हँसी मिजास राख्दै रोगको सामना गर्ने
हँसी मिजास राख्दै रोगको सामना गर्ने
स्पेनका ब्यूँझनुहोस्! लेखकद्वारा
कोन्ची हँसिली अधबैंसे महिला हुन् र उनले क्यान्सरसित सङ्घर्ष गर्दै आएको सात वर्ष भइसक्यो। उनलाई स्तनको क्यान्सर भएको पत्ता लागेदेखि घातक ट्युमर फैलन नदिन सात चोटि अप्रेशन गरिसकिन्। उनी यस्तो अवस्थाको सामना कसरी गर्छिन्?
उनी भन्छिन्, “डाक्टरहरूले मलाई प्रत्येक चोटि कुनै नराम्रो खबर सुनाउँदा रुन मन लाग्यो भने मेरो दुःख कम नहोउन्जेल रुनसम्म रुन्छु। त्यसपछि म आफ्नो सामान्य दिनचर्यामा लाग्ने कोसिस गर्छु अनि मलाई गर्न मन लाग्ने कामहरू गर्छु—जस्तै: चिनियाँ भाषा सिक्ने, मसीही अधिवेशनहरूमा उपस्थित हुने अनि मेरो परिवार तथा साथीहरूसित बिदा मनाउन जाने। येशूका यी शब्दहरू म सधैं सम्झने गर्छु: “तिमीहरूमध्ये कुन चाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ ?”—मत्ती ६:२७.
उनी अझै यसो भन्छिन्, “अनि म सधैं आफ्नो हँसी मिजास नगुमाउने कोसिस गर्छु। म डाक्टरहरूसित ठट्टा गर्छु, हँसाउने किसिमका फिल्महरू हेर्छु अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त, आफ्ना साथीभाइ तथा नातेदारहरूसित नियमित तवरमा सम्पर्क राख्ने कोसिस गर्छु। सँगै हाँस्न सक्ने साथीहरू हुनु भनेको एउटा एकदमै राम्रो औषधी हो। एक चोटिको कुरा हो, मेरो शल्यक्रिया गर्नुभन्दा ठ्याक्क अगाडि मेरा केही साथी तथा नातेदारहरूले अघिल्लो रात घटेको एउटा हाँसउठ्दो घटनाबारे मलाई सुनाए। म यति धेरै हाँसें कि शल्यक्रिया गरिने कोठामा जाँदा मेरो मनमा कुनै किसिमको चिन्ता थिएन।”
कोन्चीजस्तै अरू थुप्रैले आफ्ना स्वास्थ्य समस्याहरू हुँदा हँसी मिजास अनि सकारात्मक मनोभावले गर्दा रोगको सामना गर्न सजिलो भएको अनुभव गरेका छन्। अहिलेका डाक्टरहरूले पनि पीडा कम गर्न अनि रोगसित लड्न हँसी मिजासको महत्त्वपूर्ण भूमिका हुन्छ भनेर बुझ्न थालेका छन्।
शरीर र मनको लागि उपयोगी
यो कुनै नयाँ धारणा भने होइन। तीन हजार वर्षअघि राजा सुलेमानले यस्तो लेखे: “प्रसन्न हृदय असल औषधी हो।” (हितोपदेश १७:२२, NRV) सत्रौं शताब्दीका स्पेनी लेखक लोपे डे भेगाले यस्तै कुरा लेखे: “हामीले आफ्नो हँसी मिजासलाई गुमाएनौं भने मेरो विचारमा हामी अझ स्वस्थ हुन सक्छौं।” तर अहिलेको तनावग्रस्त संसारमा यस्तो हँसी मिजास अरूसित नबाँडेर आफूमै मात्र सीमित राखेजस्तो देखिन्छ। हामी अहिले नविनतम प्रविधिको सुनौलो युगमा बाँचिरहेका छौं भनेर भनिरहनु नपर्ला तर यो हँसी मिजास हराउँदै गइरहेको युग पनि हो। एल आर्टे डे ला रिसा (हाँस्ने कला) भन्ने एउटा पुस्तकले टिप्पणी गरेअनुसार “होमो सापियन्स्को (मानिसजाति) ठाउँ अहिले होमो डिजिटालिसले लिएको छ।” आजकल हाँसो, हाउभाउ र मुस्कानको भाषाको ठाउँ कहिलेकाहीं डिजिटल बाइट्स र कम्प्युटरले लिइरहेको जस्तो देखिन्छ।
