सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आकाशको पानी सङ्‌कलन गर्ने तरिका—पुरानो र नयाँ

आकाशको पानी सङ्‌कलन गर्ने तरिका—पुरानो र नयाँ

आकाशको पानी सङ्‌कलन गर्ने तरिका—पुरानो र नयाँ

भारतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

पृथ्वी र समुद्रको पानी बाफ बनेर आकाशमा बादल बन्‍ने अनि त्यही पानी फेरि पृथ्वीमा झर्ने प्राकृतिक जलचक्र चलिरहेको हजारौं वर्ष भइसक्यो। यो किफायती तरिकाले पृथ्वीमा भएका सबैको लागि प्रशस्त मात्रामा पानी प्रदान गर्छ। यसो भए तापनि मानिसहरूलाई पानीको समस्याले किन यत्तिको पिरोलिरहन्छ? यसका समाधानहरू कस्ता हुन सक्छन्‌? जवाफको लागि, आउनुहोस्‌ भारतमा पानीको अवस्था कस्तो छ, हेरौं।

भारतको जनसंख्या एक अरबभन्दा बढी भएको हुँदा यहाँका पानीका स्रोतहरू दिनानुदिन सुकेर एकदमै नाजुक अवस्थामा पुगिसकेका छन्‌। भारतमा पानी कहाँबाट आउँछ? सुदूर उत्तरमा भने वसन्तऋतुमा हिमालय पर्वतमालाका हिउँ तथा हिमशिलाहरू पग्लिएर नदीहरू पानीले टन्‍न भरिन्छन्‌। तर भारत उपमहादेशको अधिकांश भाग भने सुक्खा जमिन भिजाउन, इनार तथा तालहरू भर्न अनि भारतको एक छेउदेखि अर्को छेउसम्म बग्ने विशाल नदीहरू बढ्‌न वर्षेनी मनसुनको पानीमै निर्भर छन्‌। भारतको मनसुन वर्षाबारे पूर्वानुमान गर्न गाह्रो छ र यो “एकदमै बुझ्नै नसकिने अचम्मको प्रक्रिया” भनेर वर्णन गरिएको छ अनि “आधुनिक प्रविधि हेर्ने हो भने भूउपग्रहदेखि लिएर शक्‍तिशाली कम्प्युटरहरू बनिसकेको युगमा” पनि यहाँको मनसुन वर्षाबारे पूर्वानुमान गर्नु “एकदमै कठिन छ।”

सामान्यतया मनसुन तीन चार महिना लामो हुन्छ तर यो समयभरि एकनासले पानी नपरी कहिलेकाहीं थोरै समयको लागि मुसलधारे वर्षा हुने गर्छ। यसले गर्दा बाँधहरू टन्‍न भरिन्छन्‌ अनि बाँधहरू खोलिदिनुपर्छ। नदी बढेर किनारासम्म पुग्छ जसले खेत र घरहरू जलमग्न बनाउँछ। आधुनिक औद्योगिकरण र सहरीकरणले गर्दा व्यापक तवरमा वन विनाश भएको छ अनि यसैको परिणामस्वरूप आकाशबाट झरेको अनमोल पानी जरामा सञ्चय गर्न अनि त्यो बिस्तारै जमिनलाई सोस्न दिन पर्याप्त रूखहरू छैनन्‌। त्यसकारण पानीको भलले जमिनको सबैभन्दा माथिल्लो तहको माटो बगाउँदा भूक्षय हुन्छ। ताल तथा पोखरीहरूमा पाँगो माटो थुप्रिन थालेपछि पानीको गहिराइ त्यति हुँदैन र पानीको मात्रा पनि कम हुन्छ। यसले गर्दा आकाशबाट झरेको अनमोल पानी धेरैजसो यत्तिकै खेर जान्छ।

अनि मनसुन पनि सिद्धिन्छ। त्यसपछि बाँकी वर्षभरि प्रत्येक दिनजसो टन्टलापुर घाम लाग्छ अनि महिनौंसम्म ऊखुम गर्मी हुन्छ! जमिन सुक्न कति बेर पनि लाग्दैन र खेतहरू घाममा डढेर चर्किन थाल्छन्‌। आँखाले नभ्याउने बडेमाका नदीहरू केवल खहरे खोला हुन्छन्‌। झरनाहरू हराउन थाल्छन्‌। जमिनमुनि राखिएका अक्वीफरहरूबाट पानी निकाल्न इनारहरू झन्‌-झन्‌ गहिरो खन्‍नुपर्छ अनि पानीको मात्रा घट्‌छ। प्रशस्त पानी परेन भने खडेरी हुन्छ, बाली राम्रो हुँदैन, गाईवस्तुहरू मर्न थाल्छन्‌ अनि गाउँलेहरू सहरतिर बसाइँ सर्छन्‌ जसले गर्दा सहरमा पानीको समस्या झनै चर्किन्छ।

