सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भेनिस—समुद्रको बीचमा रहेको सहर”

भेनिस—समुद्रको बीचमा रहेको सहर”

भेनिस—समुद्रको बीचमा रहेको सहर”

इटालीका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“समुद्रको बीचमा एउटा रमणीय सहर छ। फराकिला तथा साँघुरा सडकहरूमा समुद्रको पानी कहिले बढ्‌दै त कहिले घट्‌दै बगिरहेको छ; अनि दरबारको सङ्‌गमरमरको भित्तामा नुनिलो समुद्री लेउ टाँसिएका छन्‌।”—साम्यल रजर्स, अङ्‌ग्रेज कवि, १८२२.

यो “रमणीय सहर” भेनिस हो। भेनिस पहिला एउटा ठूलो गणतन्त्रको राजधानी थियो र यसले एउटा विशाल देश तथा समुद्री साम्राज्यमाथि शताब्दीयौंसम्म राज गरेको गर्व गर्न सक्थ्यो। यो सहर “समुद्रको बीचमा” कसरी अनि किन बसालियो? यसले यत्रो सान कसरी हासिल गर्न सक्यो? यसको साम्राज्य कसरी पतन भयो अनि भेनिसको वैभवको आज के बाँकी छ?

अमित्रैलो ठाउँ

एड्रियाटिक समुद्रको उत्तरपश्‍चिमी छेउमा रहेको कच्छ अर्थात्‌ जलाशयको बीचमा भेनिस अवस्थित छ र यो ११८ वटा टापुहरूको संगालो हो। नजिकैको समुद्रमा गएर मिल्ने नदीहरूले त्यति गहिरो नभएको समुद्री किनारामा पाँगो माटो निकै थुपार्छ। यहाँ ज्वारभाटा र करेन्टको उतारचढावले गर्दा बनेका बगरहरूले ५१ किलोमिटर लामो र १४ किलोमिटर जति चौडा एउटा शान्त कच्छ बनाएको छ। समुद्रतिर बग्ने तीनवटा साँघुरा घाटीबाट एक मिटर अग्लो ज्वारभाटा छिर्न सक्छ भने डुङ्‌गाहरू पनि आवतजावत गर्न सक्छन्‌। एउटा स्रोत यसो भन्छ, “एड्रियाटिकसम्म जाने वा नदी वा क्याराभानको बाटो हुँदै मध्य वा उत्तरी युरोपबाट ओर्लने व्यस्त ट्राफिकको लागि यो कच्छले शताब्दीयौंको लागि एउटा बिसौनीको काम गरेको छ।”

यस सहरका प्रमुख भागहरूको सुरुवात सा.यु. पाँचौंदेखि सातौं शताब्दीको बीचतिर भएको हुनुपर्छ भनी विद्वान्‌हरूले पत्ता लगाएका छन्‌। त्यसताका यहाँ उत्तरबाट आएका फिरन्तेहरूको ओइरो लाग्न थाल्यो अनि तिनीहरूले मुख्य भूमिमा बसोबास गरिरहेका जनसमुदायलाई आगो लगाइदिनुका साथै लुटपाट मच्चाउन थाले। यी लुटपाट मच्चाउनेहरू आइपुग्नुअघि नै मानिसहरू भागे अनि पुग्न कठिन तर सुरक्षित कच्छ टापुहरूमा शरण लिए।

पुरातन कागजातहरूले देखाएअनुसार यहाँको पहिलो निर्माणकार्य माटोमा गाडेका काठमा एकअर्कासित गाँसिएका मसिना हाँगा वा नर्कटको जगमा बनाइएको थियो। पछि गएर भने भेनिसवासीहरूले हजारौं काठको थाकमाथि ढुङ्‌गाका घरहरू बनाउन थाले। पछि गएर सहरको केन्द्रमा परिणत भएको रिआल्टोजस्ता कच्छ टापुहरू अक्सर जलमग्न हुन्थे अनि त्यहाँ ओइरिरहेका आवासीहरूको चाप धान्‍न नसक्ने र अपर्याप्त थियो। यी टापुहरूबाट पानी हटाएर जमिन विस्तार गर्ने पुरातन प्रणाली अपनाउनु पर्थ्यो। त्यसकारण, त्यहाँका बासिन्दाहरूले डुङ्‌गा प्रयोग गर्न नहरहरू खने अनि अझ राम्रा निर्माण थलोहरू बनाउन ती टापुहरूलाई मजबुत पारे। पुलबाट ओहोरदोहोर गर्न सकिने नहरहरू, जहाँ पदयात्रीहरू हिंड्‌न सक्थे, त्यो नै त्यहाँको बाटो बन्‍न पुग्यो।

