सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आजका युवाहरूको लागि मदत

आजका युवाहरूको लागि मदत

आजका युवाहरूको लागि मदत

आजका युवाहरू हुर्किरहेको संसार कहिलेकाहीं भयावह देखिन सक्छ। आफ्ना आमाबाबुहरू छुट्टिएर बस्दा अथवा आमाबाबुले सम्बन्ध-विच्छेद गर्दा कतिपय जवानहरू केवल लाचार भएर हेर्छन्‌। अन्य कतिपयले आफ्ना सहपाठीहरू लागूपदार्थ र अपराधको खतरामा जाकिएको देख्छन्‌। कतिपयले केटा वा केटी दुवै साथीबाट यौनसम्पर्क राख्ने दबाबको सामना गर्छन्‌। अनि अक्सर सबै किशोर-किशोरीहरू कहिलेकाहीं असमझदारी, एकाकीपन र नैराश्‍य जस्ता भावनाहरूबाट पीडित हुन्छन्‌।

आफ्नो सामु आइपरेका चुनौतीहरूको सामना गर्न युवाहरूलाई कुन कुरा चाहिन्छ? डा. रोबर्ट श यस्तो लेख्छन्‌, “छोराछोरीलाई एउटा बलियो नैतिक अडान चाहिन्छ, कुनै स्थायी लङ्‌गर चाहिन्छ जसले जीवनमा तिनीहरूलाई असल मित्रहरू रोज्न, ठीक निर्णय गर्न अनि अरूप्रति समानुभूतिशील हुन मदत गर्छ।” नैतिकताको लागि सबैभन्दा बलियो गढ बाइबल नै हो किनकि यसमा सृष्टिकर्ताका विचारहरू छन्‌। आज हामी बाँचिरहेको समयका समस्याहरूको सामना गर्नका लागि चाहिने कुरा यहोवा परमेश्‍वरबाहेक अरू कसलाई थाह होला र?

एउटा व्यावहारिक, उपयोगी डोऱ्‍याइ

बाइबलका सिद्धान्तहरू व्यावहारिक र उपयोगी छन्‌। यी सिद्धान्तहरू आमाबाबु र अन्य वयस्कहरूको लागि बहुमूल्य छन्‌ जसले युवाहरूलाई सफल वयस्क हुने बाटो सफलतापूर्वक पहिल्याउन मदत गर्छन्‌।

उदाहरणको लागि, बाइबलले व्यावहारिक हुँदै यो कुरा मानिलिन्छ, “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ।” अथवा टुडेज्‌ इङ्‌लिस भर्सन-मा अनुवाद गरिएअनुसार “बच्चाहरूले साधारणतया मूर्ख, लापरवाही कामहरू गर्छन्‌।” (हितोपदेश २२:१५) कुनै-कुनै किशोर-किशोरीहरू उमेरलाई नसुहाउने गरी परिपक्व देखिएलान्‌ तर तिनीहरू अझै अनुभवहीन नै हुन्छन्‌। अनुभवहीन भएको हुनाले तिनीहरू असुरक्षा, लालसा अनि समस्याग्रस्त भावनाहरू सामना गर्न बाध्य हुन्छन्‌ जुन हुर्कंदो उमेरको एउटा भाग नै हो। (२ तिमोथी २:२२) यस्ता युवाहरूलाई कसरी मदत गर्न सकिन्छ?

आमाबाबु र बच्चाहरूबीचको निरन्तर सञ्चारलाई बाइबलले प्रोत्साहित गर्छ। यसले आमाबाबुहरूलाई यस्तो आग्रह गर्छ: “घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठ्‌दा तिनको [परमेश्‍वरका स्तरहरूबारे] चर्चा गर।” (व्यवस्था ६:६, ७) यस्ता कुराकानीको दुइटा फाइदाहरू छन्‌। पहिलो यसले जवानहरूलाई परमेश्‍वरको तौरतरिकाहरूबारे सिकाउँछ। (यशैया ४८:१७, १८) दोस्रो, यसले आमाबाबु र छोराछोरीबीचको कुराकानी कायम गराउँछ। किशोरावस्था कुराकानी विशेष गरी महत्त्वपूर्ण हुन्छ किनकि त्यतिबेला तिनीहरूले लजालु र एक्लोपन महसुस गर्न सक्छन्‌।

