सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कस्तो चलचित्र हेर्नुहुनेछ?

तपाईं कस्तो चलचित्र हेर्नुहुनेछ?

तपाईं कस्तो चलचित्र हेर्नुहुनेछ?

हालैका दशकहरूमा चलचित्र अथवा टिभीमा देखाइने अत्यधिक यौन, हिंसा र छाडा दृश्‍यहरूप्रति मानिसहरूले आ-आफ्नै किसिमको प्रतिक्रिया व्यक्‍त गरेका छन्‌। कसैले कुनै-कुनै यौनसम्बन्धी दृश्‍य अश्‍लील हो भनी आपत्ति जनाउँछन्‌ भने, अरूचाहिं यसलाई कलाको रूपमा लिन्छन्‌। कोही-कोही चलचित्रमा हिंसाका दृश्‍यहरू राख्नु ठीक छैन भन्छन्‌ भने, कोही चाहिं ठीकै छ भन्छन्‌। कतिलाई छाडा बोली भएको संवाद अपमानजनक लाग्छ भने, कतिलाई यो यथार्थजस्तो लाग्छ। कुनै व्यक्‍तिलाई अश्‍लील लाग्ने कुरा अर्को व्यक्‍तिको लागि वाक्‌ स्वतन्त्रता हुन सक्छ। दुवै खाले मानिसहरूको भनाइ सुन्दा यो चलचित्रको विषयमा गरिएको जाबो विवादजस्तो लाग्न सक्छ।

तर चलचित्रमा हामीले हेर्ने र देख्ने कुरा कुनै जाबो कुरा होइन। यो त आमाबाबुका साथसाथै नैतिक स्तरहरूको मोल गर्ने सबैका लागि चिन्ताको विषय हो। एउटी जवान महिलाले यसो भन्दै बिलौना गरिन्‌, “जब-जब म जोखिम मोलेर आफ्नो विवेकको विरुद्धमा गई चलचित्र हेर्ने दुस्साहस गर्छु, चलचित्र हेरेर बाहिर निस्कँदा मलाई आफू साह्रै खत्तम व्यक्‍तिजस्तो लाग्छ। यस्तो चलचित्र बनाउने व्यक्‍तिहरू र म आफैसँग लाज लागेर आउँछ। जे हेरें त्यसले आफूलाई नीच मानिस बनाएको आभास हुन्छ।”

स्तर तोक्ने

चलचित्रको विषयवस्तुबारे प्रकट गरिने चिन्ता कुनै नौलो कुरा होइन। भर्खर-भर्खर चलचित्र निर्माण हुन थालेको बेला ठूलो पर्दामा देखाइएको यौन तथा आपराधिक विषयवस्तुप्रति मानिसहरूले निकै रोष प्रकट गरे। अन्तमा, सन्‌ १९३० को दशकमा संयुक्‍त राज्य अमेरिकामा एउटा नियम लागू गरियो जुन नियमले चलचित्रमा देखाइने दृश्‍यहरूमा निकै कडिकडाइ गऱ्‍यो।

द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार चलचित्रका लागि लागू गरिएको त्यो नयाँ नियम “धेरै हदसम्म दमनकारी हुनुका साथै त्यसले साधारण वयस्कहरूसित सम्बन्धित प्रायजसो सबै कुरा पर्दामा देखाउन प्रतिबन्ध लगायो। त्यस नियमले ‘कामवासना’ र व्यभिचार, अवैध यौनसम्बन्ध, प्रलोभन देखाएर यौनसम्बन्ध राखेको र बलात्कार गरेका दृश्‍यहरू कथाको मागअनुसार नराखी भएन भने राख्न सकिने भए तापनि यस्तो काममा संलग्न हुनेहरूलाई चलचित्रको अन्तमा कठोर सजाय दिइएको देखाइएन भने चलचित्रमा ती दृश्‍यहरूको छनकसमेत राख्न निषेध गरेको थियो।”

