सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्क्रिप्टलाई पर्दामा उतार्ने

स्क्रिप्टलाई पर्दामा उतार्ने

स्क्रिप्टलाई पर्दामा उतार्ने

गत केही दशकको दौडान हलिउड अत्यन्त लोकप्रिय तथा सफल चलचित्र निर्माण गर्ने एउटा मुख्य स्रोत बनेको छ। यस तथ्यले विश्‍वव्यापी रूपमै असर पारेको छ किनकि थुप्रै अमेरिकी चलचित्रहरू संयुक्‍त राज्य अमेरिकामा पहिलो चोटि प्रदर्शन भएको केही हप्तामै—अझ कुनै-कुनै अवस्थामा त केही दिनभित्रै समुद्रपारका अन्य मुलुकहरूमा पनि प्रदर्शन हुने गर्दछ। कुनै-कुनै चलचित्रहरू त अझ विश्‍वभर एउटै मितिमा प्रदर्शन भएका छन्‌। वार्नर ब्रदर्श पिक्चर्सको आन्तरिक वितरणका निर्देशक डान फिलमन यसो भन्छन्‌, “चलचित्रको विश्‍व बजार फस्टाउँदो र निकै उत्साहजनक भएकोले चलचित्र बनाउँदा हामी यसलाई विश्‍वभर बिक्री गर्ने मौका छोप्छौं।” विशेष गरी अहिले हलिउडमा जे हुन्छ त्यसले विश्‍व मनोरञ्जनजगत्‌लाई नै असर पार्छ। a

तर चलचित्रमा नाफा कमाउन सोचेजस्तो सजिलो छैन। निर्माण तथा बजार प्रवर्धन गर्दा लागेको खर्च उठाउन मात्र थुप्रै चलचित्रहरूले ४.५ अर्ब रूपियाँभन्दा बढी आम्दानी गर्नै पर्छ। अनि ती चलचित्रहरूले यति आम्दानी गर्न सक्छन्‌ कि सक्दैनन्‌ भन्‍न सकिंदैन किनभने यो पूर्णतया दर्शकहरूमा भरपर्ने कुरा हो। इमोरी विश्‍वविद्यालयमा चलचित्रसम्बन्धी अध्यापन गराउने प्राध्यापक डेविड कुक यसो भन्छन्‌, “सर्वसाधारणलाई कहिले कस्तो चलचित्र मनपर्छ अथवा कस्तो चलचित्रले उनीहरूको मन छुन्छ भन्‍नै सकिंदैन।” त्यसकारण आफ्नो चलचित्र सफल बनाउन चलचित्र निर्माताहरूले कस्तो रणनीति अपनाउँछन्‌? यसको जवाफको लागि सबैभन्दा पहिला हामीले चलचित्रहरू कसरी निर्माण गरिन्छन्‌, त्यसबारे केही आधारभूत तथ्यहरू बुझ्नु जरुरी छ। b

प्रिप्रडक्सन—चलचित्र निर्माणको तयारी

प्रिप्रडक्सन अर्थात्‌ चलचित्र निर्माण गर्नुभन्दा अघि गरिने कामकुरालाई चलचित्र निर्माण प्रक्रियाको सबैभन्दा लामो र महत्त्वपूर्ण चरण मानिन्छ। अन्य कुनै पनि ठूलो परियोजनामा जस्तै चलचित्रको सन्दर्भमा पनि तयारी महत्त्वपूर्ण छ। प्रिप्रडक्सनमा खर्च गरेको एक-एक डलरले चलचित्र छायाङ्‌कनको दौडान त्योभन्दा कैयौं गुणा बढी खर्च बचत गर्नेछ भन्‍ने आशा गरिन्छ।

चलचित्र निर्माणको सुरुवात एउटा कथाबाट हुन्छ जुन कथा काल्पनिक अथवा वास्तविक जीवनका कुनै पनि घटनाहरूमा आधारित हुन सक्छ। लेखकले कथालाई स्क्रिप्ट अर्थात्‌ लिपिमा उतार्छन्‌। स्क्रिप्टलाई स्क्रिनप्ले पनि भनिन्छ र यसको अन्तिम भर्जन तयार नपारुन्जेल यसलाई धेरै चोटि संशोधन गरिन्छ। सुटिङ स्क्रिप्टमा चलचित्रको संवाद र खिचिने कुनै पनि एक्सनको संक्षिप्त विवरण दिइएको हुन्छ। यसमा कुन दिशाबाट क्यामेराले खिच्ने र दृश्‍यहरूबीच के-कस्तो परिवर्तन गर्नेजस्ता प्राविधिक विवरणहरूको निर्देशन पनि दिइएको हुन्छ।

