सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“पृथ्वी घुमाउने” व्यक्‍ति

“पृथ्वी घुमाउने” व्यक्‍ति

“पृथ्वी घुमाउने” व्यक्‍ति

पोल्याण्डका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“गणितको ग पनि नजान्‍ने यस्ता केही ‘बकम्फुसे व्यक्‍तिहरू’ छन्‌ जो मेरो कामको खुबै खिसीटिउरी गर्न खोज्छन्‌ अनि आफ्नो उद्देश्‍य पूरा गर्न लाज-सरम नमानी पवित्र लेखोटका केही पदहरूको अर्थ बङ्‌ग्याएर मेरो निन्दा गर्ने र मेरो काममा भाँजो हाल्ने दुस्साहस गर्छन्‌; तिनीहरूले जेसुकै गरे पनि, जेसुकै भने पनि मलाई मतलब छैन। म तिनीहरूको त्यस्तो व्यवहारलाई मूर्खता ठान्छु।”

माथि उद्धृत शब्दहरू निकोलस कपर्निकसले पोप पल तृतीयलाई लेखेको पत्रमा उल्लेख गरिएका कुरा हुन्‌। कपर्निकसले ती शब्दहरू सन्‌ १५४३ मा प्रकाशित रिभोलुसन्स्‌ अफ द हेभन्ली स्पियर्स्‌ नामक आफ्नो अपूर्व पुस्तकको प्राक्कथनमा समावेश गरेका थिए। त्यस पुस्तकमा उल्लिखित धारणाबारे १६ औं शताब्दीका एक जेसुइट पादरी क्रिस्टोफ क्लाभियसले यसो भने: “कपर्निकसले प्रतिपादन गरेका सिद्धान्तमा थुप्रै वाहियात अथवा गलत दाबीहरू छन्‌।” जर्मन धर्मविद्‌ मार्टिन लुथरले यसो भन्दै दुखेसो पोखे: “यस मूर्खले खगोलविद्यासम्बन्धी विज्ञानलाई नै गोलमाल पार्ने भयो।”

निकोलस कपर्निकस को थिए? तिनको धारणा किन त्यतिबिघ्न विवादास्पद बन्यो? अनि तिनले कसरी वर्तमान सोचाइलाई प्रभाव पारेका छन्‌?

एक जवान मानिस ज्ञानको लागि तिर्खाउँछ

सन्‌ १४७३ फेब्रुअरी १९ तारिख पोल्याण्डको तोरूनमा जन्मेका तिनको वास्तविक नाउँ मिकोलाज कोपरनिक थियो। मिकोलाजले ल्याटिन नाउँ निकोलस कपर्निकस राखेको त पछि पुस्तक लेख्न थालेपछि मात्रै हो। तोरूनका व्यापारी तिनको पिताका चार छोराछोरीमध्ये निकोलस सबैभन्दा कान्छो थिए। निकोलस ११ वर्षको हुँदा तिनको पिताको मृत्यु भयो। लुकास वाटजेनरोड नाउँका तिनको मामाले निकोलस अनि तिनका दाजुदिदीको हेरविचार गर्ने जिम्मा लिए। मामाले निकोलसलाई पादरी बन्‍ने प्रोत्साहन दिंदै उच्च शिक्षा हासिल गर्न मदत गरे।

निकोलसको शिक्षादीक्षा तिनको आफ्नै गृहनगरमा सुरु भएको थियो तर पछि तिनले थप पढाइचाहिं नजिकैको कम्युने स्कूलमा गरे, जहाँ तिनले ल्याटिन भाषा सिक्नुका साथै पुरातन लेखकहरूका लेखोटहरू अध्ययन गरे। अठार वर्षको उमेरमा तिनी पोल्याण्डको तत्कालीन राजधानी क्राकोमा बसाइँ सरे। त्यहाँ आएर विश्‍वविद्यालयमा भर्ना भएर आफूलाई मनपर्ने खगोलविद्याको पढाइ सुरु गरे। क्राकोमा अध्ययन पूरा गरेपछि निकोलसका मामाले तिनलाई बाल्टिक समुद्र छेउको फ्रोमबोर्क सहरमा बसाइँ सर्न भने। त्यतिखेरसम्म तिनको मामा वारमियाका पादरी भइसकेका थिए। वाटजेनरोड आफ्नो भान्जाले गिर्जाघरको एउटा विशेष पद स्वीकारेको चाहन्थे।

