सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के इन्टरनेट डेटिङ साँच्चै खतरनाक हुन सक्छ?

के इन्टरनेट डेटिङ साँच्चै खतरनाक हुन सक्छ?

युवा जनहरू सोध्छन्‌ . . .

के इन्टरनेट डेटिङ साँच्चै खतरनाक हुन सक्छ?

“इन्टरनेटमा अर्को व्यक्‍ति वास्तवमा को हो भनेर तपाईंलाई थाह नहुन पनि सक्छ।”—डान, १७. a

“मानिसहरूले इन्टरनेटमा झूट बोल्न सक्छन्‌। आफूलाई अर्कै व्यक्‍तिजस्तो देखाउन सजिलो हुन्छ।”—जर्ज, २६.

इन्टरनेट डेटिङ संसारभरि लोकप्रिय हुँदै गइरहेको छ। यस शृङ्‌खलाको अघिल्लो लेखले बताएअनुसार इन्टरनेट रोमान्स चाँडै फस्टाउन सक्छ तर वास्तविकता थाह पाएपछि भने अक्सर ओइलाउन कति बेर पनि लाग्दैन। b तर यसबाट हुने निराशाभन्दा अझ ठूलो चिन्ताको विषय छ। यसरी डेटिङ गर्दा शारीरिक, भावनात्मक वा आध्यात्मिक तवरमा तपाईं गम्भीर खतरामा पर्न सक्नुहुन्छ।

तपाईंको घरमै भएको एकदमै अहानिकारक अनि सुरक्षित देखिने कम्प्युटर वास्तवमा तपाईंको लागि कसरी खतरनाक हुन सक्छ? यसका केही खतराहरू बाइबलको एउटा महत्त्वपूर्ण सिद्धान्तसित सम्बन्धित छ। प्रेरित पावलले यस्तो लेखे: हामी “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा” गर्छौं। (हिब्रू १३:१८) अब यसको मतलब इन्टरनेट चलाउनु बेइमानी हो वा इन्टरनेट चलाउँदा बेइमान होइन्छ भन्‍न खोजेको होइन। तर हामीले कुन कुरा मानिलिनुपर्छ भने, अर्को व्यक्‍ति अक्सर इमानदार हुँदैन अनि यस लेखको सुरुमै उद्धरण गरिएका भनाइहरूले देखाएझैं इन्टरनेटद्वारा कुनै-कुनै किसिमको बेइमानी गर्न सजिलो देखिन्छ र बेइमानी गरेको कुरा पनि त्यति सजिलै पत्ता लाग्दैन। अनि रोमान्टिक घनिष्ठताको विषयमा भन्‍ने हो भने बेइमान हुँदा भयानक खतराहरू हुन सक्छन्‌।

उदाहरणका लागि, यस बाइबल पदमा बताइएको बेइमानीलाई विचार गर्नुहोस्‌: “म व्यर्थका मानिसहरूसँग बसेको छैनँ। नता म कपटीहरूको साथमा जानेछु।” (भजन २६:४) “कपटीहरू” भन्‍नाले के बुझिन्छ? एउटा सन्दर्भ सामग्रीअनुसार यो अभिव्यक्‍तिले “अरूबाट आफ्नो उद्देश्‍य वा योजना लुकाउने वा आफ्नो वास्तविक चरित्र र मनसाय लुकाउने” व्यक्‍ति भन्‍ने बुझाउँछ। इन्टरनेटमा यस्तो बेइमानी कसरी गरिन्छ? अनि रोमान्सको खोजी गर्नेहरूको सामु यसले कस्ता खतराहरू खडा गर्छ?

