सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हिमालहरू खतरामा छन्‌

हिमालहरू खतरामा छन्‌

हिमालहरू खतरामा छन्‌

“हिमाली क्षेत्रहरूले आउँदो थुप्रै पुस्तासम्म आफ्नो अमूल्य सम्पदा उपलब्ध गराइरहन सकून्‌ भनेर त्यस कार्यमा योगदान पुऱ्‍याउँदा प्रत्येकले लाभ उठाउन सक्छन्‌।—कोफी अन्‍नान, संयुक्‍त राष्ट्रसंघका महासचिव।

हिमालबारे सोच्ने बित्तिकै तपाईंको मनमा भव्यता, स्थिरता र शक्‍तिको दृश्‍य आउँछ। प्रकृतिका यी विशाल वस्तुहरूलाई के कुनै कुराले खतरामा पार्न सक्ला र? पृथ्वीका हिमालहरू खतरामा छन्‌ भन्‍ने कुरा विश्‍वास गर्न कसै-कसैलाई गाह्रो लाग्ला। तर वास्तविकता यो हो कि हाम्रा हिमालहरू साँच्चै खतरामा छन्‌। संरक्षणविद्‌हरू यस्ता थुप्रै समस्याहरूबारे उल्लेख गर्छन्‌ जसले हिमालहरूको पारिस्थितिक प्रणालीलाई बिस्तारै-बिस्तारै कमजोर पार्छ। यी सबै समस्याहरू गम्भीर छन्‌ र अवस्था दिन प्रतिदिन नाजुक हुँदैछ। हिमालहरूलाई खतरामा पारिरहेका केही समस्याहरू विचार गर्नुहोस्‌।

विकास परियोजनाहरू। संसारका लगभग २५ प्रतिशत हिमाली क्षेत्रहरू सडक, खानी, पाइपलाइन, बाँधहरू र आगामी ३० वर्षको लागि योजना गरिएका अन्य विकास परियोजनाहरूको कारण खतरामा छन्‌। सडक निर्माणले भिराला सतहहरूमा भूक्षय निम्त्याउन सक्छ र सडक बनेपछि वन फँडानी गर्नेहरू सजिलै त्यस ठाउँसम्म पुग्न सक्छन्‌ र तिनीहरूले पुऱ्‍याउने क्षति अझ धेरै हुन सक्छ। खानीबाट हरेक वर्ष लगभग दस अरब टन कच्चा पदार्थहरू निकालिन्छ, जसमध्ये अधिकांश हिमाली क्षेत्रहरूबाट निकालिन्छ र त्योभन्दा पनि बढी परिमाणमा फोहोर पदार्थ उत्पादन हुन्छ। a

विश्‍वव्यापी उष्णता। “अहिलेसम्म रेकर्ड गरिएका नौवटा सबैभन्दा गर्मी वर्ष सन्‌ १९९० देखि यताका हुन्‌” भनी वर्ल्डवाच इन्स्टिच्युट बताउँछ। अनि यसले विशेष गरी हिमाली वासस्थानहरूमा प्रभाव पारेको छ। हिमनदीहरू पग्लिरहेका छन्‌ र हिमालमा हिउँ घट्‌दैछ अनि केही वैज्ञानिकहरू अनुसार यो एउटा यस्तो प्रक्रिया हो जसले जल भण्डारमा असर गर्नेछ र ठूलठूला पहिरोहरू निम्त्याउनेछ। हिमालय पर्वतका थुप्रै हिमतालहरू विस्फोट हुने र विनाशकारी बाढी ल्याउने खतरामा छन्‌ अनि गएका केही दशकहरूमा बारम्बार यस्तो भइसकेको छ।

