सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

घामबाट बच्न जलगैंडाको सनस्क्रिन

“जलगैंडाले रौं नभएको आफ्नो चिल्लो शरीरलाई घामबाट बचाउन मानिसहरूले प्रयोग गर्ने सनस्क्रिन जस्तै किसिमको पदार्थ निकाल्छ” भनी लन्डनको दी इन्डिपेन्डेन्ट रिपोर्ट गर्छ। टोकियो चिडियाखानाको जलगैंडाले निकालेको तरल पदार्थ परीक्षण गरेर हेरेपछि त्यसले जलगैंडाको छालालाई उष्णप्रदेशीय घाम र धूलोबाट कसरी जोगाउँदो रहेछ भनेर क्योटो, जापानका वैज्ञानिकहरूले थाह पाए। कुनै रङ नभएको बाक्लो र चिपचिपे पदार्थ बिस्तारै रातो, त्यसपछि खैरो अनि प्लास्टिकजस्तो बन्छ। यो खैरो रङमा परिणत हुँदा अल्कालीबाट अत्यन्तै एसिडयुक्‍त बन्छ अनि एकदमै कडा एन्टिसेप्टिकजस्तो काम गर्छ। यो खैरो पत्रले बजारी सनस्क्रिनले जस्तै अल्ट्राभायोलेट किरण सोसेर सूर्यको किरणबाट बचाउने सनस्क्रिनको काम गर्छ। तर शृङ्‌गार कम्पनीहरूले निकट भविष्यमा जलगैंडाको सनस्क्रिन बजारमा बिक्री गर्न थाल्ने सम्भावना देखिंदैन किनभने उक्‍त अध्ययनको रिपोर्टले देखाएअनुसार पहिलो त, संसारमा एकदम थोरै मात्र जलगैंडाहरू छन्‌ अनि दोस्रो कारण हो, यिनीहरूले निकाल्ने यो झोल पदार्थ एकदमै दुर्गन्धमय हुन्छ। (g05 3/22)

जनावरहरूबीचको मित्रता

किसान र गोठालाहरूले यो कुरा अनुमान गरेको धेरै भइसक्यो तर जीवविज्ञानी आन्या भासिलाभ्स्कीले गरेको अध्ययनले कुन कुरा स्पष्ट पार्छ भने, खुर भएका जनावरहरूले आफ्नै बगाल वा समूहका अर्को जनावरसित व्यक्‍तिगत मित्रता गाँस्न सक्छन्‌। घोडा, गधा, भेडा र गाईवस्तुबारे अध्ययन गरेकी भासिलाभ्स्कीअनुसार जनावरहरू अक्सर सँगै बसेर, आराम गर्दा वा खाँदा एकअर्काको शरीरसित स्पर्श गरेर अनि आफ्नो चारा बाँडचुँड गरेर अनि एकअर्काको जीउ सफा गर्ने अनि कन्याउने गरेर यस्तो मित्रता देखाउँछन्‌। उदाहरणका लागि, अर्को भेडासित आफ्नो साथीको झगडा भएको थियो भने भेडाले त्यस साथीको टाउको रगडिदिन्छ। यस्तो व्यवहारले भेडालाई शान्त बनाउनुका साथै आराम दिन्छ जस्तो देखिन्छ भनी जर्मन अखबार डी जाइट बताउँछ। गधाहरूले अक्सर एउटा मात्र साथी बनाउँछन्‌ तर तिनीहरूको मित्रता लामो समयसम्म रहन्छ। तथापि, जनावरहरूलाई मानिसजस्तो गरी व्यवहार नगर्नको लागि अनुसन्धाताहरू यस्तो सामाजिक बन्धनको कार्य र असरहरूबारे अनुमान लगाउँदा होसियार हुन्छन्‌। (g05 3/8)

