेरै समय नबिताउनुहोस्‌। बाइबल यस्तो चेतावनी दिन्छ: “तेरो छिमेकीको घरमा घरिघरि नजा, तँलाई ज्यादै देख्ता त्यसले तँलाई घृणा गर्नलाग्छ।”—हितोपदेश २५:१७.

सिद्धता माग नगर्नुहोस्‌

हो, मानिसहरूले एक-अर्कालाई चिनेपछि मात्र उनीहरूलाई अरूको कमीकमजोरी तथा सबल पक्षहरू राम्रोसँग थाह हुन्छ। यद्यपि, यसले हामीलाई साथीहरू बनाउनदेखि रोक्नु हुँदैन। फ्रान्सकी पाकोम यस्तो टिप्पणी गर्छिन्‌, “कसै-कसैले सम्भाव्य साथीहरूबाट अलि बढी नै आशा गर्छन्‌। आफ्ना साथीहरूका असल गुणहरू मात्रै होस्‌ भन्‍ने उनीहरू चाहन्छन्‌ तर त्यो सम्भव छैन।” हामी कोही पनि सिद्ध छैनौं र हामीसित अरूबाट यस्तो सिद्धता माग गर्ने अधिकार पनि छैन। हामी असिद्ध भए तापनि साथीहरूले हामीलाई स्वीकारून्‌ र हाम्रा कमीकमजोरीहरू सहिदेऊन्‌ भन्‍ने हामी आशा गर्छौं। साथीहरूका कमीकमजोरीबारे मात्र नसोचेर वा त्यसलाई ठूलो नबनाएर के हामीले पनि हाम्रा साथीहरूका कमीकमजोरीलाई वास्ता नगर्ने कोसिस गर्नु पर्दैन र? लेखक डेनिस प्राग हामीलाई सम्झाउँछन्‌: “ठ्याम्मै गल्ती नगर्ने साथीहरू (अर्थात्‌ त्यस्ता साथीहरू जो कहिल्यै गनगन गर्दैनन्‌, सधैं मायालु हुन्छन्‌, कहिल्यै खराब मुडमा हुँदैनन्‌, हाम्रो साह्रै ख्याल राख्छन्‌ र हामीलाई कहिल्यै निराश पार्दैनन्‌) त घरपालुवा जनावरहरू भनेर चिनिन्छन्‌।” घरपालुवा जनावरहरूलाई मात्र आफ्ना घनिष्ठ साथीहरू बनाउन चाहँदैनौं भने ‘प्रेमले असंख्य पापहरू ढाक्ने’ प्रेरित पत्रुसको सल्लाहलाई हामीले ध्यान दिनु आवश्‍यक छ।—१ पत्रुस ४:८.

भनिन्छ, मित्रताले हाम्रो आनन्दलाई दोब्बर बनाउँछ र दुःखलाई चाहिं आधा घटाइदिन्छ। तथापि, व्यावहारिक भई सोच्ने हो भने साथीहरूले हाम्रा सबै आवश्‍यकताहरू पूरा गरिदिएको अथवा हाम्रा सबै समस्याहरू समाधान गरिदिएको हामी आशा गर्न सक्दैनौं। त्यो त मित्रताप्रतिको स्वार्थी दृष्टिकोण हो।

दुःखसुखमा साथ दिने वफादार साथीहरू

एक चोटि साथी बनाइसकेपछि हामीले त्यस मित्रतालाई कहिल्यै हल्कासित लिनु हुँदैन। समय र दूरीको कारण छुट्टिनुपर्दा साथीहरूले एक-अर्काको बारेमा सोच्छन्‌, एक-अर्काको लागि प्रार्थना गर्छन्‌। एक-अर्कासित उनीहरूको आकलझुकल मात्र भेटघाट हुँदा समेत उनीहरूले आफ्नो हालखबर तुरुन्तै बताइहाल्छन्‌। विशेष गरी कठिनाइ र खाँचोमा परेको बेला साथीहरूलाई साथ दिनु आवश्‍यक छ। साथीहरू समस्यामा पर्दा हामी पछि हट्‌ने गर्नु हुँदैन। समस्यामा परेको बेलै हो उनीहरूलाई हाम्रो सख्त जरुरत पर्ने। “मित्र हर समय एक मायालु साथी हुन्छ र दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।” (हितोपदेश १७:१७, NW) अनि साँचो साथीहरूबीच गलतफहमी हुँदा उनीहरूले तुरुन्तै गल्ती सच्याउँछन्‌ र एक-अर्कालाई क्षमा दिन्छन्‌। जीवनमा उतारचढाव आउँदैमा साँचो साथीले आफ्ना साथीहरूलाई त्याग्दैन।

