सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आइल अफ मानमा हामीसँगै आउनुहोस्‌

आइल अफ मानमा हामीसँगै आउनुहोस्‌

आइल अफ मानमा हामीसँगै आउनुहोस्‌

बेलाइतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

बास्किङ शार्कलाई तपाईं कहाँ देख्न सक्नुहुन्छ? यी जीवहरू हेर्ने सबैभन्दा उपयुक्‍त एउटा ठाउँ आइल अफ मानभन्दा पर आइरिश सीमा हो। पर्यटकहरू मान टापुबाट समुद्री यात्रा गरेर पाँच टन वजन भएका यी शान्त माछाहरू हेर्न आउँछन्‌ जसले प्लाङ्‌कटन अर्थात्‌ समुद्री सुक्ष्मजीव मात्र खान्छन्‌। आइल अफ मान इङ्‌गल्याण्ड, आयरल्याण्ड, स्कटल्याण्ड र वेल्सबाट लगभग बराबर दूरीमा पर्छ। स्थानीय प्रकृतिविद्‌ बिल डेलले यसो भने, यो “पर्यावरणीय पर्यटनको लागि एकदमै अनुकूल ठाउँ” हो।

आइल अफ मान कस्तो छ? यसको ५७० वर्ग किलोमिटर इलाकामा ७०,००० मानिस बसोबास गर्छन्‌ र यहाँ हरियो बेंसी, ठूलो सुक्खा इलाका, ताल तथा झरना, मनोरम खाडी, भीरपाखा अनि एकरूपता नभएको समुद्रीतट छ। ब्रिटिश आइल्सको यो भाग, जसको लामो इतिहास छ, आउनुहोस्‌ हामी सँगै गएर त्यहाँ पाइने केही रोचक कुराहरू पत्ता लगाऔं।

पर्यटकहरूका लागि आकर्षण

ऐतिहासिक ठाउँ, आइल अफ मानमा आउने पर्यटकहरू अक्सर माङ्‌क्स बिरालो हेर्न मन पराउँछन्‌। यो अनौठो जनावरको अनुहार बिरालोको जस्तो छ तर यसको अगाडिका खुट्टाहरूभन्दा पछाडिका खुट्टाहरू लामा छन्‌ जसले गर्दा खरायोजस्तो देखिन्छ। अनि यो माङ्‌क्स बिरालोको पुच्छर पनि छैन। यो बिरालो सुरुमा कहाँबाट आयो भनेर थाह नभए तापनि शताब्दीयौंअघि एसियाबाट आएका नाविकहरूले यसका छाउराहरू ल्याएको हुनुपर्छ भन्‍ने अनुमान गरिएको छ र यसरी यी बिरालाहरू यस टापुमा पुगे। पुच्छर नभएका बिरालाहरू एसियामा अझै पनि पाइन्छन्‌।

यस टापुमा प्रत्येक वर्ष आयोजना गरिने आइल अफ मान टुरिस्ट ट्रफी मोटरसाइकल रेसले पनि पर्यटकहरूलाई आकर्षित गर्छ। यो दौडको दूरी ६० किलोमिटरभन्दा लामो छ। सन्‌ १९०७ मा दौड सुरु गर्दा सबैभन्दा उत्कृष्ट औसत गति प्रति घण्टा ६५ किलोमिटरभन्दा कम थियो। आजकल दौड जित्ने गति भनेको प्रति घण्टा १९० किलोमिटरभन्दा बढी भइसक्यो। यो पक्कै पनि एउटा खतरनाक खेल हो र वर्षौंको दौडान थुप्रै चालकहरूले आफ्नो ज्यान गुमाइसकेका छन्‌।

