सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उपासनामा धार्मिक चित्रहरू प्रयोग गर्न हुन्छ?

उपासनामा धार्मिक चित्रहरू प्रयोग गर्न हुन्छ?

बाइबलको दृष्टिकोण

उपासनामा धार्मिक चित्रहरू प्रयोग गर्न हुन्छ?

हरेक वर्षको अगस्त १५ तारिख ग्रीसको टिनोस टापुमा एउटा भव्य धार्मिक समारोह आयोजना गरिन्छ। येशूकी आमा मरियम र चमत्कारिक शक्‍ति भएको विश्‍वास गरिने तिनको चित्रको उपासना गर्न हजारौं मानिसहरू भेला हुन्छन्‌। a एउटा ग्रीक अर्थोडक्स सन्दर्भ सामग्री यसो भन्छ: “विशेष विश्‍वास र भक्‍तिसहित हामी हाम्रा प्रभुकी आमा, अति पवित्र ईश्‍वरमाताको सम्मान गर्छौं अनि सुरक्षा, निगाह र मदतको लागि उहाँलाई बिन्ती गर्छौं। हाम्रा आध्यात्मिक र शारीरिक आवश्‍यकताहरूका लागि हामी सन्तहरूको—पवित्र पुरुष तथा स्त्रीहरूको—सहायता खोज्छौं . . . तिनीहरूका पवित्र अवशेष तथा पवित्र चित्रहरूलाई हामी गहिरो श्रद्धासाथ चुम्बन र पूजा गर्छौं।”

अरू थुप्रै मसीही भनौदा गुटहरूले पनि यस्तै खालको उपासनामा भाग लिन्छन्‌। तर उपासना गर्दा धार्मिक चित्रहरूको प्रयोगलाई के बाइबल शिक्षाले समर्थन गरेको छ?

प्रारम्भिक मसीहीहरू

सा.यु. ५० तिर प्रेरित पावल उपासनामा मूर्तिहरूको प्रयोगलाई असाध्यै जोड दिइने सहर एथेन्समा जाँदा के भयो, विचार गर्नुहोस्‌। परमेश्‍वर “हातले बनाएको मन्दिरमा बास गर्नुहुन्‍न नता मानिसहरूका हातबाट, उहाँलाई केही थोकको खाँचो भएझैं पूजा लिनुहुन्छ। . . . हामीले परमेश्‍वरलाई मानिसका कल्पना र सीपले खोपेका सुन, अथवा चाँदी, अथवा ढुङ्‌गा हुन्‌ भन्‍ने ठान्‍नु हुँदैन” भनी पावलले एथेन्सवासीहरूलाई बताए।—छड्‌के अक्षर हाम्रो, प्रेरित १७:२४, २५, २९.

वास्तवमा, नयाँ करार भनेर पनि चिनिने मसीही युनानी धर्मशास्त्रमा मूर्तिहरूको प्रयोगसम्बन्धी यस्ता चेतावनीहरू थुप्रै पाइन्छन्‌। उदाहरणका लागि, प्रेरित यूहन्‍नाले मसीहीहरूलाई यस्तो आग्रह गरे: “मूर्तिहरूबाट जोगिएर बस।” (१ यूहन्‍ना ५:२१) पावलले कोरिन्थीहरूलाई यस्तो लेखे: “मूर्तिहरूसित परमेश्‍वरको मन्दिरको के सम्बन्ध?” (२ कोरिन्थी ६:१६) थुप्रै प्रारम्भिक मसीहीहरूले पहिला-पहिला आफ्नो उपासनामा मूर्तिहरू प्रयोग गरेका थिए। यसबारे सम्झाउँदै पावलले थिस्सलोनिकाका मसीहीहरूलाई यसरी लेखे: “जीवित सच्चा परमेश्‍वरको सेवा गर्नलाई . . . तिमीहरू मूर्तिहरूबाट परमेश्‍वरतर्फ फर्क्यौ।” (१ थिस्सलोनिकी १:९) कुरा स्पष्ट छ, ती मसीहीहरूले पनि धार्मिक चित्रहरूप्रति यूहन्‍ना र पावलको जस्तै दृष्टिकोण राख्थे।

“मसीहीहरूले” धार्मिक चित्रहरू प्रयोग गर्न थाल्छन्‌

इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “मसीही चर्चको प्रारम्भको प्रथम तीन शताब्दीसम्म . . . कुनै मसीही कला थिएन र चर्चले अक्सर आफ्नो भएभरको शक्‍तिले यसको प्रतिरोध गर्थ्यो। उदाहरणका लागि, अलेक्जेन्ड्रियाका क्लेमेन्टले धार्मिक (गैर-मसीही) कलाहरूको आलोचना गरे किनभने यसले मानिसहरूलाई सृष्टिकर्ताको नभई सृष्टि गरिएको वस्तुको उपासना गर्न प्रोत्साहन दिन्थ्यो।”

