सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शङ्‌खेकीरा—टापुहरूको एउटा विशेष खाना

शङ्‌खेकीरा—टापुहरूको एउटा विशेष खाना

शङ्‌खेकीरा—टापुहरूको एउटा विशेष खाना

बहामासका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“चारवटा शङ्‌खेकीरा दिनुस्‌ न!” “एउटा सेकुवा र दुइटा साँदेको शङ्‌खेकीरा दिनुस्‌ न!”

यी हुन्‌ भोकाएका ग्राहकहरूले बहामासका स्थानीय रेस्टुराँहरूमा खाना अर्डर गर्दा भन्‍ने ठेट अभिव्यक्‍तिहरू। भुटेको शङ्‌खेकीराको लोभ्याउने बास्ना नुनिलो हावामा मिसिंदा त झनै भोक लागेर आउँछ। तर वास्तवमा यो शङ्‌खेकीरा भनेको के हो?

एकपत्रे खोल भएको समुद्री मोलस्क अथवा समुद्री चिप्लेकीरालाई शङ्‌खेकीरा भनिन्छ। यस मोलस्कका विभिन्‍न प्रजातिहरू हुन्छन्‌। जस्तै—रुस्टर-टेल र क्विन अथवा पिङ्‌क शङ्‌खेकीरा आदि। तर यस ठाउँमा खानाको रूपमा खाइने प्रजातिचाहिं क्विन कन्च अर्थात्‌ रानी शङ्‌खेकीरा हो। यसको ल्याटिन नाउँ स्ट्रोमबस गिगास हो र यो मुख्यतया फ्लोरिडादेखि ब्राजिलसम्मको न्यानो पानीमा पाइन्छ। रानी शङ्‌खेकीराको ठूलो घुमाउरो आकारको खोल हुन्छ र अगाडिपट्टिको भाग निकै फुकेको हुन्छ। हुर्किसकेको शङ्‌खेकीराको लम्बाइ २० देखि २५ सेन्टिमिटरसम्म हुन्छ।

पक्रने र प्रयोग गर्ने तरिका

बाल्यकालमा बुबासित डुङ्‌गा चढेर शङ्‌खेकीरा खोज्न गएको कुरा बासेल सम्झिन्छिन्‌। “मेरो बुबाले फराकिलो पींधमा सिसाजडित सोली आकारको एउटा ठूलो बाल्टी र दुईवटा अङ्‌कुसे भएको लामो डन्डी प्रयोग गर्नुहुन्थ्यो। उहाँ पींधमा सिसा जडान गरिएको त्यो बाल्टी समुद्रमा डुबाएर शङ्‌खेकीरा कहाँ छ सो थाह लगाउनुहुन्थ्यो। अनि एक हातले बाल्टी समात्दै अर्कोले चाहिं डन्डीमा भएको अङ्‌कुसेले शङ्‌खेकीरा पक्रेर डुङ्‌गातिर तान्‍नुहुन्थ्यो।”

आजकल चाहिं गोताखोर सीधै समुद्रभित्र गएर शङ्‌खेकीरा टिपेर ल्याउने गर्छन्‌। गहिरो पानीभित्र जाँदा तिनले सास फेर्ने स्नोर्केल अथवा सरकारबाट अनुमति पाएका छन्‌ भने ऐयर कम्प्रेसर प्रयोग गर्न सक्छन्‌।

शङ्‌खेकीरालाई खोलबाट बाहिर निकाल्न खोलको मुनिपट्टि एउटा प्वाल पारिन्छ। त्यसपछि बाहिर तान्‍न सजिलोको लागि शङ्‌खेकीरालाई घचेटेर खोलको छेउसम्म पुऱ्‍याउन त्यस प्वालबाट चक्कु छिराइन्छ। शङ्‌खेकीराको चारवटा मुख्य भाग हुन्छन्‌: टाउको, भित्र्याँस, बाहिरी भाग र बलियो खुट्टा। खान हुने भाग खुट्टालाई चाम्रो छालाले ढाकेको हुन्छ। स्वादिष्ट सेतो मासुबाहेक छाला तथा खान नहुने भागहरूलाई चाहिं फ्याँकिन्छ।

शङ्‌खेकीरामा धेरै प्रोटिन पाइन्छ। यसको उपचारात्मक महत्त्वलाई धेरै नै महत्त्वपूर्ण ठानिंदै आएको छ। नियमित रूपमा प्रशस्त शङ्‌खेकीरा खाएपछि आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको धेरै मानिसहरूले अनुभव गरेका छन्‌।

आज शङ्‌खेकीराको खोलबाट बनाइने गरगहनाको व्यापार-व्यवसाय फस्टाइरहेको छ। अघिल्तिर फुकेको ओंठजस्तो आकारको गुलाबी रङको खोल सुन्दर हुन्छ र सङ्‌कलकहरूमाझ यस किसिमको खोल अत्यन्त लोकप्रिय छ। तथापि, शङ्‌खेकीरा स्वादिष्ट परिकारको रूपमा नै धेरै लोकप्रिय छ। वर्षौंको दौडान नयाँ-नयाँ परिकार तयार गर्ने कूकहरूले यस परिकारलाई अझ मीठो तरिकामा पकाउने विभिन्‍न विधि पत्ता लगाएका छन्‌।

