सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आजका युवाहरूले भोगिरहेका दबाबहरू

आजका युवाहरूले भोगिरहेका दबाबहरू

आजका युवाहरूले भोगिरहेका दबाबहरू

सबै अवस्थाहरू ठ्याक्कै मिले तापनि किशोरावस्था सङ्‌कटमय हुन सक्छ। यौवनावस्थामा प्रवेश गर्ने बेला किशोर-किशोरीहरूमा नयाँ विचार तथा भावनाहरू उर्लिन्छन्‌। तिनीहरूले दिनहुँ शिक्षक र साथीभाइहरूबाट आउने दबाबको समाना गर्छन्‌। तिनीहरू टिभी, चलचित्र, सङ्‌गीत र इन्टरनेटको खराब असरको सिकार हुन्छन्‌। अतः संयुक्‍त राष्ट्रसंघको एउटा रिपोर्टले किशोरावस्था “एउटा चरणबाट अर्को चरणमा प्रवेश गर्ने अवस्था हो जसलाई अक्सर तनाव र फिक्रीले चिनाउँछ,” भनी व्याख्या गर्छ।

दुःखको कुरा, सकारात्मक ढङ्‌गमा तनाव र फिक्रीहरूको सामना गर्न किशोर-किशोरीहरू अक्सर साह्रै अनुभवहीन हुन्छन्‌। (हितोपदेश १:४) उचित डोऱ्‍याइ नपाएमा तिनीहरू सजिलै विनाशकारी आनीबानीमा फस्न सक्छन्‌। उदाहरणको लागि, संयुक्‍त राष्ट्रसंघको रिपोर्ट यसो भन्छ, “अनुसन्धानहरूले देखाएअनुसार लागूऔषधको दुर्व्यसन अक्सर किशोरावस्था अथवा किशोरावस्था पार गर्नै लाग्दा सुरु हुने गर्छ।” हिंसा र स्वच्छन्द यौनसम्बन्ध जस्ता गलत आनीबानीहरू सुरु हुने उमेर पनि यही नै हो।

“गरिब” अथवा कुनै खास जातिहरूमा मात्र अक्सर यस्तो समस्या देखापर्छ भनेर आमाबाबुहरूले सोच्नु एउटा ठूलो भूल हुन सक्छ। आज युवाहरूले भोगिरहेको समस्याले जुनसुकै आर्थिक, सामाजिक र जातीय पृष्ठभूमिका व्यक्‍तिहरूलाई उत्तिकै असर गरिरहेको छ। लेखक स्कट वाल्टर यस्तो लेख्छन्‌, “ ‘किशोर अपराधी’ भन्‍ने बित्तिकै कुनै एउटा सुकुमबासी टोलमा बस्ने १७ वर्षको नाबालक केटो हो जसकी गरिब आमा सरकार अथवा कुनै गैरसरकारी संस्थाले दिएको भत्ताको भरमा बाँचेकी छ भन्‍ने सोच्नुहुन्छ भने तपाईं वर्तमान गतिविधिको जानकारी त्यति राख्नुहुन्‍न भन्‍ने कुरा यसले पुष्टि गर्छ। आज समस्याग्रस्त बच्चा गोरा जातका पनि हुन सक्छन्‌, तिनी मध्यमवर्गीय देखि लिएर उच्च घरानाका पनि हुन सक्छन्‌, तिनी १६ वर्ष भित्रको (अझै कम उमेरका) पनि हुन सक्छन्‌ अनि तिनी केटा नै नभएर केटी पनि हुन सक्छिन्‌।”

यद्यपि, यति धेरै युवाहरू खतरामा पर्नुको कारणचाहिं के हो त? के विगतका पुस्ताका युवाहरूले पनि चुनौती र प्रलोभनहरूको सामना गरेनन्‌ र? गरे, तर हामी यस्तो समयमा बाँचिरहेका छौं जसलाई बाइबलले “डरलाग्दो समय” भन्छ। (२ तिमोथी ३:१-५) आज युवाहरूलाई असर गरिरहेको परिस्थिति र दबाबहरू इतिहासको यस खास कालखण्डमा बिलकुलै नौला छन्‌। आउनुहोस्‌, त्यसमध्ये हामी केही केलाऔं।