तथापि, २३ वर्षीय निकोलस धेरैभन्दा धेरै ज्ञान हासिल गर्न चाहन्थे। त्यसैकारण, बोलोग्ना र पाज्वको इटालियन विश्‍वविद्यालयमा चर्चको धार्मिक कानुन, चिकित्साशास्त्र र गणितशास्त्र अध्ययन गर्न दिनुहोस्‌ भनी तिनले आफ्नो मामालाई मनाए। त्यहाँ निकोलसले खगोलविद्‌ डोमिनिको मारिया नोभारा र दर्शनशास्त्री पियेट्रो पोमपोनाज्जीसित सरसंगत गरे। इतिहासकार स्टेनस्वाफ ब्रोट्‌सकिभिचका अनुसार पोमपोनाज्जीका शिक्षाहरूले नै “जवान खगोलविद्‌को मनमा भएका परम्परागत विचारधारा” हटाइदिएको थियो।

फुर्सतको समयमा कपर्निकस पुरातन खगोलविद्‌हरूका पुस्तकहरू अध्ययन गर्थे। यस्ता पुस्तकहरूको अध्ययनमा तिनी यतिबिघ्न डुबे कि ल्याटिन भाषाका पुस्तकहरू अधुरा भएको थाह पाएपछि मूल ग्रन्थ अध्ययन गर्न तिनले युनानी भाषा सिके। स्कूलको पढाइ सिद्धिने बेलासम्ममा त निकोलसले धार्मिक कानुन, गणितशास्त्र र चिकित्साशास्त्रमा विद्यावारिधि हासिल गरिसकेका थिए। तिनलाई युनानी भाषाको पनि राम्रो ज्ञान भएकोले तिनी युनानी भाषाबाट सीधै पोलिस भाषामा पुरातन ग्रन्थहरू अनुवाद गर्ने पहिलो व्यक्‍ति बने।

आमूल परिवर्तनको सिद्धान्त प्रतिपादन गर्दै

कपर्निकस पोल्याण्ड फर्केपछि पादरी मामाले तिनलाई आफ्नो निजी सचिव, सल्लाहकार तथा चिकित्सक नियुक्‍त गरे र त्यो निकै सम्मानित ओहदा थियो। त्यसपछिका दशकहरूमा निकोलस धार्मिक तथा सरकारी दुवै क्षेत्रका विभिन्‍न प्रशासनिक ओहदाहरूमा रहेर काम गरे। कामको भार धेरै भए पनि तिनले तारा तथा ग्रहहरूबारे निरन्तर अध्ययन गरिरहे। त्यस प्रकार अध्ययन गरेर तिनले परिक्रमाको सिद्धान्त अर्थात्‌ पृथ्वी अन्तरिक्षको केन्द्रबिन्दु होइन तर सूर्यको वरिपरि घुम्छ भन्‍ने सिद्धान्तलाई समर्थन गर्ने प्रमाणहरू जुटाए।

त्यो सिद्धान्त श्रद्धेय दार्शनिक अरस्तुका शिक्षाहरूसित मेल खाँदैनथ्यो भने, युनानी गणितज्ञ टोलेमीका निष्कर्षहरूभन्दा धेरै फरक थियो। त्यति मात्र होइन, सूर्य पूर्वबाट झुल्किन्छ र घुम्दै-घुम्दै पश्‍चिममा अस्ताउन पुग्छ तर पृथ्वीचाहिं एकै ठाउँमा स्थिर रहन्छ भन्‍ने “तथ्य” नै हो जस्तो लाग्ने कुरालाई कपर्निकसको सिद्धान्तले नकारेको थियो।

पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्‍ने निष्कर्ष निकाल्ने कपर्निकस पहिलो व्यक्‍ति थिएनन्‌। सामोसका युनानी खगोलविद्‌ अरिस्तार्खसले यो सिद्धान्त ई.पू. तेस्रो शताब्दीमा प्रतिपादन गरेका थिए। पाइथागोरसका अनुयायीहरूले चाहिं पृथ्वी अनि सूर्य एउटा अग्निको गोला वरिपरि घुम्छन्‌ भनी सिकाउँथे। तथापि, पृथ्वी घुमेको भए “जनावर तथा अन्य वजनदार चीजबीजहरू त्यतिकै हावामा झुन्डिने थिए र पृथ्वीचाहिं आकाशबाट छुट्टिएर खस्न बेर लाग्ने थिएन” भनी टोलेमीले लेखे। तिनले अझै यसो पनि भने: “यस्ता कुराहरू त सोच्दा पनि हास्यस्पद लाग्छ।”