तर पहिला-पहिला भने यस्तो हुँदैनथ्यो। पहिला-पहिला भारतको जुनसुकै ठाउँका मानिसहरूले पनि नदी र तालहरूमै पूर्णतया निर्भर हुनु राम्रो होइन भनेर सिकेका थिए किनभने मनसुनमा पानी पर्न रोकिने बित्तिकै ती सुकिहाल्थे। तिनीहरूले आकाशको पानी सङ्‌कलन गर्ने, आफ्ना आवश्‍यक कामकुराहरू गर्न त्यो पानी चलाउने अनि पानी पर्न रोकिएपछि प्रयोग गर्नको लागि सञ्चय गर्ने कला विकास गरे। यसैलाई आकाशको पानी सङ्‌कलन गर्ने तरिका भनियो।

आज आकाशको पानी सङ्‌कलन गर्नुपर्ने आवश्‍यकता

भारतमा कुनै अभाव नभएको आधुनिक प्रविधि अनि ठूलठूला बाँधहरू, ब्यारेज अनि सिंचाइ नहरहरूको निर्माणले गर्दा आकाशको पानी सङ्‌कलन गर्नको लागि कसैले चासो देखाउला र जस्तो लाग्न सक्छ। वास्तवमा मानिसहरूले आफ्नै घर वा गाउँमा धारा खोल्ने बित्तिकै पानी पाउन थालेपछि उक्‍त तरिकाहरू सबै प्रयोग गर्न छोडे। तर त्यो पुरानो तरिकामा चासो देखाउनुपर्ने कारण छ। बढ्‌दो जनसंख्याको आवश्‍यकता तथा लगभग कृषिमै निर्भर समाज अब औद्योगिक समाजमा परिणत भएपछि देखापरेको अवस्थाले गर्दा विगत ५० वर्षमा पानी व्यवस्थापनको लागि थालिएका ठूलठूला परियोजनाहरू असफल भएका छन्‌। भारतका जनताको पानीको आवश्‍यकता पूरा गर्न पर्याप्त पानी सङ्‌कलन गरिएको छैन।

अहिले वातावरणविद्‌ तथा यस समस्याप्रति चासो देखाउने व्यक्‍तिहरूले पानी सञ्चय गर्नको लागि मानिसहरू व्यक्‍तिगत तवरमा अग्रसर हुनुपर्ने आवश्‍यकता महसुस गरेका छन्‌। निजी घर, फ्याक्ट्री, स्कूल अनि अरू जुनसुकै ठाउँमा, जहाँ व्यावहारिक हुन्छ, त्यहाँ ठाउँ सानै भए पनि आकाशको पानी सङ्‌कलन गर्न प्रोत्साहन गरिएको छ। वास्तवमा भन्‍ने हो भने, थुप्रै सहर तथा प्रान्तहरूले नयाँ घर निर्माण गर्दा आकाशको पानी जम्मा गर्ने प्रबन्ध मिलाउनुपर्ने अनिवार्य नियम बनाइसकेका छन्‌!

आकाशबाट झर्ने करोडौं लिटर पानी राम्ररी सञ्चय गरिएको छैन तर यत्तिकै बाफ बनेर उडेर जान्छ वा समुद्रमा बग्छ। आकाशको पानी सङ्‌कलन गर्ने कुरा, आकाशको पानी जहाँ झर्छ, त्यही सङ्‌कलन गर्ने भन्‍ने धारणामा आधारित छ। यसकारण प्रत्येक मानिसले नै आकाशको पानी सङ्‌कलन गर्छन्‌। अनि बाँध र नहरको पानी पैसा तिरेर किन्‍नुपर्ने हुँदा गरिबहरूको लागि चर्को बोझ हुन्छ तर यस्तो आकाशको पानी भने निश्‍शुल्क पाउन सकिन्छ!

