सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

तपाईंका छोराछोरीको लागि पढाइ रमाइलो बनाउनुहोस्‌

मेक्सिकन अखबार रिफोर्मा-मा रिपोर्ट गरिएअनुसार स्नायु र भाषाबीचको सम्बन्ध अध्ययन गर्ने विशेषज्ञ बियाट्रिज गोन्जालेज ओर्टुन्यो बताउँछिन्‌, “पढ्‌न मन पराउने व्यक्‍तिका छोराछोरीहरूले आफ्ना आमाबाबुको उदाहरण पछ्याएको देखिन्छ।” केटाकेटीहरूसित अध्ययन गर्ने ठूलो क्षमता हुने हुँदा तिनीहरूले स्वरवर्ण छुट्याउन सक्नुअघि नै तिनीहरूलाई पढ्‌न प्रोत्साहन दिनु बेस हो। उदाहरणका लागि, तिनीहरूको कल्पनाशक्‍ति बढाउने कथाहरू पढेर सुनाउन सकिन्छ। उक्‍त अखबारले केटाकेटीलाई पढाइप्रति चासो जगाउन सकिने सुझावहरू यसरी दिन्छ: “सँगै बस्नुहोस्‌।. . . तिनीहरूलाई पाना पल्टाउन दिनुहोस्‌ र तिनीहरूले चाहेको बेलामा बीचैमा रोक्न अनि प्रश्‍नहरू सोध्न दिनुहोस्‌। . . . कथामा देखिने वस्तु र पात्रहरूबारे तपाईंसित कुरा गर्न लगाउनुहोस्‌। तिनीहरूका सबै प्रश्‍नको जवाफ दिनुहोस्‌ . . . पढेको कुरा तिनीहरूको आफ्नो अवस्थासित कसरी मिल्छ बुझाउनुहोस्‌।” (g05 1/8)

हात्ती र खुर्सानी

अफ्रिकाका वन्य आरक्षमा भएका हात्तीहरू धेरै अघिदेखि नै संरक्षणविद्‌ र किसानहरूमाझ विवादको विषय बनेका छन्‌। हात्तीहरूलाई आरक्षभित्रै सीमित राख्न बार, आगो र ड्रमको चर्को आवाज केहीले काम गरेको छैन। घुमन्ते हात्तीहरूले पटक-पटक बाली विनाश गर्नुका साथै मानिसहरूलाई कुल्चीमिल्ची गरेर मारेका समेत छन्‌। तर तिनीहरूलाई रोक्ने एउटा कुरा बल्ल पत्ता लागेको छ—त्यो हो, खुर्सानीको बोट। आरक्षको सीमामा खुर्सानीको बोट रोप्दा हात्तीहरू अगाडि बढ्‌दैनन्‌ किनभने “तिनीहरूलाई यो बोटको गन्ध मन पर्दैन” भनी दक्षिण अफ्रिकाको अखबार द विट्‌नेस रिपोर्ट गर्छ। बल्ल ढुक्क भएका वन्य आरक्षकहरूले “हात्तीहरूलाई भित्र धपाउनु पर्दैन” अनि स्थानीय किसानहरूको बाली विनाश पनि कम भएको छ। खुर्सानी खेती निकै नाफा कमाउन सकिने व्यापार पनि हुन सक्छ। (g05 1/8)

महिलाहरूले अश्‍लील कुराहरू खोज्छन्‌

“हालैका वर्षहरूमा इन्टरनेटको सुलभता, उपलभ्यता र गुमनामताले गर्दा लाखौं महिलाहरूको लागि अश्‍लील कुरा अत्यन्तै आकर्षक भएको छ” भनी सं.रा.अ.-को ओहायो, क्लिभल्याण्डको अखबार, द प्लेन डिलर बताउँछ। “वयस्कहरूको लागि छुट्याइएको वेब साइट हेर्ने प्रत्येक तीन जनामध्ये एक जना महिला हुन्छन्‌।” एउटी ४२ वर्षीया आमाले अश्‍लील कुराहरू हेर्न थाल्नुको कारण, उनी “आफ्नो पूर्वपति यत्तिको मोहित हुनुको कारण बुझ्न चाहन्थिन्‌। थोरै समयमै, उनी आफै नै उत्तेजनाको लागि प्रतिहप्ता ३० घण्टासम्म वेब सर्फ गर्न थालिन्‌।” (g04 8/22)