पृथ्वी अन्तरिक्षको केन्द्रमा स्थिर रहन्छ र एकअर्कासित जोडिएका पारदर्शी वृत्तहरूचाहिं पृथ्वीको वरिवरि परिक्रमा गर्छन्‌ अनि ती वृत्तहरूको माथिपट्टि सूर्य, ग्रह तथा ताराहरू हुन्छन्‌ भन्‍ने अरस्तुको विचारलाई टोलेमीले समर्थन गरे। तिनले यी पारदर्शी वृत्तहरू घुमेकोले ग्रह तथा ताराहरू पनि घुमेका हुन्‌ भन्ठानेका थिए। टोलेमीको गणितीय सूत्रहरूबाट रातको समयमा चलहल गर्ने ग्रहहरूको गति थाह लागेको थियो र त्यो केही हदसम्म सही थियो पनि।

यद्यपि, टोलेमीको सिद्धान्त शतप्रतिशत सही नभएको कारण कपर्निकसले ग्रहहरूको अनौठो गतिबारे थप व्याख्या खोज्न थाले। आफ्नो सिद्धान्तलाई प्रमाणित गर्न कपर्निकसले पुरातन समयका खगोलविद्‌हरूले प्रयोग गरेका यन्त्रहरू पुनः निर्माण गरे। आधुनिक स्तरबाट हेर्दा ती यन्त्रहरू सरल देखिए पनि त्यसको मदतद्वारा तिनले ग्रहहरू र सूर्यबीचको सापेक्षिक दूरी हिसाब गर्न सके। आफूभन्दा अघिका खगोलविद्‌हरूले खगोलसम्बन्धी कुनै-कुनै महत्त्वपूर्ण कुरा पत्ता लगाएका सही मिति निश्‍चित गर्न तिनले वर्षौं बिताए। यी सम्पूर्ण तथ्याङ्‌कहरू प्राप्त गरिसकेपछि विवादास्पद कागजातको टुङ्‌गो लगाउने कार्यमा कपर्निकस लागिपरे जुन सिद्धान्तले पृथ्वी अन्तरिक्षको केन्द्र होइन भनी प्रमाणित गर्ने थियो।

कागजातबारे विवाद

कपर्निकसले आफ्नो जीवनका आखिरी वर्षहरू आफ्नो सिद्धान्तलाई समर्थन गर्ने तर्क तथा गणितीय सूत्रहरूलाई अझ परिष्कृत अनि सबल बनाउन बिताए। तिनको अन्तिम कागजातमा तिनका निष्कर्षहरूलाई समर्थन गर्ने पन्चानब्बे प्रतिशतभन्दा बढी विज्ञानसम्बन्धी विवरणहरू पाइन्छन्‌। त्यो मौलिक हस्तलिखित कागजात आजसम्म पनि सुरक्षित छ र त्यसलाई पोल्याण्डको क्राकोमा जाजिलोनियन युनिभर्सिटीमा राखिएको छ। त्यस कागजातको शीर्षक छैन। त्यसैकारण, खगोलविद्‌ फ्रेड होइले यस्तो लेख्छन्‌: “कपर्निकस आफ्नो पुस्तकको नाउँ के राख्न चाहन्थे कुन्‍नि हामीलाई थाह छैन।”

