सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के आरमागेडोनदेखि डराउनुपर्छ?

के आरमागेडोनदेखि डराउनुपर्छ?

बाइबलको दृष्टिकोण

के आरमागेडोनदेखि डराउनुपर्छ?

“आरमागेडोन” के हो? सरल अर्थमा भन्‍ने हो भने, यो शब्दले परमेश्‍वर र येशू ख्रीष्टद्वारा सञ्चालित उहाँको राज्य विरुद्ध संसारका शासकहरू एक साथ जम्मा हुने अवस्थालाई बुझाउँछ। बाइबलको पुस्तक प्रकाशमा प्रेरित यूहन्‍नाले शासकहरू आरमागेडोन भनिने लाक्षणिक स्थानमा परमेश्‍वर विरुद्ध एक साथ जम्मा भएको एउटा दर्शन देखे।

“आरमागेडोन” भन्‍ने शब्द धर्मशास्त्रमा एक पटक मात्र देखा परेको छ तर आज रूपकको रूपमा यो शब्दको व्यापक प्रयोग भएको पाइन्छ। आणविक संहारदेखि लिएर कम्प्युटर भाइरससम्म अर्थात्‌ ठूलो देखि लिएर सानातिना विपत्तिको लागि समेत यो शब्द प्रयोग गरिन्छ। अत्यधिक बिक्री हुने धेरैजसो किताबहरू कथित अन्तको समय अथवा आरमागेडोनभन्दा ठीक अघिको समयमा आधारित छन्‌। गत दस वर्षमा यही शब्दलाई शीर्षक राखी तयार पारिएका उपन्यासका शृङ्‌खलाहरू ६ करोड प्रति बिक्री भए।

केही मानिसहरू आरमागेडोनदेखि डराउँछन्‌। तिनीहरूको सोचाइअनुसार आरमागेडोन मानिसजातिले नियन्त्रण गर्न नसक्ने आतंकवाद, युद्धतिर उन्मुख राष्ट्र अथवा विपत्तिले विश्‍वमै उत्पात ल्याउने समय हो जतिबेला जीवन धान्‍ने आधारभूत कुराहरूको समेत अभाव हुनेछ। कसै-कसैको विचारमा आरमागेडोन आफूले तोक्नुभएको समयमा परमेश्‍वरले पृथ्वी र यसमा भएका सारा थोकहरू नाश गर्ने समय हो। साँच्चै यी सब डरलाग्दा सम्भाव्यहरू हुन्‌! तर आरमागेडोन अर्थात्‌ “परमेश्‍वरको ठूलो दिनको लडाइँको” वास्तविक अर्थ चाहिं के हो?—प्रकाश १६:१४, १६.

के पृथ्वी नाश हुनेछ?

आरमागेडोनमा सबै थोक नाश हुनेछैन। कसरी थाह पाउने? बाइबलले हामीलाई यस्तो आश्‍वासन दिन्छ, “भक्‍तहरूलाई परीक्षाबाट बचाउन र अभक्‍तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न प्रभु जान्‍नुहुन्छ।” (२ पत्रुस २:९) त्यसोभए, परमेश्‍वरले आफ्नो सर्वोच्व शक्‍ति सही ढङ्‌गमा नियन्त्रण गर्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्नेहरूले आरमागेडोनमा उहाँको रिस भोग्नेछन्‌। दुर्घटनावश कुनै निर्दोष मर्नेछैन।—भजन २:२, ९; उत्पत्ति १८:२३, २५.

बाइबलले ‘पृथ्वीका नष्टकारीहरू नष्ट गरिनेछन्‌’ भनी बताउँछ। (प्रकाश ११:१८) कुरा स्पष्ट छ, परमेश्‍वरको उद्देश्‍य पृथ्वी नाश गर्नु होइन। बरु, उहाँले आफ्नो शासनको विरोध गर्ने दुष्ट मानिसहरूलाई हटाउनुहुनेछ। त्यसबेला परमेश्‍वरले नूहको दिनमा बसाल्नुभएको नमुना जस्तै हुनेछ।—उत्पत्ति ६:११-१४; ७:१; मत्ती २४:३७-३९.