जीविका खेती। जनसंख्याको चापले गर्दा मानिसहरू उत्पादन कम हुने क्षेत्रहरूमा समेत खेती गर्न बाध्य भएका छन्‌। एउटा अध्ययनअनुसार अहिले अफ्रिकाको झन्डै आधाजसो हिमाली क्षेत्र खेतीपाती वा गाईवस्तु पाल्नको लागि प्रयोग गरिन्छ—१० प्रतिशत बालीनालीको लागि र ३४ प्रतिशत चरनको लागि। यी उच्च भूभागहरू बालीनाली लगाउन उपयुक्‍त नभएकोले यस्तो खेतीले पुऱ्‍याउने लाभहरू अक्सर नगण्य हुन्छन्‌। b अनि गाईवस्तुहरू धेरै चराउँदा कोमल वनस्पतिहरू सजिलै विनाश हुन्छन्‌। हालै गरिएको एउटा अध्ययनले देखाएअनुसार सम्पूर्ण हिमाली भूभागहरूमध्ये ३ प्रतिशतमात्र दिगो कृषिको लागि उपयुक्‍त छन्‌।

युद्ध। हालैको समयमा आएर गृहयुद्ध बढेकोले थुप्रै पर्वतीय वातावरणलाई तहसनहस पारेको छ। आफ्नो कारबाही अघि बढाउन विद्रोहीहरू हिमाली क्षेत्रहरूलाई आधार इलाकाको रूपमा प्रयोग गर्छन्‌। संयुक्‍त राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार “हिंसात्मक मानव द्वन्द्वले” अफ्रिकाको ६७ प्रतिशत हिमाली भूभागलाई असर गरेको छ। साथै, कतिपय उच्च भूभागहरू लागूऔषध उत्पादन गर्ने केन्द्रहरू भएका छन्‌, जसको कारण अक्सर सशस्त्र द्वन्द्वका साथै वातावरण विनाश हुन्छ।

केही गर्नुपर्ने पो हो कि?

हिमालमाथि मानव अतिक्रमणका दुस्परिणामहरू देखापर्न थालिसकेका छन्‌। सबै कुरा ठीकठाक चलिरहेको छैन भन्‍ने कुराका थुप्रै लक्षणहरूमध्ये बाढी, पहिरो र पानीको हाहाकार केही मात्र हुन्‌। अहिले आएर सरकारहरूले पनि यसमा ध्यान दिन थालेका छन्‌। फेरि वृक्षारोपण हुँदैछ र केही क्षेत्रहरूमा वनजङ्‌गल फँडानी गर्न निषेध गरिएको छ। मनोरम दृश्‍यहरू र खतरामा परेका वन्यजन्तुका वासस्थानहरूलाई सुरक्षित राख्न राष्ट्रिय निकुञ्जहरू स्थापना गरिएका छन्‌।

तथापि, संरक्षित क्षेत्रले समेत वातावरणीय दबाबको सामना गर्नुपरेको छ। (“प्रकृतिका केही गढहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।) प्रजातिहरू जुन द्रुत गतिमा लोप हुँदै गएका छन्‌, त्यसलाई विचार गर्ने हो भने हिमाली भूभागको संरक्षण गर्ने युद्ध जित्न सकिएको छैन भन्‍ने कुरा प्रस्ट छ। विशेषज्ञहरूले समस्याको पहिचान त गरेका छन्‌ तर अहिलेसम्म बिग्रन नपाएका प्राकृतिक स्थानहरूलाई जोगाउने बृहत्‌ स्तरका प्रयासहरू भने सफल भएका छैनन्‌। “हामीसित भएको वैज्ञानिक ज्ञानको कारण म उत्साहित हुन्छु तर जैविक विविधताका प्रमुख भण्डारहरूको विनाशको कारण निरुत्साहित हुन्छु” चिरपरिचित जीवशास्त्री इ. ओ. विल्सन बताउँछन्‌।