तथापि, प्रारम्भिक चरणमै निर्मातालाई स्क्रिनप्ले बेच्ने कोसिस गरिन्छ। c निर्मातालाई कस्तो किसिमको स्क्रिनप्ले मनपर्ला? गर्मी महिनाको दौडान नै प्रदर्शन गरिने चलचित्रको कथावस्तु किशोरकिशोरी तथा २० देखि २५ वर्षबीचका युवाहरूलाई लक्षित गरेर तयार पारिएको हुन्छ र एक जना चलचित्र समालोचक यस वर्गका दर्शकहरूलाई “पपकर्न क्राउड” भन्‍न रुचाउँछन्‌। त्यसकारण युवावर्गलाई आकर्षित गर्ने खालको कथावस्तु निर्मातालाई मनपर्न सक्छ।

सकेसम्म त सबै उमेरका मानिसहरूलाई समेट्‌ने किसिमको स्क्रिप्ट भए बेस। उदाहरणका लागि, कुनै एउटा कमिकको सुपरहिरोबारे निर्माण गरिएको चलचित्रले यस पात्रबारे थाह भएका साना केटाकेटीलाई अवश्‍यै आकर्षित गर्छ। अनि उनीहरूका साथमा उनीहरूका आमाबाबुले पनि त्यो चलचित्र पक्कै हेर्नेछन्‌। तर चलचित्र निर्माताहरूले किशोरकिशोरी तथा वयस्क युवाहरूलाई कसरी आकर्षित गर्छन्‌? मुख्यतया “उत्तेजक विषयवस्तु” समावेश गरेर भनी द वासिङ्‌टन पोस्ट म्यागेजिन-की लिजा मुण्डी लेख्छिन्‌। चलचित्रमा छाडा बोलीचाली, उग्र हिंसा र अत्यधिक यौनसम्बन्धी दृश्‍यहरू राख्नु भनेको “सबै उमेरका मानिसहरूलाई समेटेर धेरै नाफा कमाउने” तरिका हो।”

कुनै एउटा स्क्रिनप्लेले नाफा कमाउला जस्तो लागेमा निर्माताले त्यो स्क्रिनप्ले किन्‍न पनि सक्छन्‌ र नाउँ चलेको निर्देशक तथा लोकप्रिय नायक अथवा नायिकालाई अनुबन्ध गर्ने कोसिस गर्न सक्छन्‌। नामी निर्देशक अनि चर्चित नायक-नायिकाहरू छन्‌ भने चलचित्र रिलिज हुँदा धेरै मानिसहरू चलचित्र हेर्न लालायित हुन्छन्‌। यद्यपि, प्रारम्भिक चरणमै पनि चर्चित नाउँहरूले चलचित्रमा लगानी गर्नेहरूलाई आकर्षित गर्न सक्छन्‌।

प्रिप्रडक्सनको अर्को पाटो हो स्टोरीबोर्डिङ। स्टोरीबोर्ड भनेको चलचित्रका विभिन्‍न क्रम, त्यसमा पनि अझ विशेष गरी द्वन्द्व समावेश भएको चलचित्रका विभिन्‍न दृश्‍यलआई चित्रण गर्ने नक्साहरूको एउटा शृङ्‌खला हो। यसले सिनेमाटोग्राफरको लागि ब्लूप्रिन्ट अर्थात्‌ चलचित्रको लिखित रूपरेखाको रूपमा काम गर्ने भएकोले चलचित्र निर्माणको दौडान स्टोरीबोर्डले गर्दा धेरै समय बचत हुन्छ। निर्देशक तथा स्क्रिनराइटर फ्राङ्‌क डाराबोन्ट यसो भनछन्‌, “कुन दिशामा क्यामेरा राखेर खिच्ने भनी पक्का गर्नुमै सुटिङ गर्ने दिन खेर फाल्नुजस्तो दिक्कलाग्दो कुरा अरू केही हुँदैन।”

