सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जन्तर मन्तर—टेलिस्कोपविनाको वेधशाला

जन्तर मन्तर—टेलिस्कोपविनाको वेधशाला

जन्तर मन्तर—टेलिस्कोपविनाको वेधशाला

भारतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तर घुम्न जाने जो-कोहीले पनि त्यो ठाउँ देखेपछि छक्क पर्दै प्वाक्क भन्‍न सक्छन्‌, ‘यस्तो पनि वेधशाला हुन्छ र?’ खगोलविज्ञानसम्बन्धी अत्याधुनिक यन्त्रहरूले भरिभराउ आधुनिक भवनहरूबारे थाह भएका व्यक्‍तिहरूलाई विशाल पार्कमा अवस्थित ढुङ्‌गाद्वारा निर्मित यी अचम्मका आकृतिहरू वेधशाला अर्थात्‌ ग्रह, नक्षत्र आदि हेर्ने यन्त्रहरू राखिएको भवन वा ठाउँजस्तो लाग्दै लाग्दैन। यद्यपि, १८ औं शताब्दीको प्रारम्भमा निर्माण गरिएको जन्तर मन्तर एउटा वेधशाला नै थियो। उल्लेखनीय कुरा के छ भने, त्यसताक युरोपमा आविष्कार भएका टेलिस्कोप तथा अन्य यन्त्रहरूको मदतविना पनि त्यस वेधशालाले आकाशीय पिण्डहरूबारे विस्तृत तथा धेरै हदसम्म सही जानकारी प्रदान गर्थ्यो।

राजपुत शासक महाराजा सावाइ जय सिंह द्वितीयले निर्माण गरेका पाँचवटा वेधशालामध्ये तीनवटालाई साधारणतया जन्तर मन्तर भनिन्छ। “जन्तर” भन्‍ने शब्द संस्कृत शब्द “यन्त्र”-बाट आएको हो, जसको अर्थ हुन्छ “उपकरण” र “मन्तर” शब्दचाहिं “मन्त्र” शब्दबाट आएको हो, जसको अर्थ हुन्छ “सूत्र।” जोड दिनको लागि अन्त्यानुप्रास शब्द थपिने चलनबाटै जन्तर मन्तर नाउँ बन्‍न पुगेको हो।

नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भएको यन्त्रमा सन्‌ १९१० मा टाँसिएको पातोले त्यो वेधशाला सन्‌ १७१० मा निर्माण गरिएको हुन सक्ने बताउँछ। तथापि, पछि गरिएको अनुसन्धानले भने त्यो वेधशालाको निर्माण सन्‌ १७२४ मा पूरा भएको हुन सक्ने सङ्‌केत दिन्छ। जय सिंहको जीवनीसित सम्बन्धित जानकारीले यस निष्कर्षलाई समर्थन गर्छ र यसैबारे अब हामी बुझ्दै जानेछौं। तर सबैभन्दा पहिला आउनुहोस्‌ हामी यस वेधशालामा भएका यन्त्रहरूबारे छोटकरीमा चर्चा गरौं, जसलाई यस किसिमको पुरानो यन्त्रहरूमध्ये संसारकै सबैभन्दा पुरानो यन्त्र मानिन्छ।

यन्त्रहरूको रूपमा इँटाद्वारा निर्मित आकृतिहरू

वेधशालामा इँटा र ढुङ्‌गाको गरेर जम्मा चारवटा विभिन्‍न यन्त्र छन्‌। तीमध्ये सबैभन्दा उत्कृष्टचाहिं सम्राट्‌ यन्त्र, अथवा सुप्रिम यन्त्र हो र यो यन्त्र “वास्तवमा सूर्यको छायाको आधारमा एक-एक घण्टाको अन्तर नाप्न सक्ने एउटा उपकरण अर्थात्‌ सनडायल” हो। जय सिंहका रचनाहरूमध्ये यो सबैभन्दा महत्त्वपूर्ण रचना हो। यो घडी, उँचाइ २१.३ मिटर, जग ३४.६ मिटर अनि चौडाइचाहिं ३.२ मिटरको एउटा विशाल इँटाद्वारा निर्मित त्रिकोणले बनेको छ। त्रिकोणको ३९ मिटर लामो कर्ण अर्थात्‌ छड्‌के उँचाइ पृथ्वीको अक्षसित समानान्तर हुनुका साथै उत्तरी ध्रुवतिर फर्केको छ। त्रिकोण अथवा नोमनको दुवैपट्टि घण्टा, मिनेट र सेकेण्ड सङ्‌केत गर्ने चिह्नहरू भएको एउटा क्वाड्रन्ट छ। साधारण किसिमका सनडायलहरू शताब्दीयौंदेखि भए पनि जय सिंहले समय नाप्ने यस आधारभूत यन्त्रलाई कोणको दूरी र आकाशीय पिण्डहरूको अन्य सम्बन्धित कोअर्डिनेटहरूको दूरी नाप्ने एउटा प्रभावकारी यन्त्र बनाए।