जैविक विविधतामा क्षति पुग्दा यति धेरै चिन्तित हुनुपर्छ र? थुप्रै जीवशास्त्रीहरूको भनाइअनुसार पृथ्वीको जैविक विविधताको संरक्षणबाट मानिसजातिले असंख्य लाभ उठाउँछन्‌। उदाहरण स्वरूप तिनीहरू जैविक विविधताको लागि धनी मानिएको माडागास्करको उच्च भूभागमा पाइने बाह्रमासे फूललाई औंल्याउँछन्‌। ल्युकेमिया भन्‍ने रोग विरुद्ध लड्‌ने महत्त्वपूर्ण औषधी उत्पादन गर्न यो वनस्पति प्रयोग गरिएको छ। साथै, एन्डिज पर्वतको रैथाने वनस्पति, सिङकोनाको रूख, औलोको उपचारमा प्रयोग गरिने कुइनाइन र अरू औषधीहरूको स्रोत रहिआएको छ। हिमाली क्षेत्रहरूमा अरू पनि थुप्रै जडीबुटीहरू पाइन्छन्‌ जसले करोडौंको ज्यान बचाउन मदत गरेको छ। हुन त यीमध्ये कुनै-कुनै हिमाली जडीबुटीहरू होचा भूभागहरूमा पनि सफलतापूर्वक खेती गरिएका छन्‌। तथापि, चिन्ताको विषय यो हो कि ठूलो परिमाणमा हिमाली वनस्पतिहरू विनाश गर्दा औषधीको रूपमा र पोषण तत्त्वको रूपमा बहुमूल्य हुन सक्ने वनस्पतिहरू पत्ता लाग्नुअघि नै मानिसहरूले चालै नपाई नाश गर्न सक्छन्‌।

हाल भइरहेको विनाशलाई के कुनै तरिकामा रोक्न सकिन्छ? यसले पुऱ्‍याएको क्षतिलाई के फेरि पहिलेकै अवस्थामा फर्काउन सकिन्छ? के हिमालहरू सुन्दरता र जैविक विविधताको केन्द्र रहिरहनेछन्‌? (g05 3/22)

[फुटनोटहरू]

a एउटा सुनको औंठी तयार पार्दा औसत तीन टन फोहोर पदार्थ निस्कन्छ।

b अर्कोतर्फ, शताब्दीयौंको दौडान हिमालका आदिवासीहरूले वातावरण नबिगारीकन हिमाली भूभागमा खेती गर्न सिकेका छन्‌।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

उचाइमा पाइने जीवजन्तु

हिमसिंह जसलाई अङ्‌ग्रेजीमा पुमा भनेर पनि चिनिन्छ, यो यसको नाउँअनुसारै मुख्यतया हिमालहरूमा र विशेष गरी रकिज्‌ तथा एन्डिजमा पाइन्छ। मानिसहरूले पुऱ्‍याएको खतराको कारण अरू थुप्रै ठूला मांसहारी जनावरहरूजस्तै यो पनि बिस्तारै-बिस्तारै अझ दुर्गम क्षेत्रहरूतर्फ बसाइँ सर्दैछ।

रातो वा सानो पाण्डा (हाब्रे) हिमालय पर्वतमालामा मात्र (सगरमाथाको तल्लो भेगमा समेत) पाइन्छ। यसको वासस्थान दुर्गम ठाउँमा भए तापनि यसको खाना अर्थात्‌ बाँसका झाँगहरू विनाश हुँदै गइरहेकोले हाब्रे आफ्नो अस्तित्वको लागि सङ्‌घर्ष गर्दैछ।

[स्रोत]

Cortesía del Zoo de la Casa de Campo, Madrid

रातो भालु कुनै समय युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भागहरूमा छ्यासछ्यासती पाइन्थ्यो। अहिले यो जनावर क्यानाडाको रकिज्‌, अलास्का र साइबेरियामा प्रशस्त पाइने भए तापनि युरोपमा भने केही दुर्गम हिमाली क्षेत्रहरूमा मात्र सीमित हुन पुगेको छ। बितेको शताब्दीमा संयुक्‍त राज्य अमेरिकामा यो जनावरको संख्यामा ९९ प्रतिशतले ह्रास आएको छ।

