सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राकृतिक प्रकोपहरू बढ्‌दैछन्‌?

प्राकृतिक प्रकोपहरू बढ्‌दैछन्‌?

प्राकृतिक प्रकोपहरू बढ्‌दैछन्‌?

“हावापानीको परिवर्तनले गर्दा हुने असाधारण घटनाका परिणामहरू भविष्यमा अझ गम्भीर हुने डर मानिसहरूमा छ। यसको अर्थ मौसमले ल्याउने नयाँ-नयाँ खतरा र अझ बढी सम्भाव्य क्षतिको लागि हामी तयार रहनै पर्छ। . . . अग्रिम तयारी स्वरूप हामीले आफूलाई ठूलठूला परिवर्तनहरूको लागि तयार पार्नु राम्रो हुन्छ।”—“टपिक्स जियो—एन्युअल रिभ्यु: नेचुरल केटास्ट्रफिज्‌ २००३।”

सन्‌ २००३ को गर्मी महिनामा युरोपका केही भागहरूमा उखुम गर्मी भयो। तापमानमा भएको वृद्धिले गर्दा बेल्जियम, बेलाइत, फ्रान्स, इटाली, नेदरल्याण्ड्‌स, पोर्चुगल र स्पेनमा गरी लगभग ३०,००० जनाको मृत्यु भयो। मनसुनअघि चलेको ताप लहरको कारण बंगलादेश, भारत र पाकिस्तानमा १,५०० जनाको मृत्यु भयो भने अस्ट्रेलियामा खडेरी र यसअघि कहिल्यै रेकर्ड नगरिएको उच्च तापमानको कारण त्यहाँका जङ्‌गलहरूमा लागेको डढेलोले ७० लाख एकड वन स्वाहा पाऱ्‍यो।

विश्‍व मौसमविज्ञान संगठनअनुसार “सन्‌ २००३ को हरिकेनको मौसममा आन्ध्र महासागरमा १६ वटा तुफान आयो, जुन सन्‌ १९४४-१९९६ को औसत संख्या ९.८ भन्दा निकै बढी हो तर सन्‌ १९९० दशकको बीचदेखि उष्ण कटिबन्धीय मौसम प्रणालीमा यसको संख्या हरेक वर्ष यसै गरी उल्लेखनीय वृद्धि भइरहेको छ।” सन्‌ २००४ मा पनि यसको संख्यामा वृद्धि भयो र क्यारेबियन तथा मेक्सिकोको खाडीमा आएको हरिकेन भनिने तुफानले लगभग २,००० जनाको ज्यान लिनुका साथै ठूलो विनाश गऱ्‍यो।

सन्‌ २००३ मा श्रीलंकामा आएको हावाको भुमरी अर्थात्‌ चक्रवातको कारण आएको ठूलो बाढीले गर्दा कम्तीमा २५० जनाको मृत्यु भयो। सन्‌ २००४ मा पश्‍चिमी प्रशान्त महासागरमा कम्तीमा पनि २३ वटा टाइफून नाउँको तुफान आएको रेकर्ड गरियो। तीमध्ये दसवटा टाइफूनले जापानलाई असर गऱ्‍यो र ठूलो क्षति पुऱ्‍याउनुका साथै १७० जनाभन्दा धेरैको ज्यान लियो। मुसलधारे मनसुनी वर्षाको कारण आएको बाढीले दक्षिण एसियाका झण्डै तीन करोड मानिसलाई असर गऱ्‍यो र विशेष गरी बंगलादेशमा यसको असर व्यापक थियो। लाखौं घरवारविहीन भए, झन्डै ३० लाख विस्थापित भए अनि १,३०० भन्दा बढीको ज्यान गयो।

