सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के महत्त्वाकाङ्‌क्षी हुनु गलत हो?

के महत्त्वाकाङ्‌क्षी हुनु गलत हो?

बाइबलको दृष्टिकोण

के महत्त्वाकाङ्‌क्षी हुनु गलत हो?

“नाम, दाम र शक्‍ति हासिल गर्नुमा के नै खराबी छ र?” एउटा धार्मिक संगठनले प्रकाशित गरेको “नैतिकतासम्बन्धी अप्ठ्याराहरू” शीर्षकको रिपोर्टमा यो प्रश्‍न देखापऱ्‍यो। यस रिपोर्टमा परमेश्‍वरले अब्राहामलाई बताउनुभएका यी शब्दहरूलाई औंल्याइयो, “म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु। म तँलाई आशिष दिनेछु र तेरो नाउँ प्रसिद्ध गराउनेछु।”—उत्पत्ति १२:२.

“महत्त्वाकाङ्‌क्षाको पछि त्यतिबेला लाग्नु हुँदैन, जब कसैको हानि हुन्छ” भन्दै उक्‍त रिपोर्टले प्रथम शताब्दीका एक जना प्रसिद्ध रब्बीको भनाइ उद्धृत गऱ्‍यो जसले यसो भने: “आफ्नो लागि आफैले गरेन भने अरू कसले गरिदिन्छ र?” त्यसपछि उनी यस्तो निष्कर्षमा पुगे: “आफ्ना खुबीहरू आफू स्वयम्‌ले चिनेन भने अरू कसैले चिन्दैन।” परमेश्‍वरको सेवा गर्न चाहनेहरूले महत्त्वाकाङ्‌क्षा राख्नुहुन्छ या हुँदैन भन्‍ने कुराले के मसीहीहरूलाई दोधारमा पार्छ? आफ्नो खुबी चिन्‍नुमा कुन-कुन कुराहरू समावेश छन्‌? के महत्त्वाकाङ्‌क्षी हुनु गलत हो? बाइबलको दृष्टिकोण के छ?

के अब्राहाम महत्त्वाकाङ्‌क्षी थिए?

बाइबलमा अब्राहामलाई एक उत्कृष्ट विश्‍वास देखाउने पुरुष भनिएको छ। (हिब्रू ११:८, १७) उनैद्वारा एउटा विशाल राष्ट्र निर्माण गर्ने र उनको नाउँ महान्‌ बनाउने प्रतिज्ञा गर्नुभएर परमेश्‍वरले अब्राहामलाई महत्त्वाकाङ्‌क्षी बन्‍न उक्साउनुभएको थिएन। परमेश्‍वरले अब्राहामद्वारा मानिसजातिलाई आशिष्‌ दिने आफ्नो उद्देश्‍य बताउँदै हुनुहुन्थ्यो र यो उद्देश्‍य मानवीय महत्त्वाकाङ्‌क्षाभन्दा कता हो कता महान्‌ थियो।—गलाती ३:१४.

परमेश्‍वरप्रतिको भक्‍तिले गर्दा अब्राहामले ऊरको आरामदायी र सम्पन्‍न ठानिएको जीवन शैली त्यागे। (उत्पत्ति ११:३१) पछि, आफ्नो भतिज लुतसँग झगडा नगर्न तिनले चाहेअनुसार बसोबास गर्ने ठाउँ रोज्न दिएर अब्राहामले स्वेच्छाले आफ्नो शक्‍ति र अख्तियार त्यागे। (उत्पत्ति १३:८, ९) बाइबलमा कतै पनि अब्राहामलाई महत्त्वाकाङ्‌क्षी पुरुष भनी सङ्‌केत गरिएको पाइँदैन। बरु, उनको विश्‍वास, आज्ञाकारिता र नम्रताजस्ता कुराहरूले नै उनी परमेश्‍वरको साँचो “मित्र[को]” रूपमा उहाँको प्रिय बने।—यशैया ४१:८.

पद, नाम र शक्‍तिबारे फरक दृष्टिकोण

महत्त्वाकाङ्‌क्षालाई “पद, नाम र शक्‍तिको तीव्र लालसा” भनी व्याख्या गर्न गरिएको छ। पुरातन समयमा राजा सुलेमानसित प्रशस्त धनलगायत पद, नाम र शक्‍ति थियो। (उपदेशक २:३-९) यद्यपि, चाखलाग्दो कुरा के थियो भने उनले ती कुराहरूको तीव्र लालसा गरेनन्‌। सुलेमानले शासन गरिसकेपछि परमेश्‍वरले तिनलाई आफूलाई मन लागेको कुरा माग्न भन्‍नुभयो। सुलेमानले नम्रतापूर्वक परमेश्‍वरले रोज्नुभएका मानिसहरूलाई शासन गर्न चाहिने आज्ञाकारी हृदय र समझशक्‍ति मागे। (१ राजा ३:५-९) पछि आफूले हासिल गरेका सारा सम्पत्ति र शक्‍तिको बेलीबिस्तार लगाइसकेपछि तिनले यसो भने, “सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।”—उपदेशक २:११.