वेधशालामा भएका अन्य तीनवटा आकृतिचाहिं राम, जयप्रकाश अनि मिश्र यन्त्रहरू हुन्‌। सूर्य अनि ताराहरूको कोण, उँचाइ र अजिमुथ नाप्नका लागि ती आकृतिहरूलाई जटिल किसिमले बनाइएका थिए। मिश्र यन्त्रले त अझ संसारभरिका विभिन्‍न सहरहरूमा दिउँसो बाह्र बजेको सङ्‌केत समेत दिन्थ्यो।

मिश्र यन्त्रबाहेक माथि उल्लिखित जम्मै यन्त्रहरू जय सिंहले आविष्कार गरेका थिए। ती त्यतिबेला भारतमा भएका अन्य यन्त्रहरूभन्दा अत्यन्त जटिल र बहुउपयोगी थिए अनि त्यसैबाट सही पात्रो र खगोलविज्ञानसम्बन्धी तालिकाहरू बनाउन पनि सम्भव भयो। ती यन्त्रहरूको डिजाइन एकदमै मनमोहक र हेरूँ-हेरूँ लाग्ने किसिमको हुनुका साथै यसद्वारा निकै उपयोगी जानकारी पत्ता लगाउन सकिन्थ्यो। तर पछि टेलिस्कोप र अन्य यन्त्रहरूको आविष्कारपछि भने यी यन्त्रहरूलाई प्रयोग गर्न छोडियो। तथापि, तेज दिमाग भएका ती विद्वान्‌ले आफ्नो खगोलविज्ञानसम्बन्धी अनुसन्धानमा टेलिस्कोपलगायत युरोपमा पाइने यन्त्रहरू समावेश नगर्नुको कारण के हुन सक्ला? महाराजाको पृष्ठभूमि र इतिहास खोतल्यौं भने यसको जवाफ पाउन सकिन्छ।

“गणितीय विज्ञानसम्बन्धी अध्ययन गर्न दत्तचित्त”

जय सिंहको जन्म सन्‌ १६८८ मा भारतको राजस्थान राज्यमा भएको थियो। राजपुतहरूको काचाबाह खलकको राजधानी एम्बरका महाराजा तिनका पिता दिल्लीस्थित मुगल शासनको अधीनमा थिए। जवान राजकुमारले हिन्दी, संस्कृत, फारसी तथा अरबीजस्ता भाषाहरूमा शिक्षा आर्जन गरे। तिनले गणित, खगोलविद्या र मार्सल आर्टबारे पनि शिक्षा लिए। तर राजकुमारलाई एउटा विषय भने साह्रै मन परेको थियो। तिनको समयमा लेखिएको एउटा पुस्तक यसो भन्छ: “तर्क गर्न सक्ने भएदेखि नै र त्यो तर्कशक्‍ति विकास हुँदै जाने क्रममा सावाइ जय सिंह गणितीय विज्ञानसम्बन्धी (खगोलविद्या)।”