सन्‌ २००३ मा थुप्रै शक्‍तिशाली भूकम्पहरू पनि गए। मे २१ मा अल्जेरियाको अल्जियर्समा गएको भूकम्पले १०,००० जना घाइते भए र २,००,००० लाई घरवारविहीन बनायो। डिसेम्बर २६ मा बिहानको ५:२६ बजे इरानको बाम सहरदेखि आठ किलोमिटर दक्षिणमा धर्ती जोरसित काँप्यो। रेक्टर स्केलमा ६.५ मापन गरिएको उक्‍त भूकम्पले सहरको ७० प्रतिशत संरचना ध्वस्त पाऱ्‍यो, ४०,००० को ज्यान लियो र १,००,००० भन्दा बढीलाई घरवारविहीन बनायो। यो नै त्यस वर्षको सबैभन्दा भयावह प्राकृतिक प्रकोप थियो। यसले बाममा अवस्थित आर्थिक दृष्टिकोणले पर्यटकीय महत्त्वको केन्द्र २,००० वर्ष पुरानो आर्गाबाम किल्लाको अधिकांश भागलाई ढुङ्‌गाको थुप्रोमा परिणत गरिदियो।

यसको ठ्याक्कै एक वर्षपछि इन्डोनेसियाको उत्तरी सुमात्राको पश्‍चिमी समुद्री तट नजिकै गएको ९.० रेक्टर स्केलको भूकम्पले अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा घातक सुनामी छाल उत्पन्‍न गरायो। यस हत्यारा छालले कम्तीमा २,००,००० को ज्यान लियो र थुप्रैलाई घाइते वा घरवारविहीन बनायो अनि कतिपयलाई त घाइते र घरवारविहीन दुवै बनायो। भूकम्पको केन्द्रबिन्दुदेखि लगभग ४,५०० किलोमिटर पश्‍चिममा पर्ने अफ्रिकाको पूर्वी तटसमेत सुनामीको चपेटामा पऱ्‍यो।

आकाशमा कालो बादल मडारिरहेको छ?

कतै यस्ता घटनाहरू भविष्यमा हुने अझ भयानक विपत्तिको पूर्वझलक त होइन? मौसमसित सम्बन्धित प्रकोपहरूको सन्दर्भमा थुप्रै वैज्ञानिकहरू यो विश्‍वास गर्छन्‌ कि मानव गतिविधिको कारण वायुमण्डलमा आएको परिवर्तनले विश्‍वको जलवायुलाई परिवर्तन गरिरहेको छ र अवस्था झनै भयावह बनाउन योगदान पुऱ्‍याइरहेको छ। यदि यो भनाइ साँचो हो भने यो भविष्यको लागि राम्रो सङ्‌केत होइन। अझ खतरनाक कुरा त स्वेच्छाले होस्‌ वा अरू कुनै विकल्प नभएर, प्रकोपको जोखिम बढी भएको क्षेत्रमा बस्ने मानिसहरूको संख्या बढ्‌दै छ।

तथ्याङ्‌कले देखाएअनुसार प्रकोपसित सम्बन्धित सम्पूर्ण मृत्युहरूमध्ये ९५ प्रतिशत मृत्यु विकासोन्मुख मुलुकहरूमा हुन्छ। अर्कोतर्फ, धनी राष्ट्रहरूको मृत्युदर थोरै हुन्छ तर ७५ प्रतिशत आर्थिक क्षति बेहोर्छन्‌। यसरी आकासिंदो क्षतिको बिमा तिर्न कतै पैसाको अभाव पो हुने हो कि भनेर बिमा कम्पनीहरू आत्तिन थालेका छन्‌।

अर्को लेखमा हामी प्राकृतिक प्रकोपहरू हुने केही प्राकृतिक प्रकियाहरू र यसलाई भयावह बनाउनमा मानिसको कस्तो हात हुन सक्छ, त्यसबारे केलाउनेछौं। यस पृथ्वीलाई भावी पुस्ताको लागि सुरक्षित घर बनाउन आवश्‍यक पर्ने परिवर्तन गर्ने शक्‍ति र इच्छा मानिसजातिमा छ कि छैन भनेर पनि हामी विचार गर्नेछौं। (g05 7/22)

[पृष्ठ ३-मा भएको चित्र]

फ्रान्स २००३ युरोपमा चलेको ताप लहरले ३०,००० को मृत्यु हुन्छ; स्पेनको तापक्रम ४४.८° से. पुग्छ

[पृष्ठ ४-मा भएको चित्र]

इरान २००३ बामको भूकम्पले ४०,००० को ज्यान लिन्छ; आफ्ना नातेदारहरूको सामूहिक चिहानमा आइमाईहरू विलाप गर्दैछन्‌