हिंसाको सन्दर्भमा चाहिं “चलनचल्तीमा भएका हातहतियारहरू देखाउन अथवा त्यसबारे चर्चा गर्न, अपराधको एक-एक विवरण देखाउन, कानुन लागू गर्ने अधिकारीहरू अपराधीहरूको हातबाट मारिएको देखाउन, अत्यधिक निरङ्‌कुशता अथवा काटमारको दृश्‍य राख्ने सुझाव दिन अथवा कथाको मागबाहेक हत्या वा आत्महत्याको दृश्‍य राख्न निषेध गरिएको थियो। . . . कुनै पनि हालतमा अपराधलाई न्यायसंगत चित्रण गर्न सकिंदैन थियो।” सारांशमा भन्‍ने हो भने, त्यस नियमअनुसार “दर्शकहरूको नैतिक स्तरलाई गिराउने किसिमको कुनै पनि चलचित्र बनाउन मनाही गरिएको थियो।”

प्रतिबन्धदेखि रेटिङ प्रणाली

सन्‌ १९५० को दशकतिर हलिउडका थुप्रै निर्माताहरूले त्यस नियमको अवहेलना गरिरहेका थिए किनकि उनीहरूलाई त्यो नियम पुरानो जमानाको जस्तो लाग्यो। तसर्थ, सन्‌ १९६८ मा त्यस नियमलाई खारेज गरेर त्यसको ठाउँमा रेटिङ प्रणाली लागू गरियो। a रेटिङ प्रणाली लागू भएपछि चलचित्रमा आपत्तिजनक विषयवस्तु देखाउन सकिने बाटो खुल्यो तर चलचित्र “वयस्कहरूका” लागि मात्र हो भन्‍ने कुरा सर्वसाधारणले पहिल्यै चाल पाऊन्‌ भनेर वर्गीकृत गर्न यस्तो चलचित्रमा एउटा चिह्न राख्नु आवश्‍यक थियो। मोशन पिक्चर असोसिएसन अफ अमेरिकामा अध्यक्षको रूपमा करिब ४ दशक काम गरेका जाक भलेन्टीका अनुसार यस्तो चिह्न राख्नुको उद्देश्‍य “आमाबाबुलाई पहिल्यै सचेत गराउन चेतावनी दिनु थियो ताकि आफ्ना छोराछोरीलाई कस्तो चलचित्र हेर्न दिने र कस्तो हेर्न नदिने भन्‍ने विषयमा आमाबाबु आफैले निर्णय गर्न सकून्‌।”

रेटिङ प्रणाली लागू भएपछि बन्देज हट्यो। हलिउडका मूलधार चलचित्रका स्क्रिप्टहरूमा यौन, हिंसा र छाडा कुराहरूको बाढी नै आयो। चलचित्र निर्माताहरूलाई प्रदान गरिएको त्यो नयाँ स्वतन्त्रताको कारण त्यो बाढी यति डरलाग्दो गरी उर्लेर आयो कि त्यसलाई रोक्न सम्भव भएन। तैपनि, रेटिङ प्रणालीबाट सर्वसाधारणले अग्रिम चेतावनी पाउने थिए। तर के तपाईंले थाह पाउन चाहनुभएका सबै कुरा रेटिङ प्रणालीले बताउँछ?

रेटिङ प्रणालीले नबताउने कुरा

कसै-कसैलाई समयको गतिसँगै रेटिङ प्रणाली फितलो भएर गएझैं लाग्छ। हार्डबर्ड स्कूल अफ पब्लिक हेल्थले गरेको एउटा अध्ययनले यस्तो आशङ्‌काको समर्थन गर्छ किनभने अध्ययनको दौडान किशोरकिशोरीहरूले हेर्न मिल्ने ठानिएका हिजोआजका चलचित्रहरूमा हिंसा र सुस्पष्ट यौन अनैतिकताका दृश्‍यहरू केही दशकअघिको तुलनामा अत्यधिक मात्रामा पाइयो। अध्ययनको निचोड यस्तो थियो, “एउटै रेटिङ भएका चलचित्रहरूमा हुने आपत्तिजनक विषयवस्तुको मात्रा र प्रकार निकै फरक हुन सक्छ” अनि “उमेरको आधारमा राखिने रेटिङले मात्र हिंसा, यौन अनैतिकता, छाडा बोलीचालीलगायत अन्य विषयवस्तुका दृश्‍यहरूबारे पर्याप्त जानकारी दिंदैन।” b