बदलिंदो परिवार

उदाहरणको लागि, परिवारको बदलिंदो रूपलाई एकछिन विचार गर्नुहोस्‌। जर्नल अफ इन्सट्रक्सनल साइकोलोजी यस्तो रिपोर्ट गर्छ, “एक तिहाइभन्दा धेरै अमेरिकी छोराछोरीहरूले १८ वर्ष नपुग्दै आमाबाबुको सम्बन्ध-विच्छेद देख्छन्‌।” अन्य पश्‍चिमी मुलुकहरूमा पनि यस्तै तथ्याङ्‌कहरू पाउन सकिन्छ। आमाबाबुको वैवाहिक सम्बन्ध टुट्‌दा युवाहरूले अक्सर चोटग्रस्त भावनाहरूको सामना त गर्नैपर्छ। उक्‍त जर्नल यसो भन्छ, “समस्या नभएको परिवार अथवा एकल परिवार अथवा सौतेला परिवारहरूको रूपमा लामो समयदेखि बस्दै आएका परिवारहरूको तुलनामा हालसालै परिवार टुक्रिएको अनुभव गर्ने बच्चाहरूको पढाइको स्तर तथा मानिसहरूसितको तिनीहरूको व्यवहारमा बढी समस्याहरू देखापर्ने गरेका छन्‌। . . . यसको साथै, आमाबाबुको सम्बन्ध-विच्छेदले अक्सर बच्चाहरूको भावनात्मक अवस्था र अत्मसम्मानलाई असर गर्छ।”

जागिर खाने महिलाहरूको संख्या बढेकोले गर्दा पनि पारिवारिक वातावरण बदलिएको छ। जापानमा किशोर-किशोरीसम्बन्धी अपराधबारे गरिएको एउटा अध्ययनले बताउँछ, आमा वा बाबुमध्ये एक जना घरमा बस्ने परिवारलाई भन्दा आमाबाबु दुवै जना जागिर खाने परिवारलाई छोराछोरीको रेखदेख गर्न बढी गाह्रो हुन्छ।

हो, जीवन धान्‍न नभई नहुने आवश्‍यकताहरू पूरा गर्न मात्र पनि परिवारमा दुवैको कमाइ चाहिने कुरालाई नकार्न सकिंदैन। दुई जनाको कमाइले तिनीहरूका छोराछोरीलाई बढी सुविधाजनक जीवन शैली पनि देला। तर यसका नकारात्मक पक्ष पनि छन्‌: करोडौं बच्चाहरू स्कूलबाट फर्कंदा घरमा कोही हुँदैनन्‌। आमाबाबुहरू कामबाट घर आइपुग्दा अक्सर लखतरान हुन्छन्‌ र काम गर्ने ठाउँको समस्याले नै आमाबाबुलाई छोडेको हुँदैन। परिणाम? धेरै किशोर-किशोरीहरूले आमाबाबुबाट थोरै मात्र ध्यान पाउँछन्‌। एक जना युवकले यस्तो दुखेसो पोखाए: “हामी परिवारमा सँगै समय बिताउँदैनौं।”

धेरै अवलोकनकर्ताहरू लाग्छ, युवाहरूको भविष्यको लागि यो लहड राम्रो सङ्‌केत होइन। डा. रोबर्ट श यसो भन्छन्‌, “मलाई लाग्छ छोराछोरी हुर्काउने सन्दर्भमा गत तीस वर्षमा देखिएको लहडले गर्दा परिवारसित कुनै भावनात्मक सम्बन्ध नभएको, कुराकानी नगर्ने, सिक्न समस्या भएको र बेलगाम बच्चाहरू विकासलाई बढवा दिन्छ। आमाबाबुहरूले आफूलाई भौतिकवाद, सबै चीज प्राप्त गर्न मरिहत्ते गर्ने समाजको दास बनाउँछन्‌ जसले तिनीहरूलाई काममा धेरै समय बिताउन र अझ धेरै पैसा खर्च गर्नतिर धकेल्छ जसले गर्दा आफ्नो छोराछोरीसित भावनात्मक रूपमा नजिकिन तिनीहरूले समय दिनै सक्दैनन्‌।”

