सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मलाई मन पराउने केटीसित म कस्तो व्यवहार गरूँ?

मलाई मन पराउने केटीसित म कस्तो व्यवहार गरूँ?

युवा जनहरू सोध्छन्‌ . . .

मलाई मन पराउने केटीसित म कस्तो व्यवहार गरूँ?

“सुसनले नै पहिलो प्रस्ताव राखिन्‌, मलाई कुनै आपत्ति थिएन। हाम्रो प्रेम सफल भयो।”—जेम्स। a

“केटीले कुनै केटालाई मन पराउँदा, केटा इमानदार भएन भने केटीलाई त्यसले ठूलो चोट पुग्न सक्छ।”—रोबर्टो।

हालै एउटी केटीले तपाईंलाई केही कुरा भन्‍न चाहिन्‌। तपाईंले तिनलाई साथीहरूको बीचमा देख्नुभएको थियो र तिनीसित गफ गर्दा र काम गर्दा तपाईंलाई बेग्लै मज्जा लाग्थ्यो। तर तिनले जुन कुरा भनिन्‌, त्यसले तपाईंको होस उडायो। तिनी तपाईंसित रोमान्टिक सम्बन्ध गाँस्न चाहन्छिन्‌ र तपाईंको मुटुमा तिनको लागि कुनै ठाउँ छ कि भनी जान्‍न चाहन्छिन्‌।

केटाले नै पहिलो प्रस्ताव राख्नुपर्छ भन्‍ने मान्यता राख्नुहुन्छ भने यस कुराले तपाईं छक्क पर्नुहोला। अक्सर केटाले नै पहिलो प्रस्ताव राख्ने भए तापनि केटीले पहिलो प्रस्ताव राखेर बाइबलको कुनै नियम भङ्‌ग गरेकी छैनन्‌। b यस तथ्यलाई बुझ्नुभएमा परिस्थितिको सामना गर्न तपाईंलाई मदत मिल्नेछ।

यस कुराबारे सोचेपछि तपाईंलाई लाग्न सक्छ, डेटिङ गर्ने आफ्नो उमेर पुगेको छैन वा केटीप्रति तपाईंको त्यस्तो कुनै विचार छैन। आफूले तिनलाई मन पराएको गलत छनक पो दिएँ कि जस्तो लागेर दोषी भावनाले तपाईंलाई पिरोल्न पनि सक्छ। अब के गर्ने? मुख्य कुरा हो, तपाईंले तिनको भावनालाई पनि विचार गर्नुपर्छ।

तिनको भावनालाई बुझ्नुहोस्‌

यस्तो बेला, केटीको मनमा कस्तो उथलपुथल भइरहेको होला, सोच्नुहोस्‌। तपाईंलाई प्रभाव पार्ने हरप्रयास गर्दै तपाईंलाई भन्‍ने केही शब्दहरूको लागि तिनले कैयौं दिन अभ्यास गरेकी होलिन्‌। एउटा मीठो मुस्कान र दुई शब्द जुटाएपछि तपाईंले इन्कार गर्नुहोला भन्‍ने डरसित तिनले सङ्‌घर्ष गरिन्‌। बल्लतल्ल साहस जुटाई आफ्ना सारा सङ्‌कोचहरू हटाएर तिनले आफ्नो मनको कुरा खोलिन्‌।

यी सबै जोखिम उठाउन तिनी किन तयार भइन्‌? सायद तिनी तपाईंप्रति मोहित भएकी हुन सक्छिन्‌। अनि हुन सक्छ, अक्सर अरू मानिसहरूको नजरमा नपरेका तपाईंका गुणहरू तिनलाई मनपऱ्‍यो। त्यसैले तिनको मुखबाट तपाईंले त्यस्ता प्रशंसाहरू सुन्‍नुहुनेछ, जुन तपाईंले अक्सर सुन्‍नुहुन्‍न।