हँसी मिजासले बिरामीहरूलाई आफ्नो सोचाइ, भावना र व्यवहार सकारात्मक राख्न मदत गर्छ। क्यान्सर तथा पीडा कम गर्ने उपचारका विशेषज्ञ डा. हिमा सान्स ओर्टेजले तयार पारेका हालैको एउटा लेखअनुसार हँसी मिजासले “कुराकानी गर्न सजिलो बनाउँछ, रोगप्रतिरोधात्मक क्षमता बढाउँछ, पीडा कम गर्छ, चिन्ता घटाउँछ, भावनात्मक र मांसपेशीको तनावलाई शान्त पार्छ अनि सृजनशीलता र आशा जगाउँछ।”
हँसी मिजासको ठूलो महत्त्व
रोग निको पार्न हँसी मिजास किन प्रभावकारी हुन्छ? किनभने यो एउटा यस्तो गुण हो जसले प्रतिकूल अवस्थाको बावजुद सकारात्मक ढङ्गमा त्यसको सामना गर्न हामीलाई मदत गर्छ। एकदमै सकारात्मक हुँदै सान्स ओर्टेज यसो भन्छन्, “हँसी मिजास र हाँसोलाई हाम्रो दैनिक जीवनमा समावेश गर्दा हामी आफ्नो बल घट्न दिंदैनौं, थकान कम गर्छौं अनि आफूप्रति अचाक्ली दया देखाउँदैनौं।”
हामीलाई हाँस उठ्ने कुराहरू व्यक्तिपिच्छे र संस्कृतिअनुसार फरक-फरक हुनु स्वाभाविकै हो। “फूलको आँखामा फूलै संसार भनेझैं हँसी मिजास पनि प्रत्येक व्यक्तिको दृष्टिकोणमा भर पर्छ” भनी सान्स ओर्टेस बताउँछन्। हाम्रो पृष्ठभूमि वा शैक्षिक योग्यता जस्तोसुकै भए तापनि कुराकानी गर्न अनि आफूभित्र गुम्सिएको चिन्ता, तनाव वा असुरक्षा कम गर्न हँसी मिजास एउटा अत्यन्तै प्रभावकारी तरिका हो। हँसी मिजास हाम्रो लागि यत्तिको मदतकारी हुन्छ भने यो विकास गर्न हामी के गर्न सक्छौं?
पहिलो कदम भनेको आफ्नै समस्या वा आफ्नै बिमारीबारे मात्र सोच्न छोडेर हरेक क्षणले दिने सकारात्मक पक्षमा रमाउने कोसिस गर्नु हो। साथै, हाम्रो समस्यालाई अझ चर्काउने बाङ्गोटिङ्गो वा अव्यावहारिक सोचाइलाई त्यागेर व्यावहारिक ढङ्गमा सोच्ने प्रयास गर्नु हो। अनि हरेक कामकुरालाई बेग्लै दृष्टिकोणले हेर्न सिकेर पनि हामी हँसी मिजास विकास गर्न सक्छौं। हामी सधैं हाँस्नुपर्छ भन्ने छैन तर कुनै कुराको हाँसउठ्दो पक्ष देख्यौं भने अझ बढी सकारात्मक हुन सक्नेछौं। सान्स ओर्टेस अझ यसो भन्छन्, “हँसी मिजासले एक छिनको लागि भए पनि हाम्रो ध्यान आफ्ना चिन्ताहरूबाट अन्तैतिर खिच्छ अनि त्यो समस्यालाई नयाँ दृष्टिकोणले हेर्न मदत गर्छ . . . जसले गर्दा त्यस समस्यालाई अन्य नयाँ विकल्पहरूद्वारा सामना गर्न सक्नेछौं।”
निस्सन्देह, हँसी मिजास जीवनमा हामीले सामना गर्ने सबै सङ्कटको ओखती होइन तैपनि प्रायजसो अवस्थामा यसले हामीलाई समस्यालाई सकारात्मक तथा सन्तुलित ढङ्गमा सामना गर्न मदत गर्नेछ। कोन्चीले भनेझैं “बिरामी हुनु भनेको रमाइलो कुरा होइन तर तपाईंले आफ्नो हँसी मिजास नहराउने प्रयास गर्नुपर्छ। म आफ्नो जीवनलाई एउटा करेसाबारीजस्तो ठान्छु, जहाँ थरिथरिका तरकारीहरू लगाइएका छन्—तर अफसोसको कुरा, एउटा बिरामी तरकारीको बोट भने मेरो रोग हो। तैपनि त्यो बिरामी बोटले अरू बोटहरूलाई ओझेलमा नपारोस् भनेर म त्यसलाई कुनामा राख्छु। मेरो क्यान्सर पूरै निको भइसक्यो त भन्न सक्दिनँ, तैपनि मैले रमाइलोसित जीवन बिताइरहेकी छु र त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” (g05 4/22)
[पृष्ठ १७-मा भएको चित्र]
कोन्ची आफ्ना पति फालिक्स् र बहिनी पेलीबाट प्रोत्साहन पाउँछिन्