वृद्धहरू बोझ होइनन्‌

“वृद्ध नागरिकहरूको हेरचाहमा हुने खर्चलाई मात्र ध्यान दिनुभन्दा वृद्धहरूको बेतलबी सेवाले पुऱ्‍याउने सकारात्मक फाइदा र बचतलाई विचार गर्नु महत्त्वपूर्ण छ” भनी पारिवारिक अध्ययनसम्बन्धी अस्ट्रेलियन संस्थानद्वारा प्रकाशित रिपोर्टमा बताइएको छ। “वृद्धहरूले गर्ने प्रायजसो बेतलबी कामले पुऱ्‍याउने सहयोग तलबी सेवाबाट मात्रै दिन गाह्रो हुने थियो।” त्यस अध्ययनले देखाएअनुसार “६५ वर्ष नाघेका अस्ट्रेलियनहरूले बेतलबी सेवा अनि स्वयंसेवा गरेर [समाजलाई] प्रतिवर्ष झन्डै ३९ अरब युरो [२७ अरब अमेरिकी डलर] योगदान पुऱ्‍याउँछन्‌।” त्यस्तो स्वयंसेवामा बच्चाहरूको हेरचाह अनि बिरामी वयस्कहरूको स्याहारसुसार लगायत घरायसी काम पर्छन्‌। उक्‍त रिपोर्टका लेखकहरूले बताएअनुसार त्यस्तो बेतलबी कामले समाजलाई एकताबद्ध हुन मदत गर्ने “सामाजिक ‘गमको’ काम गर्न सक्छ।” यसको महत्त्व पैसामा मात्र तुलना गर्न सकिंदैन। (g05 1/8)

अहिलेसम्म अस्तित्वमा भएको सबैभन्दा पुरानो मुद्रित पुस्तक

अहिलेसम्म अस्तित्वमा भएको सबैभन्दा पुरानो मुद्रित पुस्तक हाल ब्रिटिश लाइब्रेरीमा सुरक्षित छ भनी बी बी सी न्युज रिपोर्ट गर्छ। द डायमन्ड सुत्र भनिने बौद्ध पद्यमा सा.यु. ८६८ को मिति छ अनि चीनको डुनह्वाङ्‌गस्थित गुफामा सन्‌ १९०७ मा यो भेटिएको थियो। “यसमा चिनियाँ अक्षरहरू भएको खरानी रङको कागजको मुठा छ अनि एउटा काठमा बेह्रिएको छ” भनी उक्‍त रिपोर्ट बताउँछ। यससँगै भेटिएका किताब तथा अन्य सामग्रीहरू “सा.यु. १००० तिर गुफामा राखिएको लाइब्रेरीको भाग हो” भन्‍ने अनुमान छ। यो मुठा, युरोपमा मुभेबल टाइप सुरु हुनुभन्दा सयौं वर्षअघिको हो तर बी बी सी रिपोर्टअनुसार “त्यतिबेला चीनमा कागज बनाउने र मुद्रण गर्ने व्यवसाय सुस्थापित भइसकेको थियो।” (g05 1/8)

हल्लाले प्रतिक्रिया देखाउन ढिलो बनाउँछ

“हल्ला जति चर्को हुन्छ, तपाईं त्यति नै ढिला प्रतिक्रिया देखाउनुहुन्छ” भनी द टोरन्टो स्टार बताउँछ। यो क्यानाडाको न्युफाउन्डल्याण्डस्थित मेमोरियल विश्‍वविद्यालयका अनुसन्धाता ड्‌वेन बटनले गरेको अध्ययनबाट प्राप्त परिणाम हो। तिनले मानिसहरूलाई ठूलो र सानो गरी विभिन्‍न किसिमको आवाज सुन्‍न लगाउँदै शारीरिक तथा मानसिक काम गर्न लगाए। तिनले पत्ता लगाएअनुसार अफिसमा काम गर्दा सुनिने ५३ डेसिबलको आवाजले मानिसको प्रतिक्रिया देखाउने समय ५ प्रतिशतले ढिलो हुन्छ भने उद्योगहरूबाट निस्कने ९५ डेसिबलको आवाजले १० प्रतिशतले कम गर्छ। यसरी प्रतिक्रिया देखाउन ढिलो हुने भिन्‍नता एक सेकेण्डको सानो अंश भए तापनि “सडकमा त्यसले पनि ठूलो फरक पार्न सक्छ” भनी उक्‍त रिपोर्टले बताउँछ। बटन यसो भन्छन्‌, प्रतिक्रिया देखाउन .०३५ सेकेण्ड मात्र ढिलो हुँदा पनि दुर्घटना हुनु र नहुनुबीच ठूलो फरक पार्न सक्छ। (g05 1/8)