यी तथ्यहरू तपाईंको निर्णयलाई असर गर्न नभई तपाईंलाई अझ दयालु हुन उल्लेख गरिएका हुन्‌। जुली नाउँकी एक युवती भन्छिन्‌, “कुनै केटी आफूलाई मन नपरे पनि केटीले मन पराउँदा केटा खुसी हुनुपर्छ। ठाडै इन्कार नगरी केटाले राम्रो व्यवहार गर्नुपर्छ र दयालु हुँदै तिनीप्रति आफ्नो रोमान्टिक चासो नभएको कुरा बताउनुपर्छ।” एकछिनको लागि मानौं, तपाईं यसो गर्न तयार हुनुहुन्छ—“दयालु हुँदै तिनीप्रति आफ्नो रोमान्टिक चासो नभएको कुरा” बताउन चाहनुहुन्छ अथवा तिनको चित्त नदुखाईकन तिनको प्रस्तावलाई इन्कार गर्न चाहनुहुन्छ।

तर विगतमा पनि तपाईंले तिनलाई इन्कार गरिसक्नुभएको छ भने नि? सायद, तपाईंलाई अहिले भने तिनलाई बेस्सरी झपारूँ जस्तो लाग्ला। झपार्न मन लाग्दा त्यसो नगर्न कडा प्रयत्न गर्नुहोस्‌। हितोपदेश १२:१८, NRV ले भन्छ: “असावधान वचनले मानिसलाई तरवार झैं घोच्छ, तर बुद्धिमान्‌को बोलीले निको पार्छ।” कसरी “बुद्धिमान्‌को बोली” बोल्ने?

आफ्ना भावनाहरू बताएकोमा र तिनको मनमा आफूलाई त्यस्तो उच्च स्थान दिएकोमा कदर गरेको कुरा बताउनुहोस्‌। अन्जान मै भए पनि कुनै गलत छनक दिएकोमा माफी माग्नुहोस्‌। स्पष्ट तर कोमल ढङ्‌गमा तिनीप्रति आफ्नो रोमान्टिक चासो नभएको कुरा बताउनुहोस्‌। तपाईंले दिनुभएको जवाफ तिनले बुझिनन्‌ र अझै दृढ भएर भन्‍नुपर्ने अवस्था आए पनि कठोर शैली अपनाउनु हुँदैन र बिझ्ने शब्दहरू भन्‍नु हुँदैन। तिनका संवेदनशील भावनाहरू मुछिएकोले धीरजी हुनुहोस्‌। तपाईं तिनको ठाउँमा भइदिएको भए तिनले इन्कारै गरे पनि तिनी आफूप्रति कोमल भइदिएमा तपाईं आभारी हुनुहुने थियो, होइन र?

तर तपाईंले जानाजानी तिनलाई झुक्याएको हो भनेर तिनी जिद्दी गर्लिन्‌। तपाईंप्रति तिनले रोमान्टिक चासो राख्नुको कारणस्वरूप तिनले कुनै खास घटना बताउन सक्छिन्‌। तिनले भन्लिन्‌, “तिमीले मलाई त्यो फूल दिएको कुरा सम्झ त?” “एक महिनाअघि हामी सँगै हिंड्‌दा तिमीले भनेको त्यो कुरा नि?” अब भने तपाईंले गम्भीर आत्मपरीक्षण गर्नुपर्छ?

वास्तविकतालाई स्वीकार्नुहोस्‌

पहिले-पहिले कुनै देश पत्ता लागेमा त्यसमाथि अधिकार जमाएर त्यसको गर्नुसम्म शोषण गर्नुपर्छ भन्‍ने धारणा राखिन्थ्यो, आज कुनै-कुनै पुरुषहरूले स्त्रीहरूप्रति यस्तै दृष्टिकोण राख्छन्‌। तिनीहरू रोमान्टिक सम्बन्धको मजा लुट्‌छन्‌ तर विवाहको जिम्मेवारी वहन गर्न भने चाहँदैनन्‌। विना कुनै दायित्वबोध तिनीहरू केटीका भावनाहरूसित खेलेर केटीलाई मोहित बनाउँछन्‌। यस्ता मानिसहरूले झूटको सहारा लिएर केटीको माया हासिल गर्छन्‌। एक जना मसीही प्राचीनले यसो भने: “कुनै-कुनै केटाहरू एकपछि अर्को केटीसित रोमान्टिक सम्बन्ध गाँस्दै हिंड्‌छन्‌। यसरी केटीहरूको भावनासित खेल्नु गलत हो।” यस्तो स्वार्थको नतिजा के हुन्छ?

