सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“थ्रेडनिडल स्ट्रिटकी वृद्धासित” परिचय गर्नुहोस्‌

“थ्रेडनिडल स्ट्रिटकी वृद्धासित” परिचय गर्नुहोस्‌

“थ्रेडनिडल स्ट्रिटकी वृद्धासित” परिचय गर्नुहोस्‌

बेलाइतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

उनको भव्य निवासलाई बडेमानको पर्खालले चारैतिरबाट घेरेको छ। गुलाबी रङ्‌गको कोट, रातो इस्टकोट र कालो टोपमा सजिएका पहरादारहरू प्रवेशद्वारमा तैनाथ छन्‌। तिनलाई भेट्‌न आउने मानिसहरूलाई सुरक्षा क्यामराहरूले सावधानीपूर्वक नियालिरहेका हुन्छन्‌। यी “थ्रेडनिडल स्ट्रिटकी वृद्धा” को हुन्‌ र उनलाई यति कडा सुरक्षा चाहिनुको कारण के हो?

यी “वृद्धा” विश्‍वका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक अर्थात्‌ बैंक अफ इङ्‌गल्यान्ड हुन्‌। तर यो बैंकको यस्तो अनौठो नाउँ कसरी रहन गयो? थ्रेडनिडल स्ट्रिट लन्डनको एउटा यस्तो क्षेत्रमा पर्छ जहाँ कुनै समय शिल्पकारहरूको भेटघाट हुन्थ्यो र यस ठाउँको अङ्‌ग्रेजी नाउँ निडलमेकर्स कम्पनी नाउँको सियो बनाउने कम्पनीले बनाएको तीनवटा सियो अंकित ढालबाट आएको हो। यो बैंक स्थापना भएको लगभग सय वर्षपछि राजनीतिज्ञ तथा नाटककार रिचर्ड शेरिडनले संसद्‌मा बोल्दा “लामो समयदेखि अस्तित्वमा रहेको प्रतिष्ठित सहरकी वृद्धा” भनेर यस बैंकलाई सङ्‌केत गरे। व्यङ्‌ग चित्रकार जेम्स गिल्रेले यस बैंकलाई तुरुन्तै एउटी वृद्धाको रूप चित्रण गरिहाले र त्यस बेलादेखि यता यो बैंक थ्रेडनिडल स्ट्रिटकी वृद्धाको नाउँले चिनिन थाल्यो।

राष्ट्रिय बैंकको आवश्‍यकता

सत्रौं शताब्दीमा लन्डनमा बैंकले गर्ने प्रायजसो काम सुनारहरूले गर्थे। यो प्रबन्धले राम्रैसित काम गरिरहेको थियो तर पछि गएर स्ट्युअर्ट वंशका राजाहरूले पैसा सापटी लिएर तिर्न छोडे। अन्तमा बैंक चलाउने प्रमुख सुनारहरू टाट पल्टिए र फ्रान्ससित चलिरहेको युद्धको लागि सरकारलाई पैसाको नितान्त आवश्‍यकता पऱ्‍यो।

सन्‌ १६८९ मा विलियम तृतीय र मेरी द्वितीय शासनमा आउने बेलासम्ममा सरकारी बैंक र सरकारको लागि अर्थ-संकलकको रूपमा काम गर्न एउटा राष्ट्रिय बैंकको तड्‌कारो आवश्‍यकता परिसकेको थियो। विभिन्‍न प्रस्तावित योजनाहरूमध्येबाट अन्ततः संसद्‌ले तीव्र विरोधको बावजुद स्कटल्यान्डका व्यापारी विलियम प्याटर्सनको प्रस्ताव स्वीकाऱ्‍यो। लन्डनका बासिन्दाहरूलाई केही पैसा सापटी दिन आग्रह गरियो र यसरी १२,००,००० पाउन्ड उठ्‌ने आशा गरिएको थियो। यसको बदलामा सरकारले खातावालाहरूलाई ८ प्रतिशतको हिसाबले ब्याज दिने थियो र तिनीहरूलाई बैंक अफ इङ्‌गल्यान्डको गभर्नर र सञ्चालकको रूपमा नियुक्‍त गर्ने थियो। दुई हप्ताभित्रै पैसा जम्मा भयो र सन्‌ १६९४ मा बैंकमा अफ इङ्‌गल्यान्डले आफ्नो कारोवार सुरु गऱ्‍यो।

चालीस वर्षपछि यो बैंक थ्रेडनिडल स्ट्रिटमा अवस्थित परिसरमा सऱ्‍यो। सन्‌ १९३० को दशकदेखि अस्तित्वमा रहेको हालको संरचना सात तला अग्लो छ र जमिनमुनि ठूलो ढुकुटी छ। यसले तीन एकड (लगभग १२,००० वर्ग मिटर) क्षेत्रफल ओगटेको छ।

