सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

खरायो र पाहा—एउटा महादेशका आक्रमणकारीहरू

खरायो र पाहा—एउटा महादेशका आक्रमणकारीहरू

खरायो र पाहा—एउटा महादेशका आक्रमणकारीहरू

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

रणभूमि भताभुङ्‌ग र उजाड छ। कुनै समयको लहलहाउँदो जमिन अहिले उबडखाबड भएको छ। भुइँमा योद्धाहरूको लास यत्रतत्र छरिएको छ। यी सिपाहीहरूले छद्‌मवेषी हरियो लुगा, बुट लगाएका वा भाला भिरेका छैनन्‌। बरु, तिनीहरूको जीउ नरम भुवाले ढाकिएको छ र तीखा दाँत छन्‌। यो अस्ट्रेलियाका जङ्‌गली खरायोहरूले मच्चाएको उत्पात हो।

जताततै खरायै खरायो

युरोपेली खरायोहरू सन्‌ १८५९ मा अस्ट्रेलियाको दक्षिणपूर्वी छेउबाट भित्र घुस्न थाले। सुरुमा यी खरायोहरू स्थानीय सिकारीहरूको मनोरञ्जनका लागि ल्याइएका भए तापनि पछि तिनीहरूको संख्या नियन्त्रण गर्न जोडतोडका साथ सिकार गरिन थालियो।

युरोपेली खरायोहरूलाई बेलाइतमा प्रभुत्व जमाउन ९०० वर्ष लाग्यो भने युरोपको आधीभन्दा बढी जसो भूभाग भएको अस्ट्रेलियामा भने ५० वर्ष भित्रै तिनीहरू छ्यासछ्यासती भए। हुर्किसकेका पोथी खरायोहरूले वर्षमा ४० वटा सम्म बच्चा जन्माउने हुँदा यस महादेशमा प्रतिवर्ष १०० किलोमिटरको दरले फैलिंदै अग्रपङ्‌क्‍तिमा तैनाथ भए। ब्युरो अफ रुरल सायन्सेज (बि आर एस) अर्थात्‌ स्रोतसाधनसम्बन्धी वैज्ञानिक केन्द्रको रिपोर्ट यसो भन्छ: “संसारमा कतै पनि कुनै स्तनपायीको संख्यामा यत्तिको वृद्धि भएको थिएन।” यसको असर विध्वंसकारी साबित भयो।

खरायोले स्थानीय जनावरहरूको चारा खान्छन्‌ अनि तिनीहरूको दुलोमा जबरजस्ती घुस्छन्‌; अनगन्ती जातिहरू झण्डै लोप हुनुको दोष पनि यी खरायोहरूमाथि नै थोपरिएको छ। जङ्‌गल फँडानी हुनुको दोष पनि तिनीहरूलाई नै दिइन्छ। एक जना अनुसन्धाताले भनेझैं “तिनीहरूले रूखका मुनाहरू खाने हुँदा हुर्किसकेको रूख मरेपछि त्यसको ठाउँमा हुर्कनको लागि अर्को मुना नै हुँदैन।” तिनीहरू एउटा सानो टापुमा घुस्दा विपत्तिजनक परिणाम हुन सक्छ। “सन्‌ १९०३ मा लेसन टापुमा ल्याइएका खरायोहरूले सन्‌ १९३६ सम्ममा स्थानीय ३ किसिमका चरा र २६ किसिमका मध्ये २२ किसिमको बोटबिरुवा सखाप पारिसकेका थिए। . . . सन्‌ १९२३ मा त्यस टापुमा केटी ठुटे रूखहरू र बालुवाको उजाड भूमि मात्र बाँकी थियो” भनी बि आर एस रिपोर्ट गर्छ।

आम विनाशका हतियारहरू प्रयोग गर्नु

अस्ट्रेलियामा खरायोहरूलाई गोली हानियो, पासोमा पारियो अनि विष खुवाइयो। पश्‍चिमी अस्ट्रेलियामा १,८३० किलोमिटर लामो प्रख्यात ऱ्‍याबिट प्रुफ फेन्स ती खरायोहरूलाई अझै अरू इलाकाहरूमा छिर्न नदिन निर्माण गरिएको थियो। a तर यो आक्रमणकारी सेनालाई कुनै कुराले पनि रोक्न नसकिए जस्तो देखियो।

अनि सन्‌ १९५० मा जैविक हतियार चलाएर एउटा प्रतिरक्षात्मक नीति अपनाइयो—त्यो थियो, मिक्सोमा टोसिस भाइरस। यो भाइरसले गर्दा खरायोको संख्या अचम्मैसित कम भयो जबकि त्यतिबेला ६० करोड पुगिसकेको अनुमान गरिएको थियो। लामखुट्टे तथा झिंगाले सार्ने यो मिक्सोमाटोसिस भाइरसले खरायोलाई मात्र असर गर्छ अनि यसले गर्दा दुई वर्ष भित्र ५० करोड मारिए। तथापि, खरायोहरूले यो रोगप्रति चाँडै प्रतिरोध विकास गरे अनि यसबाट बचेकाहरूले झन्‌ तीव्र गतिमा सन्तान जन्माउन थाले। यसरी सन्‌ १९९० को दशकसम्म त तिनीहरूको संख्या बढेर ३० करोड जति पुग्यो। त्यसकारण अर्कै किसिमको प्रतिरोध विकास गर्नुपर्ने टड्‌कारो आवश्‍यकता देखियो।