यस टापुको राजधानी डग्लसमा प्रयोग गरिने घोडाले तान्‍ने ट्रामहरूले पुराना दिनहरूको सम्झना गराउँछ। अतीतको मीठो सम्झना गराउने अर्को वस्तु, अहिले २४ किलोमिटर मात्र बाँकी रहेको आइल अफ मान स्टिम रेलवे हो जुन पहिला टापुको वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्थ्यो। लगभग १०० वर्षअघि माङ्‌क्स इलेक्ट्रिक रेलवे सञ्चालन हुन थाल्यो अनि यसका कुनै-कुनै ट्रामकारहरू मान टापुको सबैभन्दा अग्लो ठाउँ, स्नेफलको २,००० फिटभन्दा बढी उचाइसम्म पुग्न सक्छ।

ग्रेट लाक्सी ह्वील

यस टापुको र अझ विशेष गरी ग्रेट लाक्सी माइनको विकासमा सीसा, चाँदी र जिन्कले महत्त्वपूर्ण भूमिका खेल्यो। ग्रेट लाक्सी ह्वील एउटा विशाल आकृति हो र यसमा भिक्टोरियन युगका इन्जिनियरहरूको निपुणता झल्कन्छ जसले सन्‌ १८५४ मा यसको निर्माण गरे। साथै, रबर्ट केसमेन्ट नाउँका डिजाइनरको कौशलता पनि यसमा झल्किएको छ जो ह्वील अर्थात्‌ चक्काहरू बनाउने स्थानीय निर्माताका छोरा हुन्‌। यस चक्काको व्यास ७२ फिटभन्दा बढी छ र गुरुत्वाकर्षण बलले तलको पानीलाई माथि फ्याँक्छ। यो ह्वीलले प्रति मिनेट साढे दुई फन्को लगाउँदा १,२०० फिट गहिराइबाट ९५० लिटर पानी माथि पम्प गर्छ र फन्को लगाउने पाताहरू पानीको सतहभन्दा माथि नै हुन्छ। धुरीको घुमाउरो भागलाई ६०० फिट जति लामो छडीसित जोडिएको छ र यसले गर्दा खानीमा भएको वाटर पम्प प्रणाली चल्न थाल्छ। यस विशाल ह्वीलको धुरीको वजन मात्रै दस टन छ।

ह्वीलहाउसको दक्षिणी छेउमा फलामले बनाएको थ्री लेग्स अफ मान छ जसको व्यास छ फिट छ। यस प्रतीकको सुरुवात र अर्थ के हो जसले हाल आइल अफ मानको प्रतिनिधित्व गर्छ?

सन्‌ १२४६ पछि थ्री लेग्स अफ मान यस टापुको औपचारिक प्रतीकको रूपमा सरकारी छापको रूपमा प्रयोग गरियो। यो ईसापूर्व छैठौं शताब्दीको ग्रीक फूलदानीमा भएको डिजाइनबाट लिइएको हो र ग्रीक क्रससित यसको सम्बन्ध छ। यो प्रतीकले सूर्यको किरणको प्रतिनिधित्व गर्छ भन्‍ने सामान्य धारणा पाइन्छ र सूर्य उपासनासित यसको सम्बन्ध छ। यो कसरी आइल अफ मानसम्म आइपुग्यो? यो प्रतीक प्रयोग गर्ने टापु अर्थात्‌ सिसिलीसितको व्यापारको सिलसिलामा भूमध्यसागर हुँदै आइपुगेको वा नोर्समेनहरू अर्थात्‌ भाइकिङहरूको सिक्काबाट आएको हुन सक्छ। आजकलको प्रतीकमा देखिने हातहतियारले सजिएका तीनवटा खुट्टा मान टापुका पछिल्ला राजाहरूले राखेका थिए।

सुखदुःख सँगालेको इतिहास

रोमीहरूले इ.सं. ४३ मा इङ्‌गल्याण्डलाई आफ्नो कब्जामा लिए अनि लगभग ४०० वर्षसम्म त्यसमाथि शासन गरे तर तिनीहरूले मान टापुलाई भने त्यति वास्ता नगरेको जस्तो देखिन्छ जसलाई जुलियस सिजरले मोना भन्‍ने नाउँ दिएका थिए। नोर्समेनले ९ औं शताब्दीमा यस टापुमाथि आक्रमण गरे अनि १३ औं शताब्दीको बीचतिरसम्म यहीं रहे। स्कान्डिनेभियाका साहसी अन्वेषकहरूले यो टापु व्यापार र छिमेकी मुलुकहरूमाथि आक्रमण गर्न उपयुक्‍त ठाने। यी वर्षहरूको दौडान टिनवल्ड अर्थात्‌ माङ्‌क्स संसद स्थापना भयो। भनिन्छ, यो संसारकै सबैभन्दा पुरानो राष्ट्रिय संसद हो जुन अहिलेसम्म चलिरहेको छ। a