छोराछोरीलाई मात्र चलचित्र हेर्न जान दिने आमाबाबुहरू आज कुन कुरा हेर्न ठीक छ भन्‍ने विषयमा त्यति सजग नहुन सक्छन्‌। उदाहरणका लागि, एक जना चलचित्र समालोचकले संयुक्‍त राज्य अमेरिकामा किशोरकिशोरीका लागि उपयुक्‍त भनी रेटिङ गरिएको चलचित्रकी मुख्य पात्रबारे बताउँछन्‌। तिनी “स्वतन्त्र विचारधारा भएकी १७ वर्षीया युवती थिइन्‌ र तिनी दिनहुँ रक्सी पिएर मात्तिन्छिन्‌, अवैध लागू औषध सेवन गर्छिन्‌, मनपरी गरिने जमघटमा जान्छिन्‌ र भर्खरै भेटेको केटोसँग जबरजस्ती यौनसम्बन्ध राख्छिन्‌।” यस किसिमको विषयवस्तुप्रति जिब्रो टोक्ने सायदै कोही होला। वास्तवमा, किशोरकिशोरीका लागि उपयुक्‍त भनी रेटिङ गरिएका चलचित्रहरूमा मुख मैथुनलाई “साधारणतया स्वीकार्य” जस्तो गरी देखाइन्छ भनी द वासिङ्‌टन पोस्ट म्यागेजिन बताउँछ। कुरा स्पष्ट छ, कुनै पनि चलचित्र कस्तो छ भनेर थाह पाउने सन्दर्भमा रेटिङ हेर्नु मात्र पर्याप्त छैन। त्यसोभए रेटिङभन्दा राम्रो मार्गदर्शक अरू केही छ कि?

खराबीलाई घृणा गर”

रेटिङ प्रणाली बाइबल प्रशिक्षित अन्तस्करणको विकल्प होइन। मनोरञ्जनलगायत आफूले गर्ने सम्पूर्ण निर्णयहरूमा मसीहीहरूले बाइबलको भजन ९७:१० मा पाइने सल्लाह लागू गर्ने प्रयत्न गर्छन्‌: “खराबीलाई घृणा गर।” खराबीलाई घृणा गर्ने व्यक्‍तिले परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूबाट मनोरञ्जन प्राप्त गर्नुलाई गलत ठान्‍नेछन्‌।

आफ्ना छोराछोरीलाई कस्तो किसिमको चलचित्र हेर्न दिने भन्‍ने विषयमा विशेष गरी आमाबाबु सतर्क हुनु जरुरी छ। सर्र रेटिङ हेर्नु मात्र त्यति बुद्धिमानी नहुन सक्छ। तपाईंको बच्चाको उमेरलाई उपयुक्‍त हुने रेटिङ गरिएको चलचित्रले आमाबाबुको हैसियतमा तपाईंहरूलाई उचित नलाग्ने किसिमका स्तरहरू प्रवर्धन गर्न सक्छ। मसीहीहरूका लागि यो कुनै अचम्मलाग्दो कुरा होइन किनभने यस संसारले ईश्‍वरीय स्तरहरूको ठीक उल्टा सोच्ने र काम गर्ने तरिका अपनाएको छ। cएफिसी ४:१७, १८; १ यूहन्‍ना २:१५-१७.

यसको मतलब सबै चलचित्रहरू खराबै मात्र हुन्छन्‌ भन्‍न खोजेको होइन। तर होसियार हुनु भने खाँचो छ। यस विषयमा जून ८, १९९७ अंकको ब्यूँझनुहोस्‌!-मा यस्तो टिप्पणी गरिएको थियो: “अन्य पक्षहरूमा हरेक व्यक्‍तिले होसियारीपूर्वक निर्णय गर्नुपर्छ, जसले गर्दा तिनी परमेश्‍वर र मानिससामु सफा अन्तस्करण लिएर खडा हुन सक्नेछन्‌।”—१ कोरिन्थी १०:३१-३३.