गणतन्त्रको सुरुआत र विस्तार

पश्‍चिममा रोमी साम्राज्यको पतन भएपछि कच्छ टापुहरू बाइजान्टिन साम्राज्यको नियन्त्रणमा परे र यो साम्राज्यको राजधानी कन्स्टान्टिनोपलमा थियो जुन अहिलेको इस्तानबुलमा पर्छ। तथापि, कच्छ समुदायहरूले विरोध गरेर आफू स्वतन्त्र राज्य भएको घोषणा गरे। फलस्वरूप भेनिस एउटा यस्तो अवस्थामा पुग्यो जुन “ड्युकको नियन्त्रणमा रहेको” अनौठो “ठाउँ बन्यो र यो दुइटा ठूलठूला साम्राज्यहरूको बीचमा” अर्थात्‌ फ्रांक र बाइजान्टिनहरूको बीचमा रहन पुग्यो। यस्तो विशेष अवस्थाले गर्दा यो एउटा “ठूलो व्यापारिक मध्यस्थ सहरको” रूपमा विकास हुन र फस्टाउन सक्यो।

त्यसपछिका शताब्दीहरूमा भेनिसले भूमध्यसागरीय इलाकामा आफू विरुद्ध खडा भएका विभिन्‍न सेनाहरूसँग लड्यो। यसमध्ये सारासेन, नर्मन, बाइजान्टिन थिए। अन्ततः यी सबैभन्दा भेनिस शक्‍तिशाली भयो र यसरी शक्‍तिशाली हुनको लागि सन्‌ १२०४ मा चौथो क्रुसेडलाई अर्कैतिर मोडेर आफ्नो सबैभन्दा शक्‍तिशाली प्रतिद्वन्द्वी कन्स्टान्टिनोपललाई विनाश गर्नुपरेको थियो। भेनिसले ब्ल्याक सी, एजियन लगायत ग्रीस, कन्स्टान्टिनोपल, सिरिया, प्यालेस्टाइन, साइप्रसमा थुप्रै व्यापारिक केन्द्रहरू स्थापना गरिसकेको थियो। अनि यसले बाइजान्टिन साम्राज्यको पतनको फाइदा उठाउँदै यी व्यापारिक केन्द्रहरूमध्ये थुप्रैलाई भेनिस अधीनस्थ उपनिवेशहरू बनायो।

“भूमध्यसागरकी मालिक्नी”

बाह्रौं शताब्दीको सुरुतिरै भेनिसका जहाजहरू उत्पादन गर्ने ठूलठूला स्थानहरूबाट प्रत्येक केही घण्टामा पूर्णतया सुसज्जित जहाजहरू उत्पादन हुन्थ्यो। स्थानीय उद्योगले सिसा र विलासी कपडाहरू उत्पादन गर्थ्यो—जस्तै, लेस, ब्रोकेड, डामास्क र मखमल। भेनिस र विदेशका व्यापारीहरूले पश्‍चिमबाट बारुद, घोडा, गहनापातमा प्रयोग गरिने पहेंलो रङको पदार्थ, भुवा, काठ, ऊन, मह, मैन र दासहरू ल्याउँथे। अर्कोतर्फ, भूमध्यसागरको पूर्वी किनाराका मुस्लिम मुलुकहरूबाट भने सुन, चाँदी, रेसम, मरमसला, सुती, रङ, हस्तिहाड, अत्तर र अरू थुप्रै सरसामानहरू आयात गरिन्थ्यो। सहरका अधिकृतहरूले पनि सहरभित्र छिर्ने र त्यहाँका बजारहरूबाट अन्यत्र पठाइने सबै सामानहरूमा कर लगाउँथे।

