आमाले चुनौतीहरूको सामना गर्छिन्
आमाले चुनौतीहरूको सामना गर्छिन्
आज धेरै आमाको मुख्य चुनौती भनेको परिवारलाई आर्थिक टेवा पुऱ्याउन जागिर खानु हो। साथै, विभिन्न कारणहरूले गर्दा छोराछोरी हुर्काउने जिम्मेवारी आमा एक्लैले उठाउनुपर्ने हुन सक्छ।
मेक्सिकोकी मार्गरिता एक्लैले एउटा छोरा र एउटी छोरीलाई हुर्काइन्। तिनी भन्छिन्, “तिनीहरूलाई नैतिक र आध्यात्मिक प्रशिक्षण दिन निकै गाह्रो छ। एकचोटि मेरो छोरा किशोर छँदा पार्टीबाट अलि-अलि मात्तिएर आएछ। आइन्दा यसो गरेमा मैले घरमै नहुल्ने चेतावनी दिएँ। दोस्रो चोटि फेरि उसले त्यही गल्ती गऱ्यो, साह्रै गह्रौं मुटु लिएर मैले ढोकै खोलिनँ। धन्न त्यसपछि उसले कहिल्यै त्यस्तो गल्ती गरेन।”
केही समयपछि मार्गरिताले बाइबल अध्ययन गर्न थालिन् यसले तिनलाई आफ्ना छोरा र छोरीमा नैतिक मूल्यमान्यता बसाल्न मदत गऱ्यो। हाल दुवै छोराछोरी यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकहरू छन्।
जब पति विदेशिन्छन्
छोराछोरी हुर्काउने जिम्मा पत्नीलाई छोड्दै कम विकसित मुलुकका धेरै पतिहरू जागिरको लागि सम्पन्न मुलुकहरूमा जान्छन्। नेपालकी एउटी आमा लक्ष्मी भन्छिन्: “मेरो श्रीमान् विदेश जानुभएको सात वर्ष भइसक्यो। छोराछोरीले बुबालाई जत्तिको मलाई टेर्दैनन्। अगुवाइ लिन यदि उहाँ मसँगै हुनुभएको भए धेरै सजिलो हुने थियो।”
साह्रोगाह्रो भए तापनि लक्ष्मी चुनौतीहरूको सामना गर्दैछिन्। त्यति धेरै नपढेकीले अलि हुर्किसकेका आफ्ना बच्चाहरूको स्कूलको पढाइमा मदत गर्न तिनले ट्युसन शिक्षकको व्यवस्था गरेकी छिन्। तर हरेक हप्ता बाइबल अध्ययन सञ्चालन गरेर तिनी आफ्ना छोराछोरीको आध्यात्मिक शिक्षामा विशेष ध्यान दिन्छिन्। तिनी आफ्ना छोराछोरीसित दैनिक पद छलफल गर्छिन् र तिनीहरूलाई नियमित रूपमा मसीही सभाहरूमा लैजान्छिन्।
सीमित शिक्षा भएका आमाहरू
केही देशहरूमा विद्यमान अर्को चुनौती तुलनात्मक रूपमा महिलाहरूमा निरक्षरताको दर उच्च हुनु हो। निरक्षर आमा हुनुको बेफाइदाहरूलाई प्रस्ट्याउँदै छ जना बच्चाकी आमा, मेक्सिकोकी अरेलिया यसो भन्छिन्: “मेरी आमा सधैं भन्ने गर्नुहुन्थ्यो, केटीहरूले पढ्नु हुँदैन। त्यसैले मैले कहिल्यै लेखपढ गरिनँ र म बच्चाहरूको होमवर्कमा मदत गर्न सक्दिनँ। मेरो चित्त साह्रै दुख्छ। तर मैले जस्तो हन्डर मेरा बच्चाहरूले खानु नपरोस् भनेर म तिनीहरूलाई पढाउन सके जति गर्छु।”
