सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पशुजगतमा पालनपोषण

पशुजगतमा पालनपोषण

पशुजगतमा पालनपोषण

स्पेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

मानव आमाबाबुले बच्चा हुर्काउन अक्सर दुई दशक जति बिताउँछन्‌। तर धेरै पशुहरूले गृष्मऋतुको केही महिनाभित्रैमा बच्चालाई पालनपोषण नगरी र प्रशिक्षण नदिई धरै पाउँदैनन्‌। केही पशु आमाबाबुहरूले हरेक दिन कत्तिको कठिन काम गर्नुपर्दो रहेछ भन्‍ने कुरा केही उदाहरणहरूले देखाउँछ।

१. सारस सँगैको फोटोको सारसलाई गर्मीको छुट्टी मनाउने फुर्सतै हुँदैन। बेला-बेलामा गुँडको टालटुल गर्नु त छँदै छ, खन्चुवा बचेराहरूलाई खुवाउन भ्यागुता, साना माछा, छेपारो वा फट्याङ्‌ग्रा खोज्न घरी-घरी नजिकैको तलाउ धाउनै पर्छ। दिनभरिजसो आमाबाबुहरू ओहोरदोहोर गरिरहन्छन्‌। भर्खरका बचेराहरूले उधुमै खान्छन्‌। तिनीहरूले यत्ति खान्छन्‌ कि सुरु-सुरुका केही हप्ता त एक दिनमा आफ्नो तौलको आधा जति खानेकुरा खान सक्छन्‌! उड्‌न सिकिसकेपछि पनि अझै केही हप्तासम्म पनि तिनीहरू आमाबाबुमै भर पर्छन्‌।

२. चितुवा चितुवाहरूको प्रायजसो सधैं एकल परिवार हुन्छ र बच्चाहरू हुर्काउने काम प्रायः आमाले नै गर्छे। तीनदेखि पाँचवटा बच्चालाई दूध चुसाउन आमा आफैले प्रशस्तै खानुपर्ने भएकोले हरेक दिनजसो सिकारको खोजी गर्नुपर्छ। सिकार खोज्न सजिलो छैन किनकि धेरैजसो सिकारहरू उम्कछन्‌। सिंहहरू सधैं आमा नभएको मौका छोपी चितुवाका बच्चाहरूको सिकार गर्ने धुनमा हुने भएकोले आमाले घरीघरी आफ्नो परिवारलाई विभिन्‍न गुफामा सारिरहनुपर्छ। बच्चा सात महिनाको भएपछि आमाले तिनीहरूलाई आफ्नो लागि आफैले सिकार गर्न सिकाउन थाल्छे र यसले धेरै समय लिन्छ। यसरी सिकाउन वर्षदिन अथवा त्योभन्दा बढी समय लाग्न सक्छ। बच्चाहरू अक्सर एकदेखि डेढ वर्षसम्म आमासितै बस्छन्‌।

३. लिटिल ग्रीब (गोताखोर चरा) लिटिल ग्रीब र यसका चल्लाहरू प्रायः जिन्दगीभर छुट्टिंदैनन्‌। फुलबाट चल्ला कोरलिने बित्तिकै तैरिरहेको गुँडलाई छोड्‌दै तिनीहरूले आमाबाबुको पिठ्यूँ खोजिहाल्छन्‌। चल्लाहरू हुर्किसकेका लिटिल ग्रीबको पखेटा र ढाडका प्वाँखहरूबीचको पिठ्यूँमा चढ्‌छन्‌। बुबा र आमा पौडँदा चल्लाहरूले त्यहाँ न्यानो र सुरक्षा पाउँछन्‌। चल्लाहरूलाई बोक्न र आहारा खोज्न आमाबुबाले पालैपालो डुबुल्की लगाउँछन्‌। चल्लाहरूले डुबुल्की लगाउने र आफ्नो लागि आफैले भोजन खोज्न छिट्टै सिके तापनि आमाबाबु र तिनीहरूबीचको बन्धन केही समयसम्म रहिरहन्छ।