युरोपेली पुरुषहरूले शृङ्‌गारमा धेरै समय बिताउँदैछन्‌

“गत पाँच वर्षमा पुरुषहरूले आफ्नो शृङ्‌गारमा बिताउने समय बढेर प्रतिहप्ता औसतमा ३.१ घण्टा पुगेको छ र यसको तुलनामा सामान्य महिलाले २.५ घण्टा बिताउँछन्‌” भनी लन्डनको अखबार द डेली टेलिग्राफ रिपोर्ट गर्छ। पुरुषहरूले आफ्नो बाह्‍य रूपरङमा देखाउन थालेको चासो पुरुषहरूकै लागि बनाइएको स्किन केयर, हेयर केयर, व्यक्‍तिगत सरसफाइ र अत्तर/आफ्टरशेभहरूको उत्पादनमा देखिन्छ र “गत वर्ष १३.६ अरब पाउण्ड बराबरको व्यापार भएको थियो भने सन्‌ २००८ सम्ममा बढेर १६.१ अरब पाउण्ड पुग्ने अनुमान गरिएको छ।” पुरुषहरूका लागि शृङ्‌गार सलुनका म्यानेजरले उक्‍त अखबारलाई यसो भनिन्‌: “ग्राहकहरूले फेसियल, मेनिक्योर र पेडिक्योरमा २०० पाउण्डसम्म नियमित तवरमा खर्च गर्ने हुँदा व्यापार फस्टाइरहेको छ।” साथै, उक्‍त रिपोर्टअनुसार “पुरुषहरूले प्रयोग गर्ने ६० प्रतिशत जसो अत्तर/आफ्टरशेभ गर्लफ्रेन्ड वा श्रीमतीले नभई सोझै पुरुषहरूले नै किन्‍ने गर्छन्‌।” (g05 1/22)

नवजात शिशुहरूलाई पढेर सुनाउनु लाभदायक हुन्छ

“साना बच्चाहरूलाई पढेर सुनाउँदा तिनीहरूको बाँकी जीवनमा यस्तो सशक्‍त असर पार्छ कि विशेषज्ञहरूले आमाबाबुलाई बच्चा जन्मेको केही घण्टादेखि नै पढेर सुनाउने सुझाव दिन्छन्‌” भनी द टोरन्टो स्टार बताउँछ। दुई वर्षअघि क्यानाडामा नवजात शिशुहरूको लागि पहिलो साक्षरता कार्यक्रम थालेका डा. रिचर्ड गोल्डब्लुम यसो भन्छन्‌: “हामीले सिकेको र देखेको एउटा कुरा के हो भने, बच्चाहरूलाई पढेर सुनाउँदा सानैदेखि नै तिनीहरूले साँच्चै ध्यान दिएर सुन्छन्‌। तिनीहरू सुनिरहेका हुन्छन्‌।” अनुसन्धानले देखाएअनुसार बच्चाहरूलाई एकदमै सानैदेखि किताब दिंदा पनि तिनीहरूको शब्द भण्डार र बोल्ने क्षमता निकै राम्रो हुन्छ। त्यस अखबारअनुसार “बच्चाहरूलाई पढ्‌न जबरजस्ती गर्ने होइन तर तिनीहरूको शब्द भण्डार, अक्षर र आवाज चिन्‍न सक्ने अनि पछि गएर पढ्‌ने क्षमताको मात्रा र गुणस्तर दुवै बढाउन मदत गर्नु हो।” (g05 1/22)