सीमित शिक्षा पाएकी आमाले पनि गहिरो छाप छोड्न सक्छिन्। यो भनाइ सत्य हो: “आइमाईलाई पढाऊ, तिमीले पुरुषका शिक्षकहरूलाई पढाइरहेका हुनेछौ।” तीन छोराहरूकी आमा नेपालकी विष्णु पहिले निरक्षर थिइन् तर बाइबल सत्य सिक्ने र आफ्ना छोराहरूलाई पनि सिकाउने उत्कट इच्छाले लेखपढ गर्ने सुर कस्न तिनलाई हौस्यायो। आफ्ना छोराहरूले होमवर्क गरे कि गरेनन् भनी तिनी जाँच्थिन् अनि छोराहरूका शिक्षकहरूसित पढाइबारे बुझ्न तिनी नियमित रूपमा तिनीहरूको स्कूल धाउँथिन्।
तिनीहरूले पाएको आध्यात्मिक र नैतिक शिक्षाबारे विष्णुका छोरा सिलास यसो भन्छन्: “हामीलाई सिकाउन उहाँले गर्नुभएको प्रयत्नमा मलाई सबैभन्दा मन परेको पक्ष भनेको गल्ती गर्दा सच्याउन उहाँले बाइबल उदाहरणहरू चलाउनुहुन्थ्यो। सिकाउने यस्तो शैली प्रभावकारी थियो अनि यसले मलाई सल्लाह स्वीकार्न मदत गऱ्यो।” विष्णु आफ्ना छोराहरूको सफल शिक्षक साबित भएकी छिन्, तीनै जना छोरा परमेश्वरको डर राख्ने युवाहरू भएका छन्।
एक छोरा र एक छोरीको लालनपालन गरिरहेकी मेक्सिकोकी अन्टोनिया यसो भन्छिन्: “मैले प्राथमिक स्कूलभन्दा माथि पढ्न सकिनँ। हामी एउटा दुर्गम गाउँमा बस्थ्यौं। अनि सबैभन्दा नजिकको माध्यामिक विद्यालय पनि मलाई धेरै टाढा पर्थ्यो। तर म चाहन्थें, मेरा छोराछोरीहरूले मैलेभन्दा धेरै शिक्षा हासिल गरून्, त्यसैले मैले तिनीहरूको लागि प्रशस्त समय दिएँ। मैले तिनीहरूलाई अक्षर र अंकहरू चिनाएँ। स्कूल जानुअघि नै मेरी छोरीले आफ्नो नाउँ लेख्न र वर्णमालाका सबै अक्षरहरू चिन्न सक्थी। शिशु पाठशालमा भर्ना हुदाँसम्म त मेरो छोरा खरर्र पढ्न सक्ने भइसकेको थियो।”
छोराछोरीलाई आध्यात्मिक र नैतिक शिक्षा दिन तिनले के-के गरिन् भनी सोध्दा आन्टोनिया यस्तो जवाफ दिन्छिन्: “मैले तिनीहरूलाई बाइबलका कथाहरू सिकाएँ। मेरी छोरीको बोली फुट्नुअघि नै ऊ आफ्नो इसाराद्वारा बाइबल कथाहरू बताउन सक्थी। मेरो छोराले चार वर्षको उमेरमै मसीही मण्डलीमा पहिलो चोटि बाइबल पढाइको भाषण दियो।” सीमित शिक्षा भएका धेरै आमाहरू शिक्षकको हैसियतमा आफ्नो भूमिका निभाउन सफल भइरहेका छन्।
हानिकारक कुरीतिहरूसित लड्ने
मेक्सिकोका सोट्सेलहरूबीच विद्यमान एउटा कुरीति हो, १२ अथवा १३ वर्षका छोरीहरूलाई विवाहमा बेचिदिने। दोस्रो अथवा तेस्रो पत्नी चाहने बूढाहरूलाई अक्सर छोरीहरू बेचिन्छ। यदि आफूले बिहे गरेको केटीसित पुरुष सन्तुष्ट भएन भने उसले केटीलाई फिर्ता पठाएर पैसा फिर्ता माग्न सक्छ। सानो छँदा पेट्रोनाले यो कुरीति आफ्नै आँखाले देखिन्। तिनकी आमा पत्नीको रूपमा बेचिएकी थिइन् र एउटा छोरा जन्माइसकेपछि उनको सम्बन्ध विच्छेद