तिनको पुस्तक प्रकाशित हुनुअगावै पनि यसको विषयवस्तुले सबैको चासो जगाएको थियो। कपर्निकसले कमेन्टारियोलस भन्‍ने पुस्तकमा आफ्नो धारणाको संक्षिप्त विवरण प्रकाशित गरेका थिए। फलतः तिनले गरेका अनुसन्धानबारे रिपोर्टहरू जर्मनी र रोमसम्म पुग्यो। सन्‌ १५३३ को प्रारम्भतिर पोप क्लेमेन्ट सातौंले कपर्निकसको सिद्धान्तबारे सुने। अनि आफ्नो धारणाको पूर्ण विवरण प्रकाशित गर्न आग्रह गर्दै सन्‌ १५३६ मा कार्डिनल शोनबर्गले कपर्निकसलाई पत्र लेखे। जर्मनीको विटेनबर्ग युनिभर्सिटीका प्राध्यापक जर्ज जोआकिम रातीकुस कपर्निकसको पुस्तकबाट यत्ति प्रभावित भए कि तिनी खगोलविद्‌ कपर्निकसलाई भेट्‌न गए र दुई वर्ष तिनीसँगै बसे। सन्‌ १५४२ मा कागजातको एक प्रति लिएर रातीकुस जर्मनी फर्के र पेट्रीयुस नाउँको एक जना मुद्रक अनि आन्ड्रआस ओसिआन्डर नाउँको पादरी तथा प्रुफरिडरलाई त्यो कागजात दिए।

ओसिआन्डरले त्यस पुस्तकलाई डे रेभोलुशनीबस ओरबियम क्योलेस्टियम (आकाशीय पिण्डहरू घुम्ने बाटोबारे) भन्‍ने नाउँ दिए। “आकाशीय पिण्डहरू” भन्‍ने शब्द समावेश गरेर ओसिआन्डरले त्यो पुस्तक अरस्तुको धारणाद्वारा प्रभावित छ भन्‍ने छनक दिन खोजे। ओसिआन्डरले एउटा बेनाम प्राक्कथन पनि लेखे, जसमा तिनले पुस्तकमा भएको परिकल्पना धार्मिक विश्‍वाससित सम्बन्धित लेखहरू होइनन्‌ र ती सत्य नहुन पनि सक्छन्‌ भनी लेखे। अनाधिकृत रूपमा थुप्रै परिवर्तनहरू गरेर प्रकाशित गरिएको त्यो पुस्तक कपर्निकसले सन्‌ १५४३ मा आफ्नो मृत्यु हुनुभन्दा केही घण्टाअघि मात्र प्राप्त गरेका थिए।

“परिक्रमाबारे”—हलचल मच्चाउने एउटा पुस्तक

ओसिआन्डरले गरेका परिवर्तनहरूले सुरु-सरुमा पुस्तकलाई आलोचनाबाट जोगाए। इटालियन खगोलविद्‌ तथा भौतिकशास्त्री ग्यालिलियोले पछि यस्तो लेखे: “मुद्रण हुँदा पवित्र चर्चले त्यस पुस्तकलाई स्वीकारेको थियो र सबैले त्यो पुस्तक पढ्‌नुका साथै पुस्तकमा उल्लिखित सिद्धान्तहरूमाथि कसैले रत्तीभर सन्देह गरेनन्‌। यद्यपि, अनुभव तथा आवश्‍यक प्रमाणहरूबाट पुस्तकका सिद्धान्तहरू सही हुन्‌ भन्‍ने कुरा प्रमाणित भइसके तापनि पुस्तक नपढीकन लेखकलाई दिनुपर्ने आदर-सम्मान खोस्ने आँट गर्ने मानिसहरू पनि छन्‌।”

त्यस पुस्तकलाई “निरर्थक” भन्‍ने पहिलो व्यक्‍ति लुथरनहरू थिए। सुरुमा मौन रहे पनि पछि क्याथोलिक चर्चले त्यस पुस्तकमा उल्लिखित कुरा आधिकारिक सिद्धान्तसित मेल खाँदैन भन्‍ने निर्णय गर्नुका साथै सन्‌ १६१६ मा कपर्निकसको पुस्तकलाई प्रतिबन्धित पुस्तकहरूको सूचीमा राखिदियो। सन्‌ १८२८ पछि मात्र त्यस सूचीबाट यस पुस्तकको नाउँ हटाइयो। त्यस पुस्तकको अङ्‌ग्रेजी अनुवादको परिचयमा चार्ल्स ग्लेन वालिस यस्तो लेख्छन्‌: “क्याथोलिक र प्रोटेस्टेन्टहरूबीच भएको फाटोबारे बाहिर नराम्रो हल्ला चल्यो भने चर्च अफ द बाइबलप्रतिको आदर गुम्न सक्छ भनेर दुवै गुट डराए। फलस्वरूप, तिनीहरूले धर्मशास्त्रको कुरालाई पूरै शाब्दिक अर्थमा लिनुका साथै बाइबलको कुनै पनि अंशको शाब्दिक अनुवादसित बाझिने सबै किसिमको दाबीलाई ठाडै निन्दा गर्न थाले।” a कपर्निकसको सिद्धान्त र बाइबल शिक्षाबीचको तथाकथित द्वन्द्वबारे ग्यालिलियोले यस्तो लेखे: “[कपर्निकसले] बाइबललाई बेवास्ता गरेका थिएनन्‌ तर यदि आफ्नो सिद्धान्त सत्य साबित हुनुका साथै धर्मशास्त्रलाई सही ढङ्‌गमा बुझेको खण्डमा आफ्नो सिद्धान्त धर्मशास्त्रसित बाझिंदैन भन्‍ने कुरा तिनलाई राम्रोसँग थाह थियो।”

