सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरले समलिङ्‌गी विवाहलाई अनुमोदन गर्नुहुन्छ?

के परमेश्‍वरले समलिङ्‌गी विवाहलाई अनुमोदन गर्नुहुन्छ?

बाइबलको दृष्टिकोण

के परमेश्‍वरले समलिङ्‌गी विवाहलाई अनुमोदन गर्नुहुन्छ?

चर्चले आयोजना गरेको एउटा समारोहमा दुई पुरुष एक-अर्काको हात समातेर चिरपरिचित इपिस्कोपल विशपको अगाडि खडा हुन्छन्‌। उनीहरू “परमेश्‍वर अनि चर्चसामु . . . एउटा बाचा” बाँध्छन्‌। धार्मिक समारोहमा लगाउने सुनौलो तथा सेतो लुगामा सजिएका विशपले सबैसामु उनीहरूको जोडीलाई आशिष्‌ दिन्छन्‌। त्यसपछि ती जोडीले एक-अर्कालाई अँगालो हालेर म्वाइँ खान्छन्‌ र आफ्नो सिटबाट खडा भई श्रोताहरूले पनि ताली बजाउँदै त्यसमा सहमति जनाउँछन्‌। यी विशपको भनाइअनुसार यस्ता समलिङ्‌गी सम्बन्धहरू “पवित्र र आशिष्‌ पाउन लायक छन्‌, . . . यस्तो सम्बन्धलाई यसो भन्‍नु उचित छ: पवित्र।”

तथापि, अन्य धर्मगुरुहरूचाहिं समलिङ्‌गी विवाहको विरुद्धमा कडा विरोध जनाउँछन्‌। कट्टरपन्थी इपिस्कोपलियन समूहको अमेरिकन एंगलिकन काउन्सिलकी प्रवक्‍ता सिन्थिया ब्रस्टले यसो भनिन्‌, “यी [विशपको] निर्णयदेखि हामी अत्यन्त रुष्ट छौं। समलिङ्‌गीलाई आशिष्‌ दिने कुरा बाइबलमा विवाह र यौनसम्बन्धी दिइएको स्पष्ट शिक्षासित पटक्कै मेल खाँदैन।” तिनीले अझै यसो भनिन्‌, “यौन सम्बन्ध . . . पवित्र वैवाहिक बन्धन पुरुष तथा स्त्रीबीच मात्रै सीमित हुनुपर्छ।”

यस्तो विषयमा चर्को बहस धर्ममा मात्र हुँदैन। पेन्सन, संयुक्‍त स्वास्थ्योपचार तथा करजस्ता कुराहरूले सामाजिक, राजनैतिक अनि आर्थिक क्षेत्रमा प्रतिकूल असर पार्ने भएकोले अन्तरराष्ट्रिय तवरमै यी विषयमा निकै उग्र राजनैतिक वादविवाद भइरहेको छ।

नागरिक अधिकार र कानुनी मान्यतासम्बन्धी मामिलाहरू प्रायः अत्यन्त जटिल प्रकृतिका हुन्छन्‌ र यसले सर्वसाधारणको विचारलाई विभाजित गरिदिन्छ। साँचो मसीहीहरू राजनैतिक वादविवाददेखि अलग रहेर तटस्थता कायम राख्न सजग छन्‌। (यूहन्‍ना १७:१६) a तैपनि, बाइबलको आदर गर्ने केही व्यक्‍तिहरू नै समलिङ्‌गी विवाह र समलैङ्‌गिकतासित सम्बन्धित विषयमा अलमल्लमा परेका छन्‌। समलिङ्‌गी विवाहलाई तपाईं कसरी हेर्नुहुन्छ? विवाहको लागि परमेश्‍वरको स्तर के हो? तपाईंको मनोवृत्तिले परमेश्‍वरसितको तपाईंको सम्बन्धमा कस्तो असर पार्छ?

हाम्रो सृष्टिकर्ता स्तर तोक्नुहुन्छ

सरकारले विवाहसम्बन्धी नियम-कानुन तोक्नुभन्दा धेरै अघि नै हाम्रो सृष्टिकर्ताले यसबारे नियमहरू स्थापना गरिसक्नुभएको थियो। बाइबलको पहिलो पुस्तक यसो भन्छ: “मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” (उत्पत्ति २:२४) भाइन्स एक्सपोजिटरी डिक्सनरी अफ बिब्लिकल वड्‌र्स-अनुसार “स्वास्नी” भनी अनुवाद गरिएको हिब्रू शब्दले “स्त्रीजातिलाई बुझाउँछ।” विवाह बन्धनमा बाँधिने जोडीहरू “नर” र “नारी” नै हुनुपर्छ भनेर येशूले पक्का गर्नुभयो।—मत्ती १९:४.