भयो—१३ वर्षको हुँदा नै पेट्रोनाकी आमाले यी सब खप्नुपऱ्यो! पहिलो बच्चा मऱ्यो र त्यसपछि पेट्रोनाकी आमा दुई पटक बेचिइन्। सबै गरेर तिनले आठ जना छोराछोरी जन्माइन्।पेट्रोना यस्तो जीवन लत्याउन चाहन्थिन्, यसो गर्न तिनी कसरी सफल भइन्, तिनी बताउँछिन्: “प्राथमिक तहसम्मको पढाइ सिध्याइसकेपछि विवाह नगरी स्कूललाई निरन्तरता दिन चाहेको कुरा मैले आमालाई बताएँ। आमा लाचार भएको र मैले बुबासितै कुरा गर्नुपर्ने आमाले बताउनुभयो।”
बुबाले मलाई भन्नुभयो, “तेरो लागि म लोग्ने खोजिदिंदैछु। तँ स्प्यानिश बोल्न जानिहाल्छेस्। लेखपढ गर्न आइहाल्छ। योभन्दा बढी तँलाई के चहियो? यदि तेरो पढ्ने इच्छा छ भने तैंले पढाइ-खर्च आफै बेहोर्नुपर्छ।”
पेट्रोना भन्छिन्: “मैले त्यसै गरें। खर्चको लागि मैले लुगामा बुट्टा भर्ने काम गरें।” यसरी तिनी बेचिनबाट उम्किइन्। पेट्रोना हुर्किसकेपछि तिनकी आमाले बाइबल अध्ययन गर्न थालिन् र यसले पेट्रोनाकी आमालाई पेट्रोनाका बहिनीहरूमा बाइबल आधारित मूल्यमान्यताहरू बसाल्न साहस दियो। आमा स्वयम्ले यी सबै कुराहरू भोगेकाले गर्दा केटीहरूलाई सानैमा विवाहमा बेच्ने कुरीतिले निम्त्याउने दुःखदायी दुष्परिणामहरू बुझाउन तिनी सक्षम भइन्।
धेरै ठाउँमा विद्यमान अर्को कुरीति छोरा मान्छेलाई बुबाले मात्र अनुशासन दिनुपर्छ भन्ने मान्यता हो। पेट्रोना भन्छिन्: “सोट्सेल केटीहरूलाई तिनीहरू पुरुषहरूभन्दा तुच्छ छन् भनी सिकाइन्छ। पुरुषहरू एकदमै हेपाहा खालका हुन्छन्। ससाना केटाहरूले बुबाको नक्कल गर्छन् र आफ्नी आमालाई यसो भन्छन्, ‘मैले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने अधिकार तपाईंलाई छैन। बुबाले नभनेसम्म म मान्दै मन्दिनँ। त्यसैले आमाले छोराहरूलाई सिकाउन सक्दिनन्। एफिसी ६:१, २ मुखाग्र पारेका छन्: ‘ए बालक हो, . . . आमा-बाबुको आज्ञा पालन गर, . . . बाबु र आमाको मान गर।’ ”
तर मेरी आमाले बाइबल अध्ययन गर्नुभएकोले मेरा भाइहरूलाई सिकाउन उहाँ सफल हुनुभएको छ। मेरा भाइहरूलेनाइजेरियाकी एउटी आमा मेरीको भनाइ पनि यस्तै छ: “म हुर्केको ठाउँको संस्कृतिले केटाहरूलाई सिकाउने अथवा अनुशासन दिने अनुमति आमाहरूलाई दिंदैन। तर तिमोथीकी हजुरआमा लोइस र आमा युनिसको बाइबल उदाहरण पछ्याउँदै छोराहरूलाई सिकाउने कुरामा स्थानीय कुरीतिहरूलाई बाधा बन्न नदिन म कटिबद्ध थिएँ।”—२ तिमोथी १:५.
