सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जहाँ छवटा महादेशको मिलन हुन्छ

जहाँ छवटा महादेशको मिलन हुन्छ

जहाँ छवटा महादेशको मिलन हुन्छ

युक्रेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

जनावरहरूलाई तिनीहरूको प्राकृतिक बासस्थानमै हेर्न पाउँदा के तपाईं रमाउनुहुन्छ? त्यसो हो भने उत्तर अमेरिका, एसिया, अफ्रिका, अस्ट्रेलिया, दक्षिण अमेरिका र युरोप सबैको सङ्‌गमस्थल जान तपाईंलाई अवश्‍यै मनपर्छ होला। यस्तो किसिमको ठाउँको भ्रमण गर्न पनि सम्भव छ र? दक्षिणी युक्रेनस्थित अस्कानिया-नोभा बायोस्फेयर रिजर्भको भ्रमण गऱ्‍यौं भने सम्भव छ। यहाँ यी छवटा महादेशमा पाइने जङ्‌गली जनावरहरूको बथान खुला फाँटमा घुमफिर गर्छन्‌ र एक-अर्कासित मिलेर शान्तसँग बस्छन्‌।

यस आरक्षणको सुरुवात सन्‌ १८८३ मा भएको थियो। त्यो वर्ष फिड्रीक फाल्ट्‌स-फिन नाउँको एक जर्मनवासीले आरक्षणको लागि मानिसहरूले कुनै क्षति नपुऱ्‍याइएको स्टेप्स अर्थात्‌ घाँसे भूमि रोजे। त्यहाँ तिनको पहिल्यैदेखि ५० भन्दा बढी प्रजातिका चराचुरुङ्‌गी तथा स्तनधारी प्राणीहरूसहितको एउटा निजी चिडियाखाना थियो। पछि तिनले सन्‌ १८८७ मा बोटानिकल गार्डेन पनि थपे। हाल अस्कानिया-नोभा बायोस्फेयर रिजर्भमा एउटा बोटानिकल पार्क, स्टेप्स आरक्षणमा २७,००० एकडभन्दा बढी जमिनमा फैलिएको क्षति नपुऱ्‍याइएको प्रेरी अर्थात्‌ घाँसे भूमि (तृणभूमि समशीतोष्ण) र चिडियाखाना छ।

आरक्षण पुगेपछि सबैभन्दा पहिला बोटानिकल पार्क देख्न सकिन्छ। वर्षौंको दौडान वैज्ञानिकहरूले संसारका विभिन्‍न ठाउँबाट अनेकौं प्रकारका रूखहरू यहाँ ल्याएका छन्‌। पार्कको करिब ५०० एकड क्षेत्र तिनै रूखहरूले डम्म ढाकिएको छ। देशको सुक्खा क्षेत्रमा यो आरक्षण भएको-ले रूख तथा पोथ्रापोथ्रीहरूमा पानी हाल्नको लागि कुलोसहितका इनारहरू खनिएका छन्‌। सन्‌ १८८९ मा आयोजित पेरिस वर्ल्ड फेयरमा यस आरक्षणको सुन्दर प्राकृतिक दृश्‍य र सिंचाइ प्रणालीलाई स्वर्ण पदक प्रदान गरिएको थियो।

छ महादेशका जनावरहरू

हामी पार्कको शीतल भागबाट घमाइलो घाँसे भूमि भएतिर जानेछौं, जहाँ तारले बारेको करिब ६,००० एकड खुला फाँटमा लगभग ५० विभिन्‍न प्रजातिका जङ्‌गली जनावरहरूको बथान घुमफिर गर्छन्‌। आउनुहोस्‌, सबैभन्दा पहिला हामी अफ्रिकाबाट ल्याइएका केही जनावरहरू अवलोकन गरौं।

सिकार गरिने सबैभन्दा प्रख्यात र डरलाग्दा ठूला जनावरहरूमध्ये जङ्‌गली भैंसी पनि हो। यसको साइजले गर्दा मात्र होइन तर एक मिटर लामो बडेमाका सिङहरूले गर्दा पनि यो डरलाग्दो देखिन्छ। यो भैंसी १.७ मिटर अग्लो हुन्छ। राँगाहरूले कहिले के गर्छन्‌ थाह नहुने र हान्‍न सक्ने भएकोले तिनीहरूको नजिक नजाने सल्लाह दिइन्छ।

