“फाल्तू” डिएनए?
“फाल्तू” डि एन ए?
थुप्रै अनुसन्धाताहरू जीवविज्ञान, अनुवंश-विज्ञान र यससित सम्बन्धित विषयहरूलाई विकासवाद सिद्धान्तको दृष्टिकोणबाट अध्ययन गर्छन्। यस दृष्टिकोणले तिनीहरूलाई अक्सर गलत निष्कर्षमा पुऱ्याएको छ। उदाहरणका लागि, डार्विनका समर्थकहरूले सुरु-सुरुमा एपिन्डिक्स, पिच्युचरी ग्रन्थि र टन्सिल अर्थात् किलकिले जस्ता केही खास अङ्गहरूलाई अवशेषाङ्गको रूपमा वर्गीकरण गरे। तिनीहरू यी अङ्गहरूलाई विकास हुँदै जाँदा अवेशषको रूपमा बाँकी रहेका अङ्गहरू मान्थे किनभने यी अङ्गहरूको केही काम नभएजस्तो देखिन्थ्यो। तथापि, समयमा यी अङ्गहरूको महत्त्वपूर्ण भूमिका प्रकाशमा आयो। त्यसकारण, विकासवादी वैज्ञानिकहरूले आफ्नो पहिलेको सोचाइ त्याग्नुपऱ्यो।
अनुवंशको क्षेत्रमा हालै यस्तै खालको विकास भएको छ। पहिले-पहिले गरिएका अनुसन्धानहरूले बताएअनुसार मानिस र अरू प्राणीहरूमा भएको ९८ प्रतिशत डि एन ए-को कुनै काम थिएन। त्यसैले विकासवादको सिद्धान्तद्वारा प्रभावित भएकाहरू थुप्रैले यो डि एन ए “विकासको क्रममा बाँकी रहेको फाल्तू वस्तु” हो भन्ने अनुमान लगाए अनि यो दृष्टिकोण चाँडै नै स्वीकार्य पनि भयो।
तथापि, डार्विनको शिक्षामा आधारित यो अनुमान फेरि पनि एक पटक गलत साबित भयो। जीवनको लागि अत्यावश्यक विशेष प्रकारको आर एन ए (राइबोन्युक्लेइक एसिड) उत्पादन गरेर “फाल्तू” डि एन ए-ले शरीरमा महत्त्वपूर्ण भूमिका खेल्छ भनी वैज्ञानिकहरूले हालै पत्ता लगाएका छन्। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्यान्डको इन्स्टिच्युट अफ मलिक्युलर बायोसाइन्सका निर्देशक जोन एस. माटिकको सोचाइअनुसार “फाल्तू” डि एन ए-को सिद्धान्तलाई हत्त न पत्त स्वीकार्नु “पहिलेदेखि ठीक ठानिंदै आएको कुरालाई अन्धाधुन्ध समर्थन गर्दा यसले तथ्य कुरा केलाउनदेखि रोक्छ भन्ने कुराको एउटा राम्रो उदाहरण हो र यतिबेला २५ वर्षसम्म यस्तै भयो।” तिनी अझै भन्छन्, यस असफलतालाई “अणु जीवविज्ञानको इतिहासमा एउटा महाभूलको रूपमा लामो समयसम्म सम्झिरहनेछ।”
डि एन ए डिजाइन गर्ने एक जना बुद्धिमान् डिजाइनर हुनुहुन्छ भन्ने सोचाइ राख्नु के मनासिब हुँदैन र? यस्तो दृष्टिकोण राख्ने मानिसहरूले परमेश्वरको हातको कामका अचम्मलाग्दा पक्षहरू अक्सर समयमा स्पष्ट हुन्छन् भनेर थाह पाउँछन्। अनि यसरी पत्ता लागेका नयाँ-नयाँ कुराहरूले तिनीहरूलाई निराश तुल्याउनुको सट्टा तिनीहरू अझ बढी आश्चर्यले भरिन्छन्।—हितोपदेश १:७; उपदेशक ३:११. (g05 2/22)
[पृष्ठ २१-मा भएको चित्रको स्रोत]
DNA: Photo: www.comstock.com; researcher: Agricultural Research Service, USDA