केही देशहरूमा विद्यमान अर्को एउटा कुरीति “महिलाहरूको खतना” हो जसलाई अहिले साधारणतया योनी विच्छेदन भनिन्छ। केटीहरूको यौनाङ्गको केही भाग अथवा धेरैजसो भाग काटेर फालिन्छ। लोकप्रिय फेसन मोडेल तथा संयुक्त राष्ट्र जनसंख्या कोषकी विशेष राजदूत वारिस डिरीले यस कुरीतितर्फ सबैको ध्यान खिचिन्। सोमालियाको स्थानीय रीतिअनुसार तिनको पनि तिनकी आमाद्वारा योनी विच्छेद गरिएको थियो। एउटा रिपोर्टअनुसार मध्यपूर्व र अफ्रिकामा ८० लाख देखि १ करोड महिलाहरू योनी विच्छेदनको खतरा लिएर बाँचिरहेका छन्। संयुक्त राज्य अमेरिकामा समेत १०,००० केटीहरू यसको सिकार हुने अनुमान गरिएको छ।
यस कुरीतिको पछाडि कस्तो मान्यता रहेको पाइन्छ? कसै-कसैको विचारमा स्त्री यौनाङ्ग एउटा पाप हो र यसले केटीहरूलाई अशुद्ध बनाउँछ र विवाहयोग्य बनाउँदैन। साथै, यौनाङ्ग काट्नु वा हटाउनुलाई केटीको कुमारीत्व र वफादारिताको सुरक्षाको रूपमा लिइन्छ। यस कुरीति पालन नगर्ने आमाहरूमाथि पतिलगायत सारा समाजको आक्रोश पोखिन सक्छ।
यद्यपि, कुनै धार्मिक, चिकित्सकीय अथवा स्वास्थ्य दृष्टिकोणले यस पीडादायी कुरीतिलाई धान्ने कुनै कारण दिंदैन। रिप्युडिएटिङ्ग रिपग्नन्ट कस्टम्स् नामक एउटा वृत्तचित्रअनुसार धेरै आमाहरूले आफ्ना छोरीहरूको योनी विच्छेद गर्नुपर्ने परम्परालाई साहसी भई लत्याएका छन्।
साँच्चै भन्नुपर्दा, धेरै चुनौतीहरूको बाबजुद संसारभरिका आमाहरूले सफलतापूर्वक आफ्ना छोराछोरीलाई सुरक्षा र शिक्षा दिंदैछन्। के तिनीहरूको प्रयत्नको साँच्चै कदर गरिएको छ? (g05 2/22)
[पृष्ठ ५-मा भएको पेटी/चित्र]
“थुप्रै अध्ययनहरूले बारम्बार एउटै कुरा देखाउँछ, आमाको मुख्य भूमिका नभएको विकासको प्रभावकारी अवधारणा छँदै छैन। महिलाहरू पूर्ण सक्रिय भएमा फाइदा तत्कालै देखिन्छ: परिवारहरू अझ स्वस्थ्य हुन्छन् र परिवारले पोसिलो खान पाउँछन्; परिवारको आम्दानी, वचत तथा पुनर्लगानी उकासिन्छ। अनि परिवारको लागि जुन कुरा उपयोगी हुन्छ, त्यो समाजको लागि र अन्ततः पूरै राष्ट्रको लागि उपयोगी हुन्छ।”—संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान, मार्च ८, २००३.
[स्रोत]
UN/DPI photo by Milton Grant
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
तिनले हाम्रो लागि त्यागहरू गरिन्
ब्राजिलका एक युवा जुलियानो भन्छन्: “म पाँच वर्षको छँदा मेरी आमाको लोभलाग्दो जागिर थियो। तर बहिनी जन्मेपछि हाम्रो देखभाल गर्न उहाँले जागिर छोड्ने निर्णय गर्नुभयो। उहाँको अफिसका सल्लाहकारहरूले उहाँलाई जागिर नछोड्न लाख सम्झाए। छोराछोरीले विवाह गरेपछि तिनले गरेका सबै कुरा बिर्सनेछन् अनि तिनले एउटा यस्तो कुरामा लगानी गर्दैछिन् जसको प्रतिफल शून्य हुनेछ भनी तिनीहरूले भने। तर म भन्न सक्छु, तिनीहरू गलत थिए, उहाँको प्रेमको यस अभिव्यक्तिलाई म जीवनभर बिर्सनेछैनँ।”
[[चित्र]]
आफ्ना छोराछोरीको साथमा जुलियानोकी आमा; बायाँतिर: पाँच वर्षको छँदा जुलियानो
[पृष्ठ ६-मा भएको चित्र]
विष्णुले लेखपढ गर्न सिकिन् र आफ्ना छोराहरूलाई पनि असल शिक्षा हासिल गर्न मदत गरिन्
[पृष्ठ ७-मा भएको चित्र]
एन्टोनियाको सानो छोरा मसीही सभाहरूमा बाइबल पढाइको भाषण दिन्छन्
[पृष्ठ ७-मा भएको चित्र]
पेट्रोना यहोवाका साक्षीहरूको मेक्सिको शाखामा स्वयम्सेवक रूपमा कार्यरत छिन्। पछि एक साक्षी बनेकी तिनकी आमा पेट्रोनाकी बहिनीहरूलाई सिकाउँदैछिन्
[पृष्ठ ८-मा भएको चित्र]
वारिस डिरी योनी विच्छेदन विरुद्ध बोल्ने चिरपरिचत प्रवक्ता हुन्
[स्रोत]
Photo by Sean Gallup/ Getty Images