उपयुक्‍त मनोरञ्जन कसरी पत्ता लगाउने

परिवारको लागि चलचित्र छान्‍ने सन्दर्भमा आमाबाबुले कसरी सही छनौट गर्न सक्छन्‌? विश्‍वभरका आमाबाबुले गरेका निम्न टिप्पणीहरू विचार गर्नुहोस्‌। आफ्नो परिवारलाई स्वास्थ्यवर्धक मनोरञ्जन प्रदान गर्ने खोजमा तपाईंलाई उनीहरूको भनाइले मदत गर्न सक्छ।—पृष्ठ १४ मा भएको “रमाइलो गर्ने अरू तरिकाहरू” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।

स्पेनका क्वान यसो भन्छन्‌, “हाम्रा छोराछोरी साना छँदा कि त मेरी पत्नी नभए म उनीहरूसँगै सधैं चलचित्र हेर्न जान्थ्यौं। उनीहरू कहिल्यै पनि एक्लै अथवा अरू युवाहरूसँग मात्र गएनन्‌। अहिले उनीहरू किशोरकिशोरी भइसके र चलचित्र प्रदर्शन भएको पहिलो दिनमै उनीहरू चलचित्र हेर्न जाँदैनन्‌; बरु, हामीले चलचित्रको रिभ्यु नपढुन्जेल अथवा भरपर्दो व्यक्‍तिको मुखबाट त्यस चलचित्रबारे नसुनेसम्म हामी उनीहरूलाई पर्खिन लगाउँछौं। त्यसपछि मात्र पारिवारिक रूपमा हामी चलचित्र हेर्न जाने कि नजाने भनी निधो गर्छौं।”

दक्षिण अफ्रिकाका मार्क फिल्महलहरूमा प्रदर्शन भइरहेको चलचित्रबारे आफ्नो किशोर छोरालाई खुलेर कुरा गर्न प्रोत्साहन दिन्छन्‌। मार्क यसो भन्छन्‌, “चलचित्रबारे छोराको विचार सोधेर मेरी पत्नी र म छलफल सुरु गर्छौं। यसो गर्दा हामी तिनको विचार सुन्‍न र तिनीसित तर्क गर्न सक्छौं। फलतः हामी सबैले आनन्द उठाउन सक्ने चलचित्र रोज्न सकेको हामीलाई महसुस हुन्छ।”

ब्राजिलका रोजेरियो पनि आफ्ना छोराछोरीले हेर्न चाहेको फिल्महरूबारे उनीहरूसित विश्‍लेषण गर्न समय बिताउँछन्‌। तिनी यसो भन्छन्‌, “समालोचकहरूले गरेका टिप्पणी म उनीहरूसितै पढ्‌छु। फिल्म अनुपयुक्‍त हुन सक्ने सङ्‌केतहरू बाहिरी खोलमा कसरी हेर्ने भनी सिकाउन म उनीहरूसँग भिडिओ स्टोर पनि जान्छु।”

बेलाइतका म्याथ्युलाई आफ्ना छोराछोरीले हेर्न चाहेका चलचित्रहरूबारे उनीहरूसित कुराकानी गर्नु लाभदायी लाग्छ। तिनी यसो भन्छन्‌, “पारिवारिक रूपमा हामीले हेर्न चाहेका फिल्महरूको विषयवस्तुबारे छलफल गर्दा हामी हाम्रा छोराछोरीलाई पनि सानैदेखि त्यस्तो छलफलमा सामेल गर्थ्यौं। यदि हामीलाई कुनै फिल्म हेर्न ठीक नलागेको खण्डमा छोराछोरीलाई त्यस्तो फिल्म हेर्नुहुन्‍न मात्र भन्‍नुको सट्टा मेरी पत्नी र म त्यसको कारण पनि उनीहरूलाई बताउँथ्यौं।”

साथै, कोही-कोही आमाबाबुले चलचित्रको विषयवस्तुबारे इन्टरनेट हेर्नु पनि मदतकारी पाएका छन्‌। फिल्महरूको विषयवस्तुबारे नालीबेली बताउने वेब साइटहरूको पनि कुनै कमी छैन। कुनै पनि चलचित्रले कस्तो किसिमको मूल्यमान्यता प्रवर्धन गरेको छ त्यसबारे प्रस्टसँग बुझ्न यी कुराहरू प्रयोग गर्न सकिन्छ।

