सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

महँगो पानी

जर्मन पत्रिका नाटुर+कस्मोस यसो भन्छ: “यो त समयको माग हो। फेसनदार विद्यार्थीहरूले सधैं ब्रान्ड नाउँ भएको पानी बोकेका हुन्छन्‌। न्यु योर्कमा ‘अहिलेको लहड’ भनेको पानी पिउने बारहरूमा भेट्‌नु हो। अनि वेटरको सुविधा भएका पाँचतारे होटेलहरूमा अन्तरराष्ट्रिय ब्रान्डका किसिम-किसिमका मिनरल वटरहरूबाट छान्‍न सकिन्छ र अक्सर पुराना विशेष वाइनको लागि दिइने रेटिङ पानीलाई दिइँदैछ।” यो पानी सस्तो छैन। उक्‍त लेख यसो भन्छ: “मानिसहरूले मिनरल वटरको लागि धेरै पैसा तिर्छन्‌ र यो पानी डिजाइनर बोतलमा बोक्ने गर्छन्‌। कुनै-कुनै होटेलमा एकदमै विशेष किसिमको एक लिटर पानीको लागि ६२ युरो अर्थात्‌ ८१ अमेरिकी डलरसम्म तिर्नुपर्छ। खास स्वाद भएको पानी पिउनु भनेको आफ्नो व्यक्‍तिगत पहिचान देखाउनु सरह भए तापनि यो तपाईंको लागि राम्रै हुन्छ भन्‍न सकिंदैन। कोही-कोही उत्पादकहरूले त्यस्तो किसिमको पानी मानसिक तथा शारीरिक तवरमा स्फूर्तिदायी अनि स्वास्थ्यवर्धक छ भन्‍ने ग्यारेन्टी दिन्छन्‌। तर धेरैजसो विशेषज्ञहरू भने साधारण पानीभन्दा यो खासै फरक नभएको बताउँछन्‌। उदाहरणको लागि, जर्मनीमा धाराबाट आउने पानीको गुणस्तर, संसारको पल्लो छेउबाट आउने मिनरल वटरको जत्तिकै राम्रो छ भनी उक्‍त लेख बताउँछ। अनि धाराको पानी प्लास्टिकको बोतलमा राख्नु पर्दैन नता हजारौं किलोमिटर परदेखि ढुवानी नै गर्नुपर्छ। (g05 5/8)

भोजनसम्बन्धी फ्रान्सको सुझाव

यु सी बर्क्ली वेलनेस लेटर यसो भन्छ, “फ्रान्सेलीहरू चिल्लो पदार्थ धेरै खान्छन्‌। तैपनि तिनीहरू अमेरिकीहरूभन्दा पातला छन्‌ र तिनीहरू मोटो हुने सम्भावना एकदमै कम हुन्छ। हृदयसम्बन्धी रोगको कारण तिनीहरूको मृत्युदर अमेरिकीहरूको भन्दा आधा र [युरोपियन युनियनका] अन्य मुलुकभन्दा कम छ।” किन यस्तो अमिल्दो कुरा? यसको जवाफ के हुन सक्छ भने, फ्रान्सेलीहरू “कम क्यालोरी खान्छन्‌” भनी वेलनेस लेटर बताउँछ। पेरिस र सं.रा.अ.-को पेन्सिलभेनिया, फिलाडेल्फियाका रेस्टुराँहरूमा गरिएको अनुसन्धानअनुसार फ्रान्सेलीहरूको खानाको मात्रा थोरै पाइयो। फ्रान्सेली पकवान पुस्तकहरू पनि फरक थियो। उदाहरणका लागि, मासुको उपयुक्‍त मानिने भाग पनि फ्रान्सेली पकवान पुस्तकहरूमा थोरै थियो। उक्‍त लेख यसो भन्छ, “सबैभन्दा रोचक कुरा त के थियो भने, फ्रान्सेलीहरू थोरै खाना खान पनि धेरै समय लगाउँछन्‌। सामान्यतया एक जना फ्रान्सेलीले खाना खानको लागि प्रतिदिन झण्डै १०० मिनेट बिताउँछन्‌ जबकी अमेरिकीहरू दिनमा पाउरोटी (र अरू जेसुकै होस्‌) कप्ल्याककुप्लुक खान जम्मा ६० मिनेट मात्र लगाउँछन्‌।” यसबाट निष्कर्षमा के भन्‍न सकिन्छ? क्यालोरीको हिसाब गर्नुहोस्‌। पोसिलो भोजन कति मात्रा खाने भनेर होस गर्नुहोस्‌। भोजनको स्वाद लिई लिई मजाले बिस्तारै खानुहोस्‌। धेरै खाना दिइयो भने साथीसित बाँड्‌नुहोस्‌ वा आधी घरमा लैजानुहोस्‌। अनि “घरमा खाना खाने समयलाई रमाइलो बनाउनुहोस्‌।” (g05 5/8)