हो, धेरैजसो किशोर-किशोरीहरू क्षणिक रूपमा एक्लोपनको सिकार हुन सक्छन्‌। यद्यपि, कोही-कोही अचाक्ली एक्लो महसुस गर्छन्‌। किशोर-किशोरीहरूबारे एउटा सन्दर्भ सामग्री यसो भन्छ, “स्कूलमा साथी बनाउन एकदमै गाह्रो छ, कुराकानी गर्नको लागि कोही पनि हुँदैनन्‌, तिनीहरू एक्लो महसुस गर्छन्‌, अरू साथीहरूको माया पाउन तिनीहरूलाई गाह्रो हुन्छ, आफूलाई मदत चाहिएको बेला कतै जान कोही पनि भेटिंदैन भनी तिनीहरू बताउँछन्‌।” a

आमाबाबु अनि तिनीहरूको चिन्ता गर्ने वयस्कहरूले किशोर-किशोरीप्रति चासो देखाउन सक्छन्‌ अनि तिनीहरूलाई आफ्नो सङ्‌घर्षसित जुझ्न मदत दिन सक्छन्‌। कसरी? किशोर-किशोरीहरूको लागि एउटा पत्रिकाको कार्यकारी सम्पादक यसो भन्छिन्‌, “किशोर-किशोरीहरूको मनभित्र के भइरहेको छ भनेर जान्‍ने एउटै उपाय तिनीहरूलाई प्रश्‍न सोध्नु हो।” हो, आफ्ना मनका चिन्ताहरू पोखाउन युवाहरूलाई समय र धैर्य दुवै चाहिन्छ। तर इनामको लागि गरिने मेहनत खेर जाँदैन।—हितोपदेश २०:५.

व्यावहारिक सीमाको आवश्‍यकता

कुराकानीको साथै युवाहरूको आवश्‍यकता र उनीहरूको भित्री आवाज—व्यावहारिक सीमा हो। बाइबलले भन्छ “छाडा छोडेको छोराले आफ्नी आमालाई लाजमा पार्छ।” (हितोपदेश २९:१५) विज्ञहरू विश्‍वास गर्छन्‌, सम्भवतः स्पष्ट सीमाको अभाव नै युवा अपराधको मूल जड हो। श यसो भन्छन्‌, “बच्चाले जे-जे भन्छ, मनखुसी गर्न दिएमा र बच्चाले कहिल्यै ‘हुँदैन’ भन्‍ने शब्द नसुनेमा अरूको पनि जीवन, भावना, इच्छा-आकाङ्‌क्षाहरू हुन्छन्‌ भनेर उसले कहिल्यै सिक्न पाउँदैन। उसमा समानुभूतिको भाव पूर्णतः विकास नभएसम्म बच्चाले माया गर्न सिक्नेछैन।”

धेरै वर्ष समस्याग्रस्त युवाहरूसित काम गरिसकेका डा. स्टाटन सेमनाऊ यस्तै विचारहरू व्यक्‍त गर्छन्‌। तिनी यस्तो लेख्छन्‌, “कोही-कोही आमाबाबुहरू बच्चाहरूलाई स्वतन्त्र छोडिदिनुपर्छ भनी विश्‍वास गर्छन्‌। विना कुनै सोचविचार, तिनीहरू छोराछोरीमा कुनै बाध्यताहरू अथवा आवश्‍यकताहरू लादिदिंदा छोराछोरीमाथि अनावश्‍यक बोझ थपिनेछ र यसले गर्दा छोराछोरीबाट उसको बाल्यकाल खोसिनेछ भनी तिनीहरू विश्‍वास गर्छन्‌। तर सीमा तोक्न असफल हुँदा बच्चाहरूले विनाशकारी नतिजाहरू भोग्न सक्छन्‌। एकदमै थोरै अनुशासन पाउने केटा-केटीलाई आफूलाई आत्म-अनुशासनमा राख्न कठिन हुन्छ भनेर तिनीहरू बुझ्दैनन्‌।”

के यसको मतलब आमाबाबु कडिकडाउ हुनैपर्छ त? पक्कै होइन। सीमा तोक्नु त प्रभावकारी ढङ्‌गमा बच्चाहरू हुर्काउने एउटा पक्ष मात्र हो। बढी भयो भने कडिकडाउ नियमहरूले घरमा साह्रै कठोर वातावरण सृजना गर्न सक्छ। बाइबल भन्छ: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्‍न नहोऊन्‌।”—कलस्सी ३:२१; एफिसी ६:४.