हाम्रो ध्यान खिच्ने अर्को जनावर दक्षिणपूर्वी अफ्रिकामा पाइने इलान्ड नाउँको हरिण हो। यस आरक्षण क्षेत्रमा सिकार खेल्न निषेध गरिएको कारण सन्‌ १८९२ मा पहिलो चोटि यिनीहरूलाई यस ठाउँमा ल्याएदेखि इलान्डहरू यहाँ कुनै डर-त्रासविना बस्दै आएका छन्‌। घुम्न आउने व्यक्‍तिहरूकै अगाडि यिनीहरू चर्छन्‌ र मानिसहरूदेखि डराउँदैनन्‌। कुनै-कुनै इलान्ड त पाल्तु पशु जत्तिकै भएका छन्‌ र अन्य दूध दिने पशुहरूको झैं यसको पनि दूध दुहुन सकिन्छ। यिनीहरूको बोसोयुक्‍त पोसिलो दूधलाई अल्सरको उपचार गर्न औषधीको रूपमा प्रयोग गरिन्छ।

उड्‌न नसक्ने ठूलो चरा इमु अस्ट्रेलियाबाट ल्याइएको हो। चराहरूमध्ये यो दोस्रो सबैभन्दा ठूलो चरा हो—योभन्दा ठूलो चराचाहिं अस्ट्रिच (शुतुरमुर्ग) मात्रै हो। कुनै-कुनै इमु १.८ मिटर अग्लो र ५९ किलोग्रामसम्मको हुन्छ। अन्य जनावरहरूबाट यी चराहरूलाई तारको जालीले छुट्ट्याइएको भए तापनि यिनीहरूको बासस्थान खुल्लमखुल्ला दौडन मिल्ने ठूलो ठाउँ छ।

इमुको एउटा रोचक विशेषता भनेको अण्डाबाट बाहिर निस्कनुभन्दा पहिल्यै बचेराहरूले भाले इमुको आवाज सुन्‍नासाथ देखाउने प्रतिक्रिया हो। उदाहरणका लागि, भनिन्छ कि अण्डाबाट बचेरा बाहिर निस्कनुभन्दा केही समयअघि रेकर्ड गरिएको भाले इमुको आवाज बजाएर सुनाउँदा अण्डाभित्र बचेरा चलेको कारण अण्डा नै यताउता हल्लिन्छ। यद्यपि, अण्डाभित्र भएका बचेराहरूले पोथी इमुको आवाजप्रति भने कुनै प्रतिक्रिया जनाउँदैनन्‌। किन?

पोथी इमुले अण्डा पार्ने भए तापनि भाले इमुले त्यसलाई कोरल्छ। कोरल्ने समय नहोउन्जेल लगभग ५० दिनसम्म उसले तिनीहरूको हेरविचार गर्छ र त्यसपछि पनि उसले बचेराहरूलाई हुर्काउने-बढाउने काम गर्छ। त्यसैले त अण्डाभित्र हुँदा नै ती बचेराहरूले आफ्नो हेरविचार गर्नेलाई चिनिसकेका हुन्छन्‌। अँ साँच्ची, यी अण्डाहरू अरू साधारण अण्डाहरू जस्ता हुँदैनन्‌ अर्थात्‌ यिनीहरू गाढा हरियो र ठूलठूला हुन्छन्‌—प्रत्येक अण्डाको वजन लगभग ७०० ग्रामसम्म हुन्छ!

आरक्षणमा प्रेजबालस्की घोडाको (एक किसिमको जङ्‌गली घोडा) बथान पनि छ। सन्‌ १८९९ मा यिनीहरूलाई मङ्‌गोलियाको घाँसे भूमिबाट ल्याइएको थियो। सिकार खेल्नेहरूले गर्दा र चरन मासिएको कारण प्रेजबालस्की घोडाहरू सन्‌ १९६० को दशकमा नै लोप भइसकेका थिए।