आज, धेरैले कपर्निकसलाई आधुनिक खगोलविद्याका जनकको रूपमा आदर गर्छन्‌। हो, अन्तरिक्षबारे तिनको व्याख्यालाई नै पछि ग्यालिलियो, केप्लर अनि न्युटनजस्ता वैज्ञानिकहरूले परिमार्जन तथा संशोधन गरेका थिए। तथापि, खगोल भौतिकशास्त्री ओवेन गिनग्रिच यसो भन्छन्‌: “कुनै समय सबैले पत्याएका वैज्ञानिक अवधारणा पनि समयको अन्तरालमा कत्ति कमजोर हुन सक्छन्‌ भन्‍ने कुरा आफ्नो कामद्वारा प्रमाणित गर्ने व्यक्‍ति कपर्निकस नै हुन्‌।” अनुसन्धान, अवलोकन तथा गणितशास्त्रद्वारा कपर्निकसले जरा गाडेर बसेको धार्मिक तथा वैज्ञानिक गलत अवधारणाहरूलाई पूर्णतया गलत साबित गरिदिए। “सूर्य होइन तर पृथ्वी घुम्छ” भनेर पनि तिनले मानिसहरूलाई बुझाइदिए। (g05 7/22)

[फुटनोट]

a उदाहरणका लागि, यहोशू १०:१३ मा उल्लिखित सूर्य अडिरहेको विवरण पृथ्वी होइन तर साधारणतया सूर्य घुम्छ भन्‍ने कुरा बुझाउन चलाइएको थियो।

[पृष्ठ १५-मा भएको पेटी/चित्र]

आकाशीय पिण्डहरू घुम्ने बाटो

कपर्निकसले आफ्नो पुस्तकलाई छ भागमा विभाजित गरे। तल सूचीबद्ध कुराहरू तिनको पुस्तकमा पाइने केही महत्त्वपूर्ण धारणाहरू हुन्‌।

● हाम्रो ग्रह “यात्रा गर्ने” थुप्रै ग्रहहरूमध्ये एक हो जसको गति ‘राजकीय सिंहासनमा बसेझैं लाग्ने सूर्यले’ नियन्त्रण गर्छ।

● ग्रहहरूले एउटै दिशामा सूर्यको परिक्रमा गरिरहेका छन्‌। ती ग्रहहरूमध्ये पृथ्वी पनि एउटा हो, जो आफ्नो अक्षमा दिनको एक चोटि घुम्छ भने, वर्षको एक चोटि सूर्यको परिक्रमा गर्छ।

● दूरीको हिसाबले हेर्ने हो भने, सूर्यदेखि सबैभन्दा नजिकमा बुध, त्यसपछि शुक्र, पृथ्वी र यसको जून, मङ्‌गल, बृहस्पति र अन्तिम शनि छन्‌।

[पृष्ठ १२-मा भएको चित्र]

कपर्निकसले प्रयोग गरेका अवलोकन गर्ने एउटा यन्त्र

[पृष्ठ १३-मा भएको चित्र]

फ्रमबर्क, पोल्याण्डस्थित कपर्निकसको वेधशालामा भएका तिनको अध्ययन कक्षका सरसामानहरू

[पृष्ठ १४-मा भएको चित्र]

पृथ्वी-केन्द्रित मण्डल

[पृष्ठ १४-मा भएको चित्र]

सौर्य-केन्द्रित मण्डल

[पृष्ठ १५-मा भएको चित्र]

आज हामीलाई थाह भएको सौर्यमण्डल