सुनौलो चील अधिकांश उत्तरी गोलार्द्धको हिमाली आकाशको मालिक हो। दुःखको कुरा, पहिले-पहिले यसलाई ‘घृणित पन्छी’ ठानिने भएकोले युरोपमा यसको संख्या घटेर ५,००० जोडीभन्दा कम पुगेको छ।

ठूलो पाण्डाको “अस्तित्व तीनवटा अत्यावश्‍यक कुराहरूमा निर्भर हुन्छ” भनी चिनियाँ वातावरणविद्‌ टाङ सियाङ बताउँछन्‌। ती हुन्‌ “अग्लो हिमाल र गहिरो खोंच भएको ठाउँ, बाँसको बाक्लो झाँग भएको जङ्‌गल र ससाना खोल्साहरू।” एउटा अनुमानअनुसार जङ्‌गलमा १,६०० भन्दा पनि थोरै मात्र पाण्डा जीवित छन्‌।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

प्रकृतिका केही गढहरू

योसेमाइट राष्ट्रिय निकुञ्ज (क्यालिफोर्निया, संयुक्‍त राज्य अमेरिका) सन्‌ १८९० मा स्थापना गरिएको थियो र यसमा प्रकृतिविद्‌ जोन मुइरको ठूलो योगदान छ। यसको मनोहर दृश्‍यले हरेक वर्ष ४० लाख पर्यटकलाई तान्छ। तथापि, यो प्राकृतिक स्थलको संरक्षण गर्ने र प्रकृति प्रेमीहरूलाई थप सुविधाहरू दिने कुराबीच सुन्तलन कायम राख्न निकुञ्जका अधिकारीहरूलाई धौधौ परिरहेको छ।

पोडोकार्पस राष्ट्रिय निकुञ्ज (इक्वेडर) बादलले ढाकिरहने एन्डिजको जङ्‌गलको केही भाग ओगटेर बसेको छ, जो विभिन्‍न प्रकारका वन्यजन्तु तथा वनस्पतिहरू अर्थात्‌ ६०० भन्दा धेरै किसिमका चरा र लगभग ४,००० प्रजातिका वनस्पतिको घर हो। असंख्य मानिसहरूको ज्यान बचाउने कुइनाइन भन्‍ने औषधी यही क्षेत्रमा पत्ता लागेको थियो। अरू थुप्रै निकुञ्जहरूजस्तै यसलाई पनि अनियन्त्रित वन फँडानी र चोरी सिकारीले पिरोलेको छ।

माउन्ट किलिमन्जारो (तान्जानिया) संसारको सबैभन्दा ठूलो ज्वालामुखीमध्ये एउटा र अफ्रिकाको सबैभन्दा अग्लो हिमाल हो। तल्लो भेगमा हात्तीहरू चर्छन्‌ भने हिमाली क्षेत्रमा जायन्ट लोबेलिया र जायन्ट ग्राउन्डसेल जस्ता अनुपम वनस्पतिहरू पाइन्छन्‌। अवैध सिकार, वन फँडानी र पाल्तुपशुहरूको चरन प्रमुख खतराहरू हुन्‌।

टाथा राष्ट्रिय निकुञ्ज (क्यानरी टापु) अनुपम वनस्पतिहरूको संरक्षण क्षेत्र हो, जसले ज्वालामुखीको कारण उजाड भएको दृश्‍यलाई जीवन्त तुल्याइदिएको छ। पर्वतीय ज्वालामुखी टापुहरूमा अक्सर कोमल पारिस्थितिक प्रणाली हुन्छ र बाहिरबाट ल्याइएका नयाँ प्रजातिहरूले यसलाई सजिलै बिगार्न सक्छ।

