हिमालहरूलाई कसले बचाउनेछ?
हिमालहरूलाई कसले बचाउनेछ?
स न् २००२ मा किर्गिजस्तानको बिस्केकमा (मध्य एसिया) चार दिनसम्म अन्तरराष्ट्रिय पर्वतीय शिखर सम्मेलन आयोजना गरिएको थियो। हिमालसित सम्बन्धित विषयहरूमा छलफल गर्न आयोजना गरिएको पहिलो अन्तरराष्ट्रिय बैठक यही नै थियो। सन् २००२ “हिमालहरूको वास्तविक महत्त्व बुझ्ने नयाँ युगको सुरुवात” हुनेछ भन्ने आशा आयोजकहरूले गरेका थिए।
यो शिखर सम्मेलनले हिमालको संरक्षणसित सम्बन्धित सबैको लागि मार्गनिर्देशन समावेश भएको “बिस्केक पर्वतीय घोषणापत्र” सर्वसम्मतले पारित गऱ्यो। यसको घोषित लक्ष्य “हिमालका मानिसहरूको जीवनस्तर उकास्नु, पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण गर्नु र अझ बुद्धिमानीपूर्वक पर्वतीय स्रोतसाधनहरूको सदुपयोग गर्नु” थियो।
केही प्रगतिहरू पक्कै भएका छन्। राष्ट्रिय निकुञ्जहरूको विश्वव्यापी सञ्जालले उल्लेखनीय सुन्दरता र जैविक विविधता भएका क्षेत्रहरूको संरक्षण गर्छ। वातावरणीय विनाशको उर्लंदो भेललाई रोक्ने काममा संसारका थुप्रै भागका संरक्षण समूहहरूले केही हदसम्म भने पनि सफलता प्राप्त गरेका छन्। बिस्केकमा भएको पर्वतीय शिखर सम्मेलनपछिको एउटा प्रारम्भिक कार्ययोजना किर्गिजस्तानका पर्वतहरूमा थुपारिएको आणविक फोहोरहरू सफा गर्ने ठोस प्रतिबद्धता थियो। यो अत्यन्तै विषाक्त पदार्थले मध्य एसियाका २० प्रतिशत मानिसहरूले पिउने पानीको आपूर्तिलाई खतरामा पारेको थियो।
यद्यपि, संसारका हिमालहरू संरक्षण गर्ने काममा आइपर्ने कठिनाइहरू अझै पनि चुनौतीपूर्ण छन्। उदाहरणका लागि, ब्रिटिश कोलम्बियाको बाँकी रहेको वर्षे वन जोगाउन सन् १९९५ मा क्यानाडाका अधिकारीहरूले “वनजङ्गल आचारसंहिता” लागू गरे। तथापि, त्यसपछि गरिएको एउटा अध्ययनले देखाएअनुसार काठ कम्पनीहरूले अक्सर यो आचारसंहिता पालन गरेनन् र असाध्यै भिरालो ठाउँका रूखहरू समेत सफाचट पारे। यो आचारसंहिता असाध्यै कडा भयो भनी काठ कम्पनीहरूले विरोध गरेको कारण सन् १९९७ मा अलि खुकुलो पारियो।
व्यापारिक स्वार्थ मात्र अवरोध होइन। पर्वतीय पारिस्थितिक प्रणाली द्रुत गतिमा विनाश हुनुमा युद्ध, गरिबी र भोकमरी सबैको दोष छ भनी बिस्केक शिखर सम्मेलनको अन्तिम वक्तव्यमा उल्लेख गरियो। प्राकृतिक वासस्थानको विनाशका यी सबै भित्री कारणहरू जबसम्म रहिरहन्छन्, तबसम्म हिमालहरूका साथै यस ग्रहका अरू सबै क्षेत्रहरूले पनि नकारात्मक असरहरू भोगिरहनुपर्नेछ।
आफ्नो सृष्टिप्रति परमेश्वरको चासो
यस्तो निराशाजनक अवस्थाको बावजुद हामीसित आशावादी हुन सक्ने कारण छ। आफ्नो सृष्टिलाई जेसुकै होस् भनेर सर्वशक्तिमान् परमेश्वर हात बाँधेर बस्नुहुन्न। “पहाडका चुचुराहरू पनि उहाँकै हुन्” भनी बाइबल बताउँछ। (भजन ९५:४) उहाँ हिमालका जीवजन्तुहरूको पनि चासो राख्नुहुन्छ। भजन ५०:१०, ११ अनुसार यहोवा यसो भन्नुहुन्छ: “जङ्गलको हरेक जन्तु, र हजारौं डाँडाहरूका गाई-भैंसीहरू मेरै हुन्। पर्वतका सबै पक्षीलाई मैले चिनेको छु। र वनका सारा जङ्गली जन्तु मेरै हुन्।”
के परमेश्वरसित यस संसारको सङ्कटग्रस्त वातावरणलाई जोगाउने कुनै उपाय छ? हो, पक्कै छ! उहाँले ‘एउटा राज्य खडा गर्नुभएको छ जो कहिल्यै नाश हुनेछैन’ भनी बाइबल बताउँछ। (दानियल २:४४) उक्त स्वर्गीय सरकारको नियुक्त राजा येशू ख्रीष्टले पृथ्वी र यसका बासिन्दाहरूमा विशेष चासो राख्नुहुन्छ। (हितोपदेश ८:३१) उहाँको शासनले पृथ्वीमा शान्ति स्थापना गर्नेछ, निजी स्वार्थको लागि प्राकृतिक सम्पदाको दुरुपयोगको अन्त गर्नेछ र यस ग्रहलाई पुगेको सबै क्षति हटाएर फेरि पहिलेकै अवस्थामा फर्काउनेछ।—प्रकाश ११:१८.
तपाईं यस्तो समाधान चाहनुहुन्छ भने ‘परमेश्वरको राज्य आओस्’ भनेर पक्कै पनि प्रार्थना गरिरहनुहुनेछ। (मत्ती ६:९, १०) यस्ता प्रार्थनाहरूको पक्कै सुनुवाइ हुनेछ। परमेश्वरको राज्यले चाँडै नै अन्यायको अन्त गर्नेछ र यस ग्रहलाई पुगेको क्षति हटाउनेछ। यस्तो हुँदा लाक्षणिक रूपमा हिमालहरू ‘आनन्दले एकसाथ गाउनेछन्।’—भजन ९८:८. (g05 3/22)