आफ्ना किताबहरूको जतन गर्नुहोस्‌

“[किताबहरूको] सबैभन्दा ठूलो शत्रु समय र ओस हो” भनी मेक्सिकन पत्रिका डेया स्येते-मा प्रकाशित एउटा लेख बताउँछ। किताबहरूलाई राम्रो अवस्थामा राख्नको लागि कम्तीमा वर्षको एक चोटि धूलो टक्टक्याउने सुझाव उक्‍त लेखले दिएको छ। तर किताबका पानाहरूको बीचमा धूलो नछिरोस्‌ भनेर किताबलाई राम्ररी समाउनुहोस्‌। आद्र वातावरणमा भने किताबका प्रत्येक पानामा अलिकता पाउडर छर्कने, किताबलाई केही दिनको लागि गह्रौं वस्तुले थिच्ने अनि ब्रसले पाउडर हटाउने गर्दा ओस कम गर्न सकिन्छ। चिसोले गर्दा ढुसी पर्न थाल्यो भने ब्लेडले बिस्तारै खुर्कनुहोस्‌ अनि अल्कोहलले पुछेर सफा गर्नुहोस्‌। किताबको पृष्ठवंशको माथिल्लो भाग मात्र समाएर तख्ताबाट किताब नझिक्नुहोस्‌। किताब झिक्ने सबैभन्दा राम्रो तरिका, किताबको बीचतिर दुइटा औंलाले च्याप्प समाउनु, अरू किताबहरूबाट छुट्याउनको लागि दायाँबायाँ हल्लाउनु अनि बिस्तारै निकाल्नु हो। एकदमै ठूल्ठूला किताबहरू अनि त्यसमाथि पनि पुराना छन्‌ भने आफ्नै भारले गर्दा बिग्रन सक्छ। यसरी बिग्रन नदिन किताबलाई तख्तामा ठाडो नभई सुताएर राख्न सकिन्छ। (g05 5/8)

उमेर ढल्कँदै जाँदा जीउ सुक्ने

उमेर ढल्कँदै गएपछि मानिसहरू अक्सर होचा हुन्छन्‌। “यसको एउटा मुख्य कारण गुरुत्वाकर्षण हो” भनी अस्ट्रेलियाको द डेली टेलिग्राफ रिपोर्ट गर्छ। गुरुत्वाकर्षणले गर्दा दिनभरि मानिसको उचाइ परिवर्तन भइरहन्छ। सुत्दा भने पूरा उचाइ हुन्छ। उक्‍त अखबार यसो भन्छ, “उमेर ढल्कँदै गएपछि जब हाम्रो शरीर अलि कमजोर हुन थाल्छ, तब जीउ सुक्ने क्रम पनि एकनासले हुन थाल्छ। मानिसहरू बूढो हुँदै गएपछि शरीरमा मांसपेशी र बोसोको मात्रा कम हुन्छ। यो बुढ्यौलीको स्वाभाविक प्रक्रिया हो अनि हर्मोनको परिवर्तनसित पनि यसको धेरै सम्बन्ध छ। करङ वास्तवमा कमजोर भएर पूरै खत्तम हुन सक्छ जसले गर्दा डँडाल्नु २.५ सेन्टिमिटर [एक इन्च] भन्दा बढी सुक्न सक्छ।” जीउ सुक्न थाल्नुको एउटा सम्भाव्य कारण ओस्टियोपोरोसिस अर्थात्‌ हड्डीको घनत्व घट्‌नु हो। (g05 5/8)