भेडाको भेषमा ब्वाँसो

खतरनाक वेब साइटहरू नहेर्नू भन्‍ने सन्दर्भमा धेरै केटाकेटीले आफ्ना आमाबाबुको आज्ञा पालन गर्दैनन्‌ भनेर माइकल नाउँ गरेका एक जना बुबाले एउटा सेमिनारमा थाह पाउँदा झसङ्‌गै भए। तिनी यसो भन्छन्‌, “बाल यौन दुराचारीहरूले नाबालिगहरूलाई पतित यौन गतिविधिमा फसाउन इन्टरनेट चलाउन सक्छन्‌ भनेर थाह पाउँदा मलाई झन्‌ चिन्ता लाग्यो।” नयाँ व्यक्‍तिहरू भेट्‌न युवाहरूले इन्टरनेटको प्रयोग गर्दा तिनीहरूले सोचेभन्दा बढी खतरा मोलिरहेका हुन सक्छन्‌।

हो, युवाजस्तो भई टोपलेर साना केटाकेटीलाई आफ्नो पासोमा फसाउने वयस्क यौन दुराचारीहरूबारे समय-समयमा समाचारमा सुनिन्छ। एउटा अध्ययनअनुसार “इन्टरनेट प्रयोग गर्ने पाँच जनामध्ये एक जना बच्चालाई यौन गतिविधिमा संलग्न हुन बोलाइएको छ।” एउटा अखबारले बताएअनुसार १० देखि १७ वर्षबीचका ३३ जना बालबालिकामध्ये १ जनालाई कम्प्युटरमा मेसेज पठाएको पठाई गरेर “एकदमै हैरान” पारिएका घटनाहरू छन्‌।

इन्टरनेटद्वारा एकदमै रोमान्टिक सम्बन्ध गाँस्न पुगेका “युवाहरू” वास्तवमा वयस्क कैदीहरू पो रहेछन्‌ भनेर थाह पाउँदा कोही-कोही जवानहरू तीनछक परेका छन्‌। अरू कतिपय जवानहरू भने चालै नपाई यौन सिकारीहरूसित रोमान्टिक सम्बन्ध गाँस्न पुगेका छन्‌। यी खराब मानिसहरू पहिला मित्रैलो ढङ्‌गमा अन-लाइन कुराकानी गर्दै एक अर्काप्रतिको भरोसा जितेर आफ्नो सम्भाव्य सिकारलाई “तयार” पार्छन्‌। तर आफ्ना विकृत इच्छाहरू तृप्त पार्न समयको दौडान तिनीहरू व्यक्‍तिगत तवरमा भेट्‌न खोज्छन्‌। दुःखको कुरा, जवान मानिसहरू पिटिएका, बलात्कृत भएका अनि मारिएका समेत छन्‌।

दुष्ट मानिसहरूले इन्टरनेटमा आफ्नो सिकार भेटाउन “कपटी” व्यवहार गर्छन्‌ अर्थात्‌ आफ्नो वास्तविक चिनारी लुकाउँछन्‌। त्यस्ता सिकारीहरूले तपाईंलाई येशूले भन्‍नुभएका झूटा अगमवक्‍ताहरूको सम्झना दिलाउन सक्छ “जो तिमीहरूकहाँ भेडाका भेषमा आउँछन्‌” तर तिनीहरू वास्तवमा “लुटाहा ब्वाँसाहरू” जस्ता हुन्छन्‌। (मत्ती ७:१५) इन्टरनेटमा वास्तविक परिचय लुकाएर कुराकानी गरिने हुँदा कस्तो छलकपट लुकेको छ भनेर थाह पाउन लगभग असम्भव हुन सक्छ। सुरुमै उल्लेख गरिएका जर्ज यसो भन्छन्‌, “व्यक्‍तिगत तवरमा कुनै व्यक्‍तिलाई भेटेर कुरा गर्नुहुँदा तिनको अनुहारको हावभाव र बोलीचालीबाट केही कुरा थाह पाउन सक्नुहुन्छ। तर इन्टरनेटमा यस्तो सम्भव हुँदैन। सजिलै झुक्किन सकिन्छ।”

बाइबलको यो सल्लाह साँच्चै बुद्धिमानीपूर्ण छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) हुन त, तपाईंले इन्टरनेटमा भेट्‌नुहुने सबै व्यक्‍ति खतरनाक नै हुन्छन्‌ भन्‍ने छैन। तर “कपटी” मानिसहरूले आफ्नो चिनारी लुकाउने थुप्रै तरिकाहरू छन्‌।

