हिमालहरू—हामीलाई किन चाहिन्छ
हिमालहरू—हामीलाई किन चाहिन्छ
“हिमाल चढ्नुहोस् र त्यसले तपाईंलाई कस्ता राम्रा पाठहरू सिकाउँछ, सो सुन्नुहोस्। रूखहरूमा घामको किरण फैलिएझैं प्रकृतिको शान्ति तपाईंमा प्रवेश गर्नेछ। हावाले तपाईंलाई ताजगी दिनेछ र आँधीले शक्ति अनि शरद्ऋतुमा पातहरू झरेझैं सारा फिक्रीहरू बिलाएर जानेछन्।”—जोन मुइर, अमेरिकी लेखक तथा प्रकृतिविद्।
जोन मुइरले झन्डै एक शताब्दीअघि पत्ता लगाएझैं हिमालसित हाम्रा भावनाहरूलाई असर गर्ने शक्ति हुन्छ। त्यसको भव्यताले हामीलाई प्रभावित तुल्याउँछ, त्यहाँका जीव-जन्तुहरूले हामीलाई मोहित पार्छन् र त्यहाँ पाइने शान्तिले हामीलाई तनावमुक्त बनाउँछ। प्राकृतिक सुन्दरताको आनन्द उठाउन र मन बहलाउन हरेक वर्ष करोडौं मानिसहरू हिमाली क्षेत्रहरूतिर घुम्न जान्छन्। “मानव समाज र सभ्यताको लागि धेरै पहिलेदेखि नै हिमाल आश्चर्य र प्रेरणाको स्रोत रहिआएको छ” भनी संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका कार्यकारी निर्देशक क्लाउस टोइप्फर बताउँछन्।
तर हिमालहरू ठीकठाक अवस्थामा भने छैनन्। सजिलै पुग्न नसकिने ठाउँहरूमा भएको कारण हिमालहरू मानव अतिक्रमणबाट पुस्तौंसम्म सुरक्षित थिए। तथापि, अहिले आएर हिमालहरू खतरामा परेका छन्। संयुक्त राष्ट्रसंघले हालै प्रकाशित गरेको एउटा प्रेस विज्ञप्तिले जनाएअनुसार “खेतीपाती, भौतिक संरचनाहरूको निर्माणकार्य र बिस्तारै-बिस्तारै असर गर्ने अरू कुराहरूले गर्दा बचेखुचेका यी प्राकृतिक क्षेत्रहरू द्रुत गतिमा लोप हुँदैछन्।”
हिमालहरूले पृथ्वीको ठूलो भूभाग ओगट्छन्। संसारको आधा जनसंख्या त्यसबाट प्राप्त हुने प्राकृतिक सम्पदाहरूमा भर पर्छन्। अनि करोडौं व्यक्तिहरू हिमाली क्षेत्रमा बसोबास गर्छन्। हिमाल भनेको शान्त र रमणीय दृश्यको पछाडि देखिने मनोरम पृष्ठभूमि मात्र होइन। आउनुहोस्, मानिसजातिको हितमा हिमालहरूले पुऱ्याउने केही योगदानहरू विचार गरौं।
किन हिमालहरू नभई हुँदैन
◼ पानीको भण्डार। ठूलठूला नदीहरूका साथै प्रायजसो जलाशयहरूको लागि पानीको स्रोत हिमालहरू नै हुन्। उत्तर अमेरिकाको कोलोराडो र रियो ग्र्याण्डजस्ता विशाल नदीहरूको प्रमुख स्रोत रकी माउन्टेनहरू हुन्। संसारको कुल जनसंख्यामध्ये आधाजसो मानिसहरू दक्षिणी र पूर्वी एसियामा बसोबास गर्छन्। अनि यीमध्ये अधिकांश व्यक्तिहरू हिमालय-काराकोरम-पार्मिस-तिब्बत क्षेत्रका विशाल हिमशृङ्खलामा हुने वर्षामा निर्भर छन्।
