सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

सेता गोहीहरू भेट्टिए

“ओरिसाको भितरकानिका राष्ट्रिय निकुञ्जका अधिकृतहरूले . . . वार्षिक गोही गणनाको बेला . . . एकदमै कम मात्र पाइने १५ वटा सेता गोहीहरू भेट्टाएका छन्‌” भनी भारतको अखबार द हिन्दू बताउँछ। सेता गोहीहरू दुर्लभ प्राणीहरू हुन्‌ र “संसारको अरू कुनै ठाउँमा पाइँदैन।” गैरकानुनी ढङ्‌गमा सिकार गरिएको हुँदा नुनिलो पानीमा पाइने यी गोहीहरू सन्‌ १९७० को दशकमा लगभग लोप भइसकेका थिए तर ओरिसा प्रान्तको सरकारले संयुक्‍त राष्ट्रसंघका परियोजनाहरूको सहयोग पाएर निकुञ्जभित्रै गोही संरक्षण कार्य थाल्यो। प्रशस्त मात्रामा जडीबुटीहरू उपलब्ध, सफा पानी, प्रचुर मात्रामा भोजन अनि मानिसहरूको हस्तक्षेप त्यति नहुने हुँदा गोहीको प्रजनन कार्यक्रम सफल भएको छ। द हिन्दु अनुसार यस निकुञ्जमा अहिले सामान्य रङको र विरलै पाइने सेता गोहीहरू गरेर लगभग १,५०० वटा गोहीहरू छन्‌। (g05 4/8)

धूम्रपान, गरिबी र रोगबिमार

“धूम्रपान गर्नेहरूमध्ये ८४ प्रतिशत मानिसहरू गरिब देशहरूमा छन्‌ जहाँ धूम्रपान र गरिबीबीच एउटा घातक चक्र बनेको छ भनी विश्‍व स्वास्थ्य संगठन सजग गराउँछ” भनी स्पेनी अखबार डिएरीयो मेडिको बताउँछ। साथै, हरेक देशमा “अत्यधिक धूम्रपान गर्ने अनि सुर्तीको प्रयोगले गर्दा तीनथुप्रो समस्याहरू भोग्ने मानिसहरू अक्सर समाजका विपन्‍न वर्ग हुन्‌।” प्रायजसो विकसित देशहरूमा सुर्तीको प्रयोग एकदमै कम भइसके तापनि विश्‍वभरि हेर्ने हो भने, “रोग निम्त्याउने चौथो प्रमुख कारण भने” धूम्रपान नै भएको छ भनी उक्‍त अखबार रिपोर्ट गर्छ। स्पेनमा जहाँ धूम्रपानले गर्दा वर्षेनी ६०,००० मानिसहरूको मृत्यु हुन्छ, त्यहाँ “रोग, अपाङ्‌गता र असामयिक मृत्युको” प्रमुख कारण धूम्रपान नै भएको छ। (g05 4/8)

नाइटिङ्‌गेल चराको गीत र ट्राफिक आवाजबीच प्रतिस्पर्धा

“आवाज चर्को भएपछि नाइटिङ्‌गेल चराहरूले अझ ठूलो स्वरले गीत गाउन थाल्छन्‌” भनी जर्मन अखबार बर्लिनर जाइटुङ बताउँछ। बर्लिनको फ्री युनिभर्सिटीको जीवविज्ञान संस्थानका हेन्रिक ब्रुमले गरेको अध्ययनले पत्ता लगाएअनुसार आफ्नो इलाका छुट्याउन र पोथी चराहरूलाई आकर्षित गर्न गाइने गीतको आवाज, त्यो गीत गाउने ठाउँ वरपर कत्तिको हल्ला छ त्यसअनुसार १४ डेसिबलको फरक हुन्छ। ब्रुमले यसो भने, “यो संख्या त्यति ठूलो जस्तो त लाग्दैन तर यो पाँच गुणा बढी हो जसको मतलब, चराको फोक्सोमा पाँच गुणा बढी प्रेसर बढ्‌छ।” शान्त वातावरणहरूमा भने चराको गीतको आवाज ७५ डेसिबल भएको पाइयो। तर ट्राफिकको चर्को आवाज भएका ठाउँहरूमा भने चराहरूको गीत ८९ डेसिबलको थियो। उक्‍त अखबार यसो भन्छ, “उक्‍त अनुसन्धाता खास गरी छक्क परेको कुरा के थियो भने, चराहरूले हरेक दिन ट्राफिकको अवस्थाअनुसार ठूलो र सानो स्वरमा गाउन सक्छन्‌। सप्ताहन्तमा ओहोरदोहोर गर्ने ट्राफिकको त्यति हल्ला नहुने हुँदा तिनीहरूलाई हप्ताको अरू दिनभन्दा अलि सानो स्वरले गाउने बानी परेको थियो।” (g05 4/8)