पछि, आइल अफ मानमाथि स्कटल्याण्ड, वेल्स, आयरल्याण्ड, इङ्‌गल्याण्ड र नर्वेले शासन गऱ्‍यो। पछि सन्‌ १७६५ मा बेलायती संसदले यो टापु किन्यो। अहिले यस टापुको उप-बडाहाकिम बेलायती महारानीको व्यक्‍तिगत प्रतिनिधिको रूपमा काम गर्छन्‌, यो टापु बेलायतको सार्वभौमिकतामा निर्भर भए तापनि बेलायतभन्दा टाढाको आर्थिक केन्द्र भएको हुँदा यसले केही हदसम्म स्वतन्त्रता पाएको छ। यसले आफ्नै हुलाक टिकटहरू छाप्छ अनि आफ्नै सिक्का र यसको सटही मूल्य बेलायती मूल्य बराबर छ।

माङ्‌क्स—सेल्टिक सम्बन्ध

आइल अफ मानको सबैभन्दा पुरानो भाषा माङ्‌क्स हो र यो विशाल इन्डो-युरोपेली भाषाहरूमध्ये सेल्टिक समूहको एउटा हो। माङ्‌क्स भाषा, आइरिश गेलिक भाषाबाटै आएको एउटा भाषा हो र स्कटिश गेलिकसित मिल्दोजुल्दो छ। लगभग १०० वर्षअघि माङ्‌क्स भाषाबारे यसो भनियो: “यो नामोनिसान मेटिने भाषा हो—दक्षिणी अक्षांशतिर बगिरहेको हिमशीलाजस्तै हो।” अनि हुन पनि त्यस्तै भयो। माङ्‌क्स भाषा बोल्ने अन्तिम स्थानीय व्यक्‍तिको मृत्यु सन्‌ १९७४ मा ९७ वर्षको उमेरमा भयो। तर यस टापुको सम्पदा सुरक्षित राख्ने प्रयासमा अहिले माङ्‌क्स भाषा स्कूलहरूमा सिकाउन थालिएको छ।

आइरिश गेलिक वा स्कटिश गेलिकजस्तो नभई सन्‌ १६१० सम्म नै माङ्‌क्स भाषा बोलिचालीमा मात्र थियो, लिखित रूपमा थिएन। सन्‌ १७०७ मा माङ्‌क्स भाषामा प्रकाशित पहिलो पुस्तक द प्रिन्सिपल्स्‌ एण्ड ड्युटीज्‌ अफ क्रिश्‍चियानिटी हो। यसपछि अरू पुस्तकहरू पनि छापिए।

सन्‌ १७६३ तिर सम्ममा माङ्‌क्स भाषामा बाइबल अनुवाद गर्न सबैतिरबाट आवाज उठ्‌न थाल्यो किनभने त्यतिबेला यस टापुका दुई तिहाई बासिन्दाहरू माङ्‌क्स भाषा मात्र बोल्थे। छापाखाना सीमित मात्र भएको अनि शास्त्रविद्‌हरू पनि थोरै मात्र भएको हुँदा बाइबलका विभिन्‍न पुस्तकहरू सन्‌ १७४८ देखि बिस्तारै छापिन थाले। पादरीवर्गले प्रयोग गर्नको लागि सन्‌ १७७५ मा सिङ्‌गो बाइबलको चालिस प्रति छापियो अनि सन्‌ १८१९ मा जनसाधारणको लागि ५,००० प्रति छापियो। प्रतिक्रिया कस्तो भयो? आफ्नो छोराले पहिलो चोटि माङ्‌क्स बाइबलबाट पढेर सुनाउँदा एउटी आमाले यस्तो हृदयस्पर्शी कुरा बताइन्‌: “हामी अहिलेसम्म अन्धकारमा थियौं।”