“संसारको पानीका धरहराहरू अर्थात् हिमालहरू पृथ्वीका सबै प्राणीहरू र सबै ठाउँका मानिसहरूको भलाइको लागि अत्यावश्यक छन्” भनी बताउँदै टोइप्फर अझ यसो भन्छन्: “अग्लाअग्ला हिमशृङ्खलाहरूमा हुने घटनाहरूले होचा ठाउँहरूका, नदीहरूका र समुद्रका प्राणीहरूलाई समेत असर गर्छ।” थुप्रै देशका हिमालहरूमा जाडो महिनाको हिउँ जम्मा हुन्छ अनि जीवनको लागि नभई नहुने शीत बनेर वसन्त र ग्रीष्मऋतुमा बिस्तारै-बिस्तारै बर्सन थाल्छ। संसारका सुक्खा भागहरूमा टाढटाढाका हिमालहरूमा पग्लेको हिउँद्वारा बनेका हिमनदीहरूको
पानीद्वारा सिंचाइ गरिन्छ। थुप्रै हिमालका भिराला सतहहरूमा वनजङ्गलहरू छन् जसले वर्षाको पानी स्पन्जले झैं सोस्छन् र भिरालो ठाउँबाट पानी बिस्तारै बगेर खोलामा मिसिन्छ, फलस्वरूप विनाशकारी बाढी आउन पाउँदैन।◼ वन्यजन्तुहरूको प्राकृतिक वासस्थान र जैविक विविधता। हिमाली क्षेत्रहरू दुर्गम हुनुका साथै खेतीपाती पनि राम्रो नहुने भएकोले मानव अतिक्रमणबाट केही हदसम्म भए पनि जोगिएका छन्। फलस्वरूप, हिमालहरू होचा भूभागहरूमा पहिले नै लोप भइसकेका वन्यजन्तु तथा वनस्पतिहरूको आरक्षण स्थल साबित भएका छन्। उदाहरणका लागि, न्यु योर्क सहरभन्दा पनि सानो क्षेत्र ओगटेको मलेसियाको हिमाली क्षेत्रमा पर्ने किनालाबु राष्ट्रिय निकुञ्ज ४,५०० प्रजातिका वनस्पतिहरूको साझा घर हो र यो संख्या सम्पूर्ण संयुक्त राज्य अमेरिकामा पाइने वनस्पतिका प्रजातिहरूको संख्याको एक चौथाइभन्दा बढी हो। चीनको ठूलो पाण्डा, एन्डिजको गिद्द र मध्य एसियाका हिमचितुवाहरूका साथै लोपोन्मुख अन्य असंख्य प्रजातिहरू हिमाली क्षेत्रका वासस्थानमै भर पर्छन्।
नेशनल जियोग्राफीक पत्रिकाले बताएअनुसार “अहिलेसम्म पत्ता लागेका जमिनमा पाइने वनस्पति र मेरुदण्ड हुने प्राणीहरूमध्ये एक तिहाइभन्दा बढी यस ग्रहको २ प्रतिशतभन्दा पनि कम भूभागमा नै पाइन्छन्” भनी केही पर्यावरणविद्हरूले हिसाब निकालेका छन्। राम्रो उब्जाउ हुने र मानिसहरूको पहुँचभन्दा टाढा रहेका क्षेत्रहरूमा थुप्रै प्रजातिहरूको समूह पाइन्छ र यस्ता ठाउँहरूलाई वैज्ञानिकहरू बायोलोजिकल हट स्पट भन्छन्। प्रायजसो हिमाली क्षेत्रहरूमा पर्ने यस्ता स्थानहरूमा पाइने जैविक विविधताबाट हामी सबैले लाभ उठाएका छौं। संसारका केही महत्त्वपूर्ण खाद्यान्नहरू हिमाली क्षेत्रहरूमा उम्रने जङ्गली वनस्पतिहरूबाटै प्राप्त हुन्छ—तीमध्ये केहीको नाउँ लिनुपर्दा मेक्सिकोको पर्वतीय क्षेत्रको मकै, पेरूमा पर्ने एन्डिज पर्वतको आलु र गोलभेंडा अनि ककेससको गहुँको नाउँ लिन सकिन्छ।
◼ मनोरञ्जन र सौन्दर्य। हिमालहरूले प्राकृतिक सौन्दर्यलाई पनि जोगाइराखेका छन्। हिमालमा रहरलाग्दा झरना, सुन्दर तालतलैयाहरू र संसारका सबैभन्दा मनोरम प्राकृतिक छटाहरू पाइन्छन्। संसारका सम्पूर्ण संरक्षित क्षेत्रहरूमध्ये एक तिहाइ हिमाली क्षेत्रहरूमा पर्नु कुनै अचम्मलाग्दो कुरा होइन। अनि पर्यटकहरूले सबैभन्दा बढी मन पराउने गन्तव्य पनि हिमालहरू नै हुन्।