पोल्याण्डका स्कूलहरूमा अपराध

सन्‌ २००३ मा “[पोल्याण्डका] स्कूलहरूमा बीस हजारवटा चोरीका घटनाहरू भए” भनी पोलिश अखबार जिभेरचाड्‌वो रिपोर्ट गर्छ अनि अझ यसो भन्छ, “[पोल्याण्डका] ८० प्रतिशत जसो विद्यार्थीहरूलाई आफ्नो स्कूल मन पर्दैन किनभने तिनीहरू एक्लो अनि शिक्षक तथा अरू विद्यार्थीहरूसित राम्रो सम्बन्ध कायम गर्न गाह्रो महसुस गर्छन्‌।” यी स्कूलहरूमा यति धेरै समस्या हुनुको कारण के हो? “स्कूलहरू बाह्‍य प्रभावबाट मुक्‍त छैनन्‌। समाजमा भइरहेका नराम्रा कुराहरू स्कूलमा पनि देखिन्छ” भनी मानसिक स्वास्थ्यसम्बन्धी कार्यकर्ता भोचेक इकेलबर्गर बताउँछन्‌। “हामी स्वीकार्य आचरणको स्तर निर्धारण गर्छौं अनि त्यही सिद्धान्तहरूमा विद्यार्थीहरूलाई ढाल्न खोज्छौं।” यो समस्या समाधान गर्न इकेलबर्गर आमाबाबुलाई छोराछोरीसित समय बिताउने सल्लाह दिन्छन्‌ अनि यसो गर्दा आमाबाबुले छोराछोरीलाई बहुमूल्य ठानेको कुरा छोराछोरीले महसुस गर्न सक्छन्‌। (g05 4/8)

शारीरिक बनोटको चिन्ता

“जवान मानिसहरू र अझ विशेष गरी केटीहरूलाई एकदमै सानो उमेरदेखि नै आफ्नो शारीरिक बनोटको चिन्ता लाग्न थाल्छ र यसले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ” भनी क्यानाडाको ग्लोब एण्ड मेल भन्‍ने अखबार बताउँछ। खाना खाने बानीसम्बन्धी तिनीहरूको सोचाइ बुझ्न १० देखि १४ वर्षबीचका केटीहरूलाई प्रश्‍न सोधिएको थियो र २,२०० भन्दा बढीले आफ्नो प्रतिक्रिया व्यक्‍त गरे। ग्लोब यस्तो रिपोर्ट गर्छ: “ती केटीहरूमध्ये ७ प्रतिशतभन्दा कम ओभरवेटका थिए तर ३१ प्रतिशतभन्दा बढीले आफू ‘असाध्यै मोटी’ भएको बताए अनि २९ प्रतिशतले हाल डायटिङ गरिरहेको बताए।” स्वस्थ केटीहरू पनि किन आफ्नो वजन घटाउन चाहन्छन्‌? उक्‍त अखबारअनुसार यस्तो अवस्थाको लागि जवानहरूको लागि नमुना बन्‍ने वयस्कहरूले यसको जिम्मेवारी लिनुपर्छ किनभने तिनीहरू सधैं डायटिङ गर्छन्‌ अनि ओभरवेट भएका मानिसलाई गिज्याउँछन्‌। “असाध्यै दुब्ला पातला मोडेलहरू मात्र सधैं देखाइरहेर सञ्चारजगत्‌ले पनि किशोरकिशोरीहरूको आचरणमा ठूलो प्रभाव पारिरहेको हुन्छ” भनी ग्लोब बताउँछ। बिरामी बालबालिकाहरूको लागि टोरन्टो अस्पतालका अनुसन्धाता वैज्ञानिक डा. गेल म्याकभेले बताएअनुसार “बढ्‌दो उमेरका केटाकेटीहरूको वजन बढ्‌नु स्वाभाविक हुनुका साथै आवश्‍यक पनि छ” भनेर छोराछोरी, आमाबाबु र शिक्षकहरू सबैले बुझ्नु खाँचो छ। (g05 4/8)