जम्मा २५ जना मानिसले सन्‌ १६११ मा किङ जेम्स भर्सन-को अङ्‌ग्रेजी संस्करणबाट यो बाइबल अनुवाद गरे अनि तिनीहरूमध्ये कोही-कोहीले हिब्रू धर्मशास्त्रको युनानी अनुवाद अर्थात्‌ सेप्टुआजिन्ट पनि हेर्न सके। अङ्‌ग्रेजीमा जस्तै यसमा पनि ईश्‍वरीय नाउँ, यहोवा प्रयोग गरिएको छ। b साँच्चै, डब्ल्यु. टि. राक्लिफले सन्‌ १८९५ मा लेखेझैं यो बाइबल “एकदमै ठूलो शैक्षिक देन हो जसलाई माङ्‌क्सको कोही पनि शिक्षित व्यक्‍तिले नकार्न सक्दैन।”

आज मसीहीधर्म

यस टापुका बासिन्दाहरूले बाइबललाई अहिले पनि त्यत्तिकै आदर गर्छन्‌ अनि बाइबल अध्ययन गर्नेहरू भनी यहोवाका साक्षीहरू स्थानीय इलाकामा चिरपरिचित छन्‌। अत्यन्तै सुन्दर डग्लसको बेल्मन्ट पहाडको फेदमा तिनीहरूको सबैभन्दा नयाँ राज्यभवन सन्‌ १९९९ मे महिनामा निर्माण गरिएको थियो। यहोवाका साक्षीहरूका स्वयम्‌सेवकहरूले यो राज्यभवन छ दिनमै निर्माण गरेका थिए र यसबारे आइल अफ मान एक्जामिनर-ले यस्तो रिपोर्ट गऱ्‍यो: “यसलाई एउटा सानो चमत्कार भन्‍न सकिन्छ।”

यस रमणीय टापुको भ्रमण गर्ने मौका पाउनुभयो भने यस टापुका मीठो बोली बोल्ने व्यक्‍तिहरूले तपाईंको भ्रमण रमणीय र आनन्ददायी बनाउनेछन्‌ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। तर त्यहाँको मानिससित कुरा गर्दा भने यो कुरा नबिर्सनुहोस्‌, उसको लागि “मुख्य भूमि” भनेको आइल अफ मान हो अनि इङ्‌ग्ल्याण्ड भनेको “अर्को टापु” हो। (g05 7/8)

[फुटनोटहरू]

a फारोवेज लाग्टिङ र आइसलान्डिक आल्टिङ, यी दुइटा संसद पहिल्यै स्थापना भएका थिए तर ती दुवै स्थायी भएनन्‌।

b आइरिश र स्कटिश गेलिकमा जिहोबा र वेल्समा यिहोभा भनिन्छ।

[पृष्ठ २४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

आयरल्याण्ड

स्कटल्याण्ड

इङ्‌गल्याण्ड

वेल्स

आइरिश सी

आइल अफ मान

[पृष्ठ २५-मा भएको चित्र]

माङ्‌क्स इलेक्ट्रिक रेलवे ट्रामकार

[पृष्ठ २५-मा भएको चित्र]

ग्रेट लाक्सी ह्वील

[पृष्ठ २५-मा भएको चित्र]

आइल अफ मान स्टिम रेलवे

[पृष्ठ २५-मा भएको चित्र]

पुच्छर नभएको माङ्‌क्स बिरालो

[पृष्ठ २६-मा भएको चित्र]

बास्किङ शार्क

[पृष्ठ २६-मा भएको चित्र]

पिल हिलबाट देखिने समुद्रीतटको दृश्‍य

[पृष्ठ २७-मा भएको चित्र]

पिल हार्बर अनि पछाडिपट्टि पिल दरबार