दुर्गम क्षेत्रका राष्ट्रिय निकुञ्जहरूमा समेत संसारभरका करोडौं पर्यटकहरू जान्छन्। उत्तर अमेरिकाको सबैभन्दा अग्लो हिमाल माउण्ट म्याककिन्ले हेर्न अलास्काको डेनाली राष्ट्रिय निकुञ्जमा टाढटाढादेखि मानिसहरू जान्छन्। विशाल किलिमन्जारो र मेरू हिमालहरूको दृश्यावलोकन गर्न अनि यी दुई भव्य चुचुराहरूको बीचमा बसोबास गर्ने जङ्गली जनावरहरूका विशाल समूहहरू हेर्न थुप्रै जना ग्रेट रिफ्ट भ्यालीको यात्रा गर्छन्। हुन त अनियन्त्रित पर्यटनले यो कोमल इकोसिस्टम अर्थात् पारिस्थितिक प्रणालीलाई खतरामा पार्न सक्छ तैपनि यसरी पर्यटकहरू ओइरिंदा हिमाली भेगमा बसोबास गर्ने समुदायहरूलाई भने फाइदा पुग्छ।
हिमालहरूमा सञ्चित ज्ञान
प्रतिकूल वातावरणमा पनि कसरी जीवन निर्वाह गर्न सकिन्छ भनी हिमालमा बसोबास गर्ने मानिसहरूले शताब्दीयौंको दौडान सिकेका छन्। हिमाली भेगका मानिसहरूले भीर-पाखाहरूमा समेत गरा बनाएर आफूलाई खान पुग्ने खेती गरेको दुई हजार वर्ष भइसक्यो। तिनीहरूले अग्लो उचाइमा देखापर्ने समस्याहरूसित जुध्न सक्ने लामा र चौंरी जस्ता स्थानीय जनावरहरू पालेका छन्। अनि हिमालका बासिन्दाहरूसित भएको एक पुस्ताबाट अर्को पुस्तामा सरेको ज्ञानको भण्डार हामी सबैको लागि नभई नहुने हिमालहरूको संरक्षणमा निक्कै अमूल्य साबित हुन सक्छ।
वर्ल्डवाच इन्स्टिच्युटका एलेन थान डर्निङ यसो भन्छन्: “हरेक महादेशका दुर्गम भागहरूमा पाइने अलिअलि मात्र बसोबास भएका ठूलठूला क्षेत्रहरूलाई त्यहींका रैथाने मानिसहरूले मात्र जोगाउन सक्छन्। तिनीहरूसित पर्यावरणीय ज्ञानको भण्डार हुन्छ . . . जसलाई आधुनिक विज्ञानको पुस्तकालयसित तुलना गर्न सकिन्छ।” हिमालका अरू सम्पदाहरूलाई जस्तै यो ज्ञानको भण्डारको पनि जगेर्ना गर्नु आवश्यक छ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले अन्तरराष्ट्रिय पर्वत वर्ष २००२ को आयोजना गऱ्यो। हिमालमाथि मानिसजातिको निर्भरतालाई जोड दिन आयोजकहरूले “हामी सबै हिमालका बासिन्दाहरू हौं” भन्ने पदावली सिर्जना गरे। तिनीहरूको लक्ष्य संसारका हिमालहरूले भोगिरहेका समस्याहरूबारे चेतना जगाउनु र तिनको संरक्षण गर्ने उपायहरू खोज्नु थियो।
यस्तो चासो एकदमै उचित हो। “हिमालहरू प्रचुर प्राकृतिक सम्पदाहरूको स्रोत भए तापनि यहाँका बासिन्दाहरूको समस्या र यहाँको पारिस्थितिक प्रणालीको स्थायित्वमा अक्सर कमै ध्यान दिइएको पाइन्छ” भनी किर्गिजस्तानको राजधानी बिस्केकमा आयोजित २००२ बिस्केक अन्तरराष्ट्रिय पर्वतीय शिखर सम्मेलनको मुख्य भाषणका वक्ताले बताए।
संसारभरिका हिमालहरू र त्यहाँका बासिन्दाहरूले के-कस्ता समस्याहरूको सामना गरिरहेका छन्? यी समस्याहरूले कसरी हामी सबैलाई असर गर्छ? (g05 3/22)