आफ्नो पिताको मृत्युपछि सन्‌ १७०० मा ११ वर्षको उमेरमै जय सिंह एम्बरका राजा भए। राजा भएको केही समयपछि मुगल सम्राट्‌ले ती जवान राजालाई दक्षिण भारतको आफ्नो दरबारमा बोलाए, जहाँ जय सिंहको भेट गणितशास्त्र र खगोलविद्याका विद्वान्‌ जगन्‍नाथसित भयो। ती व्यक्‍ति पछि राजाका प्रमुख सहायक भए। सन्‌ १७१९ मा मोहम्मद शाहको शासन सुरु हुनुभन्दा अघि जवान राजाको राजनैतिक जीवनमा निकै उतारचढाव आयो। पछि नयाँ मुगल शासकसित सरसल्लाह गर्न जय सिंहलाई राजधानी दिल्ली बोलाइयो। सन्‌ १७२० को नोभेम्बर महिनामा सम्पन्‍न त्यही सभामा जय सिंहले वेधशाला बनाउने प्रस्ताव अघि सारेका थिए, जुन वेधशाला सम्भवतः सन्‌ १७२४ तिर निर्माण गरिसिध्याएको हुनुपर्छ।

कुन कुराले महाराजालाई वेधशाला बनाउन अभिप्रेरित गऱ्‍यो? भारतमा भएका पात्रोहरू र खगोलविज्ञानसम्बन्धी नक्साहरू सही छैनन्‌ र खगोलविद्याको क्षेत्रमा खासै उन्‍नति भएको छैन भन्‍ने कुरा जय सिंहले बुझेका थिए। त्यसैकारण तिनले आकाशीय पिण्डहरू वास्तवमा जस्तो देखिन्छ, त्यससित मिल्ने नयाँ नक्साहरू बनाउने निधो गरे। साथै, खगोलविद्या अध्ययन गर्न दत्तचित्त भई लागिपरेका हरेक व्यक्‍तिको लागि आकाशीय पिण्डहरू अवलोकन गर्ने यन्त्रहरू सजिलै उपलब्ध हुन सकोस्‌ भन्‍ने पनि तिनी चाहन्थे। त्यसकारण जय सिंहले फ्रान्स, इङ्‌गल्यान्ड, पोर्चुगल र जर्मनीबाट थुप्रै पुस्तकहरू ल्याए। तिनले खगोलविज्ञानसम्बन्धी हिन्दू, इस्लाम र युरोपेली विचारधाराका शास्त्रविद्‌हरूलाई आफ्नो दरबारमा स्वागत गरे। खगोलविद्याबारे जानकारी जम्मा गर्न तिनले सत्य-तथ्य पत्ता लगाउने एउटा टोलीलाई पूर्वीय देशहरूबाट युरोपसमेत पठाए र उनीहरूलाई खगोलविद्यासित सम्बन्धित पुस्तक तथा यन्त्रहरू ल्याउने निर्देशन दिए।

पूर्व र पश्‍चिमको मिलन हुन सकेन

युरोपमा टेलिस्कोप, माइक्रोमिटर अनि भर्नियरको प्रयोग भइरहेको बेला जय सिंहले चाहिं किन ढुङ्‌गा र इँटाका आकृतिहरू निर्माण गरे? अनि कपर्निकस र ग्यालिलियोले गरेका हेलियोसेन्ट्रिक (सूर्य केन्द्रित) आविष्कारबारे तिनलाई अत्तोपत्तो नभएजस्तो देखिनुको कारण के हो?

पूर्व र पश्‍चिमबीच राम्रो सञ्चार कायम हुन नसकेकोले यस्तो भएको हुन सक्छ। तर त्यै मात्र कारणचाहिं थिएन। त्यतिबेलाको धार्मिक अवस्था पनि त्यसको जिम्मेवार थियो। समुद्र पार गऱ्‍यो भने जात जान्छ भन्‍ने सोचाइको कारण ब्राह्‍मण शास्त्रविद्‌हरू मरिकाटे युरोप जान मानेनन्‌। जय सिंहलाई जानकारी जम्मा गर्न मदत गर्ने युरोपेली सहयोगीहरू प्रायजसो जेसुइट शास्त्रविद्‌हरू थिए। जय सिंहका जीवनी लेखक भी. एन. शर्माका अनुसार पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्छ भन्‍ने ग्यालिलियो तथा अन्य वैज्ञानिकहरूको धारणा स्वीकार्दा रोमन क्याथोलिक चर्चबाट सजाय भोग्नुपर्ला भन्‍ने डरले गर्दा क्याथोलिकलगायत जेसुइटहरूलाई यस्तो जानकारी जम्मा गर्न निषेध गरिएको थियो। चर्चको लागि यस्तो काम गर्नु धर्मविरोधी र नास्तिकपना थियो। त्यसैकारण जय सिंहले युरोप पठाएका दूतहरूले कपर्निकस अनि ग्यालिलियोका कृतिहरू अथवा हेलियोसेन्ट्रिक सिद्धान्तहरूको समर्थनमा प्रयोग भइरहेका नयाँ यन्त्रहरू खरिद नगर्नु स्वाभाविकै थियो।