हाल, विभिन्‍न चिडियाखानालगायत पार्कहरूमा गरेर करिब १,१०० प्रेजबालस्की घोडाहरू छन्‌। आस्कियन-नोभामा भएका लगभग १०० वटा घोडा पनि यसमा समावेश छन्‌। वैज्ञानिकहरूले यी जनावरहरूलाई फेरि जङ्‌गलमै छोडिदिने प्रयास गरिरहेका छन्‌। तसर्थ, २१ वटा प्रेजबालस्की घोडाहरू सन्‌ १९९२/९३ मा मङ्‌गोलिया पठाइएको थियो।

यस आरक्षणमा सबैभन्दा बढी चीन र जापानबाट ल्याइएको चित्तल पाइन्छ। यस शोभायमान प्राणीको जीउमा थोप्लाहरू हुने भएकोले यसलाई फूल चित्तल पनि भनिन्छ। सलक्क परेको जीउ र सानो टाउकोमाथि गर्वसाथ सजिएका सानदार सिङहरूको कारण यो जनावर सुन्दर देखिन्छ।

बडेमानको अर्ध पाल्तु पशु भारतीय साँढे गायललाई पनि घाँसे भूमिमा शान्तपूर्वक चरिरहेको देख्न सकिन्छ। भारतमा यी जनावरहरू दिनभरि जङ्‌गलमा घुमफिर गर्छन्‌ र रातमा चाहिं तिनीहरू गाउँ फर्किन्छन्‌। अस्कानिया-नोभामा जङ्‌गल र गाउँ केही पनि नभए तापनि यो साँढे स्थानीय घाँसे भूमिमा नजिकैका अन्य जनावरहरूको बगालसित आरामले बसेको देखिन्छ।

बल र साइजको कारण अमेरिकी बाइसन अथवा भैंसी निकै डरलाग्दो हुन्छ। त्यस्तै १५० वर्षअघि यस्ता बडेमानका जनावरहरू लाखौंको संख्यामा उत्तर अमेरिकाको घाँसे भूमिमा घुमफिर गर्थे तर तिनीहरूको यतिबिघ्न सिकार गरियो कि तिनीहरू झन्ड-झन्डै लोप भएका थिए। अहिले युरोपमा अमेरिकी बाइसनको यही एउटा प्रजाति मात्र पाइन्छ। जाडो र गर्मी दुवै महिनामा स्टेप्स घाँसे भूमिमा छँदा यिनीहरूले आफ्नो प्राकृतिक बासस्थानमै भएको महसुस गर्छन्‌।

दक्षिण अमेरिकालाई उड्‌न नसक्ने चरा रेआले (अथवा नान्डु) प्रतिनिधित्व गर्छ। यो अस्ट्रेलियामा पाइने इमुजस्तै हुन्छ। यो १.५ मिटर अग्लो हुन्छ र यसको वजनचाहिं ५० किलोग्राम हुन्छ। इमुले जस्तै भाले रेआले अण्डा कोरल्छ। यी दुईबीच एउटा उल्लेखनीय भिन्‍नता के छ भने, इमुको एउटै मात्र पोथी हुन्छ तर रेआका थुप्रै पोथीहरू हुन्छन्‌। यसकारण तीनदेखि पाँचवटा पोथी रेआले एउटै गुँडमा अण्डा पार्न सक्छन्‌।

रेड डियर अर्थात्‌ रतुवा र रो डियर युरोपबाट ल्याइएका हुन्‌। यिनीहरू युरोपको घाँसे भूमिमा फस्टाउन सक्ने निकै बलिया जनावरहरू हुन्‌ र यिनीहरूले जाडो-गर्मी दुवै सजिलै झेल्न सक्छन्‌। यी मृगहरूलाई युरोपको विभिन्‍न भागका आरक्षण तथा सिकार खेल्न छुट दिइएका क्षेत्रहरूमा यिनीहरूको प्रजाति वृद्धि गर्न प्रयोग गरिन्छ। सन्‌ १९६० मा शेट्‌ल्याण्ड पोनीलाई उत्तरी युरोपबाट यस आस्कियन-नोभा आरक्षणमा ल्याइएको थियो। ल्याएदेखि नै यिनीहरूको संख्यामा निकै वृद्धि भएको छ।