त्यसोभए, धार्मिक चित्रहरूको प्रयोग कसरी यत्तिको प्रख्यात भयो त? ब्रिटानिका अझै यसो भन्छ: “कुनै-कुनै मण्डलीहरूले तीव्र विरोध गरे तापनि तेस्रो शताब्दीको बीचतिर मसीही चर्चमा चित्रहरू प्रयोग गर्न र यसलाई स्वीकार्न थालियो। चौथो शताब्दीको सुरुतिर सम्राट्‌ कन्स्टान्टिनले मसीही चर्चहरूलाई रोमी साम्राज्यको चर्च बनाएपछि मात्र चर्चहरूमा चित्रहरू प्रयोग गर्न थालियो र यसले मसीही धर्ममा एउटा सामान्य प्रचलनको रूपमा जरा गाड्‌न थाल्यो।”

अहिले आफूलाई मसीहीहरू भनेर दाबी गर्न थालेका थुप्रै मूर्तिपूजकहरूमाझ सम्राट्‌हरूको चित्रलाई उपासना गर्नु सामान्य थियो। आफ्नो पुस्तक आइकन पेन्टिङ-मा जोन टेलर यसो भन्छन्‌: “सम्राट्‌को उपासना गर्दा मानिसहरूले क्यानभास वा काठमा बनाइएको तिनको चित्रको उपासना गर्थे र यसले धार्मिक चित्रहरूको श्रद्धातर्फ डोऱ्‍यायो।” यसरी चित्रहरूको उपासना गर्ने गैर-मसीही प्रचलनको ठाउँ येशू, मरियम, स्वर्गदूतहरू र “सन्तहरूका” चित्रहरूको उपासनाले ओगट्यो। चर्चहरूमा प्रयोग हुन थालेका यी चित्रहरू बिस्तारै-बिस्तारै करोडौं मानिसहरूको घरभित्र छिऱ्‍यो र त्यहाँ पनि यसको उपासना गर्न थालियो।

“आत्मा र सत्यतामा” उपासना गर्ने

परमेश्‍वरका सेवकहरूले “आत्मा र सत्यतामा” उपासना गर्नै पर्छ भनी येशूले आफ्ना स्रोताहरूलाई बताउनुभयो। (यूहन्‍ना ४:२४) त्यसैले कुनै निष्कपट व्यक्‍ति उपासनामा धार्मिक चित्रहरूको प्रयोग गर्नु हुन्छ वा हुँदैन भन्‍नेबारे सत्य कुरा थाह पाउन चाहन्छन्‌ भने यस विषयमा समझ पाउनको लागि तिनले परमेश्‍वरको वचनमा हेर्नुपर्छ।

उदाहरणका लागि, बाइबलमा येशूको यस्तो भनाइ पाइन्छ: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूहन्‍ना १४:६) “परमेश्‍वर एउटै हुनुहुन्छ। परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात्‌ ख्रीष्ट येशू, जो मानिस हुनुहुन्छ” र “ख्रीष्ट[ले] . . . हाम्रा निम्ति अन्तरबिन्ती पनि गर्नुहुन्छ” भनी पावलले बताए। (१ तिमोथी २:५; रोमी ८:३४) “[येशूद्वारा] परमेश्‍वरको नजीक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्नसक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति अन्तरबिन्ती गर्नालाई उहाँ सधैंभरि रहनुहुन्छ” भन्‍ने कुरा पढ्‌दा येशूको भूमिका अझ प्रस्ट हुन्छ। (हिब्रू ७:२५) हामी येशू ख्रीष्टको नाउँद्वारा परमेश्‍वरसामु जानुपर्छ। उहाँको ठाउँ अरू कुनै पनि व्यक्‍ति वा निर्जीव चित्रहरूले लिन सक्दैन। “पितालाई आत्मा र सत्यतामा” उपासना गर्न र यस उत्कृष्ट उपासना पद्धतिका आशिष्‌हरू अनुभव गर्न सच्चाइ खोजिरहेका व्यक्‍तिहरूलाई परमेश्‍वरको वचनको यस्तो ज्ञानले मदत दिन सक्छ। वास्तवमा, येशूले भन्‍नुभएझैं “पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।”—यूहन्‍ना ४:२३. (g05 5/8)

[फुटनोट]

a साधारणतया, धार्मिक चित्र भनेको कुनै खास धर्मका सदस्यहरूले श्रद्धा गर्ने प्रतीक वा चिह्न हो। उदाहरणका लागि, पूर्वी अर्थोडक्स चर्चहरूमा ख्रीष्ट, त्रिएक, “सन्तहरू,” स्वर्गदूतहरू वा माथि वर्णन गरिएझैं येशूकी आमा मरियमका प्रतीकहरू प्रयोग गरिन्छ। उपासनामा प्रयोग गरिने मूर्तिहरूप्रति थुप्रै व्यक्‍तिहरूले देखाएको जस्तै श्रद्धा करोडौं मानिसहरूले धार्मिक चित्रहरूप्रति पनि देखाउँछन्‌। आफू मसीही हो भनेर दाबी नगर्ने कुनै-कुनै धर्महरूले पनि आफ्ना देवताहरूका चित्र वा मूर्तिहरूप्रति यस्तै विश्‍वास र भावना राख्छन्‌।

[पृष्ठ २०-मा भएको चित्रको स्रोत]

Boris Subacic/AFP/Getty Images