सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फूलैफूलले सजिएको रमणीय उपत्यका

फूलैफूलले सजिएको रमणीय उपत्यका

फूलैफूलले सजिएको रमणीय उपत्यका

युक्रेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

वसन्त-ऋतुको आगमनसँगै कारपाथियन माउण्टेनको काखमा अवस्थित यो सानो उपत्यकाको उर्वर जमिन ढकमक्क फुलेका सेता फूलहरूले ढाकिंदै जान्छ। यस ठाउँमा भ्रमण गर्न आउने उपयुक्‍त समय वसन्त-ऋतुको अन्त-अन्ततिर हो किनकि यतिखेर हिमाली क्षेत्रको चौरहरूमा फूलको मग-मग बास्ना फैलिएको हुन्छ, जसले गर्दा आगन्तुकहरू यस फूललाई नजिकबाट हेर्न लालायित हुन्छन्‌।

यस्तो रमणीय दृश्‍य कहाँ हेर्न पाइन्छ? भ्याली अफ नारसिसी अर्थात्‌ पश्‍चिमी युक्रेनस्थित खुस्ट नजिकैको प्राकृतिक आरक्षणमा। यस आरक्षणको ठूलो भूभागभरि जङ्‌गली गुनकेसरी देख्न सकिन्छ। यस उपत्यकामा ४०० भन्दा बढी प्रजातिका बोटबिरुवाहरू भए पनि ती सबैको राजाचाहिं गुनकेसरीलाई नै मानिन्छ।

वास्तवमा, यस आरक्षणको नाउँ यसै फूलबाट राखिएको हो र यो फूल सानो सिलिक्क परेको पात भएको गुनकेसरी अथवा अङ्‌ग्रेजीमा डाफोडिल भनेर पनि चिनिन्छ। यो डल्लो-डल्लो पोटी हुने बोट आल्प्स्‌ र बाल्कन क्षेत्रभरि पनि पाइन्छ। यस बोटका पातहरू लामो सलक्क परेका हुनुका साथै तुरही आकारको मुकुटलाई चाहिं वरिपरिबाट सेतो वा पहेंला पेटल अर्थात पुष्पदलहरूले घेरेका हुन्छन्‌।

कवि तथा सङ्‌गीतकारहरूले शताब्दीयौंदेखि गुनकेसरीको गुनगान गाउँदै आएका छन्‌। साँच्चै भन्‍ने हो भने, यस फूलको एउटा प्रजातिलाई त अझ नारसिसस्स्‌ पोइटिकस अथवा कविको गुनकेसरी समेत भनिन्छ। तर कविहरूले मात्र यस फूलको गुनगान गाएका छैनन्‌। पुरातन रोममा विजयी योद्धाहरूलाई सम्मान गर्न कुनै समय शासकहरूले पहेंलो गुनकेसरी प्रयोग गर्ने गर्थे। अनि प्रसियामा चाहिं गुनकेसरी प्रेम र सुखको प्रतीक थियो। आजसम्म पनि विश्‍वभरका समुदायहरूले फूलसम्बन्धी वार्षिक चाड तथा उत्सवहरूमा यस फूलको सुन्दरताको बखान गरिनै रहेका छन्‌।

तथापि, गुनकेसरी एउटा सुन्दर फूल मात्र होइन। गुनकेसरी अथवा नारसिसस्स्‌ भन्‍ने नाउँ युनानी शब्द नारकियो-बाट आएको हो, जसको अर्थ हुन्छ “मन्त्रमुग्ध हुनु।” के नारसिसीले साँच्चै मन्त्रमुग्ध बनाउँछ? भ्याली अफ नारसिसीमा यी फूलहरू ढकमक्क फुलेको बेला आगन्तुकहरू कसो-कसो लट्ठिन पुग्छन्‌ अथवा कता-कता मातेको अनुभूति गर्छन्‌!

यस फूलको बास्नाले झुम्म पार्ने भएकोले कतिपय मानिसहरू यस फूलमा रोग निवारक शक्‍ति छ भन्‍ने निष्कर्षमा समेत पुगेका छन्‌। अरबीहरूले गुनकेसरीको तेललाई तालुपनको उपचार गर्न प्रयोग गर्थे भने फ्रेन्चहरूले चाहिं यसलाई छारेरोग र हिस्टेरिया उपचार गर्न प्रयोग गर्थे। आज गुनकेसरीको तेल अत्तरहरूमा प्रयोग गरिन्छ र यसको सबैभन्दा शुद्ध तेलचाहिं अरोमाथेरापीको लागि प्रयोग गरिन्छ।

के यसको संरक्षण गर्न सकिएला?

सानो सिलिक्क परेको पात भएको गुनकेसरी उच्च-हिमाली भेगमा पाइने फूल हो। साधारणतया यो फूल समुद्री सतहदेखि १,१०० र २,०६० मिटरको उचाइमा पाइन्छ। तर भ्याली अफ नारसिसी भने समुद्री सतहदेखि २०० मिटर उचाइमा छ। त्यसैले यस किसिमको फूल पाइने यो सबैभन्दा होचो उपत्यका हो।

यस प्राकृतिक सुन्दरताको संरक्षण गर्न सन्‌ १९७९ मा भ्याली एफ नारसिसीलाई एउटा आरक्षण बनाइयो। लगभग २० वर्षपछि काउन्सिल अफ युरोपले सानो सिलिक्क परेको पात भएको गुनकेसरीलाई संरक्षित प्रजाति भनी घोषणा गऱ्‍यो।

सुरु-सुरुमा त फूल फुलिसकेपछि भ्याली अफ नारसिसीमा घाँस काट्‌न प्रतिबन्ध लगाइएको थियो। तथापि, केही वर्षपछि नै फूलहरूको संख्या घट्यो। किन? घाँसहरूलाई त्यत्तिकै बढ्‌न दिंदा फूलका कलिला टुसाहरू बढ्‌न नपाएको कुरा वैज्ञानिकहरूले थाह पाए। तर घाँस काट्‌न नपाइने प्रतिबन्ध हटाउनासाथ उपत्यका पहिलाको जस्तै भइहाल्यो। त्यसकारण अहिले वसन्त-ऋतुमा उपत्यका सुन्दर देखिन्छ र जाडो महिनाभरि गाईवस्तुलाई पुग्ने गरी यसका घाँसहरू बटुल्न सकिन्छ।

फूलको यो आश्‍चर्यलाग्दो सुन्दरता हाम्रो घर पृथ्वीमा कस्तो क्षमता छ भन्‍ने कुराको एउटा सम्झौटो हो। निस्सन्देह, थुप्रै बाइबल विद्यार्थीहरूले यस्तो समयको बाटो हेरिरहेका छन्‌, जतिखेर परमेश्‍वरको राज्यअन्तर्गत सुन्दरताले “उजाड़ र निर्जल–भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ।” (यशैया ३५:१) त्यसपछि त भ्याली अफ नारसिसीको जस्तै सुन्दरता सारा पृथ्वीभरि देख्न पाइनेछ किनभने त्यतिखेर पृथ्वी सुरुमा अदनको बगैंचा जस्तो थियो त्यस्तै प्रमोदवनरूपी अवस्थामा हुनेछ।—उत्पत्ति २:८-१५. (g05 4/22)