आमाले सामना गर्ने चुनौतीहरू
आमाले सामना गर्ने चुनौतीहरू
“यो काम घरव्यवहारसित सम्बन्धित छ अनि यो मानवताकै एउटा मुख्य काम हो। . . . आमाले आफ्नो कर्तव्य निभाइनन् भने या त आउँदो पुस्ता नै मेटिनेछ या त्यो पुस्ता नआएकै बेस।”—थियोडर रुजबेल्ट, अमेरिकाका २६ औं राष्ट्रपति।
हो,मानव जीवनमा आमा नभई हुँदैन तर आमाको भूमिका बच्चा जन्माउनु मात्र होइन। विश्वका अधिकांश ठाउँहरूमा आज आमाको भूमिकाबारे एक लेखक यसो भन्छन्, “हरेक बच्चाको स्वास्थ्य, शिक्षा, बौद्धिकता, व्यक्तित्व, चरित्र र भावनात्मक स्थिरताको मुख्य संरक्षक आमा नै हुन्।”
आमाका थुप्रै भूमिकाहरूमध्ये एउटा हो—आफ्नो बच्चाको शिक्षक बन्नु। बच्चाको मुखबाट फुट्ने पहिलो शब्द अनि बोल्ने शैली अक्सर आमाबाटै सिकिन्छ। अतः कुनै पनि व्यक्तिको पहिलो भाषालाई अक्सर उसको मातृभाषा भनिन्छ। बुबाले भन्दा आमाले बच्चासित अक्सर धेरै समय बिताउने भएकोले तिनी बच्चाको मुख्य शिक्षक अनि अनुशासन दिने मुख्य व्यक्ति बन्न सक्छिन्। अतः “शिक्षाको सुरुवात स्तनपानबाट हुन्छ” भन्ने मेक्सिकन उखानले आमाको महत्त्वपूर्ण भूमिकालाई अझ गरिमामय बनाउँछ।
हाम्रो सृष्टिकर्ता यहोवा परमेश्वर पनि आमाको सम्मान गर्नुहुन्छ। वास्तवमा, ढुङ्गाका पाटीमा स्वयम् परमेश्वरको “औंलाले” लेखिएका दस आज्ञाहरूमध्ये एउटाले छोराछोरीलाई यस्तो आज्ञा दिन्छ: “आफ्नो बाबु र आमालाई आदर गर्।” (छड्के अक्षर हाम्रो, प्रस्थान २०:१२; ३१:१८; व्यवस्था ९:१०) साथै, बाइबलको एउटा हितोपदेशले भन्छ, “आफ्नी आमाको अर्ती।” (हितोपदेश १:८) जीवनका सुरुका तीन वर्षहरू जतिबेला अधिकांश बच्चाहरू धेरै हदसम्म आमाको हेरचाहमा हुन्छ, त्यतिबेला बच्चालाई सिकाउनुपर्ने महत्त्वलाई हाल सर्वत्र स्वीकारिएको छ।
केही चुनौतीहरू के-के हुन्?
