सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

संसारको सबैभन्दा पुरानो विश्‍वविद्यालय?

पोलिस तथा इजिप्सियन पुरातत्त्वविद्‌हरूको एउटा टोलीले मिश्रको एलेक्जान्ड्रियास्थित सबैभन्दा पुरानो विश्‍वविद्यालय भएको ठाउँ उत्खनन गरेको छ। लस एन्जलस टाइम्स-अनुसार यस टोलीले एउटै साइजको १३ वटा लेक्चर कक्ष भेट्टायो जहाँ जम्माजम्मी ५,००० जना सम्म विद्यार्थीहरू अटाउँथे। उक्‍त अखबारअनुसार यी कक्षहरूका “तीनवटा भित्तामा भऱ्‍याङजस्तो गरी बेन्चहरू राखिएका छन्‌।” बीचमा भने अग्लो सिट छ र यो प्राध्यापकको लागि हुन सक्छ। “भूमध्यसागरको वरपरका ठाउँमा पर्ने ग्रेको-रोमी इलाकामा यति धेरै लेक्चर कक्षहरू भएको यस्तो भवन भेटिएको पहिलो चोटि हो” भनी पुरातत्त्वविद्‌ जाही हवास बताउँछन्‌ जो इजिप्टको पुरातन कलाकृतिसम्बन्धी उच्च निकायका अध्यक्ष हुन्‌। हवासले यो “संसारको सबैभन्दा पुरानो विश्‍वविद्यालय हुन सक्छ” भनेका छन्‌। (g05 6/8)

लसुनको आइसक्रिम?

औषधीको रूपमा लसुन प्रयोग गर्दा हुने फाइदाहरूबारे निकै गुणगान गरिंदै आएको छ। उत्तरी फिलिपिन्सस्थित मारियानो स्टेट युनिभर्सिटीले “स्वास्थ्यकर” हुने हुँदा लसुनको आइसक्रिम बनाएको कुरा फिलिपिन स्टार भन्‍ने अखबार रिपोर्ट गर्छ। लसुनले फाइदा गर्ने स्वास्थ्य समस्याहरूलाई यो नयाँ उत्पादनले राम्रो गर्नेछ भन्‍ने आशा गरिएको छ। यसमध्ये रुघाखोकी, ज्वरो, उच्च रक्‍तचाप, श्‍वासप्रश्‍वाससम्बन्धी समस्या, बाथ, सर्पको टोकाइ, दाँत दुखाइ, क्षयरोग, लहरे खोकी, घाउ अनि तालुखुइले हुने समस्या इत्यादि पर्छन्‌। अब, लसुनको आइसक्रिम खाने होइन त? (g05 6/8)

गाडीको संख्या सँगसँगै समस्या पनि बढ्यो

“चीन अहिले साइकलको देश नभई गाडीहरूको देश बन्‍नतिर उन्मुख भइरहेको छ” भनी चाइना डेली भन्‍ने अखबार बताउँछ। हाल, चीनमा प्रत्येक १,००० जनाको लागि २० वटा गाडी छ जबकि विश्‍वमा १,००० जनाको लागि १२० वटा छ। यो संख्या चीनमा अचाक्ली बढ्‌ने अनुमान गरिएको छ। चीनको उच्च प्रशासकीय निकायको विकास अनुसन्धान केन्द्रका उपनिर्देशक चेन चिङटाईको विचारमा गाडीहरूको संख्या बढेपछि धेरै मानिसको जीवनस्तर पनि राम्रो हुनेछ। तर चेनले यसको साथसाथै अरू समस्याहरू हुन सक्ने सम्भावना देखेका छन्‌: “गाडीबाट निस्कने धूँवालाई नियन्त्रण गर्न सकेनौं भने कोइलाबाट नभई गाडीबाट निस्कने धूँवाले सहर प्रदूषित हुनेछ।” चीनका कुनै-कुनै सहरहरूमा अहिल्यै पनि गाडीहरूले कार्बन मोनोअक्साइड र नाइट्रोजन निकै मात्रामा निष्कासन गरिरहेका छन्‌। सन्‌ २००८ मा बेइजिङमा ओलम्पिक गेम्स्‌ सुरु हुनुअघि प्रदूषण कम गर्न विभिन्‍न प्रयासहरू गरिंदै छन्‌। (g05 5/22)