प्रशिक्षित अन्तस्करणका लाभहरू

बाइबलमा “खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका” मानिसहरूबारे कुरा गरिएको छ। (हिब्रू ५:१४) तसर्थ, आमाबाबुको लक्ष्य छोराछोरीले आफ्नो मनोरञ्जन आफै छनौट गर्ने स्वतन्त्रता पाएको बेला बुद्धिमानी निर्णयहरू गर्न उनीहरूलाई मदत गर्ने किसिमका मूल्यमान्यताहरू उनीहरूको मनमा हालिदिने हुनुपर्छ।

यहोवाका साक्षीहरूमध्ये थुप्रै युवाहरूले यस सन्दर्भमा आफ्ना आमाबाबुबाट उत्कृष्ट प्रशिक्षण पाएका छन्‌। उदाहरणका लागि, संयुक्‍त राज्य अमेरिकाका बिल र चेरी आफ्ना दुई किशोर छोराहरूसँगै चलचित्र हेर्न जान रुचाउँछन्‌। बिल यसो भन्छन्‌, “चलचित्र हेरेर फर्केपछि हामी अक्सर परिवारै मिलेर चलचित्रको बारेमा छलफल गर्छौं—जस्तै, चलचित्रले कस्तो मूल्यमान्यताहरू सिकायो र हामी ती मूल्यमान्यतासित सहमत छौं कि छैनौं।” त्यसो त, बिल र चेरीलाई होसियारीसाथ छनौट गर्नुको महत्त्व थाह छ। बिल यसो भन्छन्‌, “हामी चलचित्रबारे जानकारी पहिल्यै पढ्‌छौं र हामीले आशा नगरेको आपत्तिजनक विषयवस्तु रहेछ भने फिल्महलबाट उठेर हिंड्‌न हामी अप्ठ्यारो मान्दैनौं। गहन विषयमा निर्णय गर्दा आफ्ना छोराहरूलाई पनि सामेल गरेको कारण उनीहरूले सही र गलत छुट्याउने शक्‍ति विकास गर्ने मदत पाइरहेका छन्‌ जस्तो बिल र चेरीलाई लाग्छ। बिल यसो भन्छन्‌, “कुन चलचित्र हेर्ने, सो छनौट गर्ने सन्दर्भमा उनीहरूले बुद्धिमानी निर्णय गरिरहेका छन्‌।”

बिल र चेरीले जस्तै अरू थुप्रै आमाबाबुले आफ्ना छोराछोरीलाई मनोरञ्जनको सन्दर्भमा उनीहरूको ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण दिन मदत गरेका छन्‌। हुन त हो, चलचित्र उद्योगले उत्पादन गर्ने धेरैजसो कुरा उपयुक्‍त हुँदैनन्‌ भन्‍ने उनीहरूको ठहर छ। अर्कोतर्फ, बाइबलका सिद्धान्तहरूको डोऱ्‍याइ अनुरूप चल्दा मसीहीहरूले स्वास्थ्यवर्धक तथा स्फूर्तिदायी राम्रो मनोरञ्जनबाट मज्जा लिन सक्छन्‌। (g05 5/8)

[फुटनोटहरू]

a विश्‍वभरका थुप्रै देशहरूले यस्तै खाले प्रणाली अपनाएका छन्‌ र यस्तो रेटिङ चिह्नले चलचित्र कुन उमेरका व्यक्‍तिहरूले हेर्न उचित छ भन्‍ने कुरा सङ्‌केत गर्छ।

b साथै, मोशन पिक्चरको रेटिङ गर्न प्रयोग गरिने प्रावधान एउटा देशदेखि अर्को देशमा फरक-फरक हुन सक्छ। एउटा देशमा किशोरकिशोरीका लागि अनुपयुक्‍त ठानिने चलचित्र अर्को देशमा उपयुक्‍त ठानिन सक्छ।

c साना केटाकेटी तथा किशोरकिशोरीलाई लक्षित गरेर तयार पारिएका चलचित्रहरूमा बोक्सीविद्या, तन्त्रमन्त्र अथवा अरू प्रकारका प्रेतवादसित सम्बन्धित कुराहरू हुन सक्छन्‌ भन्‍ने कुरालाई पनि मसीहीहरूले मनमा राख्नुपर्छ।—१ कोरिन्थी १०:२१.