प्रिप्रडक्सनको दौडान अन्य थुप्रै महत्त्वपूर्ण कुराहरूको पनि ख्याल गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, कस्ता ठाउँहरूमा चलचित्र सुटिङ गर्ने? यात्रा गर्नुपर्ला कि? स्टुडियोभित्र कस्तो सेट बनाउने अथवा डिजाइन गर्ने? के वेष-भूषाहरू चाहिन्छन्‌? प्रकाश, शृङ्‌गार र कपाल मिलाउने काम कसले गर्नेछ? ध्वनि, स्पेशल इफेक्ट र स्टन्टहरू नि? यी त चलचित्र सुटिङ गर्नुअघि ध्यान दिनुपर्ने चलचित्र निर्माणका थुप्रै पक्षहरूमध्ये केही नमुना मात्र हुन्‌। धेरै लगानी गरेर निर्माण गरिएको चलचित्रको समापनमा चलचित्र निर्माणमा संलग्न व्यक्‍तिहरूको नाउँ हेर्नुभयो भने एउटा चलचित्र निर्माण गर्न सयौं मानिसहरूको योगदान रहेको तपाईंले थाह पाउनुहुनेछ! थुप्रै चलचित्रको सेटमा काम गरिसकेका एक जना प्राविधिक यसो भन्छन्‌, “एउटा चलचित्र बनाउन कैयौं मानिसहरूको सहयोगको खाँचो पर्छ।”

निर्माण—चलचित्रलाई क्यामेरामा कैद गर्ने

चलचित्र सुटिङ गर्न निकै समय लाग्नुका साथै अल्छीलाग्दो र निकै खर्च पनि हुन सक्छ। साँच्चै भन्‍ने हो भने, एक मिनेट समय खेर फाल्नु भनेको हजारौं डलर खेर फाल्नु बराबर हो। कहिलेकाहीं कलाकर, कामदार तथा सरसामानलाई संसारको एकदमै दुर्गम ठाउँमा लैजानुपर्ने हुन्छ। तथापि, चलचित्र जहाँसुकै सुटिङ गरिए तापनि हरेक दिन निकै धेरै खर्च हुन्छ।

बत्तीको उज्यालो मिलाउने, कपाल मिलाउने र शृङ्‌गार गर्ने मानिसहरू सबैभन्दा पहिला चलचित्र निर्माणस्थल आइपुग्छन्‌। चलचित्र सुटिङको हरेक दिन कलाकारहरूलाई क्यामेराको लागि तयार पार्नै घण्टौं लाग्छ। त्यसपछि मात्र छायाङ्‌कन गर्ने लामो काम सुरु हुन्छ।

हरेक दृश्‍यको छायाङ्‌कनलाई निर्देशकले बडो ध्यान दिएर निरीक्षण गर्छन्‌। तुलनात्मक हिसाबले साधारणजस्तो लाग्ने दृश्‍यको छायाङ्‌कन गर्दा समेत दिनभरि लाग्न सक्छ। चलचित्रका अधिकांश दृश्‍यहरू एउटा क्यामेराद्वारा छायाङ्‌कन गरिन्छ र त्यसपछि प्रत्येक क्यामेरा एङ्‌गलको लागि एउटै दृश्‍यलाई फेरि पटक-पटक छायाङ्‌कन गर्नुपर्ने हुन्छ। यसबाहेक, क्यामेरामा सबैभन्दा राम्रो अभिनय कैद गर्न अथवा प्राविधिक त्रुटि सच्याउन हरेक सटलाई घरी-घरी दोहोऱ्‍याउनुपर्ने हुन सक्छ। छायाङ्‌कन गर्दा गरिने हरेक सटलाई टेक भनिन्छ। ठूलठूला दृश्‍यहरूको लागि त ५० अथवा त्योभन्दा धेरै चोटि टेक लिनुपर्ने हुन सक्छ! पछि—साधारणतया हरेक सुटिङ दिनको अन्तमा—निर्देशकले सम्पूर्ण टेकहरू हेर्छन्‌ अनि कुन दृश्‍यहरू जोगाएर राख्नुपर्ने हो सो निर्णय गर्छन्‌। समग्रमा भन्‍नुपर्दा, छायाङ्‌कन पूरा गर्न हप्तौं वा महिनौं पनि लाग्न सक्छ।