शुभ र अशुभ समाचार

सन्‌ १९९५ मा दोस्रो जैविक हतियार अर्थात्‌ खरायोको मस्तिष्कघात हुने रोग अस्ट्रेलियामा (ऱ्‍याबिट हेमोरेजिक डिजिज) फैलाइयो। खरायोको मस्तिष्कघात सर्वप्रथम चीनमा सन्‌ १९८४ मा देखापरेको थियो। सन्‌ १९९८ सम्म त यो युरोपसम्म फैलिसकेको थियो र केही समयपछि यसले इटालीका तीन करोड घरपालुवा खरायोहरू सखाप पाऱ्‍यो। खरायोको मस्तिष्कघात युरोपेली खरायो व्यवसायको लागि नराम्रो समाचार थियो भने अस्ट्रेलियाली किसानहरूको लागि सुसमाचार किनभने यो भाइरस छोड्‌ने बित्तिकै दुई महिनाभित्रमा एक करोड खरायोहरू मासिए। यो भाइरसले खरायोलाई मात्र असर गर्नेजस्तो देखिन्छ र पीडा भएको कुनै सङ्‌केत नदेखीकन सङ्‌क्रमण भएको ३०/४० घण्टामै यिनीहरू मर्छन्‌। सन्‌ २००३ सम्ममा खरायोको मस्तिष्कघातले गर्दा अस्ट्रेलियाका धेरैजसो सुक्खा इलाकाहरूमा ८५ प्रतिशत वा त्योभन्दा बढीको दरले नै खरायोको संख्या कम भइसकेको थियो।

पात खाने खरायोहरू नभएको हुँदा एउटा दक्षिण अस्ट्रेलियाली राष्ट्रिय निकुञ्जस्थित स्थानीय सुनगाभाका बोटहरू पाँच वर्षभन्दा कम समयमा आठ गुणा बढे। “खरायोलाई पटक-पटक यो रोग देखा परेको” त्यस क्षेत्रको अन्य इलाकाहरूमा अब भने “स्थानीय बूटाहरू एकदमै चाँडै बढ्‌न थालेको पाइएको छ” भनी इकोस पत्रिका बताउँछ। खरायोको अभावले गर्दा अन्य देशहरूबाट ल्याइएका फ्याउरा र जङ्‌गली बिरालोजस्ता सिकारीहरूको संख्या पनि कम भएको छ। यस नयाँ हतियारको प्रभावकारिताले गर्दा पर्यावरणविद्‌ र किसानहरू दुवै दङ्‌ग परेका छन्‌ किनभने खरायोले गर्दा अस्ट्रेलियाली अर्थतन्त्रले रू. २० अरब बराबरको घाटा बेहोर्नु परेको थियो। तथापि, अस्ट्रेलियाका जब्बर खरायोहरूमा यो रोगले पछिसम्म कस्तो असर पार्नेछ भनेर त हेर्न बाँकी नै छ।

विशिष्ट ठानिएका योद्धाहरू अब दुस्मनको रूपमा

यी जङ्‌गली खरायोहरू विरुद्ध वैज्ञानिकहरू विजयी भएजस्तो देखिए तापनि तिनीहरूले अर्को एउटा आक्रमणकारीलाई भने नियन्त्रण गर्न नसकेको जस्तो देखिन्छ—त्यो हो, उखु पाहा। खरायोजस्तै यी दुस्मनहरू यस देशभित्र आफै घुसेका थिएनन्‌ तर सबै कुरा विचार गरेर आयात गरिएको थियो। किन?

बीसौं शताब्दीको सुरुतिर उखुमा पाइने दुई किसिमको गोब्रे कीरा, अस्ट्रेलियाको उखु व्यवसायको अस्तित्वलाई नै खतरा हुने गरी देखापऱ्‍यो जुन हालको अर्थतन्त्रमा वर्षेनी रू. ६४ अरब बराबरको व्यापार हुन्छ। सन्‌ १९३५ मा बुफो मारिनस वा उखु पाहा मुठी जत्रो उभयचर हो र यसले गोब्र कीरा अचाक्ली खाने भन्‍ने नाउँ कमाएको हुँदा उखु कृषकहरूको उद्धारक ठानिएको थियो। कोही-कोही वैज्ञानिकहरू सहमत नभए तापनि यो हवाई हुँदै दक्षिण अमेरिकाबाट आयात गरिएको थियो अनि क्वीन्सल्याण्डका उखुबारीमा छोडियो।