[पृष्ठ १२-मा भएको पेटी/चित्र]

“हामी परिवारै मिलेर निर्णय गर्छौं”

“म सानो छँदा हामी परिवारै फिल्म हेर्न जान्थ्यौं। अहिले म ठूली भइसकेकी हुनाले मेरा आमाबुबा मलाई एक्लै पनि फिल्म हेर्न जान दिनुहुन्छ। तथापि, मलाई फिल्म हेर्न जान दिनुभन्दा पहिले मेरा आमाबुबा फिल्मको नाम र फिल्म के विषयमा छ सो थाह पाउन चाहनुहुन्छ। यदि उहाँहरूलाई चलचित्रको बारेमा केही पनि थाह छैन भने, उहाँहरू रिभ्यु पढ्‌नुहुन्छ अथवा टिभीमा फिल्मको ट्रेलर हेर्नुहुन्छ। उहाँहरू फिल्मको विषयवस्तु बुझ्न इन्टरनेट हेर्नुहुन्छ। उहाँहरूलाई फिल्म ठीक नलागेको खण्डमा त्यसको कारण बताउनुहुन्छ। उहाँहरू मलाई आफ्नो विचार व्यक्‍त गर्न पनि दिनुहुन्छ। हामीबीच खुलस्त कुराकानी हुन्छ र हामी परिवारै मिलेर निर्णय गर्छौं।”—एलोइज, १९, फ्रान्स।

[पृष्ठ १३-मा भएको पेटी/चित्र]

छलफल गर्नुहोस्‌!

“यदि आमाबाबुले हरेक कुरामा बन्देज लगाउनुका साथै त्यसको सट्टामा एउटै पनि स्वास्थ्यवर्धक मनोरञ्जन प्रदान गरेनन्‌ भने छोराछोरीले आफ्नो इच्छा लुकीछिपी पूरा गर्न खोज्न सक्छन्‌। त्यसकारण, छोराछोरीले कुनै किसिमको अस्वास्थ्यकर मनोरञ्जन हेर्न चाहेमा कोही-कोही आमाबाबु न तुरुन्त हुँदैन भनिहाल्छन्‌ न त हेर्ने अनुमति नै दिन्छन्‌। बरु, उनीहरूले रिस साम्य हुन दिन्छन्‌। केही दिनपछि आफ्नो जवान छोरा वा छोरीलाई यस किसिमको मनोरञ्जन ठीक लाग्नुको कारण सोधेर उनीहरू एक-अर्काको चित्त नदुखाईकन त्यस विषयमा छलफल गर्छन्‌। यसरी कुराकानी गरेपछि युवायुवतीहरूले अक्सर आफ्ना आमाबाबुको कुरा सुन्‍नुका साथै उनीहरूलाई धन्यवाद पनि दिन्छन्‌। त्यसपछि, आमाबाबुको डोऱ्‍याइमा उनीहरूले कुनै अर्को मनोरञ्जन रोज्छन्‌ र सबै मिलेर रमाइलो गर्छन्‌।”—माशाकी, जापानका परिभ्रमण निरीक्षक।

[पृष्ठ १४-मा भएको पेटी/चित्र]

रमाइलो गर्ने अरू तरिकाहरू

◼ “युवाजनहरूलाई आफ्नै उमेरका साथीभाइसँग सरसंगत गर्न मन लाग्नु स्वाभाविकै हो। त्यसकारण हामीले सधैं आफ्नी छोरीलाई हाम्रै सुपरिवेक्षणमा अरू असल व्यक्‍तिहरूसित संगति गरेर आनन्द उठाउने मौका दिएका छौं। हाम्रो मण्डलीमा थुप्रै उदाहरणीय युवाहरू भएको कारण हामीले हाम्री छोरीलाई उनीहरूसित मित्रता बढाउन प्रोत्साहन दिएका छौं।”—एलीजा, इटाली।