“भयङ्‌कर दिन”

हो, आउँदै गरेको विनाशका धेरै बाइबल भविष्यवाणीहरू चेतावनीमूलक छन्‌। उदाहरणको लागि, अगमवक्‍ता योएलले यसो भने, “परमप्रभुको त्यो महा र भयङ्‌कर दिन।” (छड्‌के अक्षर हाम्रो, योएल २:३१) परमेश्‍वरका हातहतियारहरूमा हिउँ, असिना, भुकम्प, संक्रामक रोग, मुसलधारे पानी, आगोको वर्षा र गन्धक, घबराहट, गर्जन र मासु कुहिएर जाने कोर्राको पिटाइ समावेश छन्‌। a (अय्यूब ३८:२२, २३; इजकिएल ३८:१४-२३; हबकूक ३:१०, ११; जकरिया १४:१२, १३) अनि लासले पृथ्वीको सतह भरिने, लासहरू जमीनमा मल हुने अथवा पशुपक्षीको आहार हुने वर्णन निकै जीवन्त ढङ्‌गमा बाइबलले गर्छ। (यर्मिया २५:३३, ३४; इजकिएल ३९:१७-२०) यस युद्धमा परमेश्‍वरका शत्रुहरूलाई डरले गाँज्नेछ।—प्रकाश ६:१६, १७.

यसको अर्थ आरमागेडोनमा हुने अचम्मलाग्दा घटनाहरूदेखि के आज्ञाकारी उपासकहरू डराउनुपर्छ? पर्दैन, किनकि पृथ्वीमा रहेका परमेश्‍वरका सेवकहरूले यस द्वन्द्वमा भाग लिने छैनन्‌। अनि यहोवाले तिनीहरूलाई बचाउनुहुनेछ। तथापि, साँचो उपासकहरू परमेश्‍वरले प्रदर्शन गर्नुहुने डरलाग्दो शक्‍तिबाट विस्मित हुनेछन्‌।—भजन ३७:३४; हितोपदेश ३:२५, २६.

उल्लेखनीय कुरा के हो भने, प्रेरित यूहन्‍ना हामीलाई यस्तो आश्‍वासन दिन प्रेरित भए: “यस पुस्तकको अगमवाणी पालन गर्ने धन्यको हो।” (प्रकाश १:३; २२:७) त्यसोभए के आगरमागेडोनबारे मनन गरेर कुनै व्यक्‍ति आनन्दित हुन सक्छ? सक्छ भने, कसरी?

परमेश्‍वर काम गर्न आह्वान गर्नुहुन्छ

आँधी-हुरी आउने सङ्‌केत आउँदा स्थानीय अधिकारीहरूले ज्यान जोगाउन चेतावनी दिन्छन्‌। सम्भवतः चेतावनी सुन्‍न कोही नछुटोस्‌ भनेर प्रहरीहरूलाई घर-घर पठाइन सक्छ। यी सबै गर्नुको उद्देश्‍य मानिसहरूलाई आतंकित पार्नु नभई ज्यान बचाउने कदम चाल्न मदत गर्नु हो। विवेकी व्यक्‍तिले चेताउनी खुसीसाथ सुन्छ, कदम चाल्छ र आनन्दित हुन्छ।

आरमागेडोनबारे सन्‍निकट “आँघी-बेह्री[को]” सन्देश पनि यस्तै हो। (हितोपदेश १०:२५) त्यस युद्धबारे आफ्नो लिखित वचनमा परमेश्‍वरले विस्तृत वर्णन गर्नुभएको छ। उहाँको उद्देश्‍य मानिसहरूलाई त्रसित पार्नु नभई चेताउनी दिनु अनि पश्‍चात्ताप गर्न र उहाँको सेवा गर्न निर्णायक कदम चाल्न उत्प्रेरित गर्नु हो। (सपन्याह २:२, ३; २ पत्रुस ३:९) यस्ता कदम चाल्नेहरू बचाइनेछन्‌। अतः आउँदै गरेको परमेश्‍वरको युद्धदेखि हामी डराउनु पर्दैन। बरु, “परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइने” भएकोले निर्धक्क भई भविष्यको सामना गर्न सक्छौं।—योएल २:३२. (g05 7/8)

[फुटनोट]

a हामीले बिर्सन नहुने कुरा चाहिं के हो भने, बाइबलका केही भागहरू लाक्षणिक भाषामा लेखिएका छन्‌। (प्रकाश १:१) यस भविष्यवाणीमा उल्लिखित कुराहरूलाई साँच्चिकै शाब्दिक अर्थमै पूरा हुनेछ भनेर जिद्दी गर्न मिल्दैन।

[पृष्ठ २२-मा भएको चित्र]

भयंकर आँधीबेह्री आउन लागेको छ भने स्थानीय अधिकारीहरूले ज्यान बचाउन चेतावनी दिन्छन्‌

[पृष्ठ २३-मा भएको चित्र]

आरमागेडोनबारे परमेश्‍वरले दिनुभएको चेतावनीले ज्यान बचाउन कदम चाल्न आह्वान गर्छ