पोस्टप्रडक्सनविभिन्‍न भागलाई एक ठाउँ जोड्‌ने

सिलसिलेवार मोशन पिक्चर निर्माण गर्न पोस्टप्रडक्सनको दौडान फिल्मको फुटेजलाई एडिट गरिन्छ। सर्वप्रथम, अडियो ट्र्याकलाई रेकर्ड गरिएको दृश्‍यसँग ठ्याक्क मिलाइन्छ। त्यसपछि, एडिटरले एडिट नगरिएका फुटेजहरूलाई जम्मा गरेर चलचित्रको प्रारम्भिक भर्जन तयार पार्छ, जसलाई रफ कट भन्‍ने गरिन्छ।

साउन्ड इफेक्ट र भिज्युअल इफेक्ट पनि यसै चरणमा थपिन्छ। चलचित्र निर्माणकै सबैभन्दा जटिल पक्ष स्पेशल इफेक्ट सिनेमाटोग्राफी गर्ने काम कहिलेकाहीं कम्प्युटर ग्राफिक्सको मदतद्वारा फत्ते गरिन्छ। यसको परिमाण निकै सानदार र जीवन्त हुन्छ।

म्युजिकल स्कोर अर्थात्‌ चलचित्रको लागि रचिएको सङ्‌गीत पनि पोस्टप्रडक्सनको दौडान नै थपिन्छ र यस पक्षले आजका चलचित्रजगत्‌मा निकै महत्त्व पाएको छ। “चलचित्र उद्योगले पहिलाभन्दा अहिले ओरिजिनल साउन्डट्र्याक म्युजिकको बढी माग गरिरहेको छ—बीस मिनेट अथवा नाटकीय क्षणमा मात्र नभई म्युजिकको समयावधि नै बढाउने माग गरेको छ” भनी फिल्म स्कोर मन्थ्‌ली-मा एड्‌विन ब्ल्याक लेख्छन्‌।

कहिलेकाहीं भर्खरै एडिट गरेको चलचित्र विशेष दर्शक अर्थात्‌ सम्भवतः चलचित्र निर्माणमा संलग्न नभएका निर्देशकका साथी अथवा सहकर्मीहरूलाई देखाइन्छ। उनीहरूको प्रतिक्रियाको आधारमा निर्देशकले दृश्‍यहरू पुनः सुटिङ गर्न वा त्यसलाई पूरै हटाउन सक्छन्‌। विशेष दर्शकहरूबाट राम्रो प्रतिक्रिया नआएकोले कुनै-कुनै अवस्थामा त चलचित्रको सम्पूर्ण समापन भाग नै परिवर्तन गरिएको छ।

अन्तमा, पूर्ण रूपमा निर्माण गरिसिध्याएको फिल्मलाई हलहरूमा प्रदर्शन गरिन्छ। यतिखेर मात्रै फिल्म ब्लकबस्टर अर्थात्‌ सुपरहिट हुन्छ कि सुपरफ्ल्प—अथवा ठीकैको हुन्छ सो दूधको दूध पानीको पानी हुन्छ। तर फिल्म चलेन भने पैसा मात्र डुब्दैन। एकपछि अर्को चलचित्र फ्लप भयो भने नायक-नायिकाले फेरि-फेरि काम पाउने सम्भावना चकनाचूर हुनुका साथै निर्देशकको प्रतिष्ठामा ठूलो धक्का लाग्न सक्छ। चलचित्र निर्माण गर्दाको आफ्नो सुरुका वर्षहरू सम्झिंदै निर्देशक जोन बूरमान यसो भन्छन्‌, “केही चलचित्र असफल भएपछि मैले मेरा थुप्रै समकालीनहरू चलचित्र क्षेत्रबाटै पलायन भएको देखेको छु। चलचित्र कारोबारको एउटा तीतो वास्तविकता के छ भने, तपाईंले आफ्नो मालिकको लागि पैसा कमाउन सक्नुभएन भने चलचित्रमा तपाईंले फेरि-फेरि काम पाउनुहुन्‍न।”

निस्सन्देह, चलचित्र हेर्दा दर्शकहरूले चलचित्र निर्माताहरूको रोजगारसम्बन्धी समस्याबारे सोच्ने त कुरै भएन। उनीहरूको मुख्य चिन्ताको विषय त यस्ता हुन्छन्‌: ‘के म यो चलचित्र हेरेर आनन्द उठाउँछु? के यो चलचित्र टिकट काट्‌दा लागेको पैसाअनुसारको छ? कतै चलचित्र स्तब्ध पार्ने अथवा आपत्तिजनक पो छ कि? के यो चलचित्र मेरा छोराछोरीको लागि उपयुक्‍त छ?’ कुन चलचित्र हेर्ने भन्‍ने विषयमा निर्णय गर्दा तपाईं यस्ता प्रश्‍नहरूको जवाफ कसरी दिन सक्नुहुन्छ? (g05 5/8)