अविरल खोज

जय सिंह धार्मिक असहिष्णुता तथा कट्टरपन व्याप्त भएको युगका व्यक्‍ति थिए। आकाशबारे ज्ञानलाई अझ बढाउँदै लैजाने सन्दर्भमा तिनले निकै उत्कृष्ट तथा प्रभावकारी काम गरे तापनि तिनको मृत्यु भएको दशकौं बितिसक्दा पनि भारतमा यस क्षेत्रमा थप प्रगति खासै हुन सकेको थिएन। तरैपनि, ज्ञानको भोको मानिसले ज्ञान आर्जन गर्न कुन हदसम्म प्रयास गरे भन्‍ने कुराको एउटा प्रमाण जन्तर मन्तर वेधशाला हो।

जय सिंहले आकाशीय पिण्डहरूको गतिबारे चासो देखाउनुभन्दा शताब्दीयौंअघि नै आश्‍चर्यलाग्दो ब्रह्‍माण्डबारे बुझ्ने कोसिस गर्दै विचारशील मानिसहरूले आकाशतिर फर्केर हेर्ने गर्थे। परमेश्‍वरको हातको कामबारे आफ्नो ज्ञान बढाइरहन मानिसजातिले ‘आफ्नो आँखा माथि उठाएर’ हेरिरहनेछन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—यशैया ४०:२६; भजन १९:१. (g05 7/8)

[पृष्ठ १६-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सम्राट्‌ यन्त्र सही समय दिने सनडायल थियो। विशाल त्रिकोणको छाया वक्राकार क्वाड्रान्टमा पर्थ्यो, जसमा समय सङ्‌केत गर्ने चिह्नहरू अंकित गरिएका हुन्थे (सेतो गोलाकार चिह्न लगाइएको हेर्नुहोस्‌)

[पृष्ठ १६-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

जय प्रकाश यन्त्र खोपिल्टा परेका गोलार्द्धहरूले बनेको छ र भित्र पसेको खाली ठाउँमा चाहिं चिह्नहरू अंकित गरिन्छन्‌ गोलार्द्धको घेरामा भएका बिन्दूहरूबीच तारलाई तन्काएर क्रस गरेर राखिएका छन्‌

राम यन्त्र-भित्रबाट पर्यवेक्षकले ताराको सही स्थान पत्ता लगाउन सक्थे। त्यसको लागि पर्यवेक्षकले विभिन्‍न चिह्नहरू अथवा झ्यालको डिलबाट हेर्नुपर्थ्यो

[पृष्ठ १६-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मिश्र यन्त्र-ले विभिन्‍न सहरमा दिउँसो बाह्र बजेको सङ्‌केत दिन्थ्यो

[पृष्ठ १७-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

दृष्टि-रेखा अवलोकन

पहिले-पहिलेको खगोलविद्यालाई जय सिंहले एकदमै सही बनाएका थिए

तारा पत्ता लगाउन तपाईंले ताराको उँचाइ (आकाशमा यो कत्ति माथि छ) र यसको एजिमुथ (उत्तर दिशादेखि कत्तिको पूर्वतिर पर्छ) सो थाह पाउनु आवश्‍यक छ

सम्राट्‌ यन्त्रबाट तारा देखाउन र त्यसको स्थान रेकर्ड गर्न दुई जना मानिसको जरुरत पर्थ्यो

[पृष्ठ १७-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

भारत

नयाँ दिल्ली

मथुरा

जयपुर

बनारस

उज्जेन

जय सिंहले भारतमा पाँचवटा वेधशाला बनाए र तीमध्ये एउटा नयाँ दिल्लीमा छ