किशोर-किशोरीहरूको हितमा अर्को खतरा हो: कामकाजी आमाबाबुका छोराछोरीहरूसित निरीक्षणविनाको अक्सर धेरै समय हुन्छ। आमाबाबुको पर्याप्त निरीक्षण नहुनु समस्या निम्त्याउनु हो।

अनुशासनबारे बदलिंदो दृष्टिकोण

आमाबाबुले दिने गरेको अनुशासनको सन्दर्भमा बदलिंदो दृष्टिकोणले पनि आजका युवाहरूलाई असर गरेको छ। धेरै आमाबाबुहरू “आफ्नो अख्तियार त्याग्छन्‌,” भनी डा. रोन ट्याफल सीधै भन्छन्‌। आमाबाबुहरूले यसो गर्दा बच्चाहरूले आफूलाई अनुशासनमा राख्न खासै डोऱ्‍याइ र नियमहरू पाउँदैनन्‌ अथवा नियम र डोऱ्‍याइ पाउँदै नपाउन पनि सक्छन्‌।

कहिलेकाहीं अनुशासनप्रति आमाबाबुको दृष्टिकोण आफूले बाल्यकालमा भोगेका नकारात्मक अनुभवबाट प्रभावित हुने गरेको देखिन्छ। तिनीहरू आफ्ना बच्चाहरूको साथी बन्‍न चाहन्छन्‌—अनुशासन दिने व्यक्‍ति होइन। एउटी आमाले यसरी आफ्नो गल्ती स्वीकारिन्‌, “म साह्रै उदार थिएँ। मेरा आमाबाबुहरू साँच्चै कडिकडाउ हुनुहुन्थ्यो; म आफ्नो बच्चासित अलि फरक हुन चाहन्थें। तर त्यो मेरो भूल थियो।”

यस सन्दर्भमा कुनै-कुनै आमाबाबु कुन हदसम्म जान्छन्‌? यू.एस.ए. टुडे यस्तो रिपोर्ट गर्छ: “न्यु योर्क, टेक्सास, फ्लोरिडा र क्यालिफोर्नियामा लागूपदार्थको कुलतको उपचार गरिरहेका झन्डै ६०० किशोर-किशोरी दुर्व्यसनीहरूमाथि गरिएको नयाँ सर्वेक्षणले देखाउँछ, २० प्रतिशतले रक्सी मात्र होइन तर आफ्ना आमाबाबुसित सँगै बसेर लागूपदार्थ नै सेवन गरेका थिए अनि ५ प्रतिशत किशोर-किशोरीलाई आफ्नै आमा अथवा बुबाले जीवनमा पहिलो पटक लागूपदार्थ अर्थात्‌ गाँजा चाख्न लगाएका थिए।” यस्तो गरैजिम्मेवारीपूर्ण काम गर्न आमाबाबुलाई कुन कुराले उक्सायो? एउटी आमाले आफ्नो गल्ती यसरी स्वीकारिन्‌: “मैले मेरी छोरीलाई लागूपदार्थ सेवन गर्नु नै छ भने घरमै गर भनें किनकि घरमा कसमेकम मेरो नजर त उसमाथि हुन्थ्यो।” अरू कसै-कसैलाई लाग्छ, छोराछोरीसित सँगै बसेर लागूपदार्थ सेवन गर्नु “आत्मीयता” बढाउने एउटा तरिका हो।

सञ्चारजगत्‌बाट आक्रमण

सञ्चारजगत्‌को शक्‍तिशाली प्रभाव पनि छ। अनुसन्धाता मारिता मोलकाअनुसार एउटा सर्वेक्षणले देखाउँछ, संयुक्‍त राज्य अमेरिकाका औसत युवाहरू हरेक दिन चार घण्टा ४८ मिनेट टेलिभिजन अथवा कम्प्युटरको मोनिटरसामु बिताउँछन्‌।