विरलै पाइने पुरातात्त्विक वस्तु भेटियो

मृत सागर नजिकैका गुफाहरू उत्खनन गरेका पुरातत्त्वविद्‌हरूले २,५०० वर्ष पुरानो अर्थात्‌ यहूदीहरू बेबिलोनमा निर्वासनबाट आफ्नो मातृभूमि फर्केको समयावधिका गरगहना तथा अन्य सामानहरू भेटाएका छन्‌। जेरूशलेमको हिब्रू विश्‍वविद्यालय अनि रामात गानको बार इलान विश्‍वविद्यालयका पुरातत्त्वविद्‌हरूले मेटल डिटेक्टरद्वारा यी सामानहरू पत्ता लगाए। यहाँ भेटिएका खजानाहरूमध्ये काँसाको सानो ऐना, चाँदीको लकेट, सुन अनि सेमि-प्रेसियस (मूल्यवान्‌) रत्न भएका सुनको सिक्री, बेबिलोनी तक्मा अनि एक जना बेबिलोनी पूजाहारी चन्द्रमाको अगाडि निहुरिरहेको छाप थियो भनी एसोसिएटेड प्रेस रिपोर्ट गर्छ। इजरायलको प्रकृति तथा राष्ट्रिय पार्क संरक्षण अख्तियारका प्रमुख पुरातत्त्वविद्‌ चिभिका चुकले यसो भने: “यो एकदम विरलै मात्र भेटिने कुरा हो। यी भेटिएका कुराहरूको बहुमूल्यता र त्यसको समयावधिलाई विचार गर्दा साँच्चै छक्क पर्नुपर्ने कुरा हो।” (g05 5/22)

केटाकेटीलाई पनि मस्तिष्कघात हुन सक्छ

“क्यानाडामा हरेक दिन कम्तीमा एक जना बच्चालाई मस्तिष्कघात हुन्छ” भनी भानकुभर सन भन्‍ने अखबार रिपोर्ट गर्छ। क्यानाडाको बाल स्वास्थ्य इस्केमिक मस्तिष्कघातसम्बन्धी तथ्याङ्‌कका निर्देशक, न्युरोलोजिस्ट अर्थात्‌ स्नायु विशेषज्ञ गब्रिल डिभबरले बताएअनुसार मस्तिष्कघात अर्थात्‌ स्ट्रोकको सिकार हुने बच्चाको तुरुन्तै उपचार गरिहाल्नुपर्छ अन्यथा तिनलाई “अझ ठूलो मस्तिष्कघात र स्नायु आघात” पुग्न सक्छ। उक्‍त अखबारअनुसार “मस्तिष्कघात भएको तीन घण्टाभित्रै, जमेको रगतलाई हटाउन औषधी दिइहाल्नुपर्छ।” तर बच्चाहरूलाई मस्तिष्कघात हुँदा अक्सर “छारे रोग वा माइग्रेन भन्ठानेर झुक्किने गरिन्छ।” उक्‍त अखबारले बताएअनुसार मस्तिष्कघात हुँदाका लक्षणहरूमा “खास गरी शरीरको एउटा भाग लाटो वा कमजोर हुनु, दिमाग ठेगानमा नहुनु, बोली लरबरिनु, दृश्‍य शक्‍ति गुमाउनु, चक्कर लाग्नु वा अकस्मात्‌ बेस्सरी टाउको दुख्नु” हुन सक्छन्‌। मुटुसम्बन्धी रोग र क्यान्सरको लागि गरिने कुनै-कुनै उपचारले गर्दा बच्चाहरूलाई यस्तो मस्तिष्कघात हुन सक्छ अनि कोही-कोही विशेषज्ञहरूलाई यसको कारण “बच्चाको मोटोपन अनि चिल्लोको मात्रा धेरै भएको भोजन” पनि हो जस्तो लाग्छ। (g05 5/22)

स्कूलमा डिजिटल स्क्रिनको प्रयोग

मेक्सिकोका २१,००० भन्दा धेरै प्राथमिक स्कूलका कक्षाहरूमा परम्परागत ब्ल्याकबोर्ड, चक र डस्टरको सट्टा कम्प्युटरमा जोडिएको इलेक्ट्रोनिक बोर्ड चलाउन थालिएको कुरा मेक्सिको सहरको एल युनिभर्सल भन्‍ने अखबार बताउँछ। अहिलेको लागि भने दुई मिटर चौडा र एक मिटर अग्लो यो इलेक्ट्रोनिक बोर्ड पाँच छ कक्षाका विद्यार्थीहरूको लागि प्रयोग गरिन्छ। इतिहास, विज्ञान, गणित, भूगोल तथा अन्य विषयहरू सिकाउनको लागि सातवटा किताब डिजिटलमा उपलब्ध छन्‌। यो बोर्डमा भिडिओ पनि देखाउन सकिन्छ। यसको फलस्वरूप एक जना शिक्षिकाको कक्षाका विद्यार्थीहरूले “टिकाल र पालेङ्‌कका पिरामिडहरू देखिसके, माया सभ्यताका परम्पराहरू हेरिसके अनि त्यहाँको सङ्‌गीत सुनिसके।” यसबाट के फाइदा भएको छ? “केटाकेटीहरू पहिलेभन्दा बढी ध्यान दिन्छन्‌, सिक्छन्‌ अनि कक्षाको गतिविधिमा बढी भाग लिन्छन्‌” भनी उक्‍त शिक्षिका जवाफ दिन्छिन्‌। (g05 6/8)