प्रख्यात वास्तुविद्‌ तथा कलाकारहरूले सिंगारेको भेनिसलाई ला सरानेसिमा भनेर वर्णन गरिएको छ र त्यसको अर्थ हो, “सबैभन्दा शान्त” वा “सुन्दर” र त्यस्ता प्रख्यात व्यक्‍तिहरूको नाउँ लिनुपर्दा पालाडियो, टिशेन र टिन्टोरेटोजस्ता नाउँहरू आउँछन्‌। यसैकारण यो सहरलाई “भूमध्यसागरकी मालिक्नी” भन्‍न सुहाउँछ जुन “सभ्य संसारको सबैभन्दा धनी तथा संवृद्ध सहर” थियो। शताब्दीयौंसम्म यस्तै अवस्था रह्‍यो अनि १६ औं शताब्दीतिर जब व्यापारको प्रमुख केन्द्र आन्द्र महासागर र पश्‍चिमी गोलार्द्धतिर सऱ्‍यो तब यसको शक्‍ति क्षीण हुँदै गयो।

भूमध्यसागरको वरपर फैलिएका भेनिसका उपनिवेशहरू भौगोलिक दृष्टिकोणबाट एकअर्काबाट टाढा थिए र एउटै साझा सरकारको छत्रछायाँमा कहिल्यै परेनन्‌ वा एउटा सिङ्‌गो मुलुकको रूपमा पनि रहन सकेनन्‌। त्यसकारण यी उपनिवेशहरू ढिलो होस्‌ वा चाँडो, कुनै बेला त अवश्‍य गुम्ने थियो। वरपरका राष्ट्रहरूले एउटा एउटा गरेर भेनिसको सम्पत्तिमाथि कब्जा जमाउन थाले अनि अन्ततः नेपोलियन प्रथमले सन्‌ १७९७ मा यो कच्छ सहरमाथि विजय हासिल गरेर अस्ट्रियासित गाभे। सन्‌ १८६६ मा भेनिस इटालीको भाग बन्यो।

स्वप्नरूपी सहर

धेरैलाई भेनिसको भ्रमण दुई तीन सय वर्षअघिको संसारमा प्रवेश गरेजस्तो लाग्छ। यो सहरको आफ्नै किसिमको वातावरण छ।

एउटा पक्ष हो, यो ठाउँ एकदमै शान्त छ। अक्सर, साँघुरा गल्लीहरूमा बटुवाहरू आवतजावत गर्छन्‌ र यो नहरको ट्राफिकभन्दा अलग्गै छ अनि कुनै-कुनै ठाउँमा मात्र नहरको छेउबाट वा नहरमा बनाइएका गुम्बज आकारका ढुङ्‌गे पुलहरू भएर ओहोरदोहोर गर्नुपर्ने हुन्छ। यहाँ मोटरबाट चल्ने सवारीसाधन भनेकै डुङ्‌गाहरू मात्र हुन्‌ किनभने यहाँको सडक भनेकै नहरहरू हुन्‌। यो सहर रमणीय दृश्‍यहरूले भरिपूर छ। सेन्ट मार्क्स्‌ स्क्वेरमा विशाल चर्च, घण्टाघर अनि एकदमै भव्य पानीको फोहरा छ र यसको हरियो कच्छमा घामका किरणहरू पर्दा कलाकारहरूको लागि निकै मोहक हुन्छ।

सेन्ट मार्क्स्‌ स्क्वेरको खुला ठाउँमा हुने व्यस्त क्याफेहरूमा पर्यटक तथा स्थानीय बासिन्दाहरू त्यतिकै ओइरिन्छन्‌। यहाँ तपाईंले सानो शास्त्रीय वाद्यटोलीको सङ्‌गीत सुन्दै कुनै पेय पदार्थ वा जेलाटो अर्थात्‌ एक प्रकारको आइसक्रिमको मजा लिन सक्नुहुन्छ। बटुवाहरूलाई हेर्दै अनि वरपरको सुन्दर वास्तुकलामा मग्न हुँदै एउटा पनि गाडी नगुडेको वातावरणको मजा लिंदा साँच्चै अतीतमा फर्केजस्तो लाग्न सक्छ।