[फुटनोटहरू]

a हार्डबर्ड बिजिनेस स्कूलकी एक जना प्राध्यापक अनिता एलबर्सका अनुसार “अचेल स्वदेशको तुलनामा विदेशमा राम्रो व्यापार भए पनि संयुक्‍त राज्य अमेरिकामा एउटा चलचित्र कत्तिको चल्छ, त्यसले समुद्रपारका मुलुकहरूमा हुने त्यही चलचित्रको व्यापारमा निकै ठूलो प्रभाव पार्छ।”

b चलचित्रसम्बन्धी विवरण चलचित्रअनुसार फरक-फरक हुन सक्ने भए तापनि यहाँ प्रस्तुत जानकारी चलचित्र निर्माण गर्न सकिने एउटा सम्भाव्य तरिका हो।

c कुनै-कुनै अवस्थामा निर्मातालाई स्क्रिनप्लेको सट्टा कथाको रूपरेखा दिने गरिन्छ। तिनलाई कथा मनपऱ्‍यो भने तिनले कथाको सर्वाधिकार किनेर त्यसलाई स्क्रिनप्लेमा उतार्न लगाउन सक्छन्‌।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“सर्वसाधारणलाई कहिले कस्तो चलचित्र मनपर्छ अथवा कस्तो चलचित्रले उनीहरूको मन छुन्छ तपाईं भन्‍नै सक्नुहुन्‍न।”—चलचित्रसम्बन्धी अध्यापन गराउने प्राध्यापक डेविड कुक

[पृष्ठ ६, ७-मा भएको पेटी/चित्र]

चलचित्रलाई सुपरहिट बनाउन गरिने मार्केटिङ

चलचित्र निर्माणकार्य पूरा भएको छ। अब यो करोडौं मानिसहरूमाझ प्रदर्शन हुने तयारीमा छ। चलचित्र चल्ला? चलचित्र निर्माताहरूले आफ्नो चलचित्र बिक्री वितरण गर्ने र यसलाई सुपरहिट बनाउने केही तरिकाहरू विचार गर्नुहोस्‌।

हल्ला: कुनै पनि चलचित्रको लागि खुलदुली मच्चाउने एउटा सबैभन्दा प्रभावकारी तरिका मौखिक रूपमा हो—जसलाई चलचित्रजगत्‌मा बज अर्थात्‌ हल्ला फैलाउनु पनि भनिन्छ। कहिलेकाहीं यस्तो हल्ला चलचित्र प्रदर्शन हुनुभन्दा महिनौं अगाडि नै फैलाइन्छ। पहिलेको अत्यधिक सफल चलचित्रकै दोस्रो भाग प्रदर्शन हुनेछ भनेर हल्ला पिटिन सक्छ। मानिसहरूको मनमा यस्तो जिज्ञासा पैदा हुन्छ, “पहिलेकै कलाकरहरू छन्‌ कि छैनन्‌ होला? चलचित्र पहिलाको जतिकै राम्रो (अथवा नराम्रो) छ कि?”

कुनै-कुनै अवस्थामा फिल्मको विवादस्पद पक्षबारे हल्ला फैलाइन्छ—त्यो हल्ला मूलधारको मोशन पिक्चरका लागि खिचिएका पाच्य नहुने यौनसम्बन्धी दृश्‍यहरूबारे हुन सक्छ। के ती दृश्‍य हेर्नै नहुने खालका छन्‌? के चलचित्रले “सीमा नाघेको” छ? सर्वसाधारणमाझ यस्तो विषयमा जति विवाद मच्चिन्छ उति नै निर्माताहरूले त्यो निश्‍शुल्क विज्ञापनबाट फाइदा उठाउँछन्‌। कहिलेकाहीं त यस्तो विवादकै कारण चलचित्रको प्रिमियर शो अर्थात्‌ प्रथम प्रदर्शन समारोहमा दर्शकहरूको घुइँचो लाग्ने गर्छ।