तसर्थ, समय-समयमा आमाबाबुले निर्देशन दिने र अनुशासन दिने आफ्नो तरिका जाँचिरहनु पर्छ, विशेष गरी जब बच्चाहरू हुर्कन्छन्‌ र तिनीहरूले परिपक्वताको लक्षणहरू देखाउन थाल्छन्‌। जिम्मेवारपूर्ण तरिकामा काम गर्ने जवानहरूको क्षमताअनुसार कुनै खास नियम अथवा सीमाहरूलाई केही खुकुलो वा छाँटकाँट गर्नुपर्ने हुन सक्छ।—फिलिप्पी ४:५.

सञ्चार कायम राख्ने

अघिल्लो लेखमा बताइएझैं संसारको खराबी हटाउन परमेश्‍वरले कुनै कदम चाल्नुअघि संसारले “डरलाग्दो समय” भोग्नेछ भनी बाइबलले भविष्यवाणी गऱ्‍यो। प्रमाणहरूले देखाउँछ हामी अहिले त्यही समयमा बाँचिरहेका छौं—यस ईश्‍वरहीन रीतिरिवाजको “आखिरी दिनमा।” वयस्कहरू जस्तै युवाहरूले पनि “धनका लोभी, . . . स्वाभाविक प्रेम रहितका, . . . असंयमी” गुण देखाउने मानिसहरूद्वारा चिनिने संसारमा सङ्‌घर्ष गर्नै पर्छ।—२ तिमोथी ३:१-५. b

कुनै आमाबाबुलाई आफ्नो किशोर छोराछोरीसित कुराकानी टुटेको जस्तो लाग्छ भने बिस्तारै कुराकानी गर्दै लगेर आमाबाबुले सञ्चार कायम गर्न कदम चाल्न सक्छन्‌। खुसीको कुरा, धेरै आमाबाबुहरू एउटा सकारात्मक स्रोत बन्‍न र आफ्ना छोराछोरीको जीवनमा साँच्चै सामेल हुन कडा सङ्‌घर्ष गर्दैछन्‌।

यसको लागि बाइबल एउटा सबैभन्दा बहुमूल्य औजार हो। यसले धेरै आमाबाबुलाई आफ्नो भूमिका पूरा गर्न मदत गरेको छ अनि विनाशकारी खाडलहरूबाट बच्न युवाहरूलाई मदत गरेको छ। (व्यवस्था ६:६-९; भजन ११९:९) बाइबल सृष्टिकर्ता यहोवाले दिनुभएको हुनाले आजका युवाहरूलाई यसले सर्वोत्तम मदत दिन सक्छ भनेर हामी ढुक्क हुन सक्छौं। c (g05 4/8)

[फुटनोटहरू]

a सोही सन्दर्भ यसो भन्छ, कहिलेकाहीं मात्र एकाकीपन महसुस गर्ने किशोर-किशोरीहरू जस्तो नभई अचाक्ली एकाकीपन महसुस गर्ने किशोर-किशोरीहरू अधिकांश समय र धेरै लामो समयसम्म एक्लो महसुस गर्छन्‌। “कुनै साथी नभईकनै मेरो सारा जीवन बित्नेछ, यो समस्या कहिल्यै हल हुन सक्दैन, गल्ती सब मेरै हो,” अनि “परिस्थिति कहिल्यै परिवर्तन हुन सक्दैन र हुनेछैन” भन्‍ने तिनीहरूलाई लाग्छ।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय ११ हेर्नुहोस्‌।

c यहोवाका साक्षीहरूले युवा जनहरूका प्रश्‍न—तथा त्यसका उपयोगी जवाफ नामक बाइबल आधारित पुस्तक साह्रै उपयोगी पाएका छन्‌। यसका ३९ वटा अध्यायहरू नै सोचनीय प्रश्‍नहरूमाथि केन्द्रित छ। केही शीर्षकहरू यस प्रकार छन्‌: “म साँचो मित्रहरू कसरी बनाउनसक्छु?” “साथीहरूले दबाब दिंदा के गर्ने?” “एकाकीपन कसरी हटाउने?” “के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?” “लागू पदार्थको विरोध किन गर्ने?” “विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?”

[पृष्ठ १०-मा भएको चित्र]

समस्याको समाधानको लागि आफूलाई ख्याल राख्ने वयस्कसित आफ्ना फिक्रीहरू पोखाउनुहोस्‌