निःस्वार्थ मनसाय राखेर अनि सकारात्मक सोचसहित अरूसित कुरा गर्नुभयो भने तपाईंले साथीहरू पाउनुहुनेछ। तर तपाईंका कस्ता साथीहरू छन्‌ त्यो कुरा पनि महत्त्वपूर्ण छ। तपाईं कसरी असल साथीहरू रोज्न सक्नुहुन्छ? अर्को लेखले यस प्रश्‍नमाथि छलफल गर्नेछ। (g04 12/8)

[फुटनोट]

a सन्‌ २०००, जुलाई ८ को ब्यूँझनुहोस्‌! मा दिइएको “मुस्कुराउँदा तपाईंलाई फाइदा हुन्छ!” विषयको लेख पनि हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

पुरुष र महिला के “साथीहरू मात्र” बन्‍न सक्छन्‌?

के विवाह बन्धनमा नबाँधिएका पुरुष र महिला साथी बन्‍न सक्छन्‌? यो कुरा त “साथी” शब्दलाई हामी कसरी लिन्छौं त्यसमा भर पर्छ। येशू बेथानीका मरियम र मार्थाको एक घनिष्ठ साथी हुनुहुन्थ्यो र उनीहरू दुवै जना अविवाहित थिए। (यूहन्‍ना ११:१, ५) प्रेरित पावल प्रिस्किला र तिनको पति अक्वीलाका साथी थिए। (प्रेरित १८:२, ३) उनीहरूबीच प्रगाढ स्नेह थियो भन्‍ने कुरामा सन्देह नगरे हुन्छ। साथै, येशू अथवा पावल दुवैले यस सम्बन्धलाई रोमान्टिक प्रेममा परिणत हुन दिए होलान्‌ भनेर हामी कल्पनासमेत गर्न सक्दैनौं।

वर्तमान समाजले पुरुष तथा महिलाहरूलाई सँगसँगै काम गर्न पहिलेभन्दा झनै बाध्य पारेको छ र यसले गर्दा पुरुष तथा स्त्री दुवैले एक-अर्कासित उचित, मित्रैलो सम्बन्ध राख्ने तरिका थाह पाइराख्नु दिनानुदिन महत्त्वपूर्ण भइरहेको छ। विवाहित जोडीहरूले पनि अन्य विवाहित तथा अविवाहित व्यक्‍तिहरूसितको स्वास्थ्यकर मित्रताबाट लाभ उठाउन सक्छन्‌।

फिजोलोजी टुडे नामक पत्रिका यस्तो चेतावनी दिन्छ, “तथापि रोमान्टिक, कामवासना र मित्रैलो भावनाबीचको भिन्‍नता छुट्याउन सजिलो नहुन सक्छ। सोच्दै नसोचे तापनि पुरुष तथा स्त्रीबीचको सम्बन्धमा अचानक यौन आकर्षण पैदा हुने सम्भावना सधैं प्रबल हुन्छ। साधारण, आत्मीय आलिङ्‌गनले क्षणभरमै कामवासनाको रूप लिन सक्छ।”

विवाहित जोडीहरू यथार्थ र व्यावहारिक हुनु विशेष महत्त्वपूर्ण छ। ह्‍याप्पीनेस इज ए सिरियस प्रोब्लम नामक आफ्नो पुस्तकमा लेखक डेनिस प्रागर यस्तो लेख्छन्‌, “अरूसितको सबै खाले घनिष्ठताले विवाहलाई खतरामा पार्न सक्छ। यौनसम्पर्कले मात्र सम्बन्धलाई प्रगाढ बनाउँदैन र तपाईंको जोडीसित विपरीत लिङ्‌गका व्यक्‍तिहरूमध्ये तपाईं उसको सबैभन्दा घनिष्ठ साथी होस्‌ भनेर आशा गर्ने अधिकार छ।” नैतिक शुद्धता कायम राख्न हृदयलाई नै नियन्त्रणामा राख्नु आवश्‍यक छ भनेर येशूले औंल्याउनुभयो। (मत्ती ५:२८) त्यसकारण, मित्रैलो हुनुहोस्‌ तर आफ्नो हृदयको रखवाली पनि गर्नुहोस्‌ र विपरीत लिङ्‌गको व्यक्‍तिप्रति अनुचित विचार, भावना वा काम गर्न उक्साउन सक्ने अवस्थाहरूबाट इमानदार भई टाढै बस्नुहोस्‌।

[पृष्ठ ७-मा भएको चित्र]

आफ्नो शरीर र मनको ख्याल गर्दा त्यसले तपाईंलाई झनै आकर्षक बनाउँछ

[पृष्ठ ८-मा भएको चित्र]

साथीहरूले एक-अर्कासित मन खोलेर कुरा गर्छन्‌