प्रतिवर्ष दस लाख आत्महत्या

संसारभरि हुने आधीजसो असामयिक मृत्युको कारण आत्महत्या हो। प्रतिवर्ष दस लाख जति मानिसहरूले आत्महत्या गर्छन्‌ अनि सन्‌ २००१ मा यो संख्या हत्या र युद्धको कारण मारिनेहरूको कुल संख्याभन्दा बढी थियो। आत्महत्या गर्ने व्यक्‍तिले त्यसअघि १० देखि २० चोटि आत्महत्या गर्ने असफल प्रयास गरेको हुन सक्छ। यो स्वीजरल्याण्डको जेनेभास्थित विश्‍व स्वास्थ्यसंघले प्रकाशित गरेको तथ्याङ्‌क हो। विश्‍व स्वास्थ्यसंघले बताएअनुसार एक जना व्यक्‍तिको मृत्यु हुँदा त्यसले “थुप्रै परिवार तथा साथीहरूको जीवनलाई भावनात्मक, सामाजिक तथा आर्थिक तवरले भताभुङ्‌ग बनाउँछ।” उक्‍त रिपोर्टले टिप्पणी गरेअनुसार आत्महत्या गर्नदेखि रोक्ने कुराहरू भनेको “उच्च आत्म-सम्मान,” साथीभाइ र परिवारको सहयोग, स्थायी सम्बन्ध अनि धार्मिक वा आध्यात्मिक प्रतिबद्धता हुन्‌। (g05 6/8)

पूर्वानुमान गर्न नसकिने भयावह छालहरू

भनिन्छ, प्रत्येक हप्ता संसारमा सालाखाला दुइटा ठूलो जहाज कतै न कतै डुबिरहेको हुन्छ। दुई सय मिटरभन्दा लामो सुपरट्याङ्‌कर र ठूलठूला कन्टेनरहरू बोक्ने जहाजसमेत समुद्रमा डुबेका छन्‌। यीमध्ये प्रायजसो विध्वंस भयानक छालले गर्दा हुने अनुमान गरिएको छ। ठूलठूला जहाजलाई पनि डुबाउन सक्ने समुद्री छालहरू केवल नाविकहरूको बढाइचढाइ कथा हो भनेर पहिला-पहिला त्यसको वास्तै गरिंदैनथ्यो। तथापि, युरोपियन युनियनको एउटा अनुसन्धान परियोजनाले ती कथाहरू साँचो हुन्‌ भन्‍ने प्रमाण दिएको छ। यी विशाल छालहरू पत्ता लगाउन समुद्रका भूउपग्रह राडर चित्रहरू स्क्यान गरिएको थियो। यस परियोजनाका नेता भोल्फग्याङ्‌ग रोजेन्थालले सुडोइच जाइटुङ-मा यस भनेका छन्‌: “मानिसहरूले सोचेजस्तो यी भयानक छालहरू असामान्य कुरा होइनन्‌ भनेर हामीले प्रमाणित गरिसक्यौं।” तीन हप्ते अवधिको दौडान तिनको टोलीले कम्तीमा दसवटा यस्तो छाल पत्ता लगायो। त्यस्ता छालहरू लगभग ठाडो हुन्छन्‌, ४० मिटरसम्म अग्लो अनि एउटा जहाजलाई बेस्सरी हिर्काएर बिगार्ने वा डुबाउन समेत सक्ने हुन्छन्‌। यी छालहरूको वेग थेग्न सक्ने जहाजहरू थोरै मात्र छन्‌। “अब हामीले यी छालहरू पूर्वानुमान गर्न सकिन्छ कि सकिंदैन भनेर पत्ता लगाउनुपर्छ” भनी रोजेन्थाल बताउँछन्‌। (g05 6/8)