अग्रसर हुने

यस समस्याप्रति चिन्तित भारतका थुप्रै मानिसहरू पानी सञ्चय गर्ने कार्यमा संलग्न भइरहेका छन्‌। कोही-कोही त पुरस्कार पाएर अन्तरराष्ट्रिय तवरमा सम्मानित भइसकेका छन्‌। जस्तै, राजेन्द्र सिंहले सन्‌ २००१ मा सामुदायिक विकासको लागि प्रतिष्ठित मागसेसे पुरस्कार प्राप्त गरे। सिंह आफैले स्थापना गरेका गैरसरकारी संगठनद्वारा तिनले राजस्थानको लगभग अस्तित्वविहीन भइसकेको आराभारी नदीलाई पुनर्जीवित पारे। यसले गर्दा देशको लगभग आठ प्रतिशत मानिस बसोबास गर्ने अनि पानीको एक प्रतिशत मात्र स्रोतसाधन भएको राजस्थानको निम्ति अति महत्त्वपूर्ण आशिष्‌ साबित भएको छ। सिंहसित काम गर्ने मानिसहरूका समूहले पन्ध्र वर्षको दौडान थुप्रै रूखहरू रोपे अनि ३,५०० वटा ट्याङ्‌की, पानी सङ्‌कलन गर्नको लागि पहिलेदेखि चलनचल्तीमा भएको जोहाद निर्माण गरे जसले गर्दा स्थानीय गाउँलेहरू संवृद्ध भएका छन्‌। अरू कतिपय भने मानिसहरूले चाल नपाउने गरी पानी जोगाउने काममा लागेका छन्‌ तर आफूले अरूलाई मदत गरिरहेको कुरा थाह पाउँदा तिनीहरू सन्तुष्ट हुन्छन्‌।

आकाशको पानी सङ्‌कलन गर्दा सहरको पानी आपूर्तिमा कत्ति धेरै सहयोग पुग्दो रहेछ भनेर उद्योगपतिहरूले बुझ्न थालेका छन्‌। दक्षिणी भारतको बैंगलोर सहरबाहिरको एउटा फ्याक्ट्रीमा छानाको पानी सङ्‌कलन गर्नको लागि एउटा साधारण अनि कम खर्चिलो संरचना बनाइयो। यो बनाइनुअघि आकाशको पानी राजमार्गतिर बगेर यत्तिकै खेर जान्थ्यो भने अहिले ४२,००० लिटर क्षमता भएको ट्याङ्‌कीमा सङ्‌कलन गरिन्छ। मनसुनको बेला प्रतिदिन सङ्‌कलन गरिने ६,००० लिटर पानी प्रशोधन गरिन्छ र यो भाँडाकुँडा पखाल्न अनि फ्याक्ट्रीको भोजनालयमा प्रयोग गरिन्छ। यी कामकुराको लागि सहरको आपूर्तिबाट अलिकता पनि पानी प्रयोग गरिंदैन।

तपाईं भन्‍नुहोला, ‘यो त बाल्टिनमा एक थोपा पानीजस्तै हो।’ तर मानिलिनुहोस्‌ तपाईंको आफ्नो बैंक खाता छ र तपाईंले वर्षमा एकचोटि मात्र पैसा जम्मा गर्नुहुन्छ। दैनिक खर्चको लागि तपाईंले आफ्नो खाताबाट पैसा निकाल्नुपर्छ तर बिस्तारै बिस्तारै आफूले जति हालेको छ, त्योभन्दा बढी निकाल्नुहुन्छ। यसो गर्नुभयो भने तपाईंले एकदिन ओभरड्राफ्ट अर्थात्‌ उल्टै बैंकलाई पैसा तिर्नुपर्ने पुर्जी पाउनुहुनेछ। तथापि, तपाईंले वर्षको केही महिनाको लागि काम पाउनुभयो अनि त्यसैबाट दैनिक खर्च टार्न यथेष्ट कमाउन सक्नुभयो भने तपाईंको खातामा पैसा अलि बढ्‌नेछ। अब यही सिद्धान्त पानीको सञ्चय गर्ने सन्दर्भमा पनि लागू गर्नुहोस्‌। तपाईंको सानो बचतलाई लाखौं पटक गुणन गर्नुहोस्‌। अब तपाईंसित कति हुनेछ? “नगदको” रूपमा आकाशको पानी सङ्‌कलन गर्न असम्भव हुँदा पानीको स्रोतमा आपूर्ति, पानीको मात्रामा वृद्धि हुनुका साथै अक्वीफरहरूमा पानी बढ्‌नेछ अनि भरपर्दो पानीको स्रोत हुनेछ। एउटा कुरा नबिर्सनुहोस्‌, उपलब्ध पानी सीमित छ; पानी पटक्कै उपलब्ध नहुँदा ओभरड्राफ्ट हुनेछैन।