मानिसले आफ्ना लक्ष्यहरू हासिल गर्ने बारे सुलेमानले केही कुरा बताएका छन्‌? उनले केही बताएका छन्‌। जीवनका धेरै अनुभवहरू केलाइसकेपछि उनी यस्तो निष्कर्षमा पुगे: “परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उपदेशक १२:१३) पद, धन, नाम र शक्‍तिद्वारा नभई परमेश्‍वरको इच्छा पूरा गरेर मानिसले आफ्नो लक्ष्य हासिल गर्न सक्छ।

नम्रताले उच्च बनाउँछ

हो, आफूलाई केही हदसम्म माया गर्नुमा कुनै खराबी छैन। बाइबलले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने आज्ञा दिन्छ। (मत्ती २२:३९) आराम र आनन्दको चाह हुनु स्वाभाविक हो। तर धर्मशास्त्रले कडा मेहनत, नम्रता र भद्रतालाई पनि जोड दिन्छ। (हितोपदेश १५:३३; उपदेशक ३:१३; मीका ६:८) इमानदार, भरपर्दो र कडा मेहनत गर्ने मानिस अक्सर अरूको नजरबाट लुक्दैन, त्यस्ता व्यक्‍तिहरूले राम्रो जागिर पाउनुका साथै आदर पनि कमाउँछन्‌। आफ्नो स्वार्थको लागि अरूको नाजायज फाइदा उठाउनु अथवा पदको लागि अरूसित प्रतिस्पर्धा गर्नुको सट्टा यो बाटो पछ्याउनु नै बेस हो।

आफ्ना श्रोताहरूलाई विवाह भोजमा उच्च स्थानहरू रोज्नदेखि येशूले सजग गराउनुभयो। उहाँले तल्लो स्थानमा गएर बस्ने र निम्त्याउने व्यक्‍तिले उच्च स्थानमा बस्न आग्रह नगरेसम्म त्यहीं बस्ने सल्लाह दिनुभयो। यसमा समावेश सिद्धान्तलाई स्पष्ट पार्दै येशूले बताउनुभयो: “आफूलाई ठूलो तुल्याउने चाहिं हरेक होचिनेछ, औ आफूलाई होच्याउने चाहिं ठूलो हुनेछ।”—लूका १४:७-११.

साँचो मसीहीहरू महत्त्वाकाङ्‌क्षालाई लत्याउँछन्‌

अभिमानी महत्त्वाकाङ्‌क्षा मानव असिद्धतासित जोडिएको कुरा बाइबल बताउँछ। (याकूब ४:५, ६) कुनै बेला प्रेरित यूहन्‍ना महत्त्वाकाङ्‌क्षी थिए। उनी पदको लागि यति लोभी थिए कि अलिकता पनि नहिचकिचाइ उनले आफ्नो भाइ र आफ्नो लागि येशूको राज्यमा उच्च स्थान मागे। (मर्कूस १०:३७) पछि यूहन्‍नाले आफ्नो मनोवृत्तिमा परिवर्तन ल्याए। वास्तवमा पछि, आफ्नो तेस्रो पत्रमा उनले “ठूलो हुनखोज्ने” डियोत्रिफसलाई निकै कडा शब्दहरूमा निन्दा गरे। (३ यूहन्‍ना ९, १०) आज मसीहीहरूले येशूका ती शब्दहरूलाई निष्कपट भई पालन गर्छन्‌ र आफैलाई नम्र तुल्याउँछन्‌ अनि प्रेरित यूहन्‍नाको उदाहरण पछ्याउँछन्‌ जसले महत्त्वाकाङ्‌क्षी झुकावहरू लत्याउन सिके।

यद्यपि, कुनै पनि मानिसको खुबी, दक्षता, राम्रो काम र कडा मेहनतको आधारमा उसको कदर गरिन्छ नै भन्‍ने छैन। सँगी मानवहरूद्वारा कहिले यसको कदर गरिन सक्छ वा कहिले नगरिन पनि सक्छ। (हितोपदेश २२:२९; उपदेशक १०:७) कहिलेकाहीं कम योग्यहरूलाई पनि अख्तियार दिइन सक्छ जबकि अझ बढी योग्यहरूको बेवास्ता भइरहेको हुन सक्छ। यस असिद्ध संसारमा पद र शक्‍ति प्राप्त गर्ने व्यक्‍ति सबैभन्दा योग्य नहुन पनि सक्छ।

साँचो मसीहीहरू महत्त्वाकाङ्‌क्षा नैतिक रूपमा सही हो या गलत भन्‍ने दोधारमा पर्नुपर्दैन। तिनीहरूको बाइबल प्रशिक्षित अन्तस्करणले महत्त्वाकाङ्‌क्षालाई लत्याउन मदत गर्छ। तिनीहरूले जुनसुकै परिस्थितिमा परमेश्‍वरको महिमाको लागि यथासक्दो गर्ने कोसिस गर्छन्‌ र परिणामलाई उहाँको हातमै छोडिदिन्छन्‌। (१ कोरिन्थी १०:३१) परमेश्‍वको डर राख्दै र उहाँका आज्ञा पालन गर्दै मसीहीहरू आफ्नो लक्ष्यमा पुग्ने कोसिस गर्छन्‌। (g05 6/8)

[पृष्ठ १२-मा भएको चित्र]

के परमेश्‍वरले अब्राहामलाई महत्त्वाकाङ्‌क्षी हुन उक्साउनुभयो?