“चुस्त दिमाग” कायम राख्ने

“दुइटा भाषा बोल्ने क्षमताले मानिसहरूलाई उमेर ढल्कँदै जाँदा पनि आफ्नो ‘चुस्त दिमाग’ कायम राख्न मदत गर्छ” भनी टोरन्टो स्टार अखबार बताउँछ। योर्क विश्‍वविद्यालयका मनोवैज्ञानिक एलेन ब्यालिस्टोकले ३० देखि ५९ वर्षका १०४ जना अनि ६० देखि ८८ का ५० जनाको बौद्धिक क्षमता अध्ययन गरे र यिनीहरू सबैको शैक्षिक स्तर र आयस्रोत एउटै किसिमको थियो। प्रत्येक समूहमा आधीजसो सहभागीहरू दुइटा भाषा बोल्न सक्थे। प्रत्येक व्यक्‍तिलाई एउटा सानो काम गर्न लगाइयो अनि दुइटा फरक-फरक छनौट पनि दिइयो तर उनीहरूले कत्तिको ढिलो या चाँडो प्रतिक्रिया देखाउँछन्‌, त्यो समय भने नापियो। उक्‍त अखबार यसो भन्छ, “यस जाँचमा एउटा मात्र भाषा बोल्नेभन्दा दुइटा भाषा बोल्नेहरू छरितो पाइयो।” ब्यालिस्टोकअनुसार दुइटा भाषा बोल्नेहरूसित सधैं दुइटा भाषिक छनौट हुन्छ अनि जवाफ दिनको लागि दिमागले सही भाषा छान्‍ने निर्णय गर्नुपर्छ। “अन्ततः यी बौद्धिक अभ्यासहरूले उमेर ढल्कँदै जाँदा निर्णय गर्ने, ध्यानकेन्द्रित गर्ने तथा नअलमलिने क्षमतामा हुने स्वाभाविक ह्रासलाई रोकेर दिमागलाई छरितो राख्छ।” (g05 4/22)

आर्थिक गर्भपतन

सिड्‌नी मर्निङ भन्‍ने अखबारको रिपोर्टअनुसार धेरैजसो मानिसहरूको सोचाइ विपरीत “गर्भपात गर्ने अधिकांश व्यक्‍तिहरू छाडा जीवन बिताउने किशोरीहरू नभई मध्यमवर्गीय विवाहित [महिलाहरू] हुन्‌।” पतिहरू पूर्ण-समय काम गर्ने अनि तिनीहरूका पत्नीहरू आंशिक जागिर खाने हुँदा अक्सर आर्थिक कारणले गर्दा यस्तो निर्णय गर्छन्‌। अस्ट्रेलियन नेसनल विश्‍वविद्यालयका प्राध्यापक पिटर म्याकडोनल्ड यसो भन्छन्‌, “मातृत्वले आफ्नो पेसा र आयस्रोत दुवैमा नकारात्मक असर पार्न सक्छ। बच्चा नभएकी [महिलाले] कमाउने आय अत्यन्तै धेरै हुन्छ तर उनीहरूको बच्चा भयो भने एकदम थोरै पैसा मात्र कमाउँछन्‌।” हेरल्ड-अनुसार अस्ट्रेलियाको तीन वटा गर्भधारणमध्ये एउटा गर्भपात गरिन्छ। (g05 4/22)