सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसहरू किन पसलबाट खुसुक्क सामान चोर्छन्‌?

मानिसहरू किन पसलबाट खुसुक्क सामान चोर्छन्‌?

मानिसहरू किन पसलबाट खुसुक्क सामान चोर्छन्‌?

“मलाई यो चोरीजस्तो लाग्दैन, बरु आर्थिक स्रोतसाधनको अपरिहार्य भागबन्डा जस्तो मात्र लाग्छ।”—चर्च अफ इङ्‌गल्याण्डका पादरी।

दन्त्य कथाहरूमा पनि केही सत्यता हुँदो हो त एउटा दन्त्यकथाका पात्र रबिन हुडले चोर्नु मनासिब ठानेका थिए। इङ्‌गल्याण्डको मध्यकालका काल्पनिक हिरो, रबिन हुडले धनीहरूबाट लुटेर गरिबहरूलाई बाँडेको कथा पाइन्छ। माथि उद्धरण गरिएको पादरी पनि चोर्नुको एउटा जायज कारण गरिबी हो भन्छन्‌। पसलबाट खुसुक्क चोर्नेहरूबारे तिनी यसो भन्छन्‌: “उनीहरूको दुःख म बुझ्न सक्छु र वास्तवमा भन्‍ने हो भने, उनीहरूको काम सोह्रै-आना जायज छ जस्तो मलाई लाग्छ।” तिनी यस्तो सुझाव दिन्छन्‌, ठूलठूला पसलहरूले प्रत्येक वर्ष एक दिन गरिबहरूको लागि आफ्नो ढोका खोल्नुपर्छ अनि त्यहाँ राखिएका सामानहरू आफूलाई जे-जे मनपर्छ, त्यो एक पैसा नतिरी लैजान दिनुपर्छ।

तर, पसलबाट खुसुक्क सामान चोर्ने धेरैजसो व्यक्‍तिहरू अक्सर आफ्नो गरिबीले गर्दा चोरेका होइनन्‌। पसलबाट खुसुक्क सामान चोरेको अभियोगमा जापानको प्रहरीले दुई जना सँगी अफिसरहरूलाई समात्यो। संयुक्‍त राज्य अमेरिकामा एउटा जनकल्याणकारी खाद्य सहकारी कम्पनीको बोर्डका सदस्य आफ्नै कम्पनीको पसलबाट चोरी गर्दा पक्रिए। आफूसित पैसा भएका किशोरकिशोरीले अक्सर आफूलाई चाहिंदै नचाहिने सामानहरू चोर्छन्‌। यी व्यक्‍तिहरूले पसलबाट खुसुक्क सामान चोर्नुको मुख्य कारण के हो?

‘मजा आउँछ’

रोमाञ्च। डर। नियन्त्रण। अघिल्लो लेखमा बताइएका दुइटी केटीजस्तै पसलबाट खुसुक्क चोर्ने कोही-कोही व्यक्‍तिहरूले यस्तै भावनाहरू महसुस गर्छन्‌ अनि यस्ता तीव्र भावनाहरूको चाहनाले फेरि-फेरि पनि चोर्न उक्साउँछ। पहिलो चोटि चोरेपछि एउटी आइमाईले यसो भनिन्‌: “मैले कस्तो उत्तेजित महसुस गरें। म पक्राउ नपरी उम्कन सकें अनि कस्तो मजा आयो!” केही पटक चोरिसकेपछि आफूलाई कस्तो लाग्यो भनेर उनले यसो भनिन्‌: “मलाई आफू देखेर लाज लाग्यो तर अति उत्तेजित महसुस गरें। आफूले साँच्चै जीवनको मजा लिइरहेको जस्तो लाग्यो। पटक-पटक चोरी गरे पनि पक्राउ नपर्दा आफ्नो जीवनमाथि नियन्त्रण भएको महसुस भयो।”

हेक्टर नाउँ गरेका जवान व्यक्‍तिले पसलबाट सामान चोर्ने काम छोडेको महिनौंपछिसम्म पनि आफूलाई चोरूँ चोरूँजस्तो लागेको बताउँछन्‌। a “एक किसिमको अम्मलजस्तै भयो। कतै बजारतिर घुमिरहेको बेला कुनै पसलको झ्यालमा रेडियो देखेपछि यस्तो लाग्थ्यो, ‘त्यो सामान त म कति सजिलै टप्काउन सक्छु। पक्राउ नपरीकन त्यो सामान चोर्न सक्छु।’ ”

रोमाञ्चित महसुस गर्न पसलबाट सामान चोर्नेहरूलाई अक्सर आफूले चोरेको सामानको आवश्‍यकता नै हुँदैन। एउटा भारतीय अखबार यसो भन्छ: “निषेधित कार्य गर्दा प्राप्त हुने उत्तेजना नै यिनीहरूले चोर्नुको प्रमुख कारण हो भनी मनोवैज्ञानिकहरू बताउँछन्‌। . . . कोही-कोहीले त आफूले चोरेको सामान फिर्तासमेत ल्याउँछन्‌।”