उतारचढावहरू

आफूसित भएको पाउन्ड, सिलिङ र पेन्स सुरक्षाको लागि बैंकमा जम्मा गर्ने ग्राहकहरूलाई सुरु-सुरुमा बैंकको कागजमा हातैले लेखेका भरपाईहरू दिइन्थ्यो। यी भरपाईहरू बैंकमा ल्याएर भुक्‍तानी मागेको खण्डमा जो कोहीले पनि यसको सट्टामा सुन वा सिक्का प्राप्त गर्न सक्थ्यो। निस्सन्देह, सबैले एकै पटक आफ्नो पैसा फिर्ता मागेमा बैंक टाट पल्टने सम्भावना त छँदै थियो। दुई-चार पटक झन्डै-झन्डै यस्तो भएको पनि थियो। उदाहरणका लागि, सन्‌ १७९७ मा फ्रान्ससितको युद्धको कारण देश फेरि पनि झन्डै टाट पल्टिएको थियो। त्रासको कारण लगानीकर्ताहरूले आफ्नो बचत फिर्ता माग्दा बैंकसित पैसा सिद्धियो र फलस्वरूप, अर्को २४ वर्षसम्म सुनको साटो सानो दरका नोटहरू मात्र छाप्नुपऱ्‍यो। यस्तो “रोकावटको समयमा” यो बैंकले थ्रेडनिडल स्ट्रिटकी वृद्धा भन्‍ने उपनाउँ पायो। हतार-हतारमा तयार पारिएका यी नोटहरूको नक्कल गरेर जाली नोट छाप्न निक्कै सजिलो थियो तर त्यति बेला असाध्यै कठोर सजाय दिइन्थ्यो। जाली नोट छापेको कारण ३०० भन्दा बढी मानिसहरूलाई फाँसी दिइयो।

विभिन्‍न प्रकारका ठूलठूला समस्याहरूबाट यो बैंक मुस्किलले जोगियो। सन्‌ १७८० मा लन्डनका हुल्याहाहरूले यो भवन कब्जा गर्ने कोसिस गरे। त्यस बेलादेखि यता राष्ट्रको सुनको ढुकुटीको रक्षा गर्न एउटा सैनिक टुकडीले सन्‌ १९७३ सम्म हरेक रात यस भवनको वरिपरि गस्ती गर्थ्यो।

बेलाइती पाउन्ड र बैंक अफ इङ्‌गल्यान्डको नोट १९ औं शताब्दीको दौडान विश्‍वमै सबैभन्दा बलियो मुद्रा बन्यो। तथापि, प्रथम विश्‍वयुद्धले अवस्थामा परिवर्तन ल्यायो। युद्धमा भएको भारी खर्चले देशलाई नै डामाडोल पाऱ्‍यो। त्यसैले आफ्नो बैंक नोटको सट्टामा सुन लिन लगानीकर्ताहरूको ओइरो लाग्यो र सुनको सिक्का चाँडै नै सिद्धियो। सुनको सट्टामा सानो दरका बैंक नोटहरू जारी गरियो। दैनिक प्रयोगमा सुनका सिक्काहरू सदाको लागि हराएर गयो। सन्‌ १९३१ मा बेलाइतले सुन नापस्तर पूर्णतया खारेज गऱ्‍यो जसको कारण कुनै निश्‍चित परिमाणको सुनसित पाउन्ड स्टर्लिङ्‌गको भाउको कुनै सम्बन्ध रहेन।

स्थापनाकालको निकै लामो समयसम्म यो बैंक एउटा निजी कम्पनी थियो। तर सन्‌ १९४६ मा यो बैंक राष्ट्रियकरण गरियो।

“वृद्धा” अझै पनि व्यस्त छिन्‌

बैंक अफ इङ्‌गल्यान्ड एउटा केन्द्रीय बैंक हो। सरकारलाई आर्थिक नीतिबारे परामर्श दिएर अनि उचित ब्याज दर निर्धारण गरी मौद्रिक व्यवस्थालाई यथासम्भव स्थिर राखेर यसले सरकारको बैंकको रूपमा काम गर्छ। वाणिज्य बैंक र अरू देशका केन्द्रीय बैंकहरू यसका अन्य ग्राहकहरू हुन्‌। यसको भूमिगत ढुकुटीमा यस बैंकले देशको सुन सञ्चिति सुरक्षित राख्छ। लन्डनबाहिरको अर्को एउटा सुरक्षित स्थानमा यसले नयाँ बैंक नोटहरूको छपाइको रेखदेख गर्छ।

मध्याह्नरेखा नजिकै अवस्थित लन्डन सहरमा सधैं नै चहलपहल भइरहन्छ। यस सहरभित्र यो बैंकले महत्त्वपूर्ण भूमिका खेल्छ। यसका पर्खालहरूभित्र हुने हरेक गतिविधिले विश्‍वकै अर्थतन्त्रमा चीरकालीन प्रभाव पार्छ। हो, “थ्रेडनिडल स्ट्रिटकी वृद्धा” अझै पनि फुर्तिली छिन्‌ अनि राष्ट्रको थैलीको मुख च्याप्प समातिरहेकी छिन्‌। (g05 4/8)

[पृष्ठ २४-मा भएको चित्र]

बैंकको पहिलो बडापत्र, सन्‌ १६९४

[पृष्ठ २४-मा भएको चित्र]

हस्तलिखित पाँच पाउन्डको नोट, सन्‌ १७९३

[पृष्ठ २४-मा भएको चित्र]

थ्रेडनिडल स्ट्रिटमा, सन्‌ १७९४

[पृष्ठ २४-मा भएको चित्र]

एक पाउन्डको स्वर्ण मुद्रा, सन्‌ १९११

[पृष्ठ २४-मा भएको चित्र]

जेम्स गिल्रेले बनाएको पहिलो व्यङ्‌ग्य चित्रको केही भाग, सन्‌ १७९७

[पृष्ठ २५-मा भएको चित्र]

दस सिलिङको नोट, सन्‌ १९२८

[पृष्ठ २५-मा भएको चित्र]

हालको भवन, सन्‌ १९३९ देखि