दोभासे छोराछोरी हुर्काउने

“धीरजी भई अनि कौशलतापूर्वक छोराछोरी हुर्काउँदा बहुभाषिकता तिनीहरू, तिनीहरूको परिवार अनि समाजको लागि ठूलो आशिष्‌ हुन सक्छ” भनी मेक्सिको सहरको मिलेन्यो भन्‍ने अखबार बताउँछ। यस विषयमा अध्ययन गरेकाहरूको “निष्कर्षअनुसार एउटा भाषा मात्र बोल्ने केटाकेटीभन्दा दुइटा भाषा बोल्ने केटाकेटीले स्कूलमा राम्रो नतिजा ल्याउँछन्‌।” आफ्ना छोराछोरीले एउटै वाक्यमा दुइटा भाषा छ्यासमिस गरेर बोल्दा वा एउटा भाषामा अर्कै भाषाको व्याकरण लगाउँदा हुन जाने भाषिक गल्तीबारे कहिलेकाहीं आमाबाबुले चिन्ता गर्छन्‌। “तर व्याकरणसम्बन्धी यस्ता ‘भूलहरू’ ठूलो चिन्ताको कुरा होइन र सजिलै हटाउन सकिन्छ” भनी केटाकेटीको भाषिक विकास अध्ययन गर्ने मनोवैज्ञानिक प्राध्यापक टोनी क्लाइन बताउँछन्‌। जन्मेदेखि नै आमाबाबु दुवैको भाषा सिकाइयो भने तिनीहरूले दुवै भाषा सजिलै सिक्छन्‌ अनि समय बित्दै जाँदा दुवै भाषा बोल्न सक्नेछन्‌।” (g05 5/8)

प्रदूषित भोजन

वातावरणीय संगठन टक्सिक लिङ्‌क्सले गरेको एउटा अध्ययनअनुसार दक्षिण एसियालीहरूले आफ्नो नियमित भोजन सँगसँगै खतरनाक प्रदूषकहरू पनि सेवन गरिरहेका छन्‌ भनी भारतको अखबार द हिन्दू रिपोर्ट गर्छ। उक्‍त अध्ययनले मासु, मसला र तेलजस्ता आधारभूत खाद्यान्‍नमा निषेधित वा नियन्त्रित पदार्थहरू भएको पत्ता लगायो। पोलिक्लोरिनेटेड बाइफिनेलजस्ता (पि सि बि) वातावरणमा बिस्तारै मिसिने जैविक प्रदूषकहरू वातावरणमा देखिन थालेका छन्‌ र यो पि सि बि “निषेध गर्नुअघि आयात गरिएका ट्रान्सफर्मर तथा कपासिटर पुरानो भएपछि जथाभावी फ्याँकिएको” कारण वा जहाजका भाग-भाग छुट्याएर यत्तिकै थन्काइएको हुँदा सम्भवतः वातावरणमा मिसिएको हुन सक्छ भनी उक्‍त रिपोर्ट बताउँछ। अन्य अध्ययनहरूले तरकारी तथा सुकेको माछामा डि डि टी फेला पारे। यस्ता खतराहरू नियन्त्रण गर्नको लागि अन्तरराष्ट्रिय सन्धिहरूको बावजुद ‘आमाको दूध, बोसो तथा मानिसको रगतको अंशमा डि डि टी, एच सि बी, आल्ड्रिन, डाइलड्रिन, डाइअक्सिन, फुरान र पि सि बि जस्ता पदार्थहरूले गर्दा अत्यधिक मात्रामा प्रदूषित भएको पाइयो’ भनी उक्‍त रिपोर्ट बताउँछ। (g05 5/22)