स्थायी समाधान

हाम्रो ग्रहले यसका बासिन्दाहरूको लागि प्रशस्त मात्रामा आधारभूत आवश्‍यकताहरूको आपूर्ति गर्छ। तथापि, शताब्दीयौंको दौडान मानिसको लोभ अनि अदूरदर्शिताले गर्दा पृथ्वीका करोडौं बासिन्दाहरूले दयनीय अवस्थामा जीवन बिताउनु परिरहेको छ। निष्कपट मानिसहरूको प्रयासको बावजुद पृथ्वीका समस्याहरू पूर्णतया समाधान गर्ने शक्‍ति मानिससित छैन भन्‍ने कुरा स्पष्ट छ। खुसीको कुरा, पृथ्वीको सृष्टिकर्ताले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्ने अनि ‘उजाडस्थानमा पानी फूटेर निस्कन, र मरूभूमिमा खोलाहरू बग्न’ सम्भव तुल्याउनको लागि जलचक्रको सन्तुलनलाई पुनः कायम गर्ने प्रतिज्ञा गर्नुभएको छ। निस्सन्देह, “मृग–तृष्णा दह हुनेछ, र ओबानो भूमिमा पानीका मूल फूट्‌नेछन्‌।” त्यसरी आकाशको पानी सङ्‌कलन गर्न सक्नु कस्तो स्फूर्तिदायी हुनेछ!—प्रकाश ११:१८; यशैया ३५:६, ७. (g05 4/8)

[पृष्ठ २१-मा भएको पेटी/चित्र]

आकाशको पानी सङ्‌कलन गर्ने पुरानो तरिकालाई पुनः प्रयोग गर्ने

बलेंसी: सजिलो र कम खर्चिलो। छाना अलिकता भिरालो बनाउँदा छानाको किनारबाट पाइप हुँदै पानी सङ्‌कलन गर्नकै लागि बनाइएका ड्रमहरूमा जम्मा गरिन्छ। तारको जाली, बालुवा, रोडा र कोइलाको फिल्टरले पानी सफा गर्छ। यो पानी जमिनमुनि वा जमिनमाथि राखिएको ट्याङ्‌कीमा पठाइन्छ। यी ट्याङ्‌कीहरूमा हावा, घाम र जैविक वस्तुहरू छिर्न नदिन राम्ररी बन्द गरिएको हुन्छ; एलम भनिने एक किसिमको रासायनिक पदार्थ राख्दा पानीमा हुने माटोको मात्रा कम हुन्छ अनि ब्लिचिङ पाउडरले पानीमा हुने ब्याक्टेरिया मार्छ। यो पानी बगैंचामा, टोइलेटमा अनि लुगा धुन प्रयोग गर्न सकिन्छ। यसलाई अझ प्रशोधन गरेपछि पिउनयोग्य पनि बनाउन सकिन्छ। बढी भएको खण्डमा पानीको मात्रा बढाउनको लागि इनारमा जम्मा गर्न वा जमिनमुनि सञ्चय गर्न सकिन्छ। यो सहरमा प्रयोग गर्न सकिने सबैभन्दा लोकप्रिय तरिका हो।

नौला: पानी रोक्नको लागि खोलाको छेउमा निर्माण गरिने तटबन्ध। छेउमा रोपिएका छहारी दिने रूखले पानी बाफ बन्‍ने प्रक्रियालाई कम गर्छ अनि ट्याङ्‌कीहरूमा राखिएका औषधीजन्य बोटहरूले पानी सफा गर्छ।

छान्‍ने ट्याङ्‌की, रापत: बलौटे वा ढुङ्‌गे माटोमा आकाशको पानी सञ्चय गर्न निर्माण गरिएका साना ट्याङ्‌कीहरू। यहाँ जम्मा हुने पानीको केही मात्रा प्रयोग गरिन्छ तर बाँकी पानी भने छानिएर अक्वीफरहरूमा जम्मा गरिन्छ जसले गर्दा इनारमा पानी बढ्‌छ।

भण्डार: झरनाको पानी सञ्चय गर्न जमिनमुनि बनाइएका ट्याङ्‌कीहरू हुन्‌ र यो पानी सहरमा प्रयोग गर्नको लागि ट्याङ्‌कीहरूमा सञ्चय गरिन्छ।

कानत: पहाडी इलाकाहरूमा बनाइएका ठाडो खाँबोहरू हुन्‌। यसबाट बग्ने पानी जमिनमुनि सञ्चय गरिन्छ र गुरुत्वाकर्षणले गर्दा एकदम टाढ-टाढाका इनारहरूमा सञ्चय गर्न सकिन्छ।

खण्ड खण्ड भएका ट्याङ्‌कीहरू: आकाशको पानीलाई पाइपद्वारा ट्याङकीमा जम्मा गर्ने अनि त्यो पानी फेरि पठाइने अरू थुप्रै सा-साना ट्याङ्‌कीहरू हुन्‌।

[स्रोत]

Courtesy: S. Vishwanath, Rainwater Club, Bangalore, India

[पृष्ठ २०-मा भएको चित्रको स्रोत]

UN/DPI Photo by Evan Schneider

[पृष्ठ २१-मा भएको चित्रको स्रोत]

UN/DPI Photo by Evan Schneider