मुखै रसाउने परिकार

यस भेगमा फ्रिज आउनुभन्दा अघि शङ्‌खेकीरालाई सुकाएर राखिन्थ्यो। सर्वप्रथम यसलाई मुङ्‌ग्रोले कुटेर कमलो बनाइन्थ्यो। त्यसपछि मासुलाई केही दिनको लागि घाममा सुकाइन्थ्यो अथवा सञ्चय गरेर राखिन्थ्यो। पकाउनअघि नरम बनाउन मासुलाई केही घण्टा पानीमा भिजाइन्थ्यो। यसरी सञ्चय गरिएको शङ्‌खेकीराको स्वाद अझै पनि धेरैलाई मनपर्छ।

स्थानीय तथा नव-आगन्तुक दुवैलाई साँदेको शङ्‌खेकीरा खूब मनपर्छ। शङ्‌खेकीरालाई काँचै खान सकिन्छ। खोलभित्रबाट मासु काटेर निकालिन्छ र टोक्न सकिने साइजका टुक्राहरूलाई सेरली, भेडे खुर्सानी, खुर्सानी, प्याज र गोलभेंडासित मिसाइन्छ। अनि नुन, ताजा कागती र सुन्तलाको रस त्यसमा हालिन्छ। समुद्री माछा वा शङ्‌खेकीराहरू काँचै खाने सोच्दा मात्र पनि तपाईंलाई दिगमिग लाग्छ भने शङ्‌खेकीरालाई पकाउन सकिने अन्य थुप्रै विधिहरू छन्‌। यद्यपि, होसियार हुनुहोस्‌। शङ्‌खेकीरा पकाउँदा सबैभन्दा पहिला यसलाई मुङ्‌ग्रोले कुटेर कमलो बनाउनुहोस्‌। नत्र शङ्‌खेकीरा चाम्रो र रबरजस्तै हुनेछ।

शङ्‌खेकीरालाई बफाएर, उसिनेर, घाममा सुकाएर, सेकाएर, खस्रो पारेर, बर्गर बनाएर र भात वा सूपसित खान सकिन्छ। साँच्चै भन्‍ने हो भने, यसलाई बनाउने थुप्रै तरिकाहरू छन्‌। शङ्‌खेकीराको चप र बाक्लो सूप भोक जगाउन खाने गरिन्छ। यी परिकार तयार गर्ने आधारभूत विधिहरू एउटा पुस्ताले अर्को पुस्तालाई सिकाउँदै आएका छन्‌। त्यसैले बहामासको सुन्दर टापुमा जानुहुँदा शङ्‌खेकीरा नचाखी चाहिं घर नफर्कनुहोला। यसबाट तपाईंले टापुको वास्तविक अनुभव बटुल्नुहुनेछ। (g05 2/22)

[पृष्ठ २३-मा भएको पेटी/चित्र]

खस्रो पारिएको शङ्‌खेकीरा (सबैभन्दा तल देखाइएको)

सान्ड्रा नाउँकी एक स्थानीय पत्नी तथा आमा खस्रो पारेको शङ्‌खेकीरालाई स्वादिष्ट ढङ्‌गमा पकाउने आफ्नो तरिका बताउँछन्‌: “सबैभन्दा पहिला शङ्‌खेकीरालाई पूरा कमलो बनाउनुहोस्‌। नुन र मरीच मिसाइएको पीठोमा दलिसकेपछि यसलाई फिटेको अण्डामा मजाले डुबाउनुहोस्‌। रातो-रातो होउन्जेलसम्म शङ्‌खेकीरालाई तातो तेलमा भुट्‌नुहोस्‌। त्यसपछि न्याप्किन पेपरमा तेल सोसिन दिनुहोस्‌ र त्यसमा कागतीको झोल लगाउनुहोस्‌।

यस प्रकार तयार पारिएको शङ्‌खेकीरालाई साधारणतया फ्रेन्च फ्राइ र केचप अथवा मटर अनि भातसित दिने गरिन्छ। खस्रो पारेको शङ्‌खेकीरालाई टार्टर सस्‌सित पनि खान सकिन्छ। जमाएर राखिएको शङ्‌खेकीरा अक्सर निर्यात गरिने भएकोले तपाईं बस्नुहुने ठाउँमा पनि यो पाउनुपर्ने हो। चाखिहेर्नुहोस्‌ न, हुन्‍न? तपाईंलाई यो असाध्यै मनपर्न सक्छ।

[पृष्ठ २३-मा भएको चित्र]

दायाँदेखि: रानी शङ्‌खेकीराको खोल; शङ्‌खेकीरा पक्रने व्यक्‍तिले पींधमा सिसाजडित सोली आकारको बाल्टी र डन्डी प्रयोग गर्दै; शङ्‌खेकीरा निकाल्दै; शङ्‌खेकीराको बाक्लो सूप; शङ्‌खेकीराको सलाद; शङ्‌खेकीराको चप; केरा र सिमल तरुलसित शङ्‌खेकीराको सेकुवा