रिजर्भमा जेब्रा, ब्लू वाइल्डबिस्ट (ठूलो अफ्रिकी हरिण), एसियाली जङ्‌गली गधा तथा सैगा अर्थात्‌ एक किसिमको चिरुका (युरेसियन हरिण) बथानहरूका साथसाथै कैयौं प्रजातिका चराहरू पनि पाइन्छन्‌। कुनै-कुनै जनावरहरू वर्षभरि घाँसे भूमिमै बस्छन्‌ भने, अरूलाई चाहिं फार्ममा ल्याइन्छ जहाँ तिनीहरूलाई जाडो महिनाभरि राखिन्छ।

यस प्राकृतिक आरक्षणको जगेर्ना गर्ने

आज अस्कानिया-नोभा युक्रेनियाली वैज्ञानिकहरूको अनुसन्धान संस्थाको अध्ययन गर्ने एउटा केन्द्र बनेको छ। युरोपको घाँसे भूमिलाई यसको प्राकृतिक स्वरूपमै जोगाएर राख्न र जनावरहरूलाई नयाँ हावापानीमा घुलमिल हुन मदत गर्ने सन्दर्भमा संस्थानका कर्मचारीहरू धेरै काम गर्छन्‌। विदेशबाट ल्याइएका र दुर्लभ जे-जति जनावरहरू छन्‌ त्यसलाई अझ बढाउने सन्दर्भमा पनि वैज्ञानिकहरूले काम गरिरहेका छन्‌।

प्राकृतिक आरक्षणहरू पृथ्वीको विभिन्‍न भागमा पाउन सकिन्छ। उत्तर तथा दक्षिण अमेरिकाको घाँसे भूमि, घाँसै-घाँस मात्र हुने तर रूखचाहिं नहुने तृणभूमि पम्पास, अफ्रिकी उष्ण प्रदेशीय इलाकाहरू, अस्ट्रेलियाको घाँसे जमिन अनि एसिया तथा युरोपेली घाँसे भूमिमा तपाईंले ती पाउन सक्नुहुन्छ। यी सबै आरक्षणको आ-आफ्नै विशेषता छ र यहाँ किसिम-किसिमका रूखपात तथा जनावरहरू छन्‌। पृथ्वीका विभिन्‍न कुनाकाप्चाबाट ल्याइएका जनावरहरू कसरी नयाँ हावापानीमा घुलमिल हुन र मिलेर बस्न सक्छन्‌ भन्‍ने कुरा अस्कानिया-नोभा आरक्षणको यस अन्तरराष्ट्रिय पक्षले देखाउँछ।

परमेश्‍वरको राज्यले मानिसजातिमाझ मात्र नभई पृथ्वीका विभिन्‍न जनावरहरूमाझ पनि शान्ति ल्याउने बाइबलमा जुन भविष्यवाणी गरिएको छ, त्यस समयको धेरै मानिसहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहेका छन्‌।—यशैया ११:६-९; होशे २:१८; प्रेरित १०:३४-३५. (g05 2/22)

[पृष्ठ १४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अस्कानिया-नोभा बायोस्फेयर रिजर्भ

[पृष्ठ १४-मा भएको चित्र]

इलान्ड

[पृष्ठ १५-मा भएको चित्र]

जङ्‌गली भैंसी

[पृष्ठ १५-मा भएको चित्र]

इमु

[पृष्ठ १६-मा भएको चित्र]

चित्तल

[पृष्ठ १६-मा भएको चित्र]

प्रेजबालस्की घोडा

[पृष्ठ १६-मा भएको चित्र]

अमेरिकी बाइसन

[पृष्ठ १६-मा भएको चित्र]

आरक्षणमा धेरै किसिमका चराहरू पनि पाइन्छन्‌

[पृष्ठ १७-मा भएको चित्र]

रेआ

[पृष्ठ १७-मा भएको चित्र]

रो मृग

[पृष्ठ १७-मा भएको चित्र]

रतुवा

[पृष्ठ १७-मा भएको चित्र]

बोटानिकल पार्क

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

Eland and emu: Biosphere Reserve “Askaniya-Nova,” Ukraine; globes: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ १६-मा भएको चित्रको स्रोत]

Deer: Biosphere Reserve “Askaniya-Nova,” Ukraine; globes: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

Birds: Biosphere Reserve “Askaniya-Nova,” Ukraine; flowers and park: Olha Dvorna/ Biosphere Reserve “Askaniya-Nova,” Ukraine; globes: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.