छलछाम र गोपनीयताको खतरा

त्यसैले इन्टरनेटमा रोमान्स खोज्ने व्यक्‍तिहरूको एउटा सामान्य कुरा के हो भने, तिनीहरू राम्रा गुणहरू बढाइचढाइ गर्न खोज्छन्‌ वा नभएको गुण पनि भएजस्तो देखाउँछन्‌ र गम्भीर त्रुटिहरू भने त्यति गम्भीर नभएजस्तो देखाउँछन्‌ वा लुकाउँछन्‌। यसबाहेक, एक जना लेखकको कुरालाई उद्धरण गर्दै वासिङ्‌टन पोस्ट-ले यसो भन्यो: “इन्टरनेट डेटिङ खतरनाक हुन सक्छ किनभने मानिसहरू झुक्किन्छन्‌।” यसले अझै यसो भन्छ: “मानिसहरू अक्सर आफू केटा हो या केटी, त्यसबारे सही कुरा बताउँदैनन्‌ . . . आयस्रोत, . . . जाति, आपराधिक रेकर्ड, मानसिक स्वास्थ्यसम्बन्धी विवरण र विवाहित हो या होइन भन्‍ने कुरा लामो समयसम्म गोप्य राखिन्छ।” धेरै मानिसहरू इन्टरनेट डेटिङद्वारा बहकिएर आफूले तीतो अनुभव भोग्नुपरेको हुँदा तिनीहरूले अरूलाई सावधान गराउन यी घटनाहरूबारे बताएका छन्‌।

आफ्नो आध्यात्मिकताजस्तो गम्भीर विषयमा पनि मानिसहरू झूट बोल्छन्‌ र? दुःखको कुरा, झूट बोल्छन्‌ अनि आफू साँचो मसीही नभए तापनि कसै-कसैले साँचो मसीही भएको दाबी गर्छन्‌। मानिसहरू किन यतिबिघ्न छलछाम गर्छन्‌? एउटा कारण हो, इन्टरनेटमा यसो गर्न सजिलो हुन्छ। आयरल्याण्डका शन नाउँ गरेका युवक यसरी मानिलिन्छन्‌: “कम्प्युटर स्क्रिनमा टाइप गर्दा आफू वास्तवमा नभएको कुरा पनि हो जस्तो देखाउन एकदमै सजिलो हुन्छ।”

धेरैजसो मानिसहरू यो छलछामलाई हल्कासित लिन्छन्‌ अनि रोमान्स गर्दा अलिकता झूट बोल्नु त स्वाभाविकै हो भनेर सफाइ दिन खोज्छन्‌। तर नबिर्सनुहोस्‌, झूट बोल्नुलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६-१९) अनि यसो गर्नुको राम्रो कारण छ। आज संसारमा भएको अधिकांश पीडा तथा दुःखको कारण झूट हो। (यूहन्‍ना ८:४४) झूटमा सुरु गरिएको कुनै पनि सम्बन्ध एकदमै कमजोर हुन्छ, झन्‌ त्यसमाथि जिन्दगीभरको लागि बाँधिने सम्बन्धमा त यस्तो जग अझै खतरनाक हुन्छ। त्यो भन्दा पनि नराम्रो कुरा, बेइमानी एउटा आध्यात्मिक खतरा हो; बेइमानी गर्दा झूट बोल्ने व्यक्‍तिले यहोवा परमेश्‍वरसित आफ्नो सम्बन्धलाई बिगार्छ।

दुःखको कुरा, कोही-कोही जवान मानिसहरू अर्कै प्रकारको बेइमानी गर्न पुगेका छन्‌। तिनीहरूले इन्टरनेटद्वारा सम्बन्ध गाँसेका छन्‌ तर यो कुरा आफ्ना आमाबाबुबाट लुकाएका छन्‌। उदाहरणका लागि, १,५०० किलोमिटर भन्दा लामो यात्रा गरेर एउटी युवती आफ्नो घरमा टुप्लुक्क आइपुग्दा एउटा किशोरका आमाबाबु तर्सिए र त्यस युवतीको विश्‍वास पनि यस परिवारको भन्दा बेग्लै थियो। तिनीहरूको छोराले त्यस युवतीसित अन-लाइन डेटिङ गरिरहेको छ महिना भइसकेको थियो अनि त्यतिन्जेलसम्म आमाबाबुलाई यस केटीबारे पत्तै थिएन!