के यो खराब हुन्छ नै भन्‍ने छ र? साइन्स्‌ भन्‍ने पत्रिकामा प्रकाशित एउटा लेख यस्तो रिपोर्ट दिन्छ, अमेरिकी मेडिकल एसोसिएसन लगायत “संयुक्‍त राज्य अमेरिकामा भएका छवटा प्रमुख व्यावसायिक समाज” एउटा यस्तो साझा निष्कर्षमा पुग्यो, सञ्चारजगत्‌मा देखाइने हिंसा “कुनै न कुनै बच्चाको आक्रोशित आचरण[सित]” जोडिएको हुन्छ। साइन्स्‌ पत्रिका अझै भन्छ, “सबैले एकै मुखले यसो भनिरहेका भए तापनि सञ्चारजगत्‌मा देखाइने हिंसाले अझ बढी हिंस्रक समाज सृजना गर्न योगदान दिइरहेको छ भनी लोकप्रिय अखबार, पत्र-पत्रिकाले दिइरहेको सन्देशलाई सर्वसाधारणले बुझिरहेका छन्‌ जस्तो देखिंदैन।”

उदाहरणको लागि, म्युजिक भिडिओहरूलाई लिनुहोस्‌। कुनै-कुनै म्युजिक भिडिओहरूमा खुल्लमखुल्ला यौनबारे देखाइएको देखेर आमाबाबुहरू स्तब्ध हुन्छन्‌। के यसले केही किशोर-किशोरीहरूको आचरणलाई साँच्चै असर गर्न सक्छ? कलजेका ५०० जना विद्यार्थीहरूमाथि गरिएको एउटा अध्ययनअनुसार “हिंसात्मक संगीतका शब्दहरूले आक्रामक विचार र भावनाहरूलाई अझ जगाउँछ।” हालैको अर्को अध्ययनअनुसार “ ‘ग्याङ्‌स्टा’ ऱ्‍याप म्युजिक भिडिओमा देखाइएको . . . यौन र हिंसा हेरेर धेरै समय बिताउने किशोर-किशोरीहरूले आफ्नो जीवनमा यी कुराहरू व्यवहारमा उतार्ने सम्भावना निकै प्रबल हुन्छ।” पाँच सयभन्दा धेरै केटीहरूसित गरिएको अध्ययनले देखाउँछ, ग्याङ्‌स्टा भिडिओहरू हेरेर धेरै समय बिताउनेहरूले शिक्षकलाई कुट्‌ने, पक्राउ पर्ने र एउटाभन्दा धेरै यौन साथीहरू बनाउने सम्भावना निकै धेरै हुन्छ।

किशोर-किशोरी र कम्प्युटर

हालैका वर्षहरूमा युवा सोचविचारमा कम्प्युटरले पनि प्रमुख भूमिका खेलेको छ। पेड्रियाट्रिक्स पत्रिका यसो भन्छ, “हालैका दशकहरूमा घर-घरमा कम्प्युटरहरूको संख्यामा नाटकीय वृद्धि भएको छ। मुलुकभर [संयुक्‍त राज्य अमेरिकामा] स्कूल जाने उमेरका (६-१७ वर्षका) बच्चामा दुई तिहाइसित घरमा कम्प्युटर थियो। . . . संयुक्‍त राज्य अमेरिकामा ३ देखि १७ वर्षका केटाकेटीहरू भएको घरमा रहेको कम्प्युटरको सन्दर्भमा सन्‌ १९९८ मा ५५ प्रतिशतबाट बढेर सन्‌ २००० मा ६५ प्रतिशत पुग्यो।” अरू धरै देशहरूमा पनि कम्प्युटरको प्रयोग बढेको छ।

यद्यपि, कम्प्युटर चलाउन सबै जवानहरूको आफ्नो निजी कम्प्युटर हुनैपर्छ भन्‍ने छैन। अतः एक जना अनुसन्धाता यस्तो दाबी गर्छन्‌, “५ देखि १७ वर्षका लगभग ९० प्रतिशत युवाहरूले कम्प्युटर चलाउँछन्‌ अनि तिनीहरूमध्ये ५९ प्रतिशतले इन्टरनेट चलाउँछन्‌।” यसले गर्दा अभूतपूर्व रूपमा युवाहरूको पहुँच जानकारीहरूमा पुगेको छ—वयस्कहरूको पर्याप्त ध्यान र जिम्मेवारपूर्ण ढङ्‌गमा कम्प्युटर चलाएमा यो लाभदायी छ। तर दुःखको कुरा, धेरैजसो आमाबाबुले बिना कुनै रोकटोक यस माध्यमलाई प्रयोग गर्न दिएका छन्‌।