“अर्कोलाई छल गरेर ठट्टा मात्र हो भन्‍ने मानिस प्राणनाशक बर्छा र काँड़हरू जथाभाबी हान्‍ने बौलाहा मानिसजस्तै हो।” (हितोपदेश २६:१८, १९) कुनै केटाले जब स्वार्थी मनोभावले कुनै केटीसित सम्बन्ध गाँस्न खोज्छ, केटीले एक न एक दिन केटाको सक्कली रूप थाह पाइहाल्छिन्‌। त्यसबेला केटाले दिएको धोकाले केटीको भावनालाई नराम्रो चोट पुग्न सक्छ, जुन कुरा निम्न घटनाले स्पष्ट पार्छ।

एक जना केटाले एउटी केटीसित रोमान्टिक सम्बन्ध गाँस्न खोजे तर तिनीसित विवाह गर्ने उनको मनसाय थिएन। उनले तिनलाई भव्य रेष्टुराँहरू लगे र दुई जना सँग-सँगै पार्टीहरू पनि गए। यसरी केटीसित डुल्न पाउँदा केटा मक्ख थिए र विवाह गर्ने उद्देश्‍यले केटाले आफूप्रति त्यस्तो चासो दिएको भन्ठानी केटी खुसी थिइन्‌। जब केटाले दिएको चासो एउटा साधारण मित्रता मात्र हो भनेर केटीले बुझिन्‌, केटीलाई गहिरो चोट लाग्यो।

प्रस्ताव राख्ने केटीलाई तपाईंले अन्जान मै भए पनि गलत छनक दिनुभएको छ भने, के गर्ने? आफूलाई जोगाउन खोज्ने र लामो सफाइ दिने गर्नुभयो भने तिनको पीडा झन्‌ चर्कन्छ। बाइबलको यो सिद्धान्तलाई विचार गर्नुहोस्‌: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” (हितोपदेश २८:१३) त्यसैले इमानदार हुनुहोस्‌। कुनै पनि असमझदारीको लागि आफू दोषी भएको कुरा मानिलिनुहोस्‌। यदि तपाईंले जानाजानी तिनका भावनाहरूसित खेल्नुभएको कुरा साँचो हो भने आफूले ठूलो गल्ती गरेको कुरा स्वीकार्नुहोस्‌। निष्कपट मनले माफी माग्नुहोस्‌।

तर माफी माग्दैमा कुरा खतम भयो भनेर नसोच्नुहोस्‌। केटी केही समय तपाईंसित रिसाउलिन्‌। तपाईंले तिनका आमाबाबुलाई आफ्नो गल्ती बताउनुपर्ने हुन सक्छ। अनि तपाईंले अरू नतिजाहरू पनि भोग्नुपर्ने हुन सक्छ। गलाती ६:७ ले भन्छ: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” गल्तीको क्षमा मागेर र गल्ती सच्याउन सक्दो गरेर तपाईं केटीलाई त्यो कुरा बिर्सेर जीवनमा अघि बढ्‌न मदत गर्नुहुनेछ। अनि यो अनुभवले केटीहरूलगायत जीवनका अन्य सबै क्षेत्रमा आफ्नो ‘जिब्रोलाई खराबीबाट र ओठलाई छलछामको बोलीबाट जोगाउनु पर्ने’ पाठ तपाईंलाई सिकाउनेछ।—भजन ३४:१३.

जवाफ दिनु अघि गम्भीर भई सोच्नुहोस्‌

तर केटीलाई अझ राम्ररी बुझुँ जस्तो तपाईंलाई लाग्यो भने नि? यस्तो लागेमा, डेटिङ र रोमान्स केवल आनन्दको क्षण होइन भन्‍ने कुरा तपाईंले बुझ्नुपर्छ। डेटिङ गर्दा जोडीले विकास गर्ने गहिरा भावनाहरूले तिनीहरूलाई विवाहको वचनबद्धतासम्म पुऱ्‍याउँछ। त्यो भावनाले विवाहपछि तिनीहरूलाई पति र पत्नीको सम्बन्धमा गाँसिन मदत गर्छ। यो कुरा थाह पाइसकेपछि यसले तपाईंलाई अहिले कस्तो असर गर्नुपर्ने हो?