कलाकृतिहरूको खजानाको खोजीमा लागेकाहरूको लागि भने यो सहरमा एउटा विशेष आकर्षण छ। त्यहाँ अनगन्ती दरबार, सङ्‌ग्रहालय र चर्चहरूमा थुप्रै प्रख्यात कलाकारहरूका पेन्टिङहरू छन्‌। तर कोही-कोही पर्यटकहरू भने यी साँघुरा गल्लीहरूमा टहल्दै अनि नयाँ-नयाँ दृश्‍यहरू हेरेरै मक्ख पर्छन्‌। यो सहरका विशेषताहरू बिक्री गरिने पसलहरू प्रशस्तै छन्‌—बुरोनोको कच्छ टापुमा बनाइने लेस र एम्ब्रोइडरी गरिएका चीजबीजहरू अनि मुरानोको उत्कृष्ट क्रिस्टल तथा काँचका सामान। भेपोरेटो वा मोटरबोटको छोटो यात्रा पनि एउटा छुट्टै किसिमको अनुभव हो र यो यात्रा गरेर तपाईं मुरानो वा बुरानोमध्ये कुनै एउटा टापुमा गएर ती सामानहरू कसरी उत्पादन गरिन्छन्‌ भनेर हेर्न सक्नुहुन्छ।

चुच्चो तथा साँघुरा गुम्बज भएका आलिसान दरबारहरूले ती विगतका दिनहरूमा पूर्वी एसियाको प्रभावको प्रमाण दिन्छ। ग्राण्ड कनालमाथिको प्रख्यात रिआल्टो ब्रिज यस सहरको प्रमुख बाटो हो अनि यहाँको पानीमा कुनै आवाज ननिकाली बग्ने सुलुत्त परेका कालो गन्डोला अर्थात्‌ डुङ्‌गाहरूले पर्यटकहरूको ध्यानाकर्षण गर्छ।

अझै पनि बचावको लागि सङ्‌घर्षरत

“सुन्दर गणतन्त्र” भेनिसको पतन भएको दुई शताब्दीपछि पनि यसले बचावको लागि अझै पनि सङ्‌घर्ष गरिरहेको छ तर बेग्लै किसिमको। सन्‌ १९५१ मा यस ऐतिहासिक केन्द्रका बासिन्दाहरूको संख्या १,७५,००० थियो भने सरसम्पत्तिको अचाक्ली मूल्य, कामको अभाव अनि अपुग आधुनिक सुविधाहरूले गर्दा सन्‌ २००३ मा जनसंख्या घटेर ६४,००० पुग्यो। जटिल सामाजिक तथा आर्थिक समस्याहरू समाधान गर्नुपर्छ अनि खस्कँदै गएको यो सहरलाई नयाँ बनाउने हो भने कसरी गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको छ।

सन्‌ १९२० को दशकमा स्थानीय अर्थतन्त्रलाई उकास्नेछ भन्‍ने आशामा यसको मुख्य भूभागमा एउटा नयाँ औद्योगिक क्षेत्र विकास गरियो अनि प्रशोधन केन्द्रसम्म आयल ट्याङ्‌करहरू पुगोस्‌ भनेर नहरमा गहिरो सुरुङ मार्ग खनियो। उद्योगले गर्दा धेरैले रोजगारीको मौका पाए तर प्रदूषण अनि अक्वा अल्टा (उच्च पानी) भनिने हानिकारक उच्च ज्वारभाटाको लागि यही उद्योगलाई दोषी ठहराइएको छ जसले यहाँको ऐतिहासिक केन्द्रलाई जलमग्न बनाएर सहरको धेरैजसो भाग ओझेलमा पारेको छ।

यहाँ कच्छको वातावरण र पानीको चलहलले गर्दा सहरको बचाव नै संकटमय अवस्थामा पुग्नु कुनै नौलो कुरा होइन। कच्छको मुखलाई पाँगो माटोले पुर्न खोजेको नदीलाई सन्‌ १३२४ तिरै भेनिसवासीहरूले अर्कैतिर मोड्‌ने ठूलो काम थालेका थिए। एड्रियाटिक समुद्रको पानीको वेगले कच्छलाई नबिगारोस्‌ भनेर १८ औं शताब्दीमा तिनीहरूले समुद्रीकिनारमा बाँधहरू निर्माण गरे।