चीनमा साइकलको तुलनामा गाडी

“ ‘साइकलको देश’ भनेर संसारभरि चिनिने चीनमा अहिले भने अवस्था अर्कै भएको छ” भनी क्यानाडाको अखबार टोरोन्टो स्टार बताउँछ। चिनियाँ अर्थतन्त्र फस्टाइरहेको हुँदा मानिसहरू साइकलभन्दा गाडी चढ्‌न थालेका छन्‌। उदाहरणका लागि, १० वर्षअघि ६० प्रतिशतको तुलनामा हाल बेइजिङका २५ प्रतिशत बासिन्दाहरू मात्र साइकलमा यात्रा गर्छन्‌। स्टार यसो भन्छ, “बेइजिङमा मात्रै प्रति वर्ष ४,००,००० को दरले सडकमा गाडीको संख्या बढ्‌दैछ।” यसको फलस्वरूप, त्यस सहरमा “प्रति घण्टा औसतन १२ किलोमिटरको दरले मात्र गाडी हाँक्न सकिन्छ।” नेसनल जियोग्राफिक-को रिपोर्टअनुसार चीनमा सन्‌ २००३ को दौडान “नव संवृद्ध पेसेवरहरूले २० लाखभन्दा बढी गाडी किने र यो सन्‌ २००२ भन्दा ७० प्रतिशतले बढी हो।” साइकलभन्दा पेट्रोलबाट चल्ने गाडीमा यात्रुहरूको निर्भरताले गर्दा “संसारमा अत्यधिक तेल खपत गर्ने देशहरूमध्ये जापानलाई उछिनेर चीन दोस्रो स्थानमा पुगिसक्यो भन्‍न सकिन्छ।” तैपनि, चीनमा अझै पनि ४७ करोड जति साइकलहरू छन्‌। (g05 1/22)

पाण्डा र बाँस

“बडेमाको पाण्डा चीन र वन्यजन्तु संरक्षणको प्रतीक हो र मानिसहरूले यो लोप हुन लागेका जनावरहरूको सूचीमा पर्छ भन्ठानेका थिए तर अवस्था वास्तवमा त्यत्तिको नाजुक छैन” भनी लन्डनको द डेली टेलिग्राफ बताउँछ। प्रकृतिको लागि विश्‍वव्यापी कोष र चिनियाँ सरकारले गरेको चारवर्षे अध्ययनअनुसार प्राकृतिक अवस्थामा १,००० देखि १,१०० जति पाण्डाहरू छन्‌ भन्‍ने सोचाइ थियो तर वास्तवमा १,५९० भन्दा बढी नै रहेछन्‌। खोजतलास गर्नुपर्ने इलाका पत्ता लगाउन भूउपग्रह प्रणाली (ग्लोबल पोजिसनिङ सिस्टम) लगायत उच्च प्रविधि अपनाएर ठ्याक्क कति वटा छन्‌ भनेर थाह पाउन सकियो। संरक्षणविद्‌हरूको लागि यो सुसमाचार भए तापनि इङ्‌ग्ल्याण्ड, केम्ब्रिजको वर्ल्ड कन्जर्भेसन मनिटरिङ सेन्टरले चेतावनी दिएअनुसार बडेमाको पाण्डाको मुख्य भोजन बाँस भने वन फँडानीले गर्दा अत्यन्तै खतरामा परेको छ। बाँस एकदमै द्रुत गतिमा विनाश हुनुको कारण “हरेक जातका फूलहरू २० देखि १०० वर्षको अन्तरालमा एकै चोटि फुल्छन्‌ अनि त्यसपछि मर्छन्‌” भनी लन्डनको द गार्जियन रिपोर्ट गर्छ। (g05 3/8)

लामखुट्टे मार्ने धूपबारे सावधानी

कीराहरू भगाउनको लागि एसियामा प्रयोग गरिने मच्छरधूप विशेष गरी केटाकेटीको लागि एकदमै हानिकारक हुन सक्छ भनी भारतबाट प्रकाशित हुने डाउन टु अर्थ पत्रिका बताउँछ। पहिलो कुरा त, बिस्तारै बल्ने धूपले फोक्सोको क्यान्सर गराउने कडा कार्सिनोजेन निकाल्छ भनी सं.रा.अ.-को क्यालिफोर्निया विश्‍वविद्यालयका वैज्ञानिकहरू बताउँछन्‌। विकासोन्मुख मुलुकका थुप्रै परिवारहरूले आफ्नो सानो घरभित्र पनि धूप बाल्छन्‌। उक्‍त अध्ययनकर्ताहरू यसो भन्छन्‌, “त्यति मात्र होइन, राती सुत्ने बेला झ्यालढोका ढ्यामढुम थुन्छन्‌।” मलेसिया र संयुक्‍त राज्य अमेरिकाका वैज्ञानिकहरूले गरेको दोस्रो अध्ययनअनुसार एउटा धूप आठ घण्टासम्म बाल्दा त्यसले “७५ देखि १३७ वटा चुरोटको धुवाँले निकाल्ने जति पदार्थहरू निकाल्छ।” यसको विकल्पस्वरूप विशेषज्ञहरू नीमको रूखबाट बनाइएका वनस्पति उत्पादनहरू प्रयोग गर्ने सुझाव दिन्छन्‌। “ती प्रभावकारी र स्वास्थ्यको लागि राम्रो हुनुका साथै सस्तो पनि छन्‌” भनी उक्‍त रिपोर्ट बताउँछ। (g05 3/8)