आमाबाबुले सोधे, “यो कसरी हुन गयो?” तिनीहरूले यस्तो सोचे, ‘आफूले कहिल्यै नभेटेको व्यक्‍तिसित हाम्रो छोरा कसरी आकर्षित हुन पुग्यो?’ वास्तवमा, छोराले तिनीहरूलाई छक्याइरहेको थियो अर्थात्‌ आफ्नो वास्तविक चिनारी लुकाइरहेको थियो। यस्तो किसिमको छलछाम वैवाहिक बन्धनमा बाँधिने तयारीको लागि एउटा कमजोर जग हो जस्तो तपाईंलाई लाग्दैन र?

इन्टरनेटबाट भन्दा व्यक्‍तिगत तवरमा भेट्‌ने

इन्टरनेट डेटिङका अन्य खतराहरू पनि हुन सक्छन्‌। कुनै-कुनै अवस्थामा, आफूले दिनदिनै भेट्‌ने व्यक्‍तिहरूभन्दा अन-लाइन भेट्‌ने व्यक्‍तिहरू वास्तविक लाग्न सक्छ। परिवार, साथीभाइ तथा अरू जिम्मेवारीहरू कम महत्त्वपूर्ण हुन थाल्छन्‌। अस्ट्रियाकी मनिका नाउँकी युवती यसो भन्छिन्‌: “अन-लाइन भेट्‌ने मानिसहरूसित निकै समय बिताउन थालेकी हुँदा मैले अझ महत्त्वपूर्ण सम्बन्धहरूलाई बेवास्ता गर्न थालें।” यो कुरा बुझेपछि मानिसहरूसित चिनजान बढाउन उनले इन्टरनेट प्रयोग नगर्ने निर्णय गरिन्‌।

निस्सन्देह, धेरैले इन्टरनेटको सन्तुलित प्रयोग गर्न सिकेका छन्‌। साथीभाइ तथा आफ्ना प्रियजनहरूको हालखबर बुझ्न ईमेल अत्यन्तै उपयोगी हुन सक्छ। तर व्यक्‍तिगत तवरमा भेटेर कुरा गर्नुभन्दा राम्रो उपाय अरू छैन भन्‍ने कुरामा तपाईं अवश्‍य सहमत हुनुहुनेछ। यौन इच्छाहरू अत्यन्तै तीव्र हुने जवानीको “बैंस” तपाईंले पार गरिसक्नुभयो र विवाह गर्न चाहनुहुन्छ भने जीवनको सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्नुपर्ने अवस्थामा हुनुहुन्छ। (१ कोरिन्थी ७:३६) त्यसैले, एकदमै सोचविचार गरेर जिम्मेवार निर्णय गर्नुहोस्‌।

बाइबल यस्तो सल्लाह दिन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।” (हितोपदेश १४:१५) आफूले कहिल्यै नभेटेको व्यक्‍तिले लेखेको एक-एक कुरा पत्याउनु भन्दा होसियार भई आफ्नो कदम चाल्नुहोस्‌। व्यक्‍तिगत तवरमै भेटेर साथी बनाउनु कता हो कता बुद्धिमानी हो। विशेष गरी आध्यात्मिक लक्ष्य तथा मूल्यमान्यताहरूको सन्दर्भमा तपाईंहरूको कुरा साँच्चै मिल्छ कि मिल्दैन पत्ता लगाउनुहोस्‌। यस्तो किसिमको विवाहपूर्व भेटघाटले सुखी विवाहतर्फ डोऱ्‍याउन सक्छ। (g05 5/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b मे ८, २००५ को ब्यूँझनुहोस्‌!-मा प्रकाशित “युवा जनहरू सोध्छन्‌ . . . इन्टरनेट डेटिङ गरूँ कि क्या हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ २२-मा भएको चित्र]

इन्टरनेटमा मेसेज टाइप गर्ने व्यक्‍ति वास्तवमा को हो भनेर के तपाईंलाई साँच्चै थाह छ?

[पृष्ठ २४-मा भएको चित्र]

विवाहपूर्व भेटघाटको सन्दर्भमा व्यक्‍तिगत तवरमा भेट्‌नुको अन्य विकल्प छैन