सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मध्यरातमा पनि कसरी घाम लाग्न सक्छ?

मध्यरातमा पनि कसरी घाम लाग्न सक्छ?

मध्यरातमा पनि कसरी घाम लाग्न सक्छ?

कहिल्यै घाम नअस्ताउने पनि हुन्छ र?” फिनल्याण्डबाट मिसनरीको रूपमा पापुआ न्यु गिनीमा गएर सेवा गर्दा म अक्सर यस्ता प्रश्‍नहरू सुन्‍ने गर्थें। उष्ण कटिबन्धीय क्षेत्रमा महिनाअनुसार दिन अलिअलि मात्र लामो वा छोटो हुन्छ। त्यसैले उत्तरी ध्रुव नजिकका क्षेत्रहरूमा महिनौंसम्म घाम अस्ताउँदैन भन्‍ने कुरा कल्पना गर्न उष्ण कटिबन्धीय प्रदेशमा बस्नेहरूका लागि गाह्रो हुन्छ। अनि हिउँदमा घाम उदाउँदै उदाउँदैन भनेर बुझाउन खोज्दा त मानिसहरू छक्कमाथि झनै छक्क परे।

त्यसोभए, मध्यरातमा पनि कसरी घाम लाग्छ त? वर्षको एकचोटि पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्दा पृथ्वीको अक्ष सूर्यबाट २३.५ डिग्रीको कोणमा बाहिरतिर ढल्किएको कारण नै यो रोचक घटना सम्भव भएको हो। त्यसैले उत्तरी गोलार्द्धमा ग्रीष्मऋतु हुँदा (गर्मीमा) उत्तरी ध्रुव सूर्यतर्फ ढल्किएको हुन्छ भने हेमन्तऋतु हुँदा (हिउँदमा) सूर्यबाट बाहिरतिर ढल्किएको हुन्छ। पृथ्वी आफ्नो अक्षमा दिनको एक पटक घुम्ने हुँदा सुमेरु वृत्तमा वर्षको एक रात जून २१ तारिखतिर घाम अस्ताउँदैन। त्यसै गरी वर्षको एक दिन डिसेम्बर २१ तारिखतिर दिउँसो झिसमिसे उज्यालो भएजस्तो देखिए तापनि घाम उदाउँदै उदाउँदैन।

वास्तवमा, तपाईं सुमेरु वृत्तदेखि जति जति उत्तरतिर लाग्नुहुन्छ गर्मीमा घाम नअस्ताउने रात र हिउँदमा घाम नउदाउने दिन दुवैको संख्या त्यही हिसाबले बढ्‌दै जान्छ। ध्रुवहरूमा छ महिना दिन र छ महिना रात हुन्छ। a

घाम नअस्ताएको बेला ध्रुवीय क्षेत्रका बासिन्दाहरू कसरी सुत्छन्‌ अनि त्यसै गरी हिउँदका असाध्यै लामा रातहरू कसरी काट्‌छन्‌? पहिले-पहिले कुनै-कुनै संस्कृतिमा, गर्मीमा भन्दा हिउँदको रातमा मानिसहरू दोब्बर लामो समयसम्म सुत्थे। आधुनिक जीवन शैलीको कारण अहिले आएर थुप्रै मानिसहरू गर्मीमा र हिउँदमा बराबर सुत्न थालेका छन्‌। तर गर्मी महिनाका लामा दिनहरूमा उत्तरी क्षेत्रका बासिन्दाहरूले अझ बढी जोस पाउँछन्‌। अलास्कामा बस्ने प्याट्रिक यसो भन्छन्‌: “झलमल्ल घाम लागिराखेको छ भने रातको ११ बजे पनि मलाई ओछ्यानमा जान मनै लाग्दैन। कहिलेकाहीं म बाहिर गएर घाँस काट्‌छु वा अरू कुनै काम गर्छु।”

अर्कोतर्फ, महिनौंसम्म उज्यालो मात्र हुँदा वा अँध्यारो मात्र हुँदा शारीरिक र मानसिक तवरमा थकित तुल्याउन सक्छ। त्यसैले राम्रोसित निदाउन अनि थकान तथा उदासीनताबाट जोगिन कसै-कसैले गर्मी महिनामा आफ्नो सुत्ने कोठामा घामको उज्यालो छिर्न नदिने कोसिस गर्छन्‌ भने हिउँदमा चाहिं बत्तीहरू बालेर झलमल्ल बनाउँछन्‌। केही चुनौतीहरू सामना गर्नु परे तापनि मध्यरातमा घाम देख्न पाउनु एउटा अविस्मरणीय घटना हो भन्‍ने कुरामा त्यहाँका बासिन्दाहरू र त्यहाँ घुम्न जानेहरू सहमत छन्‌।—साभार। (g05 5/22)

[फुटनोट]

a दक्षिणी ध्रुवमा पनि यस्तै हुन्छ तर उत्तरी ध्रुवमा हिउँद हुँदा दक्षिणी ध्रुवमा भने गर्मी महिना हुन्छ।

[पृष्ठ ३१-मा भएको पेटी/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

पृथ्वीको अक्ष ढल्किएको कारण ध्रुवहरूमा गर्मीमा उज्यालो भइरहन्छ भने हिउँदमा चाहिं अन्धकार नै रहिरहन्छ (दिइएको उदाहरण उत्तरी गोलार्द्धको लागि हो)

हेमन्त ←

शरद्‌ ग्रीष्म

पृथ्वी आफ्नो

अक्षमा दिनको

→ वसन्त एक पटक घुम्छ

[पृष्ठ ३१-मा भएको चित्र]

मध्यरातमा देखिएको सूर्यको विभिन्‍न अवस्थाका तस्विरहरू

[स्रोत]

© Paul Souders/WorldFoto