प्रमाणको रूपमा इन्टरनेटको प्रयोगबारे सन्‌ २००१ मा गरिएको सर्वेक्षणअनुसार फि डेल्टा कापान-मा अनुसन्धाता मोल यस्तो लेख्छिन्‌, “७१ प्रतिशत आमाबाबुलाई आफ्ना छोराछोरीको इन्टरनेट गतिवधिबारे ‘एकदमै धेरै अथवा केही मात्रामा थाह भएको’ बताए। तर सोही प्रश्‍न बच्चाहरूलाई सोधिंदा, ७० प्रतिशतले आफ्ना आमाबाबुहरूले आफ्नो इन्टरनेट गतिविधिबारे ‘एकदमै थोरै अथवा केही पनि थाह नभएको’ कुरा बताए।” यस सर्वेक्षणअनुसार, “९ देखि १० वर्षका ३० प्रतिशतले निजी तथा वयस्कहरूको लागि मात्र खोलिएको च्याट रूममा छिरिसकेको कुरा बताए। इन्टरनेटमा यस्ता साइटहरू हेर्नेहरूमा ११ देखि १२ वर्षका ५८ प्रतिशत, १५ देखि १७ का ७२ प्रतिशत रहेको रिपोर्टले समस्यालाई अझ चर्काउँछ। . . . घरमा इन्टरनेटको प्रयोगबारे बेलाइतमा लिइएको सर्वेक्षणले ७ जनामा १ जना आमा अथवा बुबालाई आफ्नो छोराछोरीले इन्टरनेटमा के हेरिरहेका छन्‌ भनेर अत्तोपत्तो नभएको कुरा देखाउँछ।”

निरीक्षणविनाको इन्टरनेट प्रयोगले धेरै जवानहरूलाई अश्‍लील साइटहरूमा पुऱ्‍याउन सक्छ। यद्यपि, खतरा यतिकैमा टुङ्‌गिदैन। माथि उल्लिखित ट्याफल यस्तो दुखेसो पोख्छन्‌, “हाम्रा बच्चाहरू स्कूल र साइबरस्पेसमा साथीहरू बनाउँछन्‌—फलतः आफ्ना छोराछोरीसित समय बिताऊँ भन्दा तिनीहरूलाई अक्सर भेटिंदैन।”

स्पष्टतः आजका युवाहरू विगतको पुस्तालाई पत्तै नभएका दबाब र समस्याहरूमा परेका छन्‌। धेरै युवाहरूले खलबल्याउने व्यवहार गरेकोमा हामी छक्क पर्दैनौं! आजका युवाहरूलाई कुन कुराले मदत गर्न सक्छ? (g05 4/8)

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मलाई लाग्छ, छोराछोरी हुर्काउने सन्दर्भमा गत तीस वर्षमा देखिएको लहडले गर्दा परिवारसित कुनै भावनात्मक सम्बन्ध नभएको, कुराकानी नगर्ने, सिक्न समस्या भएको र बेलगाम बच्चाहरू विकासलाई बढवा दिन्छ।”—डा. रोबर्ट श

[पृष्ठ ६-मा भएको चित्र]

धेरै महिलाहरूले जागिर खान थालेकोले पारिवारिक वातावरण बदलिएको छ

[पृष्ठ ७-मा भएको चित्र]

निगरानी नगरिएका युवाहरू सजिलै समस्यामा फस्न सक्छन्‌

[पृष्ठ ८-मा भएको चित्र]

अनुसन्धाताहरूले हिंस्रक म्युजिक भिडिओहरूलाई हिंस्रक व्यवहारसित जोडेका छन्‌

[पृष्ठ ९-मा भएको चित्र]

आफ्ना बच्चाहरूले इन्टरनेटमा के हेरिरहेका छन्‌, के तपाईंलाई थाह छ?