◼ “छोराछोरीले गर्ने रमाइलोमा हामी सक्रिय भई भाग लिन्छौं। हामी उनीहरूका लागि स्वास्थ्यवर्धक गतिविधिहरूको आयोजना गर्छौं; जस्तै, रमाइलो ठाउँ घुम्न जाने, सेकुवा पार्टी गर्ने, वनभोज जाने र सबै उमेरका सँगी मसीहीहरूसँग जमघटको प्रबन्ध मिलाउने। यस प्रकार हाम्रा छोराछोरीले साथीभाइसँग मात्र रमाइलो गरिंदैन भन्‍ने कुरा बुझ्छन्‌।”— जोन, बेलायत।

◼ “सँगी मसीहीहरूसित जमघट गर्न पाउँदा हामी निकै सन्तुष्ट हुन्छौं। मेरा छोराछोरीलाई फुटबल खेल्न मनपर्ने भएकोले समय-समयमा हामी अरूसित फुटबल खेल्ने प्रबन्ध मिलाउँछौं।”—क्वान, स्पेन।

◼ “हामी छोराछोरीलाई साङ्‌गीतिक बाजागाजा बजाएर रमाइलो गर्न प्रोत्साहन दिन्छौं। हामी आफूलाई रुचि भएका अरू थुप्रै कुराहरूमा पनि भाग लिन्छौं; जस्तै, टेनिस खेल्ने, भलिबल खेल्ने, साइकल चढ्‌ने, पढ्‌ने र साथीहरूसित भेला भएर रमाइलो गर्ने आदि।”—मार्क, बेलाइत।

◼ “हामी परिवार अनि साथीभाइसँग मिलेर अक्सर बोलिङ गर्न जाने गर्छौं। साथै, महिनाको एक चोटि केही विशेष कुरा गर्ने योजना बनाउँछौं। समस्याहरूबाट जोगिन आमाबाबुहरूले नै छोराछोरीको गतिविधिमा निगरानी राख्नु जरुरी छ।”—डानिलो, फिलिपिन्स।

◼ “प्रत्यक्ष हेर्न सकिने प्रदर्शनीहरूमा उपस्थित हुनु चलचित्र हेरेर बस्नुभन्दा कता हो कता मजा आउँछ। हाम्रो इलाकामा कला वा मोटरगाडीको प्रदर्शनी अथवा साङ्‌गीतिक कार्यक्रम केही हुन लागेको छ कि भनेर हामी सधैं याद गर्छौं। यस्ता प्रदर्शनीहरूमा अक्सर एक-अर्कासित कुराकानी गर्ने मौका मिल्छ। अचाक्ली मनोरञ्जन गर्न नदिन पनि हामी होसियार हुन्छौं। अचाक्ली मनोरञ्जन गर्दा समय त बर्बाद हुन्छ नै तर यसले गर्दा प्रदर्शनीको नवीनता र रौनकता पनि हराउँछ।”—जुडिथ, दक्षिण अफ्रिका।

◼ “अरू केटाकेटीले गर्ने कुराहरू सबै नै मेरा छोराछोरीका लागि उपयुक्‍त हुँदैन र त्यो कुरा बुझ्न म उनीहरूलाई मदत गर्ने कोसिस गर्छु। साथै, मेरो पति र म उनीहरूलाई स्वास्थ्यकर मनोरञ्जन प्रदान गर्ने कोसिस पनि गर्छौं। उनीहरूलाई ‘हामी कतै पनि जाँदैनौं, केही पनि गर्दैनौं’ भन्‍ने महसुस नगराउन हामी सक्दो कोसिस गर्छौं। हामी परिवारै मिलेर पार्क घुम्न जान्छौं र आफ्नो मण्डलीका भाइबहिनीहरूसित हाम्रै घरमा जमघटको बन्दोबस्त मिलाउँछौं। d—मारिया, ब्राजिल।

[फुटनोट]

d सामाजिक जमघटहरूबारे थप जानकारीको लागि हाम्रो सहपत्रिका प्रहरीधरहरा, नोभेम्बर १, १९९२, पृष्ठ २४-२८ हेर्नुहोस्‌।

[पृष्ठ ११-मा भएको चित्र]

निर्णय गर्नुभन्दा अघि चलचित्रको रिभ्यु हेर्नुहोस्‌

[पृष्ठ १३-मा भएको चित्र]

आमाबाबु हो, होसियारीसाथ छनौट गर्न आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