अहिले जत्तिको नाजुक अवस्था पहिला कहिल्यै भएको थिएन। आशा छ, औद्योगिक प्रयोगको लागि भूमिगत अक्वीफायरको ह्रासले गर्दा जमिनको सतह तल भास्सिनाले देखापरेको समस्या सुल्झाइनेछ तर संसारभरि नै समुद्रको सतह बढिरहेको छ। यसबाहेक, पानीले जमिन खाएको हुँदा कच्छको इलाका सानो भएको छ अनि जमिन र पानीबीचको सन्तुलन खल्बलिएको छ। उच्च ज्वारभाटाले खतरा सृजना गरेको धेरै भइसक्यो तर अहिले जत्तिको भयावह भने पहिला कहिल्यै भएको थिएन। अनि २० औं शताब्दीको सुरुतिर सेन्ट मार्क्स स्क्वेर वर्षको पाँचदेखि सात पटक जलमग्न भएको थियो। त्यसको एक शताब्दीपछि भने एक वर्षभित्रै ८० चोटि जलमग्न भयो।

भेनिसको असाधारण ऐतिहासिक तथा कलात्मक सम्पदाको साथै यसले सामना गरेका समस्याहरूले अन्तरराष्ट्रिय चासो जगाएको छ। यसको बन्दरगाहको गतिविधि वा यहाँका जनसाधारणको दैनिक जीवनमा कुनै असर नपर्ने गरी यस सहरलाई उच्च ज्वारभाटाबाट जोगाउन र वातावरणको संरक्षण गर्नको लागि विशेष विधान पारित गरिएको छ। त्यसो गर्ने सर्वोत्तम तरिका कुन हो भन्‍ने विवाद भने अझै टुङ्‌गिएको छैन।

नहरका बाँधहरूलाई अझ अग्लो बनाउन, मुनिको माटोबाट माथितिर पानी छिर्न नदिन अनि आक्वा अल्टा भनिने अवस्थामा म्यानहोलबाट ढलको पानी माथि निस्कन नदिनको लागि विभिन्‍न कामहरू हुँदैछन्‌। सबैभन्दा महत्त्वपूर्ण तथा सबैभन्दा विवादास्पद कदम चाहिं कच्छका द्वारहरूमा यताउता सार्न मिल्ने गरी अवरोधहरू निर्माण गर्ने योजना हो र यो पानीको सतह बढ्‌दा अझ अग्लो बनाइनेछन्‌।

यसो गर्न निकै समय अनि स्रोतसाधन चाहिन्छ। “समुद्रको बीचमा रहेको रमणीय सहरले” एउटा रोमाञ्चकारी अतीतको प्रमाण दिन्छ तर थुप्रै लेखकहरूले टिप्पणी गरेअनुसार “बाहिरबाट आएका मानिसहरूले यो सहरलाई एउटा सङ्‌ग्रहालय बनाउने वा स्थानीयवासीहरूलाई त्यहाँबाट अन्यत्र सर्न” बाध्य तुल्याउन सक्ने खतरा छ। भेनिसले कठिन प्राकृतिक वातावरणको सामना गर्नुपरेको धेरै भइसक्यो तर “सामाजिक र आर्थिक तवरमा नवजागृत, मानिसहरू बसोबास गरेको, जीवन्त अनि सक्रिय सहर बनाउनको लागि सुरक्षा प्रदान नगरेको खण्डमा यस्तो प्राकृतिक प्रतिरक्षा मात्र पर्याप्त हुनेछैन।” (g05 3/22)

[पृष्ठ १६-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

भेनिस

[पृष्ठ १६-मा भएको चित्र]

ग्राण्ड कनालमाथिको रिआल्टो ब्रिज

[पृष्ठ १७-मा भएको चित्र]

सान जोर्जियो माज्योर

[पृष्ठ १७-मा भएको चित्र]

सान्ता मारिया डेला सालुट

[पृष्ठ १८-मा भएको चित्र]

ग्राण्ड कनालका रेस्टुराँहरू

[पृष्ठ १८-मा भएको चित्र]

सेन्ट मार्क्स्‌ स्क्वेर जलमग्न भएको अवस्था

[स्रोत]

Lepetit Christophe/GAMMA

[पृष्ठ १६-मा भएको चित्र]

Map: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.; background photo: © Medioimages