४. जिराफ अक्सर जिराफले एक पटकमा एउटाभन्दा बढी बच्चा जन्माउँदैन र यसको कारण बुझ्न त्यति गाह्रो त छैन। सँगैको फोटोमा देखाएको जस्तै भर्खरै जन्मेको जिराफको तौल ६० किलो र उचाइ दुई मिटरसम्म हुन सक्छ! जन्मेको एक घण्टामै जिराफ उभिन सक्छ अनि यसले तुरुन्तै आमाको दूध चुस्छ। जन्मेको केही समयपछि नै बच्चा चर्न थाले तापनि नौ महिनासम्म यसले आमाको दूध चुसिरहन्छ। खतरा आइपर्ने बित्तिकै बच्चा सुटुक्क आमाको खुट्टाको बीचतिर पसिहाल्छ किनकि आमाको शक्‍तिशाली लातले अधिकांश सिकारीहरूबाट यसलाई बलियो सुरक्षा दिन्छ।

५. किङ्‌गफिसर किङ्‌गफिसर चरो आफ्ना बचेराहरूको लागि माछा समात्न कुशल त हुनै पर्छ र साथमा छानी-छानी माछा समात्न पनि यो खप्पिस हुनैपर्छ। पन्छीविद्‌हरूले पत्ता लगाएअनुसार भर्खरै कोरलिएका बचेराहरूलाई बुबाआमा दुवैले एक देखि दुई सेन्टिमिटरसम्मको साना माछाहरू खुवाउँछन्‌। आमाबाबुले माछाको टाउको अगाडिपट्टि फर्काएर चुच्चोले राम्ररी च्याप्छन्‌। यसो गर्दा भोकाएका बचेराहरूलाई खान सजिलो हुन्छ किनकि तिनीहरूले सजिलै आफ्नो आहाराको टाउको सबैभन्दा पहिले निल्न सक्छन्‌। बचेराहरू हुर्कंदै जाँदा बुबाआमाले अलि ठूलो माछा ल्याउँछन्‌। बुबाआमाले चारो खुवाउने क्रम पनि बढाउँदै लान्छन्‌। पहिले प्रत्येक बचेरालाई करिब ४५ मिनेटको अन्तरमा खुवाइन्छ। तर बचेराहरू १८ दिनका भएपछि तिनीहरूको भोक अचम्मकै हुन्छ, हरेक १५ मिनेटमा तिनीहरूलाई एउटा माछा चाहिन्छ! फोटोमा देखिएको बचेराले गुँड छाडिसकेको छ र अब छिट्टै त्यसले आफ्नो लागि आफैले माछा मार्नेछ। तपाईंलाई लाग्ला, बल्ल आमाबाबुले बच्चाको पालनपोषणबाट मुक्‍ति पाउने भए। तर कहाँ पाउनु! अक्सर गर्मीका महिनामा अरू बच्चाहरू जन्मेपछि फेरि त्यही प्रक्रिया सुरु भइहाल्छ।

हो, विभिन्‍न जनावरहरूले आफ्ना बच्चाहरू कसरी हुर्काउँछन्‌, त्यो अझै थाह हुन सकेको छैन। तर प्रकृतिविद्‌हरूले जति धेरै कुराहरू पत्ता लगाउँछन्‌, पशुजगत्‌मा बच्चा हुर्काउने सहज ज्ञान एउटा शक्‍तिशाली तत्त्व हो भन्‍ने कुरा त्यति नै स्पष्ट हुँदै जान्छ। पशुहरूमा त यस्तो गुण राखेर सृष्टि गर्ने सृष्टिकर्ताले मानिसजतिले आफ्ना छोराछोरीलाई आवश्‍यक पालनपोषण गरेको नचाहने त कुरै भएन। (g05 3/22)