पिराना र ओर्डिसा राष्ट्रिय निकुञ्ज (फ्रान्स र स्पेन) हिमाली दृश्‍यका साथै त्यहाँ पाइने वन्यजन्तु र वनस्पतिहरूको संरक्षण क्षेत्र हो। युरोपका अरू पर्वतमालाहरू जस्तै पिराना पर्वत पनि स्की गर्ने अर्थात्‌ हिउँमा चिप्लेटी खेल्नेहरूको बढ्‌दो संख्या र पर्यटकहरूको लागि थपिएका अन्य सुविधाहरूको कारण पिरोलिएको छ। परम्परागत कृषि प्रणाली परित्याग गरेको कारण पनि वातावरणमा नकारात्मक असर परेको छ।

सोराक्सन राष्ट्रिय निकुञ्ज कोरियाको सबैभन्दा लोकप्रिय निकुञ्ज हो। ग्रेनाइटका सानदार चुचुराहरू र जङ्‌गलले ढाकिएका भीरहरू विशेष गरी शरद्‌ऋतुमा असाध्यै सुन्दर देखिन्छन्‌। तर यो यत्तिको लोकप्रिय भएको कारण सप्ताहन्तमा यहाँका कुनै-कुनै बाटोहरूमा सहरको पेटी जत्तिकै भीड हुन्छ।

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

हिमाली वनस्पति

टावर अफ ज्वेल्स (जुहारतहरूको धरहरा)। हेर्दैमा भव्य देखिने यो फूल वसन्तऋतुको केही हप्ता मानिसको उचाइ जत्तिकै अग्लो हुन्छ। यो फूल क्यानरी टापुको लगभग १,८०० मिटर अग्लो दुईवटा ज्वालामुखी पर्वतमा मात्र पाइन्छ। हिमालमा पाइने थुप्रै प्रजातिका वनस्पतिहरू यो बिरुवा जस्तै केही खास क्षेत्रहरूमा मात्र पाइन्छन्‌।

कार्लिन थिस्टल आल्प्स्‌ र पिराना पर्वतमा पाइन्छ। हेर्दा सूर्यजस्तै देखिने यसको आकृतिले गर्मी महिनाको अन्ततिर उच्च ठाउँका मैदानहरू हराभरा देखिन्छ र ढकमक्क फुलेको फूलको कारण कीराहरूले अघाउन्जेल खाना पाउँछन्‌।

इङ्‌ग्लिश आइरिस। यो लोभलाग्दो जङ्‌गली फूलको वर्णशङ्‌कर प्रजाति बगैंचामा पनि रोपिन्छ। बगैंचामा लगाइने थुप्रै फूलहरू सुरुमा हिमाली वनस्पतिहरू थिए।

माउन्टेन हाउस्लिक चट्टानका छिद्रहरूमा टाँसिएर उम्रने थुप्रै हिमाली वनस्पतिहरूमध्ये एउटा हो। यसले चट्टानहरूलाई जोडसित पक्रने र लामो समयसम्म बाँच्ने भएकोले दक्षिण युरोपका पर्वतहरूको यो रैथाने प्रजातिको वनस्पतिलाई सदाबहार बिरुवा पनि भनिन्छ।

ब्रोमिलियड। थुप्रै प्रकारका ब्रोमिलियड र सुनगाभाहरू प्रायजसो बादलले ढाकिरहने उष्ण कटिबन्धीय जङ्‌गलहरूमा फस्टाउँछन्‌। यी फूलहरू ४,५०० मिटरसम्मको उचाइमा पाइन्छन्‌।

एलजेरियन आइरिस उत्तर अफ्रिकाको अर रिफ र एटलास हिमालमा पाइन्छ र यो क्षेत्रलाई खतरामा परेका मध्यपूर्वका वनस्पतिहरू प्रशस्त पाइने ठाउँ भनेर छुट्ट्याइएको छ।

[पृष्ठ ६-मा भएको चित्र]

इन्डोनेसियाको माउके पर्वत नजिकैको खानीबाट तामा र सुन निकाल्दै

[स्रोत]

© Rob Huibers/Panos Pictures

[पृष्ठ ८-मा भएको चित्र]

बाह्रमासे फूल