सञ्चार-माध्यम: विज्ञापन गर्ने परम्परागत तरिकाहरूमा बिलबोर्ड, खबरपत्रिकामा विज्ञापन गर्नु, टिभीमा विज्ञापन दिनु, हलमा फिल्म देखाइनुअघि देखाइने चलचित्रका ट्रेलर तथा अन्तरवार्ताहरू समावेश छन्‌, जुन अन्तरवार्तामा कलाकारहरूले आफ्नो नयाँ चलचित्रको खूब बखान गर्छन्‌। अचेल चलचित्रको विज्ञापन गर्ने सबैभन्दा मुख्य औजार इन्टरनेट भएको छ।

मालसामान बिक्री गर्ने: चलचित्रको प्रवर्धन गर्ने हेतुले तयार पारिएका सरसामानहरूले चलचित्र प्रदर्शन भएको बेला धेरैको ध्यान खिच्न सक्छ। उदाहरणका लागि, पहिले-पहिले कमिकको हिरोमा आधारित चलचित्रसित सम्बन्धित कुराहरू लन्च बक्स, मग, गरगहना, लुगाफाटा, कि-चेन, घडी, ल्याम्प, बोर्ड गेम आदिमा दिइएका हुन्थे। अमेरिकन बार असोसिएसनका मनोरञ्जनसम्बन्धी पत्रिकामा जो सिस्टो यस्तो लेख्छन्‌, “साधारणतया, चलचित्र प्रदर्शन हुनुभन्दा अघि नै चलचित्रसम्बन्धी ४० प्रतिशत जति सरसामान बिक्री गरिसकिएको हुन्छ।”

होम भिडिओ: टिकट बिक्री गरेर नाफा कमाउन नसक्ने चलचित्रले भिडिओ बिक्री गरेर आफ्नो घाटा पूर्ति गर्छ। “होम भिडिओको बिक्री वितरणबाट ४० देखि ५० प्रतिशत राजस्व असुल हुन्छ” भनी मोशन पिक्चर्सको कमाइबारे एक-एक हिसाबकिताब राख्ने ब्रुस न्यास बताउँछन्‌।

रेटिङ: चलचित्र निर्माताहरूले आफ्नो फाइदाको लागि रेटिङ प्रणाली चलाउन सिकेका छन्‌। उदाहरणका लागि, चलचित्रमा जानीबुझीकन यस्तो विषयवस्तु पनि घुसाइन सक्छ जसले गर्दा चलचित्र वयस्कहरूका लागि मात्रै हो भन्‍ने रेटिङ पाउँछ। अर्कोतर्फ, अडल्ट रेटिङ अर्थात्‌ वयस्कहरूले मात्र हेर्न मिल्ने सङ्‌केत हटाएर किशोरकिशोरीहरूका लागि बिक्रीयोग्य बनाउन चलचित्रका कुनै-कुनै दृश्‍यहरू मात्र हटाइन पनि सक्छन्‌। किशोरकिशोरीहरूले हेर्न मिल्ने सङ्‌केत नै एउटा “विज्ञापन भएको छ: किशोरकिशोरी—र किशोरकिशोरी हुन मरिहत्ते गर्ने साना केटाकेटीलाई चलचित्र साह्रै मजाको छ भन्‍ने जनाउ दिन चलचित्र स्टुडियोहरूले यस प्रकारको रेटिङ चलाउँछन्‌” भनी द वासिङ्‌टन पोस्ट म्यागेजिन-मा लिजा मण्डी लेख्छिन्‌। मण्डी लेख्छिन्‌, यस्तो रेटिङले “आमाबाबु र छोराछोरीबीच” एक किसिमको “तनाव” उत्पन्‍न गर्छ किनभने “यसले एकातिर आमाबाबुलाई चेतावनी दिइरहेको हुन्छ भने, अर्कोतिर छोराछोरीलाई आकर्षित गरिरहेको हुन्छ।”

[पृष्ठ ८, ९-मा भएको चित्र]

चलचित्रहरू कसरी निर्माण गरिन्छ

स्क्रिप्ट

स्टोरीबोर्ड

छायाङ्‌कन गर्ने

वेशभुषा

शृङ्‌गार

एडिटिङ

स्पेशल इफेक्टको लागि छायाङ्‌कन गर्ने

म्युजिक रेकर्डिङ

साउन्ड मिक्सिङ

कम्प्युटर- जेनेरेटेड एनिमेसन