वेट लिफ्टिङले अवकाशप्राप्त व्यक्‍तिहरूको निराशा कम गर्छ

एउटा अध्ययनले देखाएअनुसार “वेट लिफ्टिङले वृद्धहरूमा निराशा ५० प्रतिशतले कम गर्न सक्छ” भनी अस्ट्रेलियन अखबार बताउँछ। तसर्थ, वयस्कहरूमा निराशा कम गर्न वेट लिफ्टिङले औषधीले जस्तै काम गर्न सक्छ भनी सिड्‌नीको रोयल प्रिन्स अल्फ्रेड हस्पिटलका डा. नलिन सिंह बताउँछन्‌ जो वृद्धहरूका समस्या तथा रोगहरू सम्बन्धी विशेषज्ञ हुन्‌। औसतन ७२ वर्षका ६० जना पुरुष तथा स्त्रीहरू सामेल भएको अध्ययनअनुसार कठिन मेहनत गर्नु नपर्ने व्यायाम गरेकाहरूले समेत “सामान्य औषधोपचार पाएका तर वेट लिफ्टिङ नगरेकाहरूको निराशा ३० प्रतिशतले कम भएको पाए” भनी अस्ट्रेलियन बताउँछ। वेट लिफ्टिङले निराशा कम गर्नुको अलावा “बूढो हड्डी र मांसपेशीलाई बलियो बनाउँछ अनि वृद्धहरूलाई लड्‌नदेखि जोगाउँछ। यसले बाथ, मधुमेह र उच्च रक्‍तचाप नियन्त्रण गर्न पनि मदत गर्छ” भनी उक्‍त पत्रिका बताउँछ। “विशेष गरी वृद्धहरूमा हुने निराशा कम गर्न आधारभूत उपचारको रूपमा” वेट लिफ्टिङ गर्ने सुझाव सिंह दिन्छन्‌। (g05 3/22)

एकदमै छिटो-छिटो जिब्रो निकाल्ने छेपारो

सिकार समात्नको लागि छेपारोले अत्यन्तै तेज गतिमा आफ्नो जिब्रो कसरी निकाल्छ? न्यु साइन्टिस्ट पत्रिका यसो भन्छ, “यसको रहस्य के हो भने, जिब्रो बाहिर निकाल्नुअघि घुयेंत्रोको इलास्टिकले जस्तो शक्‍ति सञ्चय गर्ने एक किसिमको रचना यसको जिब्रोमा हुन्छ।” छेपारोको जिब्रोमा “एक्सलरेटरको काम गर्ने मांसपेशीलाई” चारैतिरबाट बेर्ने तन्तुहरू हुन्छन्‌ भनेर वैज्ञानिकहरूलाई थाह थियो। अहिले, एउटा स्लो-मोसन भिडिओबाट खिचेर डच अनुसन्धाताहरूले कुन कुरा पत्ता लगाएका छन्‌ भने, जिब्रो निकाल्नुभन्दा केवल २०० मिलिसेकेण्डअघि “छेपारोले एक्सलरेटरजस्तो मांसपेशीद्वारा शक्‍तिलाई तन्तुहरूको बीचमा पठाउँछ अनि टेलिस्कोपका खण्डहरूमा जस्तै कोच्छ। छेपारोले जिब्रो निकाल्नेबित्तिकै यसरी जम्मा भइरहेको शक्‍ति २० मिलिसेकेण्डभित्रमै निस्कन सक्छ” र आफ्नो सिकारलाई समात्न “जिब्रो फुत्त निकाल्छ।” (g05 3/22)