सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पसलबाट खुसुक्क सामान चोर्नु—केवल रमाइलो वा गम्भीर अपराध?

पसलबाट खुसुक्क सामान चोर्नु—केवल रमाइलो वा गम्भीर अपराध?

पसलबाट खुसुक्क सामान चोर्नु—केवल रमाइलो वा गम्भीर अपराध?

यस्तो एउटा दृश्‍य कल्पना गर्नुहोस्‌। डिपार्टमेन्ट स्टोरको मेन गेट खुल्छ अनि एकदमै फेसनदार लुगा लगाएका दुई जना किशोरी भित्र छिर्छन्‌। उनीहरू सरासर शृङ्‌गारका सामानहरू राखिएको ठाउँतिर जान्छन्‌। युनिफर्म लगाएका सेक्युरिटी गार्डले ती दुइटी केटीलाई पछ्याउँछन्‌ तर दस मिटरजति परै रोकिन्छन्‌ अनि आफ्नो दुवै हात पछाडि बाँधेर उभिन्छन्‌। ती केटीहरूले लिपस्टिक र मस्कारा हेर्दै, चलाउँदै गर्दा सेक्युरिटी गार्डले हेरिरहन्छन्‌।

आफूमाथि निगरानी गरिरहेको गार्डलाई तिनीहरू पल्याकपुलुक हेर्छन्‌। उनीहरूको मुटुमा ढ्याङ्‌ग्रो ठोक्न थालिसकेको छ। एउटी केटी नेल पालिस भएको ठाउँतिर गएर दुई तीनवटा पालिसको सिसी लिन्छिन्‌। उस्तै-उस्तै देखिने रातो रङको दुइटा पालिस लिएर कुन चाहिं लिऊँ भन्‍ने दोधारमा परेजस्तो गरी नाक खुम्च्याउँछिन्‌। एउटा सिसी राखेर अर्को अलि गाढा रङको पालिस लिन्छिन्‌।

सेक्युरिटी गार्ड तलतिर निहुरिन्छन्‌ अनि अर्कैतिर हेर्छन्‌। यी दुइटी केटीले भने मौका यही हो जस्तो गरी आफ्नो ब्यागमा लिपस्टिक र नेल पालिसहरू सुटुक्क राख्छन्‌। उनीहरूको अनुहार शान्त देखिन्छ तर मुटु बेस्सरी ढुकढुक गर्न थालेको छ। उनीहरू त्यहीं दुई चार मिनेट बस्छन्‌ अनि एक जनाले नेल फाइल र अर्कोले आइब्राऊ पेन्सिल हेर्न थाल्छन्‌।

यी दुइटी केटीले एकअर्कालाई हेराहेर गर्छन्‌, कुरा मिलेको देखाउन टाउको हल्लाउँछन्‌ अनि मेन गेटतिर अघि बढ्‌छन्‌। सेक्युरिटी गार्डले पनि बाटो दिन्छन्‌ अनि उनीहरू मुसुक्क हाँसेर जान्छन्‌। काउन्टरको ठ्याक्क अर्कोतिर राखिएको मोबाइल फोनका विभिन्‍न सरसामानहरू हेर्छन्‌। मोबाइल फोनको लेदर खोलबारे खस्याकखुसुक गर्छन्‌। त्यसपछि उनीहरू बाहिर निस्कने गेटतिर लाग्छन्‌।

हरेक कदम सँगसँगै उनीहरूभित्र उर्लिरहेको उत्तेजना झन्‌-झन्‌ बढ्‌दै जान्छ अनि अझ बेस्सरी मुटुमा ढ्याङ्‌ग्रो ठोक्न थाल्छ। गेटबाट बाहिर पाइला टेक्ने बित्तिकै उनीहरूलाई ठूलो स्वरले चिच्याऊँ जस्तो लाग्छ तर उनीहरू चुपो लाग्छन्‌। त्यस भवनबाट पूरै बाहिर पुगिसकेपछि भने कुनै ठूलो काम फत्ते गर्न सकेझैं उनीहरूको अनुहार मेकअप गरेको बेलाभन्दा रातो हुन्छ। उनीहरूले महसुस गरेको उत्तेजना बल्ल शान्त हुन्छ अनि ढुक्क भएर लामो सास तान्छन्‌। यी केटीहरू फटाफट हिंड्‌छन्‌ तर हाँसोको खित्का छुटिहाल्छ। उनीहरूको मनमा एउटै कुरा घुमिरहेको छ: ‘हामी उम्कन सक्यौं!’

यी दुइटी केटी काल्पनिक पात्र हुन्‌ तर यहाँ भर्खरै वर्णन गरिएको दृश्‍य भने एउटा तीतो वास्तविकता हो। संयुक्‍त राज्य अमेरिकामा मात्रै प्रत्येक दिन यसरी पसलबाट खुसुक्क चोर्ने अर्थात्‌ शपलिफ्टिङका घटनाहरू लगभग दस लाखवटा हुन्छन्‌ तर यो एउटा विश्‍वव्यापी समस्या हो। यस्तो घटनाले ठूलो नोक्सानी पुऱ्‍याउँछ भनेर अब हामी बुझ्नेछौं। तर यसरी पसलबाट खुसुक्क सामान चोर्ने व्यक्‍तिहरू आफूले कत्रो ठूलो नोक्सानी पुऱ्‍याइरहेका छौं भन्‍ने विषयमा त्यति वास्ता गर्दैनन्‌। पैसा तिरेर सामान किन्‍न सक्ने थुप्रै व्यक्‍तिहरूले समेत चोर्छन्‌। तर किन? (g05 6/22)