सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हबगैंचाको काम तपाईंको लागि फाइदाजनक छ

हबगैंचाको काम तपाईंको लागि फाइदाजनक छ

हबगैंचाको काम तपाईंको लागि फाइदाजनक छ

के तपाईंलाई बगैंचाको काम गर्न मन पर्छ? त्यसो हो भने तपाईंले आफ्नो सोखबाट रमाइलो मात्र पाइरहनुभएको हुन्‍न। “तनाव कम गर्ने, रक्‍तचाप घटाउने र लामो समयसम्म बाँच्न मदत समेत गर्ने भएकोले बगैंचाको काम तपाईंको स्वास्थ्यको लागि फाइदाजनक छ” भन्‍ने प्रमाण अनुसन्धाताहरूले भेट्टाएका छन्‌ भनी लन्डनको इन्डिपेन्डेन्ट खबरपत्रिका बताउँछ।

“दिनभरिको व्यस्तता र तनावपछि घर फर्केर टहल्दै बगैंचाको काम गर्दा निकै राहत महसुस हुन्छ” भनी लेखिका गे सर्च बताउँछिन्‌। बगैंचाको काम सन्तोषजनक र रमाइलो मात्र नभई व्यायामशालामा गरिने कसरतभन्दा पनि राम्रो कसरत हो। कसरी? सर्चका अनुसार “खन्‍नु र बगैंचाका झारपातहरू सोर्नुजस्ता कामहरू एउटा राम्रो कसरत हो र यसो गर्दा साइकल चलाउँदाभन्दा पनि बढी क्यालोरी खर्च हुन्छ।”

बगैंचाको हेरविचार गर्नु विशेष गरी उमेर ढल्केकाहरूको लागि लाभकारी हुन्छ। नयाँ पालुवा पलाउने वा नयाँ कोपिला लाग्ने प्रत्याशाले उनीहरूलाई भविष्यप्रति सकारात्मक हुन मदत गर्छ। साथै, वृद्धावस्थाको कारण हुने “पीडा र निराशाबाट बगैंचाले छुटकारा दिन्छ” भनी रोयल हर्टिकल्चरल सोसाइटीका डा. ब्रिगिड बोर्डम्यान बताउँछन्‌। जतिजति उमेर ढल्कँदै जान्छ त्यति नै अरूमा निर्भर हुनुपर्ने भएकोले वृद्ध-वृद्धाहरू अक्सर निराश महसुस गर्छन्‌। यद्यपि, डा. बोर्डम्यानले बताएअनुसार “कुन बिरुवा रोप्ने, बगैंचा कस्तो बनाउने र यसको रेखदेख कसरी गर्ने भन्‍नेजस्ता कुराबारे हामी आफैले निर्णय गर्न सक्ने हुनाले आत्मनिर्भर हुने हाम्रो चाहना पूरा हुन्छ। अनि अरूको हेरविचार गर्ने इच्छा फेरि पूरा हुन्छ।”

सुन्दर र शान्तिमय वातावरणमा काम गर्दा मानसिक तवरमा बिमारी भएकाहरूले अक्सर आराम महसुस गर्छन्‌। साथै, अरूको लागि फूल फुलाउँदा वा खानेकुरा फलाउँदा यस्ता व्यक्‍तिहरूमा आत्म-विश्‍वास र आत्म-सम्मान पैदा गर्न मदत दिन सक्छ।

तर हरियालीबाट बगैंचाको काम गर्नेहरूले मात्र नभई अरूले पनि फाइदा उठाउन सक्छन्‌। युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक रोजर अल्रिकले एउटा समूहलाई तनावग्रस्त बनाएर परीक्षण गरे। प्राकृतिक वातावरणमा घुलमिल नगराइएकाहरूभन्दा रूखहरू भएको हरियाली वातावरणमा लगिएकाहरू चाँडो ठीक भएको कुरा तिनीहरूको मुटुको धड्‌कन र रक्‍तचाप नापेर तिनले पत्ता लगाए। शल्यक्रियापछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका बिरामीहरू रूखहरू देखिने कोठामा बस्दा चाँडै निको भएको कुरा यस्तै खालको अर्को एउटा परीक्षणद्वारा पत्ता लाग्यो। अरू बिरामीहरूको तुलनामा तिनीहरू “चाँडै निको भए, छिट्टै घर फर्के, दुःखाइ कम गर्ने औषधीको त्यति आवश्‍यक परेन अनि धेरै गुनासाहरू पनि आएनन्‌।” (g05 4/22)