अन्य कारणहरू

निराशाले करोडौं मानिसहरूलाई असर गरेको छ। कहिलेकाहीं, निराशाबाट पीडित व्यक्‍तिहरूले पसलबाट सामान चोर्नेजस्ता गलत कार्यहरू गरेर आफ्नो निराशा कम पार्न खोज्छन्‌।

एउटी १४ वर्षीया केटीको परिवार धनी थियो र त्यस्तो कुनै समस्या पनि थिएन। यस्तो सुखसयलको बावजुद यस किशोरीमाथि निराशाको “बादल” छाएको थियो। उनले यसो भनिन्‌, “निराश भावनाबाट म उम्कनै सकिनँ।” उनले मद्य र लागूपदार्थ सेवन गर्न थालिन्‌। अनि एक दिन उनी पसलबाट सामान चोर्दा चोर्दै पक्राउ परिन्‌। त्यसपछि उनले दुई चोटि आत्महत्या गर्न खोजिन्‌।

राम्रो आनीबानी भएको युवाले अकस्मात्‌ पसलबाट सामान चोर्न थाल्यो भने आमाबाबुले आफ्नो छोरा वा छोरीलाई कुनै भावनात्मक तनाव पो भइरहेको छ कि भनेर विचार गर्नुपर्छ। किशोरकिशोरीहरूको स्वास्थ्यसम्बन्धी विशेषज्ञ डा. रिचर्ड मकेन्जीले यसो भने: “तपाईंको बच्चाको कुनै पनि प्रकारको अनौठो व्यवहारको लागि ठोस कारण छैन भने निराशालाई एउटा सम्भाव्य कारण ठान्‍नुपर्छ जस्तो मलाई लाग्छ।”

कोही-कोही जवान व्यक्‍तिहरू साथीहरूको दबाबले गर्दा पसलबाट सामान चोर्छन्‌ र आफ्ना साथीहरूको समूहमा स्वीकृत हुनको लागि यस्तो कार्य गर्नुपर्ने हुन सक्छ। अरू कतिपयले भने पट्टाइ लागेकोले पसलबाट सामान चोर्न सक्छन्‌। पसलबाट खुसुक्क सामान चोर्ने पेसेवर व्यक्‍तिहरू भने चोरेरै आफ्नो जीविका चलाउँछन्‌। कारण जेसुकै होस्‌, चोरहरूले वर्षेनी पसलहरूबाट करोडौं रूपियाँ बराबरको सामान चोर्छन्‌। तर अरू कसैले यस्तो चोरीको सट्टाभर्ना तिर्नुपर्ने हुन्छ। (g05 6/22)

[फुटनोट]

a यी लेखहरूमा केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ५-मा भएको पेटी]

चोर्ने रोग

मारिया यसो भन्छिन्‌, “किशोरावस्थादेखि नै पसलबाट खुसुक्क सामान चोर्ने बानी मलाई लागिसकेको थियो। मैले दिनहुँ रू. २२,५०० बराबरको सामान चोर्न थाल्दा भने यो समस्याले अत्यन्तै उग्र रूप लिन थाल्यो।

“चोर्ने इच्छा त छैन तैपनि असाध्यै तलतल लाग्छ। म यस्तो अवस्थाबाट उम्कन चाहन्छु।” चोर्ने तलतललाई नियन्त्रणमा राख्न असाध्यै गाह्रो भएको हुँदा मारिया आफूलाई चोर्ने रोग अर्थात्‌ क्लेप्टोमेनिया लागेको हो कि भन्‍ने शङ्‌का गर्छिन्‌।

“क्लेप्टोमेनिया” भन्‍ने शब्दलाई “आफूलाई चाहिएको नभए तापनि सामान चोर्ने तलतल लागिरहने स्नायु उत्तेजना” भनेर परिभाषित गरिएको छ। यो कुनै साधारण किसिमको तलतल होइन किनभने यो एकदमै जरा गाडिएका भावनात्मक समस्याहरूसित सम्बन्धित छ।

चोर्ने बानी परिसकेका व्यक्‍तिहरूलाई कोही-कोहीले चोर्ने रोग लागेकाहरू भनेर गलत परिभाषा दिएका छन्‌ तर डाक्टरहरूको विचारमा भने साँच्चै यस्तो चोर्ने रोग लागेकाहरू एकदमै कम मात्र हुन्छन्‌। अमेरिकी मनोवैज्ञानिक संघअनुसार पसलबाट सामान चोर्नेहरूमध्ये ५ प्रतिशतभन्दा कमलाई मात्र चोर्ने रोग लागेको हुन्छ। त्यसैले पसलबाट खुसुक्क सामान चोर्ने व्यक्‍तिहरूलाई चोर्ने रोग लागेकाहरू भनेर पन्छाउनुअघि सावधान हुनु आवश्‍यक छ। उसले चोर्नु पछाडि अन्य कारणहरू हुन सक्छन्‌।

[पृष्ठ ५-मा भएको चित्र]

आफ्नो बच्चाले पसलबाट सामान चोर्नु पछाडि कस्तो कारण लुकेको छ भनेर मायालु आमाबाबुले बुझ्ने प्रयास गर्छन्‌