यी पाहालाई उखुबारीमा छोडेपछि यिनीहरूले उखुमा लाग्ने गोब्रे कीरालाई वास्तै नगरी धोकेबाज निस्किए। यी पाहाहरू अण्डा अवस्थादेखि पूरै हुर्किसेको अवस्थासम्मै हरेक चरणमा विषाक्‍त हुन्छन्‌। बच्चाबाट पाहा बन्‍ने क्रममा यिनीहरूको छालामुनि विशेष किसिमको ग्रन्थी बन्छ र पाहालाई रिस उठ्‌दा त्यहाँबाट असाध्यै विषालु किसिमको दूधालु लेसो निस्कन्छ। यी उखु पाहाहरूले स्थानीय माउसुली, सर्प, जङ्‌गली कुकुर अनि यसलाई निल्ने जस्तो मूर्खतापूर्ण काम गर्ने गोहीलाई समेत मारेका छन्‌। यिनीहरूको संख्या एकदमै चाँडचाँडो बढ्‌छ अनि अहिलेसम्म त सुरुको ठाउँदेखि ९०० किलोमिटरभन्दा परसम्म फैलिएको छ। तिनीहरू खास पाइने देश भेनेजुएलाभन्दा यहाँ यिनीहरूको संख्या दस गुणा वृद्धि भएको छ। बाइबलकालीन विपत्तिजस्तै यिनीहरूले खेतबारीमा आक्रमण गर्छन्‌, घरभित्र घुस्छन्‌ अनि टोइलेटका प्वालहरूमा लुकेर बस्छन्‌। प्रतिवर्ष ३० किलोमिटरको दरले बढ्‌दै अहिले यिनीहरू पाइन थालेको ठाउँलाई पाहाहरूको लागि अति उपयुक्‍त ठाउँ भन्‍न सकिन्छ। यो उत्तरी इलाकास्थित काकाडु राष्ट्रिय निकुञ्ज हो र यो विश्‍व सम्पदा सूचीमा पर्छ। अस्ट्रेलियाली सरकारले पाहाको फैलावट रोक्न लाखौं डलर खर्च गरिसकेको छ तर कुनै प्रभावकारी उपाय भने भेटाउन सकेको छैन। यो लडाइँ सिद्धिएको छैन तर अहिलेसम्म भने पाहाहरूले नै जितिरहेका छन्‌।

किन यो लडाइँ?

बाह्‍य तत्त्वहरूले सन्तुलन नखल्बल्याएको इकोसिस्टममा सबै प्राणीहरूको आफ्नै नियन्त्रक हुन्छ जसले तिनीहरूको संख्यालाई नियन्त्रणमा राख्छ। तथापि, तिनीहरूको प्राकृतिक वातावरणको सीमा उल्लङ्‌घन हुँदा र सन्तुलन खल्बल्याइँदा भने अहानिकारक देखिने प्राणीहरूले समेत एकदमै छिटो-छिटो सन्तान जन्माएर बर्बाद गर्न सक्छन्‌।

बाहिरबाट ल्याइएका जनावर र बोटबिरुवाको अनियन्त्रित संख्याले गर्दा हुने भयानक नोक्सानीबारे अस्ट्रेलियामा सर्वप्रथम बसोबास गर्ने युरोपेलीहरूले अनुमान लगाउन सकेका थिएनन्‌। हो, आयात गरिएका थुप्रै जातिहरू लाभकारी साबित भएका छन्‌। वास्तवमा भन्‍ने हो भने, अस्ट्रेलियालीहरू बाहिरबाट ल्याइएका बोटबिरुवा र जनावर—जस्तै, भेडा, गाईवस्तु, गहुँ, चामल र अन्य खाद्यान्‍नहरूमा पूरै निर्भर छन्‌। तथापि, पृथ्वीको अद्‌भुत जीवन चक्र अथवा प्राणीहरूबीचको सन्तुलनलाई खलबल्याउँदा एकदमै होसियार हुनुपर्ने खाँचोलाई यी खरायो तथा उखु पाहाको घटनाले स्मरण गराउँछ। (g05 2/8)

[फुटनोट]

[पृष्ठ -मा भएको चित्र]

पहिला हिरो, पछि दुस्मन—उखु पाहाको आक्रमण यथावतै छ

[स्रोत]

U.S. Geological Survey/photo by Hardin Waddle

[पृष्ठ -मा भएको चित्र]

दक्षिण अस्ट्रेलियाको वार्डाङ्‌ग टापु, स्पेन्सर खाडीमा पानी पिउन आइरहेका आक्रमणकारीहरू

[स्रोत]

By courtesy of the CSIRO

[पृष्ठ -मा भएको चित्रको स्रोत]

Rabbits: Department of Agriculture, Western Australia; toad: David Hancock/© SkyScans