बच्चाले आकार लिने यी महत्त्वपूर्ण वर्षहरूमा तिनीहरूलाई सिकाउन आमाको लागि एउटा चुनौती भनेको परिवारलाई टेवा पुऱ्याउन जागिर खाने दबाब हो। संयुक्त राष्ट्रसंघले सङ्कलन गरेको एउटा तथ्याङ्कअनुसार थुप्रै विकसित मुलुकमा तीन वर्षभन्दा मुनिका बच्चाहरू हुने आधाभन्दा धेरै आमाहरूले जागिर खान्छन्।
अनि, पति जागिरको सिलसिलामा घर छोडेर अर्को सहर वा अर्कै देशमा गएको कारण पनि बच्चाहरू हुर्काउनुपर्ने जिम्मेवारी अक्सर आमा एक्लैले उठाउँछिन्। उदाहरणको लागि, आर्मेनियाको कुनै-कुनै क्षेत्रमा कामको खोजीमा एक तिहाइ पुरुषहरू विदेशिएको रिपोर्ट छ। पतिले त्यागेका अथवा पतिको मृत्युले गर्दा अन्य कतिपय आमाहरू एक्लै बच्चाहरू हुर्काउन बाध्य छन्।
अन्य कतिपय देशमा थुप्रै आमाको अर्को चुनौती भनेको स्वयम् अशिक्षित हुनु हो। संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक गतिविधि विभागको अनुमानअनुसार संसारको दुई तिहाइ अर्थात् ८७.६ करोड महिलाहरू निरक्षर छन्। वास्तवमा, युनेस्कोअनुसार अफ्रिका, अरब मुलुक र पूर्वी तथा दक्षिण एसियामा ६० प्रतिशतभन्दा धेरै महिलाहरू निरक्षर छन्। साथै, महिलालाई पढाउनु बेकार हो र महिलालाई पढाउँदा बच्चा जन्माउने भूमिका निभाउन समेत महिलालाई अयोग्य बनाइदिन्छ भन्ने विश्वास राख्ने पुरुषहरूको संख्या पनि धेरै छ।
आउटलुक पत्रिकाअनुसार भारतको केरला राज्यको एउटा जिल्लामा केटीहरू सामान्यतया १५ वर्षको उमेरसम्ममा आमा बनिसकेका हुन्छन् र त्यहाँ कसैले पनि पढे-लेखेकी दुलही चाहँदैनन्। छिमेकी देश पाकिस्तानमा छोरालाई प्राथमिकता दिइन्छ। बुढेसकालमा आमाबाबुलाई टेवा पुऱ्याउन सकियोस् भनेर अझ राम्रो आर्जन हुने जागिर खान सक्षम बनाउने हिसाबले छोराको लालनपालन गरिन्छ। अर्कोतिर, वुमन्स् इडुकेशन इन डेभेलोपिङ्ग कन्ट्रिज भन्ने पुस्तकअनुसार “छोरीहरूले परिवारमा आर्थिक टेवा पुऱ्याउन सक्ने अपेक्षा नराखिने हुनाले तिनीहरूमाथि लगानी गर्नबाट आमाबाबु चुक्छन्।”
साथै, स्थानीय कुरीतिको सामना गर्नु पनि एउटा चुनौती हो। जस्तै, कुनै-कुनै देशमा विवाहमा जवान छोरीलाई बेच्ने र योनी विच्छेद जस्ता कुरीतिहरूलाई आमाले धान्नुपर्ने आशा राखिन्छ। साथै, आफ्नै छोरालाई सिकाउन र अनुशासन दिन समेत आमालाई मनाही गरिएको हुन्छ। यस्ता कुरीतिहरू धान्न अनि आफ्नै छोराहरूलाई सिकाउने जिम्मेवारी अरूलाई सुम्पन के आमा बाध्य छिन्?
अर्को लेखमा केही आमाहरूले कसरी यस्ता चुनौतीहरू सफलतासाथ सामना गरिरहेका छन् भनी हामी बुझ्नेछौं। हामी आमा र मातृत्वलाई अझ राम्ररी बुझ्न कोसिस पनि गर्नेछौं अनि आफ्ना छोराछोरीको शिक्षकको हैसियतमा आमाको भूमिकाबारे सन्तुलित दृष्टिकोण हासिल गर्नेछौं। (g05 2/22)
[पृष्ठ ४-मा भएको पेटी/चित्र]
“जब बच्चाको बौद्धिकता, कौतूहलता र सृजनशीलताको विकासको कुरा आउँछ, आमाको महत्त्वपूर्ण भूमिकालाई कदापि नकार्न सकिंदैन।”—बालअधिकारबारे क्षेत्रीय सम्मेलन, बुरकिना फासो, सन् १९९७.
[पृष्ठ ३-मा भएको चित्र]
हरेक बच्चाको स्वास्थ्य, शिक्षा, व्यक्तित्व अनि भावनात्मक स्थिरतामा आमाको मुख्य भूमिका हुन्छ