यस प्रकार, पुरुष र स्त्रीबीचको विवाह एउटा स्थायी अनि प्रगाढ बन्धन होस्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्थ्यो। पुरुष र स्त्रीलाई एक-अर्काको पूरकको रूपमा सृष्टि गरिएको हुनाले उनीहरूसित एक-अर्काको भावनात्मक, आध्यात्मिक अनि यौन आवश्‍यकता तथा इच्छाहरू तृप्त गर्न सक्ने क्षमता छ।

सदोम र गमोरासम्बन्धी बाइबलको चिरपरिचित विवरणले समलैङ्‌गिकताबारे परमेश्‍वरको विचार प्रस्ट पार्छ। परमेश्‍वरले यस्तो घोषणा गर्नुभयो: “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, औ तिनीहरूका पाप साह्रै ज्यादा भएको छ।” (उत्पत्ति १८:२०) त्यतिखेर नैतिक तवरमा तिनीहरू कतिसम्म भ्रष्ट भइसकेका थिए भन्‍ने कुरा धर्मी व्यक्‍ति लूतको घरमा दुई जना पाहुना आएको बेला छर्लङ्‌ग भएको थियो। “सदोम[का] . . . के युवक के बूढा एउटै पनि नछोडी जम्मै मानिसहरू आएर लूतको घर रिङगै घेरे। तिनीहरूले लूतलाई बोलाएर भने, ‘बेलुकी तिमीकहाँ आएका मानिसहरू कहाँ छन्‌? तिनीहरूलाई यहाँ बाहिर हामीकहाँ ल्याऊ, र हामी तिनीहरूलाई भोग गरौं।’ ” (उत्पत्ति १९:४, ५) बाइबल यसो भन्छ: “सदोमका मानिसहरू दुष्ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे।”—उत्पत्ति १३:१३.

मानिसहरू “कामुकतामा एक दोस्रोतिर जलेर पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे।” (रोमी १:२७) तिनीहरू “अस्वाभाविक कामवासनामा फसेका थिए।” (यहूदा ७, NRV) समलैङ्‌गिक अधिकारको लागि व्यापक अभियान चलाएका देशहरूका कसै-कसैलाई समलैङ्‌गिक आचरणलाई बुझाउन “अस्वाभाविक” शब्द प्रयोग गर्नु आपत्तिजनक लाग्न सक्छ। तथापि, अन्तमा गएर के स्वाभाविक, के अस्वाभाविक भन्‍ने कुराको छिनोफानो गर्ने त के परमेश्‍वर नै हुनुहुन्‍न र? उहाँले आफ्ना पुरातन इस्राएली जनहरूलाई यस्तो आज्ञा दिनुभयो: “स्त्रीहरूसँगझैं पुरुषसँग संभोग नगर्‌। त्यो घृणित कार्य हो।”—लेवी १८:२२.

तपाईंले परमेश्‍वरलाई दिनुपर्ने लेखा

यस विषयमा बाइबलको कुरा स्पष्ट छ: परमेश्‍वरले समलैङ्‌गिक प्रचलनलाई अनुमोदन गर्नुहुन्‍न अथवा त्यसप्रति आँखा चिम्लनुहुन्‍न। उहाँ “यस्ता गर्नेहरूलाई पूर्ण सहमत” दिनेहरूको पनि निन्दा गर्नुहुन्छ। (रोमी १:३२) अनि समलिङ्‌गीहरूले “विवाह” गर्दैमा त्यो आदरयोग्य विवाह हुँदैन। “विवाह चाहिं आदरणीय होस्‌” भन्‍ने परमेश्‍वरको निर्देशनमा समलिङ्‌गी विवाह पर्दैन, जसलाई उहाँ घृणा गर्नुहुन्छ।—हिब्रू १३:४.

यद्यपि, परमेश्‍वरको मदतद्वारा कुनै पनि व्यक्‍तिले “व्यभिचारबाट अलग” बस्न सिक्न सक्छन्‌ जसमा समलैङ्‌गिक क्रियाकलाप तथा “हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो” जान्‍नु पनि समावेश छ। (१ थिस्सलोनिकी ४:३, ४) हुन त हो, यसो गर्नु सधैं सजिलो हुँदैन। विगतमा समलिङ्‌गी जीवन शैली बिताएका नेथनले b यसो भने: “त्यस्तो जीवन शैली त्याग्न सक्दिनँ होला जस्तो मलाई लागेको थियो।” तर “हाम्रा परमेश्‍वरका आत्मा[को]” मदत पाएर तिनी परिवर्तन हुन सके। (१ कोरिन्थी ६:११) नेथनले अनुभव गरेझैं यहोवाको लागि कुनै पनि समस्या समाधानै गर्न नसकिने ठूलो छैन र उहाँले आफ्ना स्तरहरू पालन गर्न अनि उहाँको आशिष्‌ पाउन चाहिने बल तथा मदत प्रदान गर्न सक्नुहुन्छ।—भजन ४६:१. (g05 4/8)

[फुटनोटहरू]

a आफू बसोबास गर्ने मुलुकको कानुन बाइबल प्रशिक्षित आफ्नो अन्तस्करणसित बाझिंदा समेत यस्तो कानुन परिवर्तन गराउन यहोवाका साक्षीहरू विरोध-जुलुसमा उत्रँदैनन्‌ अथवा कुनै प्रकारको राजनैतिक गतिविधिमा सहभागी हुँदैनन्‌।

b तिनको वास्तविक नाउँ होइन।

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Photo by Chris Hondros/Getty Images