ती केटीबारे सोच्नुभएपछि धेरै पक्षहरूमा तपाईंलाई तिनी आकर्षक लाग्ला। तिनले तपाईंको लागि ढोका खोलिदिइन्‌ र अब तपाईं त्यो ढोका खुल्लै राख्न चाहनुहोला। विवाह गर्ने उद्देश्‍यले भेटघाट गर्न हतारिनु अघि, पछि हुन सक्ने चोटबाट दुवै बच्न अहिल्यै कदम चाल्नुहोस्‌।

तिनलाई राम्ररी बुझ्ने कुनै परिपक्व व्यक्‍तिसित तपाईं कुराकानी गर्न चाहनुहोला। तिनलाई पनि आफूलाई राम्ररी चिन्‍ने कुनै व्यक्‍तिसित कुरा गर्ने सल्लाह दिनुहोस्‌। ती परिपक्व व्यक्‍तिहरूसित तपाईंहरू दुवैले एक-अर्काको गुण-अवगुणहरू सोध्नुपर्छ। साथै, मसीही प्राचीनको राय लिन सक्नुहुन्छ। तपाईंले रोमान्टिक चासो देखाउनुभएको व्यक्‍तिलाई मसीही मण्डलीमा राम्रो दृष्टिले हेरिन्छ कि हेरिंदैन, थाह पाउनु बेस हुन्छ।

तर तपाईं भन्‍नुहोला, ‘मेरो निजी जीवनमा अरूलाई किन यतिबिघ्न सामेल गराउने?’ तर वास्तविक कुरा चाहिं के हो भने, रोमान्स जस्तो निजी मामिलाहरूमा पनि अरूको राय बुझ्नु बुद्धिमानी हुन्छ। वास्तवमा यो सल्लाह शास्त्र अनुरूप छ किनकि हितोपदेश १५:२२, NRV ले भन्छ: “धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्‌।” तपाईंले जुन वयस्कसित सल्लाह लिनुहुन्छ, तिनले तपाईंको लागि निर्णय गरिदिंदैनन्‌। तर तिनीहरूले दिन सक्ने “साँचो सल्लाह[ले]” दोस्रो व्यक्‍तिका विभिन्‍न पक्षहरू र आफूलाई थाह नभएको आफू स्वयम्‌का पक्षहरू थाह पाउन सकिन्छ।—हितोपदेश २७:९.

सुरुमा उल्लिखित जेम्सले त्यसै गरे। उनी आत्मनिर्भर भइसकेको भए तापनि उनले आफ्ना आमाबाबुसित सुसनको विषयमा राय मागे। त्यसपछि दुवैले आफू वैवाहिक जोडी बन्‍न योग्य छ कि छैन भनी टिप्पणी गर्न सक्ने र आफूलाई राम्ररी चिन्‍ने परिपक्व व्यक्‍तिहरूको नाउँ एक-अर्कालाई दिए। एक-अर्काको विषयमा राम्रो रिपोर्ट सुनिसकेपछि विवाह सम्भव छ कि छैन भनेर जेम्स र सुसनले डेटिङ गर्न थाले। भावनाहरू तीव्र हुनअघि नै तपाईंले पनि यसो गर्नुभएमा अन्ततः तपाईं आफ्नो निर्णयमा ढुक्क हुन सक्नुहुनेछ।

मुख्य कुरा, यहोवालाई प्रार्थना गर्नुहोस्‌। डेटिङ विवाहतर्फ लैजाने कदम भएकोले कुनै केटीसितको सम्बन्धले उक्‍त लक्ष्यसम्म लैजान्छ किं लैजादैन, सो बुझ्न यहोवालाई पुकार्नुहोस्‌। अझ मुख्य कुरा, परमेश्‍वरसित अझ नजिक लैजाने निर्णयहरू गर्न दुवैलाई मदत गर्नुहोस्‌ भनी परमेश्‍वरलाई पुकार्नुहोस्‌। यसैमा तपाईंहरू दुवैको साँचो आनन्द निहित छ। (g05 6/22)

[फुटनोटहरू]

a यस लेखमा नाउँहरू परिवर्तन गरिएका छन्‌।

b एउटी केटीले कसरी कुनै केटासित रोमान्टिक सम्बन्ध गाँस्न अघि बढ्‌न सक्छिन्‌, त्यसको लागि नोभेम्बर ८, २००४ र जनवरी ८, २००५ अंकको ब्यूँझनुहोस्‌!-को “युवा जनहरू सोध्छन्‌” लेख हेर्नुहोस्‌।

[पृष्ठ १९-मा भएको चित्र]

आफूलाई साँच्चै मन परेको छैन भने गलत छनकहरू नदिन होसियार हुनुहोस्‌